फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ अन्धविश्वास र जनसंख्या संरचना

(GMT+08:00) 2015-03-26 17:36:40

चिनियाँहरुले यही फागुन 7 गते (फेब्रुअरी 19 तारिख) नयाँ वर्ष अर्थात् वसन्त चाड मनाएका छन्। चिनियाँ चन्द्रमास पात्रो अनुसार घोडा वर्ष सकिएर भेडा वर्ष सुरु भएको छ। आर्थिक, वैज्ञानिक, प्राविधिक र व्यापारिक क्षेत्रमा चीनले तीब्र गतिमा विकास गरिरहेको भए पनि सामाजिक र सांस्कृतिक क्षेत्र चाहिँ परम्परामै जेलिएको छ। हजारौँ वर्षदेखि चलेको अन्धविश्वास, रुढिवादी र परम्परागत सोचाइले अहिले पनि चिनियाँ समाजलाई अठ्याएको छ। अन्धविश्वासकै कारण कुनै वर्ष चीनमा अत्यधिक शिशुहरु जन्मने गर्छन् भने कुनै वर्ष चाहिँ अत्यन्त कम शिशु जन्मने गर्छन्।

विगतको तुलनामा चालु सन् 2015 अर्थात् भेडा वर्षमा चिनियाँले तुलनात्मक कम बच्चा जन्माउँछन्। सुन्दैमा अनौठो लाग्ने यो वर्ष कम शिशु जन्मने कारणले बजारमा नवजात शिशुका लागि उत्पादित सामग्रीमा समेत विशेष छुटको व्यवस्था गरिएको हुन्छ। भेडा वर्षमा कम शिशु जन्मनुको खास कारण चाहिँ चिनियाँहरुमा व्याप्त अन्तविश्वास हो। भेडा वर्षमा जन्मिएकाहरु दुखी, रोगी र अभागी हुन्छन् भन्ने परम्परागत अन्धविश्वासले चीनमा अझै पनि जरा गाडेर बसेको छ।

भेडा वर्षमा जन्मिएकालाई अभागी भनेजस्तै घोडा वर्षमा जन्मिएको व्यक्तिलाई भाग्यमानी मानिने भएकाले पनि सन् 2014 मा चीनमा तुलनात्मक रुपमा शिशुको जन्मदर बढेको छ। सन् 2013 मा चीनमा 1 करोड 64 लाख शिशु जन्मिएकामा 100 छोरीको अनुपातमा 118 छोरा थिए। सन् 2014 मा चीनमा जन्मिएका शिशुको संख्या एक करोड 68 लाख 70 हजार रहेको छ। सन् 2014 मा एक सय छोरीको अनुपातमा 116 छोरा छन्। सन् 2015 को जनवरी र फेब्रुअरीको 18 तारिखसम्म घोडा वर्षमै पर्ने भएकाले सो अवधिमा जन्मिएका शिशुको तथ्याङ्क यहाँ उल्लेख गरिएको छैन। अस्पतालहरुमा अत्यधिक भीड भएको यो डेढ महिनाको अवधिमा 30 लाख शिशु जन्मिएको चीन सरकारले अनुमान गरेको छ।

चालु वर्ष सन् 2015 मा चीनमा तुलनात्मक रुपमा कम बच्चा जन्मिने राष्ट्रिय स्वास्थ्य तथा परिवार योजना आयोगले बताएको छ। चीनमा भेडा वर्षमा जन्मिएको सन्तानलाई अभागीका रुपमा हेरिन्छ। गत जुन महिनादेखि नै सरकारी अस्पतालमा गर्भवती परीक्षण गराउने महिलाहरुको संख्यामा पचास प्रतिसतले कमी आएको छ। भेडा वर्षमा शिशुको जन्मदर न्युन हुने भएकाले अस्पताल र चिकित्सको व्यवसायमा समेत असर पार्ने गर्छ। त्यसैगरी यो वर्षमा नवजात शिशुले प्रयोग गर्ने सामग्रीमा पनि विशेष छुट दिइएको हुन्छ। भेडा वर्षमा अस्पतालहरुमा बच्चा जन्माउनका लागि सजिलै भर्ना पाइने र विशेष छुटको पनि व्यवस्था गरिएको हुनाले अन्धविश्वास नमान्नेहरु चाहिँ बच्चा पाउनलाई यही वर्ष कुरेर बस्छन्। भेडा वर्षमा जन्मिएकालाई स्कुल र कलेज भर्ना हुन तथा जागिर पाउन कम प्रतिस्पर्धा हुने गरेकाले पनि केहीको रोजाइमा यो वर्ष परेको हो।

एक अर्ब 37 करोड जनसंख्या भएको चीनमा विगत तीन दसकदेखि अपनाइएको कडा जनसंख्या नियन्त्रण नीतिले अहिले श्रम समूहको जनसंख्या घट्ने र सेवा निवृत्तको संख्या बढ्ने भएकाले जनसंख्यामा असन्तुलन देखा परेको छ। चीन सरकारले यसलाई सम्बोधन गर्नका लागि गत वर्ष सर्तसहितको दुई सन्तान नीति अवलम्बन गरेको छ। गत वर्ष सन् 2014 मा चीन सरकारले दम्पतिमध्ये एकजना एक्लो सन्तान भएमा दोस्रो बच्चा जन्माउन सक्ने नीति ल्याएको थियो। यो नीतिले प्रत्यक्ष रुपमा दस प्रतिशत दम्पतिलाई छोएको छ। त्यसभन्दा अगाडि दम्पत्ति नै एक्लो सन्तान भए मात्र दोस्रो बच्चा जन्माउन सक्ने प्रावधान थियो। यी दुईवटा अवस्था बाहेक चीनमा अहिले पनि एक सन्तानको नीति कायम छ। चीन सरकारले लिएको दोस्रो सन्तानको नयाँ नीतिले सन् 2014 मा अधिक बच्चा जन्मन सक्ने अपेक्षा गरे त्यस्तो भएन।

शहरीकरण र आधुनिकीकरणले चीनमा जन्मदरलाई घटाएको छ। राष्ट्रिय स्वास्थ्य तथा परिवार योजना आयोगका प्रवक्ता माओ छुइनानका अनुसार लगभग दस लाख दम्पत्तिले दोस्रो बच्चा जन्माउनका लागि आवेदन दिएका छन्। नयाँ नीतिमा कम्तिमा पनि एक करोड दस लाख दम्पत्तिले दोस्रो सन्तान जन्माउन सक्छन्। सन् 2012 मा गरिएको सर्वेक्षणमा 60 प्रतिशत दम्पतिले यदि त्यस्तो कानुन आएमा दोस्रो बच्चा जन्माउने बताएका थिए। नयाँ नीति आएपछि यहिलेसम्म दसप्रतिशत दम्पतिले मात्र दोस्रो बच्चा जन्माएका छन्। अहिले दोस्रो बच्चा जन्माउन आवेदन दिनेहरु आइरहेकाले वार्षिक बीस लाख पुग्न सक्ने माओको भनाइ छ। पाँचदेखि 6 वर्षको अवधिमा 1 करोड 30 लाख नवजात शिशु जन्मने चिनियाँ विशेषज्ञहरुको भनाइ रहेको छ।

सन् 2012 मा चीनमा 35 लाख व्यक्ति कामबाट निवृत्त भएका थिए भने सन् 2013 पछि हरेक वर्ष 80 लाख निवृत्त हुँदैछन्। सन् 2030 सम्ममा 40 करोड जनसंख्या 60 वर्ष माथि पुग्नेछन्। यो संख्या चीनको कूल जनसंख्याको 25 प्रतिशत हो। अहिले चीनमा 60 वर्षमाथिको जनसंख्या 15 प्रतिशत रहेको छ। चीनले भरखरै लिएको सर्त सहितको दुई सन्तानको नीतिले जन्मदरमा वृद्धि भए पनि श्रमशक्ति उमेर समूह 16 वर्षदेखि 60 वर्षबीचको जनसंख्याको अभाव चीनमा पर्दै जाने देखिएपछि सरकार चिन्तित बनेको छ।

नयाँ नीतिको मापदण्डमा पर्ने र दोस्रो सन्तान जन्माउन अधिक इच्छा व्यक्त गर्ने दम्पति भए पनि स्वास्थ्यका कारणले उनीहरुले अहिले आएर दोस्रो बच्चा जन्माउन सकेका छैनन्। पहिलो बच्चा जन्माउन गरिएको शल्यक्रियाले बनाएको पाठेघरको चोट र अधिक गर्भपतनका कारणले पनि उनीहरु दोस्रो बच्चा जन्माउन असमर्थ भएका हुन्। राष्ट्रिय स्वास्थ्य तथा परिवार योजना आयोगका अनुसार चीनमा सामान्य अवस्थामा पनि शल्यक्रिया गरेर बच्चा जन्माउने प्रचलन छ। पस्रव वेदना सहनुभन्दा शल्यक्रिया गरेर बच्चा जन्माउनुलाई चिनियाँ महिलाले प्राथमिकता दिएका कारण दोस्रो बच्चा जन्माउँदा समस्या देखिएको हो। नाभीभन्दा केही इन्च तल तेर्सो चिरेर बच्चा झिक्ने प्रचलन संसारमै छ। यसरी बच्चा जन्माउँदा पाठेघरमा चोट लाग्ने संभावना ज्यादै न्युन हुन्छ। तर चीनमा तेर्सो नचिरेर अंग्रेजी टी अक्षरको आकारमा चिरिन्छ। यसरी शल्यक्रिया गर्दा पाठेघरमा चोट लाग्ने संभावना दस प्रतिशत हुने विश्व स्वास्वास्थ्य संगठनले उल्लेख गरेको छ।

चीनमा 1980 को दसशमा शल्यक्रिया गरेर बच्चा जन्माउनेको संख्या 15 प्रतिशत थियो। पैचिङ विश्वविद्यालको तेस्रो प्रसूति अस्पतालका अनुसार अहिले शल्यक्रिया गरेर बच्चा जन्माउने चिनियाँ महिलाको संख्या 47 प्रतिशत पुगेको छ। यो विश्वकै उच्च दर हो। विश्व स्वास्थ्य संगठनले शल्यक्रिया गरेर बच्चा जन्माउने दर 15 प्रतिशतभन्दा कम हुनुपर्ने बताएको छ। शल्यक्रिया गरेर बच्चा जन्माउने प्रचलन अमेरिकामा 31 प्रतिशत, भियतनाममा 36 प्रतिशत र थाइल्याण्डमा 34 प्रतिशत रहेको छ। जापानले यो दरलाई 10 प्रतिशतभन्दा तल झारेको छ।

चीनमा सामान्य अवस्थामा बच्चा जन्माउनका लागि सरकारी अस्पतालमा प्रशुति खर्च सरदर 2 हजार युआन पर्छ भने शल्यक्रिया गरेमा त्यसको तेब्बर खर्च हुन्छ। खर्चिलो भए पनि शल्यक्रिया रोज्नुको पछाडि चिनियाँ अन्धविश्वासले पनि काम गरेको छ। प्रायजसो चिनियाँ महिलाले अगष्ट र सेप्टेम्बरमा बच्चा जन्माउने गर्छन्। अगष्ट यसै पनि आठौँ महिना र सेप्टेम्बर महिनामा चिनियाँ चन्द्रमासको आठौँ महिना पर्ने गर्छ। आठ अङ्क चीनमा अत्यधिक भाग्यशाली मानिने हुनाले पछाडि जन्मने बच्चालाई पनि शल्यक्रिया गरेर अग्रिम जन्माउने प्रचलन छ। चीनमा स्कुल तथा कलेजको शैक्षिक सत्र सेप्टेम्बरबाट सुरु हुने भएकाले पनि ठीक उमेरमा स्कुल पठाउनका लागि पनि बच्चा जन्माउन यो महिना रोजिएको हो।

चीनमा हरेक वर्ष जन्मने शिशुभन्दा बढी गर्भपतन हुने गर्छ। चीनको राष्ट्रिय स्वास्थ्य तथा परिवार योजना आयोगको तथ्याङ्क अनुसार हरेक वर्ष चीनमा सरदर एक करोड तीन लाख महिलाले गर्भपतन गराउँछन्। यो तथ्याङ्क वैधानिक रुपमा दर्ता भएका स्वास्थ्य संस्थामा गराइएका गर्भपतनको मात्र हो। यो बाहेक अबैध रुपमा निजी स्वास्थ्य संस्थामा गएर गर्भपतन गराउने महिलाको संख्या पनि उल्लेख्य रहेको चिनियाँ चिकित्सकको भनाइ छ। गर्भपतन गराउने महिलाहरुमध्ये 62 प्रतिशत 20 देखि 29 वर्षका छन्। गर्भपतन गराउने 16 वर्षभन्दा कम उमेरका किशोरीको संख्या हरेक वर्ष 30 प्रतिशतले बढिरहेको पनि सो तथ्याङ्कमा उल्लेख छ।

चीन सरकारले लिएको एक सन्तानको नीति, छोरा जन्माउने चाहना, असुरक्षित यौनसम्पर्क, अनिच्छित गर्भाधान लगायत विविध स्वास्थ्य समस्याले गर्दा चीनमा गर्भपतन गराउने महिलाको संख्या बढिरहेको छ। चीन सरकारले परिवार योजना तथा स्वास्थ्यमा ठूलो मात्रामा बजेट खर्चिए पनि शिक्षा र चेतनास्तरको कमीले गर्दा किशोरीहरुलाई परिवार नियोजनका अस्थायी साधनका बारेमा ज्ञान नभएका कारणले पनि गर्भपतनको मात्रा बढिरहेको हो। एघारौँ पन्चवर्षे योजना सन् 2006 देखि 2010 सम्म चीन सरकारले 40 करोड 25 लाख युआन बजेट परिवार नियोजनका अस्थायी साधन वितरणमा मात्र खर्च गरेको छ। चीनमा गर्भपतन गराउने विभिन्न निजी स्वास्थ्य संस्थाहरुले पीडा बिहिन गर्भपतनका विज्ञापनहरु विभिन्न सामाजिक सन्जाल र मोबाइलको म्यासेजमार्फत उपभोक्तासम्म पुर्‍याएर आम मानिसमा गलत धारणको विकास गराइरहेकाले त्यस्ता क्रियाकलापमाथि रोक लगाउन चिनियाँ चिकित्सकहरुले माग गरेका छन्।

जथाभावी हुने गर्भपतन र शल्यक्रिया गरेर बच्चा जन्माउने अभ्यासले गर्दा दोस्रो बच्चा जन्माउन इच्छुक महिलाहरु गर्भवती बन्नबाट बन्चित भएको विभिन्न स्वास्थ्य संस्थाहरुले गरेको अनुसन्धानमा उल्लेख छ। जन्मनुभन्दा अगाडि नै शल्यक्रिया गरेर शिशुलाई भाग्यमानी बनाउने चलन र सामान्य अवस्थाबाट शिशु जन्माउँदा पीडा हुन्छ भनेर रोजिने शल्यक्रियाले चिनियाँ आमाहरु पश्चातापमा पर्न थालेका छन्। त्यस्तै आम रुपमा स्थापित गर्भपतनबाट पनि जन्मदरमा नकारात्मक असर पारेको छ।

                                                साभारः कान्तिपुर दैनिक,2071 चैत्र 12 गते(2015 मार्च 26),बिहीबार

जानकारी तथा लेखहरु
सुझाउ