फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

आजको अरनिको, आजको भृकुटी, आजको फाश्यान, आजको मञ्जुश्री

(GMT+08:00) 2015-06-30 10:44:30

सीआरआईको चालिसौं वार्षिकोत्सवको अवसरमा

-अजय अलौकिक 

एक वर्ष मात्र बस्छु भनेर हिँडेको म त्यही पहिलो वर्षमा घुम्नआएकी छोरीले पापासँग चीनमा बस्ने कुरा राखेपछि अनि सीआरआईले सहज रुपमा सपरिवार बस्न अनुमति पत्र दिएपछि हाल यहाँ लाओवाइ (धेरै वर्षदेखि चीनमा बस्दै आएकालाई भनिन्छ) झैं अनुभव गरेको छु। विश्व प्रसिद्ध चिनियाँ खाना पनि थोरबहुत चाखें अनि चाख्दै छु, चिनियाँ संस्कृति पनि बुझ्दैछु, भिज्दैछु अनि समुद्र नदेखेको म समुद्रमा डुबुल्की पनि मार्नपाएको छु। केही रहरहरू पुरा गर्दैछु। त्यसो त रहरहरू कति, कति। अनि रहर पनि के के लाग्छ, लाग्छ। उडी छुनु चन्द्र एक पो हो त रहरै गरे पनि। शायद यस्तै नै थियो क्यारे, सानै बेला घरमा बुवाले रेडियो घुमाउने क्रममा चिनियाँले नेपालीमा "यो रेडियो पैचिङ्ग हो" बोलेको सुनेको थिए र आफू पनि यसरी रेडियोमा बोल्न पाएं हुन्थ्यो भन्ने सोचेको थिएं शायद, त्यस बखत। आज एक रेडियोकर्मीको रुपमा समय बिताएको पनि सोह्र-सत्र वर्ष भइसक्यो र अहिले हाल यसै चिनियाँले नेपाली भाषा बोल्ने रेडियो जुन रेडियो पैचिङ्गबाट सन् 1990पछि चाइना रेडियो ईटरनेशनल सीआरआई भएको छ यसमा एक रेडियो तथा भाषा विज्ञ भएर काम गर्ने सुअवसर जुटेको छ। यसरी चीनमा नै बसेर नेपाली भाषाको सेवा अनि नेपाल र चीनबीचको इतिहासको दस्तावेज राख्नुअघिदेखिको सम्बन्धमा आजको दिनमा मैले पनि आफ्नो तर्फबाट दुई देशबीचको मित्रतालाई अजम्बरी बनाउन योगदान दिनपाएकोमा गौरवान्वित छु।

अरनिको, भृकुटी अनि मञ्जुश्री तथा फा श्यानको नेपाल चीनबीचको सम्बन्धमा सधैँ नै जयजयकार सुन्दैआएका छौं। उनीहरूको योगदान अतुलनीय छ। तर के हामीले सधैँ उनीहरूको मात्र गाथा गाएर हुन्छ त? के नेपाल चीनबीचको सम्बन्धको सेतु खोज्दा सधैँ उनीहरूको मात्र उदाहरण दिने? हामी नयाँ पुस्ताले पनि दुई देश र दुई देशका जनताबीच भातृत्व, भाइचारा अनि सुमधूर सम्बन्धलाई थप उकास्न पर्छ, होइन र? आफ्नो कला, सीप, विद्या, क्षमता, समर्पण ईत्यादीले जसरी हाम्रा राष्ट्रिय विभुतिले गरे, त्यस्तै या थप उल्लेखनीय काम गर्नु पर्छ। हुन त आफ्नो क्षेत्रमा दक्षता हासिल गरेका कयौं डाक्टर, ईञ्जिनियरलगायतका विज्ञ, विद्धानहरू आज पनि अरनिको र भृकुटीजस्तै चीनमा बसेर आफ्नो कार्यक्षमताको प्रदर्शन गरिरहेकै छन् अनि यो संख्या पनि दिनप्रतिदिन बढ्दै पनि छ। चीनले दिएको छात्रवृत्ति होस् या आफ्नै खर्चमा यहाँ उच्च शिक्षा हासिल गर्नआउनेको लर्को पनि धेरै नै छ। र यसबाहेक व्यक्तिगत रुपमा व्यापार या अन्य कारण पनि नेपाली चीनमा आएर र चिनियाँ नेपालमा गएर आफ्नो कामबाहेक मित्रवत् रुपमा बस्दैआइरहेका पनि छन्। यसरी दुई देशबीच सेतु बनेका छन्, यिनीहरू सबैसबै। यिनीहरू सबैसबै आजको अरनिको, आजको भृकुटी, आजको फाश्यान, आजको मञ्जुश्री हुन्। यसै बीच दुई देश बीचको सम्बन्धमा मितेरी पुलको रुपमा करिब चालिस वर्षदेखि निरन्तर सेवा प्रदान गर्दैआइरहेको एउटा संस्था पनि छ जसको नाम हो, सीआरआई नेपाली सेवा।

सन् 1941 डिसेम्बर 3 तारिखका दिन स्थापित सीआरआईले छिमेकी मुलुक नेपाल र चीनबीचको सम्बन्धलाई मध्य नजरमा राख्दै सन् 1975 जुन 25मा आधा घण्टाको कार्यक्रम प्रसारण गर्दै सीआरआई नेपाली सेवाको स्थापना गरेको थियो। यसले आफ्नो चार दशकको यात्रामा नेपाली श्रोतालाई त्यस बेला विश्वमाझ पूर्ण रुपमा नखुलेको चीनको जानकारी हामी नेपालीलाई आफ्नोपन देखाउँदै सुनाउँदै आएको थियो। हामीले निकट भएर पनि विकट लागेको हिमालपारीको देश मित्रराष्ट्र चीनबारे जानकारी लिने एउटा माध्यम बनेको थियो। आजको दिनमा आएर बल्ल धेरै नेपालीले चिनियाँ भाषामा रुचि देखाएका छन् तर त्यसै बेला चिनियाँहरूले हामीलाई हाम्रो भाषामा चीनबारे जानकारी दिन्थे। उनीहरूले नेपाली बोलेको सुनेर हामी मन्त्रमुग्ध भएका थियौं र आज पनि त्यो आकर्षण त्यस्तै नै छ। साथै नेपाली श्रोतालाई विभिन्न प्रतियोगिताको नाममा चीनको भ्रमण गर्ने अवसर पनि जुटाउँदै आएको छ। मेरो जन्म सालमा नै स्थापित सीआरआई नेपाली सेवाले आजको ईन्टरनेट तथा मल्टिमिडियाको युगसँगै आफूलाई पनि परिमार्जित गर्दैगइरहेको छ। जसबाट वेबसाइट nepal.cri.cn विश्वका विभिन्न ठाउँमा बसेका नेपालीहरूको पहुँचमा छ। आजको चीन र नेपालबीच एक अटुट सम्बन्ध गाँस्न सफल छ। अनि पछिल्लो समयमा नेपाली श्रोताको माँगअनुसार नेपालका घटनाक्रमलाई पनि सम्प्रेषण गर्दैआएको छ। विशाल चीनको राजनीतिक घटनाक्रम, आर्थिक विकास या चीनको तिब्बतलगायतका अरु प्रान्त अनि आन्तरिक प्रसङ्गमात्र नभइ नेपाल र नेपालीका गाउँघरका कुरादेखि पछिल्लो राजनैतिक घटनाक्रम तथा अरु विकासका प्रसङ्गसँगै नेपालीको जीवन शैलीलाई समेट्न थालेको छ। त्यसै गरी राष्ट्रपति, प्रधानमन्त्री, विभिन्न राजनीतिक दलका नेता, मन्त्री, उच्च तहका सरकारी कर्मचारीदेखि चीनमा पढ्दै गरेका विद्यार्थी, व्यापारी तथा यहाँ कुनै पेशामा आबद्ध व्यक्ति तथा चीन घुम्नआएका सर्वसाधारण नेपालीको समेतको अन्तर्वार्ता, अन्तरङ्ग कुराकानी समेत प्रसारण गरेर सीआरआई नेपाली सेवाले चीनको मात्र नभइ दुई देश बीचको साझा रेडियोको पहिचान बनाइसकेको छ, यो हो सीआरआई नेपाली सेवा। अनि भन्न मन लाग्छ, यो सीआरआई नेपाली सेवा नै आजको अरनिको, भृकुटी, फाश्यान अनि मञ्जुश्री हो।

केही समयअघिसम्म पनि हामी चीन भनेको खासा त हो नि भन्थ्यौ, हो त्यो चीन कै भूमि हो तर चीनको विकासबाट हामी अनभिज्ञ थियौं। चीनले धेरै ठूलो फड्को मारिसकेको छ र हरेक कदम र हरेक क्षेत्रमा विश्वको नम्बर एक भइसकेको छ या हुँदैछ। अहिले हामी नेपालीमात्रै होइन सारा विश्व यसबारे जानकार छन्। त्यसैगरी यता धेरै चिनियाँहरूलाई नेपाल कहाँ छ भन्ने थाहा छैन। यो तीतो सत्य हो। हामीलाई पहिले चीनबारे धेरै थाहा नभए पनि उत्तरतिरको छिमेक भन्ने त थियो। कतिपय चिनियाँलाई नेपाल एशियामा पर्दछ, चीन र भारतबीचको सानो सार्वभौम राष्ट्र या चीन-भारतबीचको पुल केही थाहा छैन। अहिले पछिल्लो समयमा विभिन्न मल्टिमिडियाको माध्यमबाट चिनियाँहरूलाई नेपालको परिचय, नेपालको बारेमा समग्र जानकारी पनि दिँदैआएको छ, सीआरआई नेपाली सेवाले। यसरी एक पर्यटन दूतको रुपमा पनि अघि सरेको छ, सीआरआई नेपाली सेवा। सर्वव्यापी छ कि हाल चिनियाँहरू नै नेपालको मुख्य पर्यटक हुन्।

यसै सीआरआई नेपाली सेवाले आफ्नो यात्राको उनन्चालिसौं वर्ष पुरा गरि चालिसौं वर्षमा प्रवेश गरेको यस अवसरमा र म स्वयंम पनि यसै संस्थामा आबद्ध रहेर बधाई तथा शुभकामना दिन पाउँदा मैले निकै गौरवको अनुभव गरेको छु। सीआरआई नेपाली सेवाले आफ्नो चार दशकको यात्रा पुरा गरिसकेको छ र यसले निरन्तर चीन र नेपाल अनि चिनियाँ र नेपालीलाई भावनात्मक रुपमा अझै जोड्दैजाने छ। यसमा कुनै शङ्का छैन साथै यसले दशक मात्र होइन युग नाघ्ने छ र नवपुस्तालाई पनि सँगै डोर्‌याउने छ। आशा छ, सीआरआई नेपाली सेवा नेपाली र चिनियाँ रहुञ्जेल सदैव घन्किनेछ। मेरो यही वर्षगाँठको अवसरमा कामना। साथै सीआरआई नेपाली सेवाका शुभचिन्तक, श्रोता, यस रेडियोप्रति सद्भाव, हार्दिकता प्रकट गर्नुहुने सबैसबैलाई पनि बधाई छ, यहाँको रेडियोले चालिसौं वार्षिकोत्सव मनाउँदैछ। त्यसैगरी सीआरआई नेपाली सेवामा आबद्ध सबै कर्मचारी साथीहरू, अवकाशप्राप्त दिदीदाजुहरूलाई बधाई छ। यहाँको प्रयास र मेहनतलाई म नमन गर्दछु। साथै हाल आबद्ध सबै कर्मचारी साथीहरूलाई च्यायौ भन्न चाहन्छु।

यसै वर्ष चीन र नेपाल बीच दौत्य सम्बन्ध स्थापना भएको 60औं वार्षिकोत्सव पनि हो, यसै मौकामा समस्त नेपाली तथा चिनियाँलाई शुभकामना व्यक्त गर्दछु कि नेपाली र चिनियाँबीचको सम्बन्ध नमूना बनोस्। नेपाल-चीनबीचको मित्रता अमर रहोस्। त्यसै गरी सन् 1996मा स्थापित सीआरआई श्रोता क्लबहरूको राष्ट्रिय परिषद नेपालले पनि आफ्नो स्थापनाको 20औं वार्षिकोत्सव मनाउनलागेको सुन्दा म गद्गद् भएको छु, सबैसबैलाई शुभकामना। शुभकामना। शुभकामना।

जानकारी तथा लेखहरु
सुझाउ