फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नयाँ चीनको नयाँ गाउँ

(GMT+08:00) 2015-10-21 16:09:44

फुच्येन प्रान्तको बन्दरगाह शहरहरू मध्येको एक छ्वान चौ शहर विविधताले भरिएको छ। प्राचीन कालको रेशम जलमार्गको प्रमुख तथा शुरुवाती बिन्दु भएबाट यो त्यसै बेला समृद्ध थियो भन्ने अनुमान लगाउन सकिन्छ। साथै यातायात र ढुवानी मार्ग भएसँगै आवतजावतको क्रममा धेरै विदेशीहरूले यस थलोलाई आफ्नो कर्मभूमि बनाएका थिए। साथै कयौं यात्री तथा व्यापारीहरूले यस ठाउँमा बसोबास पनि गर्न थाले। जसबाट पनि यो छ्वान चौमा विविधता थपेको छ। चार वटै मौसम भएको यस शहर समुद्रबाट लाभान्वित हुनाको साथै कृषि उद्योगधन्दामा पनि अब्बल छ। यो शहर कालो चिया, नास्पाती, सुन्तला, लिची त्यसै गरी लोङ्गान जस्ता फलफुल, चिनी, कुँदिएका ढुङ्गा तथा पत्थर, सेरामिकका लागि प्रख्यात छ। यसै शहरको प्रान्तको नामबाट चिनियाँ ज्यास्मिन, ऊलङ्ग र कालो चिया विश्वमा नै नामी छ। करिब 4342 वर्ग मिटर क्षेत्रफल ओगटेको यो फुच्येन प्रान्तकै सबैभन्दा ठूलो शहर हो। यहाँ हान जाति बाहेक श र हुई जातिको बसोबास छ।

यसै सुन्दर तथा ऐतिहासिक शहरको भ्रमण क्रममा मैले हुई जातिको बाक्लो बस्तीका साथै नयाँ गाउँको भ्रमण पनि गर्न पाएं। यो भ्रमणसँगै मेरो विचारमा गाउँको परिभाषा नै परिवर्तन भए जस्तो लाग्यो।

गाउँ भनेको शहरको जस्तो सुविधा नहुनु नपुग्नु अनि स्वच्छ हावापानी साथै खेतबारी, पशुपालन, हरियाँ फाँट, लटरम्म फलिरहेका बोटबिरुवा या धानको बाला, नदीनाला यस्तै कल्पना गर्छौं। तर होइन गाउँ भन्दैमा माथि उल्लेखित कुराहरू हुनैपर्छ भन्ने रहेन अब।

चिनियाँमा गाउँलाई छुन भनिन्छ। हुन त चीनमा कतिपय शहरमा र शहरभित्र पनि छुन नभएका होइनन्। तर ती सबै अब नामका मात्र छुन हुन्। पैचिङ्गको केन्द्रमा रहेको पर्यटकीय तथा व्यापारिक केन्द्र सान्लितुनको पुरा नाम पनि सान्लितुन छुन नै हो। तर अब त्यो नामको मात्रै हो। तर मैले यहाँ परिचय गराउन खोजेको गाउँ विशुद्ध गाउँ नै हुन्। यो शहरबाट टाढा छ र मानिसको भीडभाड पनि छैन। साथै शहरको जस्तो अत्याधुनिक सुविधाबाट पनि बञ्चित छ। तर यहाँ कृषक या पशुपालक देखिँदैनन्। यहाँ सबै मजदुरी गर्छन् या त आफ्नै व्यवसाय चलाउँछन्।

छ्वान चौ शहरअन्तर्गतको चिनच्याङ्ग नामक सानो शहरभित्रका धेरै गाउँबस्तीहरू मध्येका केही गाउँबस्तीको भ्रमणले गाउँको परिभाषा नै परिवर्तन गरे भन्ने लागेको छ मलाई। चिनच्याङ्गअन्तर्गतको चनताई जिल्लाको च्याङ्गथौ गाउँमा एक हजार तीन सय सत्ताईस परिवारका कुल पाँच हजार छ सय उनान्नब्बे जना मानिसहरू बस्दा रहेछन्। यस गाउँमा हुई जातिको बाक्लो उपस्थिती रहेछ। साथै गाउँका प्रमुख पनि हुई जातिका रहेछन्। (हुई जातिको चिनियाँ भाषा मण्डारिन बोल्ने शैली फरक छ। ) यस गाउँमा स्कुल तथा स्वास्थ्य चौकी पनि छ। स्कुल गाउँ कार्यालयसँगै जोडिएको छ र यो सुरक्षा प्रत्याभुतिको लागि जोडेको र प्रायशः गाउँमा यस्तै रहेको गाउँ प्रमुखले बताए साथै शिक्षणको हिसाबले यो स्कुल उत्कृष्ट रहेको पनि बताए। साथै यस गाउँमा साना ठूला गरी दुई सय वटा जुत्ता कारखाना रहेछन्। चीनको एक प्रख्यात ब्र्याण्ड 360डिग्रीको कारखाना पनि यहीँ रहेछ। यसरी यो गाउँले जुत्ता कारखानाको गाउँको परिचय बोकेको पाएं। न खेत न गाई न गोरु। तर गाउँ। यो एउटा नौलो अनुभव रह्यो। यसै क्रममा यस गाउँको एक कुनामा रहेको माओथाई नामक जुत्ताको तलुवा बनाउने कारखाना पनि घुम्यौं। त्यस कारखानामा उत्पादन हुने तलुवाको बजार अमेरिका र यूरोप रहेछ। युरोपेली मापदण्ड अनुसारको उत्पादनका लागि विशेष ल्याबको पनि अवलोकन गर्‌यौं। यहाँ हजारभन्दा बढी कर्मचारी रहेछन्। र तिनीहरूका लागि आवासको व्यवस्था पनि त्यहीँ रहेछ। (चीन विश्वमा सबैभन्दा धेरै जुत्ता उत्पादन गर्ने मुलुक हो। विश्वमा करिब साठी प्रतिशत भाग ओगटेको छ।)

त्यसैगरी यसै चनताई जिल्ला अन्तर्गतको अर्को गाउँको कथा पनि कथनीय छ। 1.2वर्ग किलोमिटरमा फैलिएको यस गाउँको जनसंख्या मात्र 1,105 छ। यस गाउँको नाम हो तोङ्गसान। तोङ्गसान र लोङ्गलिन नामक दुई वटा गाउँलाई मिलाएर सन् 2003मा तोङ्गसान गाउँको स्थापना गरेको रहेछ। यहाँ सत्तरी वर्षमाथिका वृद्धवृद्धाका लागि आवासको व्यवस्था पनि रहेछ र मासिक मात्र सय यूआन शुल्क रहेछ। सन्तान नभएका र कामको सिलसिलामा विदेश या अरु प्रान्तमा गएकाहरूको मातापिताले यहाँ समय सहजै काट्नसक्ने वातावरण देखें। पुस्तकालय विविध खेलको सुविधा छदैँछ त्यसबाहेक खानपिन हेरचाहको सुविधा भएबाट यहाँ वृद्धवृद्धा सकुशल देखिन्छन्। साथै यस गाउँमा सानो बङ्गला तथा एपार्टमेन्ट गरी विभिन्न शैलीमा र माँग अनुसार निर्माण गरिएको छ। त्यसैगरी पर्यावरणलाई पनि ध्यान दिइएको छ। यो पहिलेको गाउँ र आजको गाउँमा व्यवस्थित घरआवास बाटो र वृद्धाश्रम मात्र नयाँ होइन। यस नयाँ गाउँबस्तीमा पुरानो गाउँघरमा जस्ता घरआङ्गनमा खाद्यबाली फिजाएको पाइँदैन। घरको झ्यालमा मकै या खुर्सानी या कुनै खाद्यबाली झुण्ड्याएको पाइँदैन। यस गाउँमा सेरामिक टाइल्स मात्र पाइन्छ। यस बस्तीको अगाडि मुख्य सडक पारी सेरामिकको कारखाना छन् भने यस गाउँबस्ती तोङ्गसान छुनमा सेरामिकका टाइल्सका पसलहरू प्रशस्तै घरैपिच्छे पाइन्छ। अब फेरि तपाईँ भन्नुहुन्छ। कस्तो गाउँ हो यो।

हो यो नयाँ चीनको नयाँ गाउँ हो। कहीँ चियामात्रै पाउने गाउँ पनि होला र ऊर्वरता भूमिमा कृषि गाउँ नै होला। यहाँ खेतीयोग्य जमीनको कमि भएबाट उद्योग कलकारखाना सञ्चालन गरेर आफ्नो रोजीरोटीका लागि यसरी काम गरिरहेका छन्। यी नयाँ गाउँहरूले खेतीयोग्य जमीन नभएका गाउँठाउँका लागि नयाँ विकल्प देखाएको छ। यस्तै सेरामिक र जुत्ता गाउँ जस्तै ठाउँ र कामको विशेषता अनुसार यस्तै नौला गाउँहरू भोलिका दिनमा धेरै धेरै हुनेछन्। अब आश्चर्य मान्नुपर्दैन कि।

जानकारी तथा लेखहरु