फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

ईन्टरनेटीय युग अनि भाइरल भिडियोहरू

(GMT+08:00) 2015-08-06 19:13:13

------अजय अलौकिक

हालैको घटना हो। एउटा अनलाइन पेजमा राखिएको भिडियोमा आँखा पर्‌यो, मेरो। त्यस भिडियोमा एक बुढो साइकलयात्री बीच सडकमा लडेको देखाइएको थियो। अनि मलाई अलि कौतुहलता जाग्यो, के रहेछ त भिडियोमा। पक्कै पनि त्यो यात्रीलाई ठूलो चोटपटक लागेन होला दिनको समय थियो, नजिकै अर्को साइकल यात्री पनि देखिन्थ्यो अनि त्यो भिडियो बुढो लडेको ठाउँ अगाडि कारबाट खिचिएको बुझिन्थ्यो। त्यसकारण पनि त्यस्तो केही भएन भन्ने लाग्यो तर मैले त्यो भिडियो क्लिक गरिन। के रहेछ भन्ने जिज्ञासा भने रहिरह्यो। सरसर्ती चिनियाँ भाषाको त्यो क्युकयू पेज हेरें। क्युक्यू नामको सोसल वेबसाइट तथा अनलाइन मिडिया मेरो फोनमा नै भएकोले त्यसको तस्वीरसहीतका समाचार पेज बेलाबेलामा यसो सरसर्ती हेर्ने गर्दछु अनि चिनियाँ शब्द हल्का जानिन्छ कि भनेर पनि खोल्ने गर्दछु। यसरी नै त्यो पेज या साइट हेर्ने बेला फेरि पनि मेरो आँखा त्यही भिडियोमा पर्‌यो। यस पटक भने के रहेछ त आखिर भन्दै त्यो भिडियो क्लिक गरी हेरें।

त्यो बुढो साइकलयात्री बीच सडकमा ढलेको देखेर एक युवक जो आफ्नो साइकल चढेर बाटो काट्दै थियो त्यो आफ्नो साइकल राखेर त्यस बुढोलाई हेर्न अघि बढ्छ। र के हुन्छ कुन्नी बिस्तारै त्यहाँ भीड जम्मा हुन्छ। केही बुझ्नु भयो कि तपाईँले? के हुनसक्छ? मैले केही बुझ्नैसकिन अनि त्यसै भिडियो तलको समाचारलाई कपी गरी ट्रान्स्लेट गरें। अनि त्यो पढेर म छक्कै परें। त्यो युवक जो बुढो लडेको देखेर सहायता दिन चाहेको रहेछ त्यसै युवकलाई बुढोले समातेर यसैले लडाइदिएको भन्दै क्षतिपुर्ति माँग गर्दै गुहार्दैरहेछ। यस्तो पढेर म तीन छक्क परें। यो घटना थियो, सछ्वान प्रान्तको फन्‌चौ शहरको। हिजोआज शहरमा सबै दुःखी आत्मा डुल्छन्। कतै कोही लडिरहेछ भने सोध्ने कोही हुँदैन, एक अर्काप्रति सहयोगको भावना छैन, मानवता खरायोको सिङ्ग भनेझैं भइसक्यो। यस्तै भन्दै र देख्दै आएता पनि यहाँ एक युवक भने सहयोग गर्न चाहँदा झण्डै फसेको थियो। समाचार अनुसार पछि सिसिटिभीको भिडियो हेरेर यो घटनाको टुङ्गो लगाइयो। त्यो बुढो सडकमा आफै नै भुक्लुङ्ग ढलेको रहेछ। त्यसै त दुःख अनि समस्याका प्याकेट मानिसहरू आफ्नैबाट उम्कनसकेका हुँदैन झन् अरुको झमेलामा पर्ने कुरै भएन। हाल बरु मानिसहरू छ भने पैसा फ्याँक्न तयार हुन्छन् तर त्यसबाहेक अरु केही गर्न चाहदैनन्। हुन पनि यी दुःखी आत्माहरूसँग आफ्नैका लागि अझै भन्दा आफू स्वयमका लागि समय छैन। ता पनि यस्तै भीडमा केही असल मानिसहरू पनि हुन्छन्। राति आकाशमा तारा सधैँ हुन्छ तर जूनेली रातले धर्ती उज्ज्यालो बनाउँछ। त्यस्तै असल, गुणकारीको मात्रा कमै होला शहरमा तर पनि छन् है भन्ने कुराको सङ्केत गर्दछ, त्यो युवकले।

तर यस्ता घटनाले सहयोगी मनलाई पनि एक पटक सोच्न बाध्य बनाएको छ। विशाल चीनमा दिनहुँ अनेकन् घटना घट्ने गर्दछ। अनि यस्ता धेरै धेरै किसिमका घटनाहरू समाचारका रुपमा पत्रपत्रिका, अनलाइन तथा सोसल वेबसाइटमा छाउने गर्दछ। अहिलेको यो आधुनिक अनि मल्टिमिडियाको युगमा हामीले समाचार पढ्ने मात्रै होइन त्यसै समाचार बनेका विषयको नालीबेली सबै हेर्न बुझ्नसक्छौं। हामीले पत्रिकामा समाचार पढ्नुभन्दा टिभीमा तस्वीर अनि भिडियोसँगै समाचार हेर्नुमा एउटा विश्वसनीयता छ। हाल अनलाइनले दर्शक, पाठकलाई अझै धेरै आकर्षित गरेको छ। त्यसमाथि कुनै विषयमा चासो राख्दा पनि त्यसै सम्बन्धित सयौं कुराबस्तुहरू हेर्न पढ्न सकिन्छ। अनि यस्तैमा केही घटना या समाचार तुरुन्तै एक कान दुई कान भनेझैं एक कम्प्युटर दुई हातेफोन हुँदै क्षणभरमै भाइरल बन्नपुग्छ।

चिनियाँ वेबसाइटमा घण्टा मिनेटमा चीनका मात्रै नभइ विश्वकै असंख्य भिडियो हेर्नपाइन्छ। अनि भिडियो पनि हरेक विधाका। मैले यहाँ भिडियो साइटको कुरा गरेको होइन। समाचार सम्प्रेषण गर्ने यहाँका चर्चित, लोकप्रिय वेबसाइटको नै प्रसङ्ग जोड्न खोजेको हो। जहाँ सम्बन्धित समाचारका तस्विरहरु, भिडियोहरू पनि सजिलै हेर्नसकिन्छ। त्यसबाहेक विभिन्न सोसल नेटवर्कमा भिडियो भाइरलको रुपमा फैलिने त छँदैछ।

यस्तैमा केही दिनअघि एउटा भिडियोले केही घण्टाका लागि सोसल नेटवर्क तताएको थियो। पछि लगत्तै चिनियाँ साइबरस्पेस नियमन सङ्गठनले त्यो भाइरल बनेको भिडियोमाथि रोक लगायो। त्यस भिडियोमा पैचिङ्गको सान्लितुनमा अवस्थित एक रेडिमेड लुगा यूनिक्लोको दोकानको ट्रायल रुममा एक युवा जोडीले अश्लिल कार्यको केही सेकेण्डको भिडियो अपलोड गरेका थिए। त्यो तिनीहरूको कार्य अश्लिल नहोला तर मानिसको भीडबीच एउटा ट्रायल रुममा गरिनु असभ्य, अश्लिल कार्य हो भने त्यसलाई सोसल नेटवर्कमा अपलोड गर्नु झनै असभ्य तथा अश्लिलताको पराकाष्ठा नाघ्नु हो। साथै चिनियाँ कानूनले पनि यस्ता हर्कतलाई आफ्नो घेराभित्र राखेको छ। हाल यसमा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरिसकेको छ। यो भिडियो प्रेषणभएको तीन-चार दिनभित्र यससँग सरोकार भएका सबैलाई पक्रिएसँगै यो घटना सेलाएको छ। यो भिडियोमा बन्देज लगाएपनि त्यसैबाट लिइएको तस्वीरसहितका अनेकन् अड्कलबाजी गर्दै समाचारहरू छापिए। ती तस्वीरलाई टिसर्टमा प्रिन्ट गरी तुरुन्तै ईन्टरनेटमा विक्रीका लागि राखियो, खुबै चर्चा बटुलेको थियो। यसै घटनालाई लिएर चिनियाँ युवायुवतीहरूले सान्लिटुनमा अवस्थित सो मलबाहिर सेल्फी खिचेर सोसल नेटवर्कमा अपलोड गर्ने होडबाजी नै चलाए। तर अहिले सामान्य भइसकेको छ। कतिपय राम्रा अनि कतिपय बेकारका भिडियोहरू भाइरल हुने आफ्नो ठाउँमा छ। तर यसरी ईन्टरनेटीय युगमा समाचार पढ्न, हेर्न, सुन्न सबै पाइएको छ। अनि यी ईन्टरनेटमा उपलब्ध भिडियोले विश्वसनीयता पनि थपेको छ। हामीले हाम्रै आँखाले अपत्यारीला घटना, समाचारहरू हेर्नपाएका छौं। यसरी मल्टिमिडियाको प्रयोगसँगै भाषा नबुझ्दा पनि भिडियो हेरेरै मात्र पनि के कसो भए भन्ने हामीले अनुमान लगाउनसक्छौं।

यस प्रसङ्गमा मल्टिमिडिया युगसँगै आजका शहरीया युवाहरूले गलत बाटो अपनाएको प्रसङ्ग जोडें भने माथिल्लो प्रसङ्गमा यसै शहरको एक सहयोगी युवाको। तर यी दुबै प्रसङ्गसँग म जोडिनुको कारण भने शहर, आधुनिकता अनि ईन्टरनेट भिडियो नै हो। यस्तैमा अर्को एउटा दर्दनाक, दुःखद भिडियोको प्रसङ्ग अघि सार्नचाहन्छु, यहाँ। 

यो जुलाई 26 तारिख आइतबार बिहानको दश बजे घटेको घटना हो। र सिना वइबोमा राखिएको यस घटनासम्बन्धी भिडियोलाई सोमबारसम्ममा छ करोड साठी लाख मानिसले हेरिसकेका थिए। यो ह्रदयविदारक घटनाले सुरक्षाका प्रश्नलाई पनि उठाएको छ। आइतबार हुबे प्रान्तको चिङ्गचौ शहरको एक शपिङ्ग सेन्टरको एस्कलेटरको माथिल्लो भाग आकस्मात् खोलिन गइ एक 31 वर्षीय महिलाको मृत्यु भयो। सेक्युरिटी क्यामेराको भिडियो जुन भाइरल भएको थियो, त्यसमा आफ्नो दुधेबालकलाई हातमा च्याप्दै एस्कलेटर चढेकी हुन्छे र माथि एस्कलेटरको अन्त्यमा या भर्‌याङ्गपछिको समथर भागमा टेक्दा त्यहाँको प्लेट लूजभएबाट खस्न पुग्छिन् र एस्कलेटरले उनलाई तान्छ र त्यसै बेला तुरुन्तै उनले आफ्नो बच्चालाई उठाएर अगाडि उभिरहेकी मलका कर्मचारीतर्फ हात बढाउँछिन्। यता ती कर्मचारीले बच्चालाई सकुशल समात्न भ्याउँछ तर घुमीरहेको एस्कलेटरले आमालाई तलतिर तान्दै लैजान्छ, ती कर्मचारीहरूले उनलाई पनि तान्न खोज्छन्। तर क्षणमै अदृश्य हुन्छ। भयानक थियो त्यो भिडियो क्लिपिङ्ग। यसरी एक ममतामयी आमाले आफ्नो बालकलाई बचाउन सफल हुन्छिन् उनको भने मृत्यु हुन्छ। चार घण्टा लगाएर त्यस एस्कलेटर खोल्न सम्भव भएपनि ती महिलाले त्यहीँ प्राण त्यागीसकेकी थिइन। मानिस सुविधाभोगी मोर्डन तथा शहरीया हुँदैजानु आफ्नो ठाउँमा छ तर ती सुविधायुक्त चीजबस्तु अनि संयन्त्रको मर्मत सम्भार नगर्नु लापरवाही हो। साथै हुनसक्ने दुर्घटनाबाट बच्ने उपाय जान्नु अतिआवश्यक छ। यस घटनाले यसै कुराको पुष्टी गर्छ।

यसरी एस्कलेटरमा यस अघि पनि क्वाङ्गसीचुवाङ्ग स्वायत्त प्रदेशको वुचौ शहरमा एक वर्षे बालक घाइते भएको थियो। हालै साङ्ग हाईमा एक सफाई मजदुरको खुट्टा फसेको थियो, तुरुन्तै एस्केलेटर रोकाएर ठूलो क्षति हुनबाट जोगिएको छ। यी दुर्घटनाहरूले चीनभरिका लिफ्ट र एस्केलेटरको सुरक्षाबारे चिन्तित बनाएको छ।

चीनले एलभेटर र एस्केलेटरको उत्पादन तथा प्रयोगमा विश्वमा अग्रस्थान ओगटेको छ। सन् 2014को अन्त्यसम्म चीनमा तीन करोड साठी लाख एलभेटर र एस्केलेटर प्रयोगमा आइरहेका छन् साथै गुणस्तर सुपरिवेक्षण, निरिक्षण र क्वारेन्टाइनसम्बन्धीको सामान्य प्रशासन व्यूरो (एक्यूएसआइक्यू)अनुसार यसको प्रयोग वार्षिक रुपमा बीस प्रतिशतले वृद्धि भइरहेको छ। साङ्ग हाईमा एक लाख त्रियान्नब्बे हजार एलभेटर र एस्केलेटर सञ्चालित छ र यति धेरै यस आधुनिक भर्याङ्गको प्रयोग विश्वको अरु कुनै शहरमा पनि छैन।

एक्यूएसआइक्यूका अनुसार गत वर्ष 2014मा निरिक्षण गरेअनसार पन्ध्र या सोभन्दा बढी वर्ष प्रयोग भइसकेका 2,523 एलभेटर र एस्केलेटरमध्येका सात प्रतिशतमा अति जोखिम छ। लामो समयदेखि प्रयोगमा रहेका एलभेटर र एस्केलेटरको खतरा बढ्दैगएको छ। त्यसै गरी गत वर्ष 48 वटा एलभेटर र एस्केलेटरका दुर्घटना घटे जसबाट 36 जनाको मृत्यु भएको थियो। एक्यूएसआइक्यूले सयमा पाँच वटामा समस्या भएको र समस्याग्रस्त 111,000 यस्ता एलभेटर र एस्केलेटरमध्ये 79,000को मर्मत गरिसकेको पनि जनाएको छ। सन् 2003 अघि निर्मित यस्ता एलभेटर र एस्केलेटरको आयु सकेकाले खतरा बढेको पनि निश्कर्ष निकालिएको छ।

यो आधुनिक भर्‌याङ्गको घटनाले मर्मत सम्भार अतिआवश्यक छ र म्याद समाप्तीसँगै प्रयोग वर्जित गर्नु जरुरी छ भन्ने प्रष्ट्याएको छ। साथै यी भिडियोहरूले हामीलाई पनि सचेत तथा सतर्क बनाएको छ। यो होइन कि यी भाइरल भएका भिडियो सबैमा नकरात्मक पक्षमात्र समेटेको हुन्छ। यी भिडियोबाट हामीले राम्रा पक्ष ग्रहण गर्नुपर्छ। (यी सबै तस्वीरहरु इन्टरनेटबाट लिइएको हो। )

जानकारी तथा लेखहरु
सुझाउ