फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन र प्रदुषण

(GMT+08:00) 2015-05-27 16:13:57

हाल सम्पूर्ण ब्रह्माण्ड नै प्रदुषित बन्दै गएको छ। यसो हुनाको मुख्य दोषी भने हामी मानिसहरू नै हौं। विज्ञान तथा प्रविधीको विकाससँगै र अत्याधुनिक तथा सुविधाभोगी बन्ने क्रममा हामीले हाम्रो अस्तित्वलाई जोखिममा धकेल्दै आइरहेका छौं। कतै जाडो याममा तापक्रम नघट्नु या चिसो अनि जाडोको अनुभव नै नगर्नु त कतै ठ्याक्कै उल्टो। साथै कहीँ हिमपात, आँधीबेहरी, भुक्षय यस्ता भवितव्य पनि बढ्दै गएको छ। यसरी प्राकृतिक घटनाबाहेक अहिले मानिसको दैनिक जीवनलाई सबैभन्दा प्रभावित बनाएको छ, वायु प्रदुषणले।

विश्व स्वास्थ्य सङ्गठनको एक रिपोर्ट अनुसार सन् 2012मा वायु प्रदुषणको कारण विश्वमा 70लाख मानिसको मृत्यु भएको थियो। यसबाट थाहा हुन्छ कि वायु प्रदुषण संसारकै सबैभन्दा ठूलो वातावरणीय स्वास्थ्य जोखिम बनिसकेको छ र यसको न्यूनिकरणबाट लाखौं मानिसको ज्यान बचाउन सकिने छ। साथै बाहिरी वायु प्रदुषण मात्र होइन घरमा, भान्छामा कोइला, दाउराजस्ताको प्रयोगबाट पनि वार्षिक रुपमा धेरै मानिसको मृत्यु हुँदैआइरहेको छ। र यसलाई भित्री वायु प्रदुषण भन्ने गरिएको छ।

मानिसले बाँच्न साँस फेर्नैपर्छ र त्यो हामीले वायुबाट पाउंछौं तर वायु भने स्वच्छ छैन। अहिलेको विश्वमा धेरै कम शहर मात्र वायु प्रदुषणबाट मुक्त छन् होला र त्यस बाहेक प्रायश सबै शहर वायु प्रदुषणले गाँजेका छन्। साथै आ-आफ्नो शहरलाई प्रदुषण मुक्त बनाउन हरेक देशले थोरबहुत विभिन्न कदम पनि चालिरहेका छन्। यस्तै पहल गर्ने देशमा चीन पनि एक हो। यसै प्रसङ्गले पनि बुझ्न सकिन्छ कि चीन पनि प्रदुषणको मारमा छ। हो, त्यसमा कुनै शङ्का छैन, हाल हरेक क्षेत्रमा नम्बर एक बन्दै गएको विशाल चीन यसमा पनि पछाडि छैन र प्रयास पनि जोडतोडले नै भइरहेको छ। चीनमा वायु प्रदूषणको मुख्य स्रोत दुई वटा छ। एक हावामा कोइलाको कण र अर्को गाडिले फ्याँक्ने धूँवा।

सन् 2014मा चीनको वातावरण संरक्षण मन्त्रालयले राष्ट्रिय मापदण्डअनुसार मनिटर गरेका 74 वटा शहरमध्ये 66वटा वायु गुणस्तर मापदण्डमा असफल भएका छन् यानि कि प्रदुषणमय छन्। यो भनेको चीनका झण्डै 90 प्रतिशत ठूला शहर प्रदुषित हुनु हो। साथै राजधानी पैचिङ्ग मुख्य दश प्रदुषित शहरमा परेको छैन भने स्वच्छ वायुको शहर सूचीमा पनि छैन। यसर्थ पैचिङ्गको वायु गुणस्तर ठिकै छ भनेर मान्ने स्थिती भने पक्कै छैन किनकी पैचिङ्गलाई घेरेको हबे प्रान्तको स्थितीले गम्भीर बनाएको छ। साथै यहाँ पैचिङ्गमा नीलो आकाश देख्नासाथ नीलो आकाशको फोटोहरू सोसियल नेटवर्कमा राख्ने प्रचलन निकै बढेबाट पनि यहाँको अवस्था बुझ्नसकिन्छ। यसरी तस्वीर राख्दा मेरै पनि काठमाण्डूलगायत विश्वका अरु शहरहरूमा बस्ने मेरा साथीभाइहरुले अचम्म पनि मानेका थिए। केही साथीलाई पैचिङ्गको स्थितीबारे ज्ञात थियो र कोहीले किन खुबै नीलो सफा अनि सुन्दर पैचिङ्गको फोटो राख्ने गर्छस् भनी प्रश्न पनि गरेका थिए। यसरी म मात्रै होइन सर्वसाधारण चिनियाँदेखि यहाँ काम गर्दैआएका विदेशी सबैसबैले नीलो आकाश अनि स्वच्छ हावाको मजा लिन पाएमा यसरी आफ्नो खुशी पोख्ने गरेका छन्। एपेक सम्मेलनको अवधिमा देखिएको नीलो आकाशलाई 'एपेक ब्लु' भन्दै सर्वसाधारणले फोटोहरू सेयर गरेका थिए। यो एउटा खुशी व्यक्त गर्ने तरिका बनेको छ। किनकी सबै पैचिङ्गवासी सबै चिनियाँ अनि विश्व नै यस प्रदुषणले निम्त्याउने भयावहबाट चिन्तित छन्। र न्यूनिकरणका लागि सबै पक्ष लागिरहेका पनि छन्। 

चीनले प्रदुषणबाट मुक्ति पाउनका लागि सन् 2013मा "प्रदुषणविरुद्ध युद्ध" एक सुधार कार्यक्रम अघि सारेको थियो। यो कार्यक्रम जोडतोडले चल्दै गरेको र प्रभाव पनि देखाउन थालेको चिनियाँ वातावरण संरक्षण मन्त्रालयले हालै मात्र (2-2-2014) जानकारी गराएको छ। "प्रदुषणविरुद्ध युद्ध" घोषणा गरेसँगै वातावरणलाई सिधै असर पार्ने खालका उद्योग हटाउन तथा कोइला खपत कम गर्न सुरु गरेको छ। जसबाट 2013मा भन्दा 2014मा केही बढी उपलब्धि मिलेको छ र साथै पैचिङ्गमा पनि तेह्रको तुलनामा चौधमा नीला आकाशमय दिन केही बढेको थियो। यस्तै प्रदुषण कम पार्नका लागि एपेकको अवधिमा कल-कारखाना बन्द गराउनुका साथै सडकमा पनि गाडि चलाउन जोडबेजोडको नियम र स्कुल, अफिससमेत बन्द गराएको थियो। यस्तै विविध तरिका अपनाउंदै आइरहेको छ, चीन सरकारले आफ्ना जनता भावी सन्ततीको सुरक्षा खातिर।

यस प्रदुषणले मुटु तथा दम र श्वासप्रश्वाससम्बन्धी रोग, बालबच्चामा अक्युट लोवर रेस्पिरेटरी इन्फेक्सन अर्थात् गम्भीर अल्प श्वासप्रश्वास संक्रमण, फोक्सोसम्बन्धी रोग, मस्तिष्क र रक्तवाहिनीसम्बन्धी जस्तै रगतमा अक्सिजनको कमि हुनु, रक्तअल्पता र साथै क्यान्सरको खतरा बढाउँछ। पछिल्लो दशकमा चीनमा दमको रोगी पनि ह्वात्तै बढेको छ। 

विश्व स्वास्थ्य संगठनको अनुसार प्रदूषणको कणको औसत सघनता जसलाई पीएम 2.5 भनिन्छ, यसको मात्रा हावामा 25 माइक्रोग्राम प्रति क्यूबिक मीटर भन्दा बढी हुनुहुँदैन। यसको मात्रा 100 माइक्रोग्राम भए वातावरण प्रदूषित हुनेछ र 300 पुग्यो भने सबै मानिसलाई निकै नै घातक हुन्छ। चीनको राष्ट्रिय मानक 35 माइक्रोग्राम छ।

चिनियाँ वातावरण संरक्षण मन्त्रालयले सार्वजनिक गरेको सन् 2014को प्रदुषणयुक्त 10 शहरमा पैचिङ्गलाई तीनतिरबाट घेरेको औद्योगिक प्रान्तको नामले परिचित हबेको मात्र सात वटा शहर परेका छन्। PM 2.5, PM 10, नाइट्रोजन डाइओक्साइड, कार्बन मोनोओक्साइड र ओजोनलाई आधार मानेर अध्ययन गरिएको यस मूल्याङ्कनमा पाओतिङ्ग, सिङ्गथाइ, शचियाचुआंग, थाङ्गशान, हान्तान र हङ्गश्वय शहरले पहिलोदेखि छ स्थान ओगटेको छ र अर्को शहर लाङ्गफाङ्ग आठौं नम्बरमा छ भने सातौंमा सान्तोङ्ग प्रान्तको चिनान, नवौंमा हनान प्रान्तको चङ्गचौ शहर र दशौंमा थ्येनचीन शहर छन्। यसैगरी स्वच्छ गुणस्तर वायु भएको शहरमा सन् 2013 मा, मात्र तीन शहरहरु हाइनानको हाइखौ, तिब्बत स्वशासित क्षेत्रको ल्हासा र तटीय शहर चौशान मात्र राष्ट्रिय स्तरको मापदण्ड भित्र परेको थियो। सन् 2014मा भने ती तिन शहरसँगै दक्षिणी क्वाङ्गतोङ्ग प्रान्तका शन्चन, चुहाइ, हुइचौ र चोङ्गशान त्यसैगरी फुचियानको फुचौ र स्यामन र दक्षिणपश्चिमको युननान प्रान्तको खुन्मिङ्ग पनि परेका छन्। यसलाई "प्रदुषणविरुद्ध युद्ध" कार्यक्रमको सफलताको रुपमा लिनसक्छौं। चीनले प्रदुषण न्युनिकरणका लागि सन् 2013मा हबे प्रान्तमा मात्र कोइला प्रयोग हुने 8,000 वटा कारखाना बन्द गराएको थियो। तर चीन कोइला स्रोतमा नै निहित भएको कारणले अझै सबै बन्द गरी हाल्ने स्थितीमा भने पुग्नसकेको छैन। यसकारण चीनले सन् 2030 पहिले यो राष्ट्रिय मानकस्तरमा पुग्ने आशा भने लिनसकेको छैन।

प्रदूषणको अल्पकालीन प्रभाव नदेखिने तर दीर्घकालीन प्रभाव भने भयानक हुने अध्ययनहरूले देखाएको छ। त्यसकारण मुख्यत वायु प्रदूषणबाट बेलैमा सजग हुनुहोस्। त्यसैकारण तुवाँलो लागेको बेला, वायु प्रदुषणको मात्रा बढेको बेला बाहिर नजानुहोस्। घरमा एयर फिल्टर गर्ने उपकरण राख्नुहोस्, मास्क लगाएर मात्र हिँडडुल गर्नुहोस् साथै घरमा हावालाई स्वच्छ बनाउने खालका बोटबिरुवा राख्नुहोस्, रोप्नुहोस्। सुस्वास्थ्य नै धन हो, स्वस्थ रहे मात्रै छ, जीवन ।

                                                                                                                                                                         ——अजय अलौकिक

जानकारी तथा लेखहरु
सुझाउ