फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनमा बाँदर वर्ष

(GMT+08:00) 2016-02-12 15:53:37

         चिनियाँ चन्द्रमासको पात्रो अनुसार यही फेब्रुअरी 8 तारिख अर्थात् माघ 25 गते सोमबार भेडा वर्षलाई बिदा गरेर बाँदर वर्ष भित्र्याउँदैछन्। चिनियाँ नयाँ वर्षलाई वसन्त चाड भनिन्छ भने चिनायाँ भाषामा छुन्चे भनिन्छ। चिनियाँ नयाँ वर्ष अर्थात् वसन्त चाडका केही रोचक पक्षहरु यस प्रकार रहेका छन्।

         चिनियाँहरुको यो 4714 औँ नयाँ वर्ष हो। तर धेरै चिनियाँहरुलाई यो कतिऔँ नयाँ वर्ष हो भन्ने कुरा थाहा छैन। उनीहरु बाँदर वर्ष 2016 भनेर सम्बोधन गर्छन्। अत्यन्त कम चिनियाँलाई मात्र 4713 लाई बिदा गरेर 4714 नयाँ वर्ष भित्र्याउँदै गरेको थाहा छ। यसको कारण परम्परागत चिनियाँ वर्षको गणना व्यवहारमा छैन। चिनियाँहरु गणनामा इस्विसंवतलाई प्रयोग गर्छन्।

         चिनियाँ वसन्त चाडमा कयौँ मान्छेहरु एक ठाउँबाट अर्को ठाउँमा आवतजावत गर्छन्। फेब्रुअरी 7 तारिखबाट सुरु हुने चिनियाँ वसन्त चाडको विदाको अवसरमा यो पटक 60 लाख चिनियाँले विदेश भ्रमण गर्ने टिकट गरेको अनलाइन यात्रा व्यवस्थापक सीट्रिपले बताएको छ। सीट्रिपका अनुसार यो मध्य जनवरीसम्मको बुकिङ हो। गत वर्ष 52 लाख चिनियाँले वसन्त चाडको विदामा विदेश भ्रमण गरेका थिए र अघिल्लो वर्षको तुलनामा गत वर्ष विदेश भ्रमण गर्ने चिनियाँको संख्या 10 प्रतिशतले वृद्धि भएको चिनियाँ राष्ट्रिय पर्यटन प्रशासनले बताएको छ। चीनको यातायात मन्त्रालयले आउने वसन्त चाडको समयमा 2 अर्ब 91 करोड चिनियाँले चीनको एक स्थानबाट अर्को स्थानमा यात्रा गर्ने पूर्व अनुमान गरेको छ। चाइना रेलवे कर्पोरेसनले गत सोमबार वसन्त चाडको समयमा रेलबाट मात्र 33 करोड 20 लाख यात्रीले यात्रा गर्ने जनाएको छ। यो संख्या हरेक वर्ष 12.7 प्रतिशतले बढ्दै गएको पनि उक्त कम्पनीले उल्लेख गरेको छ।

        नेपालीहरुको दशैँ तिहारमा जस्तै चिनियाँहरु वसन्त चाडमा घर सफा राख्छन्। सडक, गल्ली, घर, बजार, कार्यालय, विद्यालय, कलकारखाना सबैतिर लालटिन (रातो गोलाकार सजावतमा भित्रपट्टि बत्ती बालिने सामग्री) र भाग्यशाली गाँठो (रातो धागोबाट बनाइएको कलात्मक गाँठो)ले सजाउँछन्। वसन्त चाडका अवधिमा घर, टोल, गाउँ, सहर सबै राताम्मे बनेको हुन्छ। बजारमा पनि राता बस्तुहरु धेरै देखिन्छन्। अनि रमाइलो कुरा के छ भने वसन्त चाडअगाडि चीनमा रातो रङका महिलाका भित्री वस्त्र (ब्रा र पेन्टी) तथा पुरुषले लगाउने अन्डरवेयर पनि रातै रङका धेरै बिक्री हुन्छन्। यसो हुनुको कारण त्यही सङ्केत वर्षमा जन्मिएका व्यक्तिले त्यही जनावरको सङ्केतको वसन्त चाडमा भित्री राता वस्त्र लगाउने चलन छ। उदाहरणका लागि यो सवन्त चाड बाँदर वर्ष भित्र्याउने हो। तसर्थ बाँदर वर्षमा जन्मिएका सबै चिनियाँले यो वसन्त चाडमा भित्री पोशाक रातो रङको लगाउने गर्छन्।

          नेपालमा पनि गुरुङ, शेर्पा, तामाङ, थकाली लगायतले ल्होसारका रुपमा चिनियाँ चलनकै नयाँ वर्ष मनाउँछन्। तर मुसा वर्षबाट सुरु भएर सुँगुर वर्षमा टुङ्गिने चारवटा वर्षको चक्रमा नेपाली बौद्धमार्गी र चिनियाँका बीचमा एउटा वर्ष फरक छ। नेपालमा मुसा, गाई, बाघ, खरायो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, कुखुरा, कुकुर र सुँगुर वर्ष भनिन्छ तर चीनमा गरुड वर्षको सट्टा ड्रागन वर्ष भनिन्छ। चिनियाँ अन्धविश्वास अनुसार सबैभन्दा भाग्यसाली वर्षहरुमा ड्रागन, बाघ, घोडा, सर्प, बाँदर, कुकुर वर्ष पर्दछन्। यी वर्षमा चीनमा जन्मदर धेरै हुने गर्छ। तर, भेडा, सुँगुर, मुसा वर्षलाई अत्यन्त नराम्रो वर्ष मानिन्छ। यी वर्षमा दम्पत्तिले सकेसम्म बच्चा जन्माउने योजना बनाउँदैनन्।

         महङ्गा कुराहरुको किनमेल, उपहार प्रदान, पटका पड्काउने र भोतभतेर गरेर ठूलो धनरासी खर्च हुने पर्व हो वसन्त चाड। चिनियाँहरुको वर्षभरिको खर्चको तीन भागको एक भाग त यही वसन्त चाडमा सकिन्छ। गत वर्षको वसन्त चाडा जापान भ्रमणमा गएका 4 लाख 50 हजार चिनियाँ पर्यटकले 6 अर्ब चिनियाँ युआन अर्थात एक खर्ब रुपैयाँ जति खर्च गरेका थिए। चीनमा सामान्य समयमा 2 हजार युआनको भ्रमण प्याकेजलाई फेब्रुअरी 7देखि वसन्त चाडको एक हप्ताको अवधिमा 8 हजार युआन पर्ने कुरा सीट्रिपले आफ्नो वेभसाइटमा उल्लेख गरेको छ। वसन्त चाडको समयमा पर्यटन खर्च चारगुणा बढी हुने भएकाले धेरै पैसा चिनियाँले भ्रमणमै सक्छन्।

         नयाँ वर्ष सुरु हुने अघिल्लो दिन चिनियाँहरु घरमा बडारकुँडार गर्ने र घरको फोहोर बाहिर फाल्ने गर्दैनन्। फोहोरसँगै नयाँ वर्षका लागि साँचिएको धनसम्पत्ति पनि फ्याँकिन्छ भन्ने विश्वास चिनियाँमा रहेको हुन्छ। चिनियाँहरु नयाँ वर्षको पहिलो दिन घर सार्दैनन्, बिरामी भए पनि डाक्टरलाई देखाउँदैनन्। लुगाकपडा र सिरकका खोल तथा बेड कभर धुदैनन्। कपाल काट्दैनन्। कुराकानीका क्रममा कसैसँग पनि मृत्यु, रोग, प्रकोपका प्रसङ्ग उठाउँदैनन्। यसो गरेमा वर्षभरि नै यस्तै समस्याका विषयहरु थोपरिने भएकाले राम्रा र शुभ कुराका विषयमा मात्र गफ गर्ने चिनियाँ परिपाटीमा छ। यो दिन रुनु पनि हुँदैन भन्ने चिनियाँ विश्वास छ। बिहे गरेर घर गएकी छोरी नयाँ वर्षको पहिलो दिन माइतिघरमा आउनु हुँदैन।

         चिनियाँहरु वसन्त चाडको एक हप्ताभरि धारिलो हतियार चलाउँदैनन्, मारकाट गर्दैनन्। मासु नभइ नहुने चिनियाँहरुले एक हप्ता अगाडि नै मासु किनेर फ्रिजमा राख्ने गर्छन्। उनीहरुले बजारबाट किनेर ल्याएको मासुलाई टुक्रा गर्न पनि नहुने भएकाले सबै हात हतियार लुकाएर राखेका हुन्छन्। कपाल काट्ने कैचीदेखि नङ काट्ने नेलकट पनि यो अवधिमा चलाउन पाइन्न भन्ने चिनियाँ विश्वास रहेको छ।

         वसन्त चाडका अवसरमा परिवार भेला भएर खाइने सबैभन्दा लोकप्रिय खानेकुरा 'चिआवो च' हो। यो एक प्रकारको मम हो तर पानीमा डुबाएर पकाउने गरिन्छ। वसन्त चाडमा पानीकमलको बियाँ खायो भने छोरा जन्मिन्छ भन्ने विश्वास छ। तर ताजा र सेतो तोफु खाइँदैन किनभने त्यो बेला यस्तो तोफुलाई दुर्भाग्य र मृत्युको प्रतीक मानिन्छ।

साभारः कान्तिपुर कोसेली, 2072 माघ 23 गते (2016 फेब्रुअरी 6 तारिख) शनिबार।

जानकारी तथा लेखहरु