फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राष्ट्रिय परिषदलाई सम्झदा…

(GMT+08:00) 2015-07-14 15:39:46

सीआरआईसँगको नाता

मैले सबैभन्दा पहिले चीनको नाम सुनेको हिरो कलमबाट हो। 2040 सालतिर म प्राथमिक तहमा अध्ययनरत रहँदा मेरा दाजुले प्रवेशिका परीक्षा उत्तीर्ण गरिसक्नु भएको थियो। उहाँसँग एउटा चाइनिज कलम थियो निलो रङको। त्यो कलम त्यतिखेर महङ्गो मानिन्थ्यो, सायद पाँच रुपैयाँ पर्थ्यो होला। हामीलाई हम्मेसी छुन पनि दिनु हुन्थेन। त्यो कलमको भिर्नेपट्टिको कभरमा हिरो लेखेको थियो। त्यतिखेर त्यस्ता कलम बोक्ने एकाध व्यक्ति थिए। त्यसकारण पनि चाइनिज हिरो कलम भिर्नु र त्यसले लेख्नुलाई गौरव मानिन्थ्यो। अझ कलम बोक्ने व्यक्तिले आफूलाई पनि 'हिरो' नै ठान्थ्यो। दाजु हामीलाई भन्नुहुन्थ्यो - 'यो चानचुने फुल्टिन हो त। हिरो हो केटा हो हिरो! यो चाइनिज हो। चाइनिज भनेको चीनमा बनेको बाबु हो। सितिमिति हो त। चीनमा बनेको कलम बोक्ने भाग्य त खप्परमा लिएर आएको हुनुपर्छ।'

दाजुले पनि त्यो कलम दशैँमा मामाघरबाट आएको दक्षिणा र तिहारमा दैसीभैलो खेलेको चाराना आठाना जोहो गरेर किन्नु भएको रहेछ। म दाजु घरमा नभएको समयमा त्यो कलम सरक्क झिकेर आफ्ना कापीमा केही लेख्ने प्रयास गर्थेँ। तर कलम समाइसक्दा मेरो हात काम्ने गर्दथ्यो। कारण हिरो कलम समाउनलाई मजस्ता जिरोको के हैसियत भन्ने लाग्थ्यो क्यारे।

इलामको पूर्वी भेगमा पर्ने नयाँबजार गाउँ पन्चायत (हालको गाबिस)मा रहेको एकमात्र माध्यमिक विद्यालय अमरकल्याण मावि भरखरै प्रस्तावितबाट स्वीकृत मावि बनेको थियो। हामी पढ्ने त्यो स्कुलको नजिकै बजार थियो। त्यो बजारको नाम नयाँबजार अनि गाउँ पन्चायतको नाम पनि नयाँबजार नै। नयाँबजारमा हरेक मङ्गलबार हाटबजार लाग्दथ्यो। अरुबेला बजार सुनसान हुन्थ्यो। बिहाटमा चिया पनि खान नपाइने बजारमा मङ्गलबारको हाटमा भने पाइला टेक्ने ठाउँ हुँदैन थियो। नयाँबजारमै एउटा हुलाक थियो अतिरिक्त हुलाक। त्यो हुलाक पनि मङ्गलबार मात्र खुल्थ्यो। नामसालिङबाट सार्की दाइहरुले झोलामा चिठीपत्र लिएर आउँथे। हुलाकमा जिम्मा लगाउँथे र बजारमा रहेको छिरिङ सरको घर अगाडि बसेर जुत्ता सिलाउने र मादलमा खरी लगाउने काम गर्दथे। हुलाकमा मानन्द भण्डारी र बजारकै पासाङ दाइ पनि कर्मचारी थिए। तर उनीहरु पनि मङ्गलबार मात्र कार्यालय खोल्थे। हाम्रो स्कुल पनि मङ्गलबार चाहिँ बार्‍ह बजे नै बिदा हुन्थ्यो। हामीलाई बिदा गरेर सरहरु बजारमा ठेक्का उठाउन जानुहुन्थ्यो स्कुलको अतिरिक्त आयश्रोताका लागि।

त्यतिखेर हामी प्रत्येक मङ्गलबार हुलाकमा जान्थ्यौँ र स्कुलमा पढ्ने आफूभन्दा सिनियर दाइदिदीहरुका चिठीपत्र बुझेर ल्याउने गर्दथ्यौँ। कारण उनीहरुका प्राय प्रेमचिठी अर्थात् 'लभलेटर'हरु आएका हुन्थे। अनि हामीलाई उनीहरुका लभलेटर खुसुक्क खोलेर पढ्ने र फेरि टाँसेर जस्ताको जस्तै बनाएर दिन खुब मजा आउँथ्यो। हामीले सम्बन्धित मान्छेकहाँ चिठी पुर्‍याइदिएपछि हुलाकी दाइहरुलाई पनि आनन्दले जागिर खान भइहाल्यो। त्यस्तो काम गर्नेमा नारायण चँदारा, नरनाथ भण्डारी र म अलिक खप्पिस थियौँ।

2042 सालको असार महिनाको एउटा मङ्गलबार म हुलाकमा गएँ। त्यतिबेला म कक्षा 6 मा अध्ययनरत थिएँ। अरु बेला त हामी केटाहरु हुल बाँधेर हुलाकमा जान्थ्यौँ। तर खै के संयोग पर्‍यो कुन्नि त्यो दिन म एक्लै हुलाकमा गएको रहेछु। हुलाकमा मैले मानन्द भण्डारीलाई सोधेँ 'काका हाम्रा स्कुलका कसैको चिठीपत्र आएको छ कि?' उहाँले मलाई आएको छ भन्दै एउटा सेतो ठूलो खामको चिठी दिनुभयो। चिठीको बाहिर नाम हेरेँ ज्ञानु भट्टराई लेखेको रहेछ। उनी हामीभन्दा एक कक्षा माथि अर्थात् कक्षा सातमा पढ्ने दिदी थिइन्। चिठी हातमा लिएर म छक्क परेँ। त्यति ठूलो खाममा यत्रो लभलेटर। वा… आज त मजाले पढिने भइयो भन्दै म चिठी बोकेर बुकीफूल फुलेका डाँडाँतिर गएँ। त्यतिबेला लभलेटर लेख्नेले पाउने केटी छ भने पठाउने केटा भए पनि खाममा पठाउनेको नाम चाहिँ केटीकै लेख्ने गर्दथ्ये। अनि यदि केटीले केटालाई लेखेको रहेछ भने पठाउनेको नाम पनि केटाकै राखिएको हुन्थ्यो। त्यसो गर्दा कसैले शङ्का नगरुन् भन्ने थियो। हामी त्यस्ता कुरामा अर्काका पत्र पढ्दापढ्दै पोख्त भइसकेका थियौँ। तर ज्ञानु भट्टराईलाई पत्र पठाउने मान्छे केटा हो कि केटी हो मैले खाममा मात्र हेरेर थाहा पाइँन।

पत्र खोल्दा निकै होसियार भएर खोल्नु पर्दथ्यो। पछि फेरि टाँसेर जस्ताको तस्तै बनाउनका लागि खाम च्यातिनु हुँदैन थियो। मैले पनि निकै होसियार भएर त्यो टल्किने ठूलो खाम (अहिलेको ए फोर साइजको) खोलेँ। हँ चिठी त हातले लेखेको नभएर छापा पो रहेछ। पत्रमा कतै पनि प्रेमका कुरा थिइनन्। पत्रमा व्यक्तिगत कुरा पनि थिएनन्। अनि एक पृष्ठको चिठीसँगै झण्डै दसबार्‍हवटा अरु फर्महरु थिए जसमा नाम, ठेगाना, उमेर, शिक्षा, रुचि लगायतका सूचनाहरु लेख्ने ठाउँ थियो। मैले तीनपटक पढेपछि मात्र थाहा पाएँ त्यो चिठी त लभलेटर नभएर तत्कालीन रेडियो बेइजिङले पठाएको पत्र रहेछ।

मैले ज्ञानुको चिठीबाट दुईवटा फर्महरु सुटुक्क झिकेँ र बाँकीलाई खाममा राखेर सुनाखरीको डाँठ घोटेर उक्काएको खामलाई टाँसिदिएँ। भोलिपल्ट मैले त्यो चिठी ज्ञानुलाई दिएँ। अनि मैले झिकेको फर्म भरेर आठाना (पचास पैसा) को टिकट टाँसेर निर्दिष्ट ठेगानामा पठाएँ। मैले पत्र पठाएको दुई महिनापछिको मङ्गलबार मैले रेडियो बेइजिङबाट प्रत्युत्तर पाएँ। मैले जीवनमै पाएको पहिलो पत्र थियो त्यो। खामभित्र रेडियो बेइजिङको एउटा ब्याच, केही पोष्टकार्ड र मलाई सम्बोधन गरेर लेखिको पत्र थियो। म फुरुङ्ग परेँ। त्यसपछि लगातार तीनचारपटक पत्रहरु आदानप्रदान हुन थालेपछि मैले थाहा पाएँ मेरो दाजु होमनाथ आचार्य, अनि त्यही स्कुल पढेर क्याम्सप पुग्नुभएका शिखरनाथ सापकोटा र दिवाकर भण्डारी पनि रेडियो बेइजिङलाई पत्राचार गर्नुहुँदोरहेछ। शिखरनाथ सापकोटाले ज्ञानु भट्टराईलाई पत्र लेख्न लगाउनु भएको रहेछ।

म रेडियो बेइजिङको पत्र पाउनासाथ प्रत्युत्तर पठाउँथेँ। पहिले चीनमा पत्र पठाउनका लागि पचास पैसामै हुन्थ्यो। तर पछि चीनमा पत्राचार गर्नका लागि एक रुपैयाँ र केही वर्षपछि दुई रुपैयाँ बनाइयो। मलाई एउटा चिठी पठाउनका लागि दुई रुपैयाँको टिकट किन्न महाभारत नै हुन्थ्यो। तर पनि कहिले घरबाट पैसा चोरेर त कहिले लास जलाउन लाँदा बाटामा भुटेको धानसँगै छरिएका पैसा बटुलेर पनि मैले पत्र भने लेखिरहेँ। मलाई अङ्ग्रेजी भाषाका पत्रिका पनि रेडियो बेइजिङले पठाउन थाल्यो तर म सरकारी स्कुलमा पढ्ने त्यसमाथि अङ्ग्रेजी भाषामा सबैभन्दा लद्दु केटाका लागि ती पत्रिका पढ्न सम्भव भएन। मैले पत्रमा नेपाली पत्रिका मगाएँ। रेडियोले नेपाली पत्रिका नभएको उल्लेख गर्दै हिन्दी भाषामा प्रकाशित चीन सचित्र पत्रिका पठाउन थाल्यो। ती चीन सचित्र पत्रिका पढ्न भन्दा पनि किताबमा गाता हाल्नका लागि काइदाका थिए। हामी चीन सचित्र पत्रिकाका पाना निकालेर किताबमा मिलाएर गाता लगाउँथ्यौँ।

रेडियो बेइजिङमा पत्राचार गर्न थालेको छ महिनापछि मैले रेडियोमा चिनियाँले बोलेको नेपाली आवाज सुन्न थालेँ। त्यसपछि त रेडियो बेइजिङ सुन्नु र त्यसमा पत्राचार गर्नु मेरा लागि एक किसिमको नसा भयो।

मेरो हेण्डराइटिङ माध्यमिक स्कुल पढ्दा सारै नराम्रो थियो। अहिले पनि उस्तै छ भने पनि हुन्छ। हिजोआज कम्प्युटरमा टाइप गर्ने भएकाले म लाजमर्नु हुनबाट जोगिएको छु। हामी त्यतिबेला साना साना कापी चलाउँथ्यौँ। तर मैले रेडियोमा चिठी लेख्दा लामो लामो लेख्ने गरेकाले धेरै पेज लेख्नुपर्दथ्यो। ठूला पेज भएको कापीमा हामी परीक्षामा मात्र लेख्न पाउँथ्यो। कक्षा आठको परीक्षा दिँदै गर्दा मैले थप कापी मागेँ। त्यो कापी मैले परीक्षामा लेख्न नभएर रेडियो बेइजिङमा पत्र लेख्नका लागि मागेको थिएँ। मागिसक्दा मैले त्यसलाई लुकाएँ। समय सकिन लाग्दा कापी मागे पनि सरले दिनुभयो। तर म कस्तो भुद्दु अलिक अगाडि नै मागेको भए त हुने थियो नि। कापी मागिसक्दा समय पनि सकियो र मैले मागेको कापी लुकाएर लेखेको मात्र सरलाई बुझाएँ। हामीलाई कक्षा आठमा शिक्षा पढाउने विष्णु भट्टराई सरले भरखरै मागेको कापी कहाँ राखिस् भनेर सोध्नुभयो। म चोर पक्राउ परिहालेँ। मैले सत्य कुरा बोलेँ – रेडियो बेइजिङमा पत्र लेख्नका लागि लगेको। तर सरले त्यो पेज पनि खोस्नुभयो।

हिरो कलमबाट चीनसँग परिचित म रेडियोमा झुण्डिन थालेँ। रेडियो सुन्दै र पत्राचार गर्दागर्दै 2047 सालमा एसएलसी उत्तीर्ण गरेपछि म आइएस्सी पढ्नका लागि काठमाडौँको ठमेलस्थित अमृत साइन्स क्याम्पसमा भर्ना भएँ। अनि त्यहीँको ठेगाना उल्लेख गरेर रेडियो बेइजिङमा पत्राचार गर्न थालेँ। रेडियोले आयोजना गरेका हरेक प्रतियोगिताहरुमा भाग लिने र प्राय प्रथम पुरस्कार पाउँदै आएँ। रेडियो बेइजिङ पनि त्यही समयदेखि सीआरआई भएको थियो।

यसरी स्थापना भयो राष्ट्रिय परिषद

एसएलसीपछि 2047 सालदेखि म काठमाडौँको लैनचौरस्थित अमृत साइन्स क्याम्पसमा आइएस्सी पढ्न थालेँ र त्यहीको ठेगानाबाट पत्राचार गर्न थालेँ। 2050 सालदेखि म काठमाडौँको पूर्वी भागमा रहेको गोठाटारस्थित गोठाटार इङ्ग्लिस स्कुलमा अध्यापन गराउन थालेँ अनि त्यहीँको ठेगानाबाट सीआरआईमा पत्राचार गर्न थालेँ।

मेरो कोठा चाहिँ जोरपाटीमा थियो। एक दिन साँझ रत्नपार्कबाट म जोरपाटी जाने बसमा चढेको थिएँ। बसमा भीड थियो। त्यही भीडभित्र एकजना मान्छेले सीआरआईबाट आएको चिठी च्यापेर उभिनु भएको रहेछ। मैले उहाँसँग परिचय गरेँ। उहाँ पनि सीआरआईको नियमित श्रोता हुनुहुँदो रहेछ। वास्तवमा हामी सीआरआईको प्रसारणमार्फत एक अर्कामा परिचित नै थियौँ तर प्रत्यक्ष देखाभेट भएको थिएन। उहाँ टिकाराम घिमिरे हुनुहुँदोरहेछ। त्यो बसको भीडभित्रको हाम्रो परिचय अहिले बीसवर्षसम्म पनि उत्तिकै सुमधुर र घनिष्ट रहेको छ।

त्यतिबेला काठमाडौँमा टेलिफोनको सुबिधा जहाँसुकै थिएन। 2052 लालको मंसिर महिनाको कुरा हो। गते चाहिँ मैले बिर्सिएँ। विद्यालयको वार्षिक परीक्षा सकिएर हामी उत्तर पुस्तिका जाँच्ने काममा व्यस्त थियौँ। त्यतिबेला वार्षिक परीक्षा मंसिरमा हुन्थ्यो र दुई महिनाको जाडो बिदापछि फागुनमा नयाँ शैक्षिक सत्र सुरु हुने गर्दथ्यो। विद्यालयको फोनमा कसैले मलाई फोन गरेछ। फोन आएको सूचना पाएपछि मैले फोन उठाएँ। फोन गर्ने मान्छेले मलाई सुरुमा आफ्नो नाम नभनिकन कुराकानी गर्नुभयो। स्वर सुन्दा मलाई नियमित फोन गर्ने मान्छे जस्तै लाग्यो। त्यसकारण मैले सामान्य रुपमा उहाँसँग गफ गरेँ। केही मिनेट कुरा गरेपछि फोन गर्ने मान्छेले मलाई सोध्नुभयो 'तपाईंले मलाई चिन्नुभयो?' लौ फसाद पर्‍यो। अघिदेखि चिनेको मान्छे भनेर कुरा गरिरहेको त होइन पो रहेछ। अन्ततः उहाँले मलाई परिचय दिनुभयो 'चेतनाथजी म प्रकाशबाबु पौडेल बोल्दैछु।'

मैले प्रकाशबाबु पौडेललाई देखेको पनि थिइँन र उहाँको स्वर पनि सुनेको थिइँन। तर पहिले रेडियो पैचिङ र पछि सीआरआईले पठाउने पोष्ट कार्ड र द म्यासेन्जर नामको अंग्रेजी पत्रिकामा उहाँको फोटो देखेको थिएँ। उहाँले नाम भन्नासाथ उहाँलाई चिन्न मलाई धेरै समय लाग्दै लागेन।

त्यो समयमा चीनबाट सीआरआई नेपाली विभागकी प्रमुख छाङ हो दिदी काठमाडौँ जानु भएको रहेछ। अनि उहाँ हामी सक्रिय श्रोताको सम्भव भएसम्म सबैको नाम र ठेगाना लानु भएको रहेछ र प्रकाश बाबु पौडेललाई दिनु भएको रहेछ। सोही सिलसिलामा प्रकाशबाबु पौडेलले मलाई फोन गर्नु भएको रहेछ। ती प्रशङ्गको जानकारी गराउँदै उहाँले मलाई त्यसपछिको शनिबार बिहान एघार बजे डिल्लीबजारको उहाँको निजी अफिसमा भेटघाट गर्नका लागि बोलाउनुभयो।

2052 सालको मंसिरको अन्तिमतिरको शनिबार प्रकाशबाबु पौडेलको डिल्लीबजारको कार्यालयमा भएको बैठक र छलफल सीआरआई नेपाली सेवाका लागि एउटा कोशेढुङ्गाका रुपमा स्थापित छ। सो बैठकमा छाङ हो दिदीसँगै प्रकाशबाबु पौडेल, राजेन्द्र रिमाल, राजेन्द्र पहाडी, कपाली एच.के., शम्भु सुवेदी, टिकाराम घिमिरे, मुरारि पराजुली र दुर्गा घिमिरे भेला भएका थियौँ। टिकाराम घिमिरे बाहेक सबैसँग मेरो पहिलोपटक भेट भएको थियो। यही बैठकले नै नेपालमा छरिएर रहेका 6 सयभन्दा बढी श्रोता क्लबहरुलाई एकत्रित गर्दै सीआरआई श्रोता क्लबहरुको राष्ट्रिय परिषद गठन गर्नका लागि राष्ट्रिय स्तरको सम्मेलन गर्ने निर्णय गरेको थियो। सो आन्दोलनमा पछि कृष्ण बजगाईं, रमेशकुमार भट्टराई, काजीराम गौतम, भूपालदाष श्रेष्ठ, नवराज आचार्य, खगेश्वर अधिकारी, राजुमान श्रेष्ठ, मानबहादुर केसी, सन्तोष भुजेल, रामजी राई, ध्रुव पौडेल, राजु पौडैल, रमा शर्मा, गंगा प्रसाद शाह, सुलेमान अन्सारी, लोकेन्द्र काफ्ले, सुदर्शन पौडेल लगायतका साथीहरु समाहित हुनुभयो। अहिले सबै साथीको नाम सम्झन सकिँन। नाम छुट्न गएका साथीहरुसँग क्षमापार्थी छु।

राष्ट्रिय परिषदको म संस्थापक केन्द्रीय सदस्य हुँदै पछि कार्यवाहक सचिव भएँ भने दोस्रो कार्यसमितिमा म सचिव भएँ। अनि तेस्रो कार्य समितिमा अध्यक्षमा निर्वाचित भएर दुई वर्ष काम गरेपछि मलाई सीआरआईले नेपाल संवाददातामा नियुक्त गर्‍यो। त्यसपछिका दिनमा म निरन्तर रुपमा राष्ट्रिय परिषदको सल्लाहकारमा रहँदै आएको छु। म राष्ट्रिय परिषदको अध्यक्ष भएको अवसरमा सीआरआई नेपाली सेवाको तीसौँ वार्षिकोत्सव परेको थियो र सोही मौकामा हामीले 'तीन दसकको यात्रा' स्मारिका पनि प्रकाशन गरेका थियौँ।

2052 सालको मंसिरको अन्तदेखि 2053 को जेठ 3 गतेसम्म हामीले हरेक हप्ता बैठक बस्दै व्यापक तयारी गर्‍यौँ र नेपालमा रहेका सबै सीआरआई श्रोता क्लवहरुको राष्ट्रिय परिषद स्थापनार्थ थापाथलीस्थित नेपाल राष्ट्रबैंकको सभाहलमा भव्य र अद्वित्तीय सम्मेलन गर्‍यौँ। पहिलो सम्मेलनका लागि हामी त्यतिखेरका संस्थापक सदस्यहरुले दामासाहीले पैसा उठाएर खर्चको जोहो गरेका थियौँ। अनि सम्मेलनमा आउने सबै प्रतिनिधिहरुबाट दर्ता शुल्क पनि लिएका थियौँ। त्यतिबेलाका अधिकांश साथीहरुसँग अहिले पनि सुमधुर र घनिष्ट सम्बन्ध रहेको छ।

राष्ट्रिय परिषद गठनपछि क्षेत्रीय रुपमा पनि उल्लेख्य काम भएका छन्। पोखरामा नवराज आचार्यको सक्रियतामा पश्चिमान्चल क्षेत्रीय भेलाको आयोजना भएको थियो भने चितवनको गुन्जनगरमा बीरेन्द्र पौडेलको सक्रियतामा मध्यमान्चल क्षेत्रीय भेलाको आयोजना भएको थियो। सन् 1998 मा इलाममा राष्ट्रिय परिषदको साधारण सभा सम्मन्न भएको थियो। सन् 2005 मा चितवन र पोखरा तथा तनहुको दुलेगौडामा पनि महत्वपूर्ण कार्यक्रमहरु आयोजना भएका थिए।

राष्ट्रिय परिषदले काठमाडौँमा हरेक वर्ष आयोजना गर्ने हरेक कार्यक्रमको उच्च महत्व रहेको कुरा त्यसबेलाका नेपाली संचार माध्यममा आएको समाचार तथा सीआरआईले राष्ट्रिय परिषदलाई दिएको मानसम्मानले पनि पुष्टि गरेको छ।

श्रोतादेखि विशेषज्ञसम्म

सीआरआईकै प्रभावले मैले 2052 सालदेखि पत्रकारिता गर्न थालेँ। कलम र रेडियोले मलाई चीन चिनाएका थिए अनि त्यही प्रभावले पत्रकार बन्न पनि सकेँ। सन् 2004 मा सीआरआईको उत्कृष्ट श्रोता भएर मैले चीनको पहिलो भ्रमण गर्ने अवसर पाएँ। त्यसपछि सन् 2006 मा नेपाली पत्रकारहरुको एउटा प्रतिनिधमण्डलमा समावेश भएर चीनको स्वायत्त प्रदेश तिब्बतको भ्रमण गरेँ। सन् 2008 मा नेपाली युवा प्रतिनिधिमण्डलमा समावेश भएर चीनको तेस्रो भ्रमण गरेँ। त्यतिबेला म नेपाल चीन युवा मैत्री संघको महासचिव थिएँ। सन् 2013 को जुनमा चीनको युन्नान प्रान्तको खुन्मिङमा आयोजित पहिलो चीन दक्षिण एसिया एक्स्पोमा एउटा प्रतिनिधि मण्डलमा सहभागी हुने मौका पाएँ।

सन् 2013 को अगष्टदेखि म चिनियाँ अन्तर्राष्ट्रिय रेडियो सीआरआई नेपाली सेवामा विदेशी विशेषज्ञका रुपमा कार्यरत छु। तीस वर्ष अगाडि म तत्कालीन रेडियो बेइजिङको एउटा फुच्चे श्रोता थिएँ। त्यसपछिका दिनमा मैले रेडियो सुन्ने र पत्राचार गर्ने कामलाई विशेषज्ञ भएर चीन आउनुभन्दा अगाडिसम्म कायम राखेँ। सन् 1963 मा पहिलोपटक बेइजिङ आएर पहिलोपटक चिनियाँलाई नेपाली भाषा पढाउने कृष्णबहादुर प्रधान र सन् 1965 मा बेइजिङ आएर नेपाली पढाउने सत्यमोहन जोशीसँग घनिष्ट सम्बन्ध राख्न सफल भएँ। त्यसैगरी वरिष्ठ साहित्यकार गोबिन्द भट्ट, प्राध्यापक डा बल्लभमणि दाहालजस्ता नेपालका प्रवुद्ध र उच्च स्तरीय व्यक्तित्वसँग विचार विमर्श गर्ने मौका पाएँ। उहाँहरुमध्ये अहिले हामीसँग सत्यमोहन जोशी मात्र हुनुहुन्छ। अनि मैले बेइजिङमा विशेषज्ञका रुपमा काम गर्दा उहाँहरुले दीक्षित गर्नु भएका पहिलो पुस्ताका चिनियाँहरु निवृत्त भइसक्नु भएको छ।

सीआरआई नेपाली सेवाले विगत चालीस वर्षदेखि नेपाल र चीनबीचको मैत्री सम्बन्धलाई जनस्तरमा फेल्याउने काम गरिरहेको छ। नेपाली सेवाका संवाहकहरु नेपाली श्रोता हुन् र राष्ट्रिय परिषद ती श्रोताको छाता संगठन हो। यतिबेला सीआरआई नेपाली सेवाले चालीस वर्ष व्यतित गरेको छ अनि त्यो चालीस वर्षको एउटा उपलब्धि यो 'चार दसकको यात्रा' पनि हो। मलाई आफ्ना अनुभव र भावना राख्ने अवसर दिएकोमा सिङ्गो राष्ट्रिय परिषद र स्मारिका प्रकाशन समितिप्रति कृतज्ञ छु।

सीआरआई श्रोता क्लबहरुको राष्ट्रिय परिषद नेपालले प्रकाशन गर्न लागेको'चार दसकको यात्रा'स्मारिकाको लागि।

जानकारी तथा लेखहरु
सुझाउ