फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको शक्ति प्रदर्शन

(GMT+08:00) 2015-09-02 16:53:56

        चीनले राजधानी बेइजिङको केन्द्रमा रहेको थिआन मन स्क्वायरमा यही भदौ 17 गते (सेप्टेम्बर 3 तारिख) विशाल सैनिक परेड गर्दैछ। चिनियाँ जनताले जापानी अतिक्रमणकारी युद्ध अर्थात् फासिस्ट विरुद्ध युद्ध विजयी गरेको तथा दोस्रो विश्वयुद्ध समाप्त भएको 70 औँ वार्षिकोत्सवका अवसरमा चीनले सैनिक परेड गर्नलागेको हो।

        संयुक्त राष्ट्रसंघले गतवर्ष विश्वभरि यस्तो उत्सव मनाउने निर्णय गरेको थियो। परेडका लागि सेप्टेम्बर 3 तारिखलाई चीनभरि सार्वजनिक विदा दिइएको छ भने राजधानी बेइजिङमा सेप्टेम्बर 1 देखि तीन तारिखसम्म सार्वजनिक विदा घोषणा गरिएको छ। सन् 2012 मा चीनका राष्ट्राध्यक्ष सी चिन फिङ सत्तामा आएपछिको यो पहिलो सैनिक परेडलाई चीनमा अहिलेसम्मकै अद्वितीय र अतुलनीय रहने भन्दै चिनियाँ सञ्चार माध्यमहरूले प्रचार गरेका छन्।

        सन् 2009 मा चीनले जनगणतन्त्र स्थापना भएको साठीऔँ वार्षिकोत्सवमा सोही स्थानमा सैनिक परेड प्रदर्शन गरेको थियो। त्यसपछि सो स्थानमा आयोजना गरिएको यो पहिलो सैनिक परेड हो। छ वर्ष अगाडि आयोजित सैनिक परेड राष्ट्रिय गौरवको रहेको तर अहिलेको सैनिक परेड चीनको राष्ट्रिय गौरवसँगै शान्ति र विजयका लागि अन्तर्राष्ट्रिय गौरव पनि भएको चीनले घोषणा गरेको छ।

        बेइजिङमा रहेको थिआन मन स्क्वायर विश्वकै सबैभन्दा ठूलो चोक हो। यसको पूर्वतिर विश्वकै सबैभन्दा ठूलो संग्रहालय चिनियाँ राष्ट्रिय संग्रहालय रहेको छ भने दक्षिणतिर नयाँ चीनका संस्थापक नेता माओत्सेतुङको शव राखिएको भवन छ। पश्चिमतिर विश्वकै सबैभन्दा ठूलो संसद भवन चीनको जनबृहत सभाभवन रहेको छ र उत्तरतिर विश्वकै सबैभन्दा ठूलो राजदरबार फोर्बिडन सिटी छ।

         विश्वको सबैभन्दा ठूलो कहलिएको स्थानमा प्रदर्शन गरिने सैनिक परेडले विश्वको ध्यान तानेको छ। चीनले विश्व शान्ति र विजयका लागि यो परेड आयोजना गरिएको उद्घोष गरेको छ। तर केही मुलुकले यसलाई चीनको शक्ति प्रदर्शन भनेर आलोचना पनि गरेका छन्। परेड अवलोकन गर्न 49 वटा मुलुकले आफ्ना प्रतिनिधि पठाउने निश्चित गरेका छन्। तीमध्ये 30 जना राष्ट्रनायक र सरकार प्रमुख छन् भने 19 जना उच्च सरकारी प्रतिनिधि रहेका छन्। त्यसैगरी अन्तर्राष्ट्रिय र क्षेत्रीय संगठनका 10 जना प्रमुखहरू समावेश छन्, जसमा संयुक्त राष्ट्रसंघका महासचिव वान की मुन पनि छन्। यस बाहेक चीनमा रहेका कूटनीतिक नियोगका प्रमुख र सैनिक सहचरीलाई पनि परेड अवलोकन गर्न निमन्त्रणा गरिएको छ। परेडमा सत्र विभिन्न देशका एक हजार सैनिकसहित 12 हजार सैनिकले मार्चपास गर्दैछन्।

         चीनले यसलाई सत्तरी वर्ष अगाडि सँगै युद्ध लडेका देशहरूको साझा हितसँगै विश्वका लागि शान्तिको कामना गर्दै यो महोत्सव मनाउन लागेको बताएको छ। दोस्रो विश्वयुद्धमा सैनिकहरू मात्र तीन करोड पचास लाखको मृत्यु भएको थियो। चीनले जापानसँग सन् 1931 देखि 1945 सम्म चौध वर्ष युद्ध गर्नुपरेको थियो। सो युद्धमा मात्र एक करोड पचास लाख चिनियाँले ज्यान गुमाएका थिए भने दस करोड चिनियाँहरू आन्तरिक शरणार्थी बनेका थिए। सन् 1937 मा जापानले चीनको नानचिङमा गरेको मानव नरसंहारलाई विश्वकै सबैभन्दा क्रूर हत्याकाण्ड मानिन्छ। दोस्रो विश्वयुद्धताका चीनले भोगेको पीडालाई पश्चिमा जगतले अनुभूत गर्न नसकेको गुनासो चीनले गर्दै आएको छ।

         चिनियाँ जनमुक्ति सेनाका मेजर जनरल तथा परेडका डेपुटी कमाण्डर वाङ सुनले पत्रकार सम्मेलनमा बताएअनुसार सैनिक परेडमा 27 समूहमा हातहतियारले सुसज्जित सैनिक प्रदर्शनी गरिनेछ। परेडमा समावेश 84 प्रतिशत हातहतियार र यन्त्रहरू योभन्दा पहिले कहिल्यै पनि सार्वजनिक नगरिएका रहेका छन्। परेड अवधिमा थिआन मन स्क्वायरको आकाशमा 2 सय सैनिक फाइटर जेट र आक्रामक हेलिकप्टरबाट युद्धकला प्रदर्शन गरिनेछ। परेडमा चीनमै निर्मित अत्याधुनिक मिसायल लगायतका युद्ध सामग्री पनि प्रदर्शन हुँदैछ। सैनिक परेडमा हातहतियार प्रदर्शन गर्नु र मिसायल देखाउनु विश्वव्यापी प्रचलन रहेको चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता छु रुइले स्पष्ट पारेका छन्।

         सैनिक परेडको उद्देश्य शान्ति र विजय रहेको चीनले घोषणा गरे पनि पश्चिमाहरूले यसलाई चीनको आन्तरिक राष्ट्रभक्तिलाई अझै सशक्त बनाउने र पार्टी तथा सैनिक शक्तिबाट आन्तरिक विद्रोहलाई थर्काउने उद्देश्य रहेको बताएका छन्। कतिपयले यसलाई स्टालिनकालीन परेड भनेर व्यङ्ग पनि गरेका छन्। रूसका राष्ट्रपति भ्लादिमिर पुटिनको सक्रिय सहभागिता र सहयोग रहेको र गत मे 9 तारिख रूसले मस्कोमा यस्तै परेड आयोजना गरेकाले यसो भनिएको हो। 

         परेड हुनुभन्दा दुई साता अगाडिदेखि सहरका केही क्षेत्रमा मार्सल कानुन लगाइएको छ। जहाँ मानिसको आवागमन र सवारी साधनलाई रोक लगाइएको छ। बेइजिङ सहरलाई 28 लाख फूल र बिरुवाहरूले सजाइएको छ। शान्ति र विजयको सन्देश दिने विभिन्न प्रतीक चिन्हलाई वनस्पतिबाट सिँगारेर चोकचोकमा सजाइएको छ। बेइजिङमा मात्र 8 लाख 50 हजार नागरिक सुरक्षाकर्मीलाई खटाइएको छ। सहरका हरेक सडक गल्ली र चोकहरूमा सुरक्षा व्यवस्थालाई चुस्त बनाइएको छ। सामाजिक सञ्जाल र सञ्चारका सामग्रीमाथि पनि कडा निगरानी गरिएको छ। यो अवधिमा बेइजिङका 10 हजारभन्दा बढी कोइला कारखानाहरूलाई बन्द गरेर बेइजिङको आकाश सफा बनाउने प्रयास गरिएको छ। विश्वमा आर्थिक प्रभाव बढाउँदै गएको चीनले आयोजना गरेको सैनिक परेडलाई केही मुलुकलक्षित शक्ति प्रदर्शनको रूपमा व्याख्या गरिएको छ।

         यो सैनिक परेडबाट विशेषगरी जापान, भारत र अमेरिकाले आशंका व्यक्त गरेका छन्। जापान विरुद्धको युद्धकै स्मरण दिवस भएकाले यो दिवसले जापानको टाउको दुख्नु स्वाभाविक हो। तर गत मे 9 तारिख रूसमा आयोजित उस्तै सैनिक परेडमा सक्रियतापूर्वक भाग लिएको भारतले भने बेइजिङ परेडमा झारा टार्ने उपस्थिति जनाउने भएको छ। जापानमा आणविक बम खसालेर दोस्रो विश्वयुद्ध समाप्त गरेको अमेरिका भने चीनको बढ्दो प्रभाव र पछिल्लो समय चीनले रूससँग घनिष्ट सम्बन्ध विस्तार गरेपछि चिन्तित बनेको हो।

        रूसका राष्ट्रपति भ्लादिमिर पुटिनकै प्रस्तावमा अन्तर्राष्ट्रिय संयुक्त सैनिक परेडको आयोजना भए पनि चीनले अमेरिकाका राष्ट्रपति बाराक ओबामा, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र जापानका प्रधानमन्त्री सिन्जो आबेलाई पनि निमन्त्रणा गरेको छ। तर यी तीनै व्यक्ति परेडमा सहभागी हुने छैनन्। जापानबाट पूर्वप्रधानमन्त्री तोमिची मुरायामा सहभागी हुँदैछन्। सन् 1995 मा जापानको प्रधानमन्त्री हुँदा उनले चीनसँगको युद्धमा जापानले अपराध गरेको नरसंहारको जिम्मेवारी लिँदै लिखित माफी मागेका थिए। तर सिन्जो आबे जापानको सत्तामा आएपछि युद्ध अपराधीलाई सहिदको सम्मान दिँदै चीन लगायत दोस्रो विश्वयुद्धमा जापानविरुद्ध रहेका पक्षलाई चिढ्याउँदै आएका छन्। उनले गत अगष्टमा जापानमा आयोजित दोस्रो विश्ययुद्ध समाप्तिको स्मरण कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा दोस्रो विश्ययुद्धपछि जन्मेका व्यक्तिले त्यसको जिम्मेवारी लिनु नपर्ने धारणा राखेका थिए। चीन, दक्षिण कोरिया, अमेरिका लगायतका राष्ट्रले सो धारणाको कडा आलोचना गरेका थिए।

        अन्तर्राष्ट्रिय चिन्ता र चीनको सैनिक शक्ति प्रदर्शनका बारेमा उत्पन्न धारणालाई चीनले कसैप्रति लक्षित नभएको स्पष्ट पारेको छ। सैनिक परेडको तयारी कार्य सम्पन्न गरी अन्तर्राष्ट्रिय सञ्चार माध्यमका प्रतिनिधिहरूको भेलामा चीनको विदेश मन्त्रालयका उपमन्त्री चाङ मिङले 'सेप्टेम्बर 3' मा आयोजित परेडको मुख्य उद्देश्य इतिहासलाई सम्झने, सहिदलाई सम्मान गर्ने, शान्तिको माया गर्ने र उज्यालो भविष्य सिर्जना गर्ने रहेको बताए। उनले सैनिक परेड कुनै मुलुकप्रति लक्षित नरहेको बताउँदै विशेषगरी जापानप्रति लक्षित नरहेको र यसले चीन–जापान सम्बन्धमा कुनै प्रभाव नपार्ने पनि स्पष्ट पारे। जापान–चीन युद्ध र दोस्रो विश्वयुद्ध समाप्ति भएको सत्तरी वर्षपछि चीनमा पहिलोपटक मनाउँदै गरिएको यो उत्सवको प्रचार—प्रसार व्यापक रूपमा गरिएको छ। हरेक चोक र गल्लीहरूमा सैनिक परेडको व्यानर टाँसिएको छ भने चिनियाँ सञ्चार माध्यममा यस बारेका समाचार छिनछिनमा अद्यावधिक भइरहेका छन्। शान्ति र विजयको नाममा एक्काइसौँ शताब्दीमा चीनले आफ्नो शक्तिलाई विश्वसामु प्रदर्शन गर्ने राम्रो अवसरको रूपमा यसलाई लिएको छ।

साभारः कान्तिपुर दैनिक भदौ 16 गते 2072 (सेप्टेम्बर 2,2015)बुधबार

जानकारी तथा लेखहरु
सुझाउ