फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको शानदार स्मरण परेड

(GMT+08:00) 2015-09-10 15:20:35

-----अजय अलौकिक

यस वर्ष दोस्रो विश्व युद्ध अन्त्य भएको 70औं वर्ष हो। साथसाथै चिनियाँ जनताको जापानी अतिक्रमणकारी युद्ध तथा फासिस्ट विरुद्ध विश्व युद्ध विजयी भएको पनि 70औं वार्षिकोत्सव हो।

यसै चिनियाँ जनताको जापानी अतिक्रमणकारी युद्ध अर्थात् फासिस्ट विरुद्ध विश्व युद्ध विजयी भएको 70औँ वार्षिकोत्सवको स्मरण परेड सेप्टेम्बर तीन तारिख बिहान पैचिङ्गको थेन आन मन चोकमा भव्यताका साथ आयोजना गरिएको हो। साथै संयुक्त राष्ट्र संघले दोस्रो विश्व युद्ध अन्त्यको सत्तरी वर्षगाँठ मनाउने निर्णयनुसार चीनले सो परेडको आयोजना गरेको हो। यस परेडको आयोजना चिनियाँ सैन्य शक्ति प्रदर्शन, दोस्रो विश्व युद्धपछि विश्व शान्ति तथा एकताप्रति चीनको ढृढ इच्छा तथा अठोट देखाउनुका साथै जापानविरुद्ध रक्षात्मक शक्ति देखाउन, सेनाको प्रदर्शनबाट चिनियाँ जनतामा एकजुटता लागू गर्न र भ्रष्टाचारी अधिकारीहरूलाई सैनिक पार्टी र जनताप्रति वफादार रहेको सन्देश दिनु हो।

सन् 1945 सेप्टम्बर तीन तारिखकै दिन चीनले जापानलाई परास्त गरेको थियो। यस अघि जापानले सन् 1931देखि चीनमाथि अतिक्रमण तथा आक्रमण गर्दैआएको थियो भने सन् 1937को जुलाई सात तारिखमा पहिलो पटक जापानी अतिआक्रमणको विरोधमा चिनियाँ नागरिक तथा सेनाले जवाफी हमला गरेको थियो। यहीँबाट शुरु भएको चिनियाँ प्रतिकार लगातार आठ वर्षसम्म चलेको युद्धपछि सन् 1945मा जापानी तथा जापानी बरबरतालाई परास्त गरेको थियो। यस अवधिमा जापानीहरूले चिनियाँहरूमाथि निकै नै क्रूरताको प्रदर्शन गरेका थिए र यस लामो युद्धकालमा पैंतीस करोड चिनियाँको मृत्यु तथा अङ्गभङ्ग भएको थियो।

यस स्मरण परेड प्रधानमन्त्री ली ख छ्याङको शुरु भएको घोषणासँगै बिहान ठीक दश बजे पैचिङको थ्येन आन मन चोकमा शुरु भएको थियो। चिनियाँ जनताको जापान विरोधी युद्ध एवम विश्व फासिस्टवाद विरोधी युद्ध विजय भएको सत्तरीऔँ वार्षिकोत्सव भएकोले समारोह स्थलमा सत्तरी वटा तोप पड्काएर सलामी दिइएको थियो।

30 जना राष्ट्रनायक र सरकार प्रमुख तथा 19 जना उच्च सरकारी प्रतिनिधि गरी 49वटा मुलुकले यस स्मरण परेडमा आफ्नो उपस्थिती जनाएका थिए साथै आमन्त्रित अन्तर्राष्ट्रिय तथा क्षेत्रीय संगठनका 10 जना विशिष्ट पाहुनाको पनि उपस्थिती रहेको थियो, जसमा संयुक्त राष्ट्र संघका महासचिव वान की मुन पनि थिए। यसरी उपस्थित हुने राष्ट्रनायकहरूमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिन, दक्षिण कोरियाका राष्ट्रपति पार्क गेउन ह्येका साथै साङ्ग हाई सहयोग सङ्गठन (एससीओ)का सबै सदस्य राष्ट्रका प्रमुखको उपस्थिती थियो। त्यसै गरी जापान र बेलायतका पूर्व प्रधानमन्त्री र जर्मनीका पूर्व चान्सलर पनि सरिक भएका थिए।

यस परेडमा पचास वटा टुकडी थिए। साथै 31वटा देशका सैनिक टुकडीले सहभागिता जनाएको थियो भने ती मध्येबाट रुस, क्यूबा, इजिप्ट, कजाकिस्तान, किर्गिस्तान, मेक्सिको, मंगोलिया, पाकिस्तान, सर्बिया, ताजिकिस्तान गरी एघार देशको 75 जना सदस्य रहेको सैन्य टुकडीले परेडमा भाग लिएका थिए। यी सैनिकहरूले करिब एक महिना अघिदेखि पैचिङ्गमा रहेर तालिम शिविरमा अभ्यास गरेका थिए। साथै चिनियाँ कम्युनिष्ट पार्टी र कोमिन पार्टीका सेनाले यसै परेडमा पहिलोपटक संयुक्त रुपमा प्रदर्शन गरेका थिए। प्राप्त जानकारीअनुसार, जापानको अतिक्रमण विरोधी युद्धमा भाग लिएका चिनियाँ कम्युनिष्ट पार्टी र कोमिन पार्टीका सैनिकहरु (औसत उमेर 90 वर्ष र सबैभन्दा पाकोको उमेर 102 वर्ष) र युद्धमा शहादत भएका दुई पार्टीका बहादुरका सन्तानहरु आदि समेटिएका थिए।

यस परेड समारोह शुरु हुनुअघि अर्थात् सेप्टेम्बर दुई तारिख बिहान चीनका राष्ट्राध्यक्ष सी चिन फिङ्गले जापानी अतिक्रमणकारी युद्धमा सहभागी जीवित पुराना सिपाही, कमरेड, अधिकृत र ज्यान गुमाएका शहिदका नातेदारलाई स्मरण पदवी वितरण गर्नु भएको थियो। केही दिन अघिदेखि चीनका विभिन्न स्थलमा जापानी अतिक्रमणमाथि युद्ध विजयको 70औं वार्षिकोत्सव सम्बन्धी विविध स्मृति कार्यक्रमहरुको पनि आयोजना गरिएको थियो।

यस "सेप्टेम्बर तीन" स्मरण परेड भिन्न र निकै आकर्षक रह्यो। सैनिक टुकडी तथा पृष्ठभूमिको संगीत र वातावरणमा पनि नयाँ विशेषता थियो। दुई हजार चार सयभन्दा बढी सदस्य रहेको चिनियाँ जनमुक्ति सेनाको संयुक्त सैनिक टुकडी र गायनमण्डलले गायन तथा वाद्यवाधनका साथै जापानी अतिक्रमणकारी युद्ध विरुद्धका तीसवटा उत्कृष्ट चिनियाँ गीत प्रस्तुत गरेका थिए। बाह्र हजार सैनिकहरू र सयौं उपकरणहरू जसमा 84प्रतिशतका नयाँ उपकरणहरू जुन पहिलो पल्ट सार्वजनिक, चीनमै निर्मित अत्याधुनिक युद्ध सामग्री, औसत उमेर 90 वर्ष रहेको पहिलो भेट्रान समूह, 200 वटा युद्धक विमानसँगै विमान प्रदर्शनको इतिहासमै सबैभन्दा ठूलो र कुशल वायु सैन्य टुकडीद्वारा प्रदर्शन, चौबीस सय जनाको गायन मण्डलीद्वारा युद्ध गीत प्रस्तुती र चीनमा पहिलो पटक विदेशी सैन्यद्वारा परेड प्रदर्शन यसको विशेषता थियो।

यस स्मरण परेडमा साधारणतया चीनसँग घनिष्ट राजनीतिक सम्बन्ध रहेका मुलुकहरूले उपस्थिती जनाएको देखियो। पश्चिमा तथा अमेरिकीहरू चिनियाँ सैन्य शक्तिबाट त्रसित् छन् नै र त्यस माथि रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको उपस्थिती पनि धेरै पश्चिमा मुलुकहरूको अनुपस्थितीको कारण बनेको छ। केही दिन अगाडि चिनियाँ सामरिक तथा सँस्कृति संघका कार्यकारी उपाध्यक्ष र सचिव जनरल लुओ युआनले विदेशी मिडियाले पश्चिमा नेताहरूको विचार अनुरुप व्याख्या गरेको पनि बताएका थिए।

विश्वमै सबैभन्दा बढी सैनिक भएको चीनको रक्षा बजेट सन् 2011मा सन् 2010को तुलनामा 12.7 प्रतिशत त्यसै गरी सन् 2012मा एघारको तुलनामा 11.2 प्रतिशत र सन् 2013मा बाह्रको तलुनामा 10.7 प्रतिशत तथा सन् 2014मा तेह्रको तुलनामा 12.2ले वृद्धि गरिएको थियो। साथै यस वर्ष गत वर्षको तुलनामा 10 प्रतिशत मात्र वृद्धि गरी रक्षा बजेट करिब 890 बिलियन चिनियाँ यूआन पुर्‌याएको थियो। साथै चीन संयुक्त राष्ट्र सुरक्षा परिषदको पाँच स्थायी सदस्यबीचमा शान्ति-सेना मिशनमा योगदान दिने सबैभन्दा ठूलो सदस्य राष्ट्र पनि हो।

यता परेडलाई सम्बोधन गर्दै राष्ट्राध्यक्ष सीले इतिहासको अनुभवबाट दृढताका साथ शान्ति सँरक्षण गर्ने अठोट व्यक्त गर्नुभएको छ। आफ्नो सम्बोधनमा सीले सैनिकको संख्या तीन लाख घटाउने घोषणा पनि गर्नुभएको छ। युद्धमा संलग्न भएकाहरु शान्तिको मूल्य तथा मान्यताबाट धेरै स्पष्ट भएकाले स्मरण परेडको आयोजनाबाट इतिहासको सम्झना, शहीदको स्मरण, शान्तिप्रति विशेष ध्यान तथा गतिशील भविष्यको सिर्जना गर्ने पनि बताउनुभयो।

यस स्मरण परेड कुनै मुलुकप्रति लक्षित नभएको, वर्तमान जापान र जापानी जनतालाई लक्षित नरहेको र हालको चीन तथा जापान बीचको सम्बन्धमा कुनै पनि प्रत्यक्ष सम्पर्क नरहेको चीनका उप-परराष्ट्र मन्त्री चाङ्ग मिङ्गले अगष्ट पच्चीस तारिख राज्य परिषद्को प्रेस कार्यालयद्बारा आयोजित चिनियाँ जनताको जापानी अतिक्रमणकारी युद्ध अर्थात् फासिस्ट विरुद्ध विश्व युद्ध विजयी भएको 70औं वार्षिकोत्सवको स्मरण गतिबिधि सम्बन्धी विशेष पत्रकार सम्मेलनमा स्पष्ट पार्नुभएको थियो। साथै चीन र जापान बीचको चारवटा राजनीतिक दस्तावेजको आधारमा दुई देश बीचको सम्बन्धको सुधार र विकास गर्दैजाने अडानलाई चीनले सधैँ नै कायम राख्दैआएको र राख्दैजाने पनि बताउनुभएको थियो।

स्मरण परेड नीलो तथा स्वच्छ आकाशबीच सम्पन्न भएको थियो। यस परेडका लागि पैचिङ्गले निर्माणसम्बन्धी कारखाना बन्द गराउनुका साथै सडकमा पनि न्यून मात्रामा गाडि चल्ने वातावरण बनाएको थियो। अगस्ट बीसदेखि परेडसम्पन्न नभएसम्म निजी सवारीसाधनलाई जोडीबेजोडी नम्बर प्लेटको आधारमा सञ्चालन गराएको थियो। त्यसबाहेक मालबाहक, फोहोरमैलालगायतका ठूला गाडिहरूलाई शहरभित्र प्रवेशमा पनि रोक लगाएको थियो। स्टील, फर्निचर, पेन्टिङ्ग, पेट्रोकेमिकल तथा निर्माण सामाग्री उत्पादन गर्ने सबै कारखाना पनि बन्द गराएको थियो। त्यसका अतिरिक्त, पैचिङ्गबाहेकका पाँच छिमेकी प्रान्तमा समेत अत्याधिक प्रदुषित ग्याँस उत्सर्जन गर्ने 12,200भन्दा बढी कलकारखाना बन्द गराएको थियो। त्यसैगरी परेडस्थल थेन आन मन चोकस्थित राष्ट्रिय सङ्ग्रहालय, फरबिडन सिटीलगायत पैचिङ्गका प्राय सबै पार्कहरू बन्द गरिएको थियो। त्यस्तै सान्लितूनलगायतका केही व्यापारिक केन्द्रहरू पनि सूरक्षाका लागि बन्द गराएको थियो। थेन आन मन वरपर चल्ने भूमिगत रेल र बस सेवा पनि परेड अघिदेखि नै बन्द गरिएको थियो। त्यस बाहेक परेडको अवधिसम्मका लागि करिब तीन घण्टा पैचिङ्गका पैचिङ्ग क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थल र नानयूआन विमानस्थल पनि बन्द गराएको थियो। साथै समस्त जनतालाई यस स्मरणोत्सव परेडमा सहभागीका लागि राष्ट्रव्यापी रुपमा सार्वजनिक विदा दिइएको थियो।

चीनले यस स्मरण परेडको आयोजना इतिहासलाई सम्झनु, शहिदको स्मरण गर्नु, शान्तिको कामना गर्नु र सुखद भविष्यको सिर्जना गर्नुतर्फ लक्षित रहेको दर्शाएको छ। त्यस समयको आक्रमण र पीडा समस्त चिनियाँका लागि दुःखद सम्झनाहरु हुन्। शहीदहरूको बलिदान तथा प्रतिरोध एक अमूल्य आध्यात्मिक सम्पत्ति हो। यस सैन्य परेडले इतिहासको सम्झना र राष्ट्रिय भावना बढाउनेछ। साथै पश्चिमा मुलुक तथा अमेरिकाकासाथै भारतलाई चिन्तित तुल्याएको छ। 21 औं शताब्दीको रुझान भनेको शान्ति र विकास हो। यो परेडमार्फत राष्ट्राध्यक्ष सीले युद्ध पीडादायी हुने र सुखद भविष्यको सिर्जना गर्न अग्रसर हुनुपर्ने सन्देश दिएका छन्।

जानकारी तथा लेखहरु