फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

होम स्मार्ट होम

(GMT+08:00) 2016-08-05 09:29:33

-अजय अलौकिक

हिजोआज हरेक कुरामा विज्ञान छ जस्तो लाग्छ। सानो बेला भगवान्‌को चाहना अनुसार, उनैको इच्छामुताबिक चलिरहेको भन्ने लाग्थ्यो या त्यस्तै सिकाइन्थ्यो, त्यस्तै बुझाइन्थ्यो। तर अहिले त्यही हो भनेर ठोकुवा गर्नसक्ने या होइन भनेर प्रमाण जुटाउनसक्ने नभएता पनि धेरै कुरा बुझ्दैआएका छौं र कतिपय नबुझेरै यो जुनी बिताइन्छ पनि होला। त्यस्तै लाग्छ। अनि मानिसलाई नभइनहुने आधारभुत आवश्यक्ताहरूमध्येको एक बास हो र त्यस्तै हिजोआज हाम्रो बासस्थान अर्थात् घर पनि ""होम स्वीट होम" नभइ "होम स्मार्ट होम" हुँदैगइरहेका छन्। मानिसले आफ्नो जीवन लगाएको हुन्छ एउटा घर जोड्नलाई अब यही घर खर, छाप्रो, माटो, काठको हुँदै सिमेन्टबाट यान्त्रीक हुँदै छ।

सामान्यतया काठ, ईटा,सिमेन्ट र बिजुली तथा पानीको पाइपलाइन व्यवस्था समावेश तथा अन्य सामाग्रीको सरल वा जटिल संरचनामा निर्माण भएको भवन नै एउटा घर हो। त्यसै गरी घर एक वा एक भन्दा बढी कोठासहितको एक तल्ले वा एक भन्दाबढी हुनसक्छ।

अध्ययन अनुसार, पाषाण युगमा नै मानिसहरूले घरमा बसोबास गर्न थालिसकेका थिए। र आजको युगसम्म आउँदा यसमा पनि आमूल परिवर्तन भएको छ। यायावर जनजातिको मौलिक छाप्राहरूदेखि लिएर झुपडबस्ती, सुकुम्बासीबस्ती, मोबाइल-घर, हाउसबोट, मङ्गोलियातिर पाइने यट या आजका गगनचुम्बी भवनभित्रका अपार्टमेन्ट यी सबै मानिसहरू बसोबास गर्दै आइरहेका ठाउँ हो जसलाई घर भनिन्छ। तर त्यस भवन या कक्षहरूको संरचनामा कुनै व्यक्तिले आफ्नो वासस्थान नबनाएसम्म घर भने भनिँदैन। अर्थात घर भनेको कुनै पनि मानिसले बासस्थानको रुपमा प्रयोग गर्ने ठाउँ हो। जहाँ सुत्ने, पकाउने, खानेबस्नेलगायतका कोठाहरू हुने गर्दछन्। त्यस माथि माया प्रेम या मानव संवेदना रहेन या छैन भने पनि त्यसलाई सही अर्थमा घर भन्न सकिँदैन। तर आज आएर यो घर भावनात्मक रुपमा मात्र जोडिएको छैन यान्त्रिक पनि हुँदैगएको छ। हाम्रो दैनिकीसँग बेजोडसँग जोडिसकेको विज्ञान तथा प्रविधीको अर्को चमत्कार हो, स्मार्ट होम।

यो पङ्क्तिकारले चीनको च्याङ्गसु प्रान्तको सदरमुकाम नानचिङ्ग यात्रामा यस स्मार्ट होमबारे केही जान्नबुझ्न पाएको थियो। प्राचीन चीनको चार राजधानीमध्येको एक तथा सन यात्सेनको समाधीस्थल भएको यो शहरमा प्रकृति, प्राचीनता, इतिहाससहित नविनताको पनि अनुभव गर्नसकिन्छ। नानचिङ्ग अहिले चाइना नानचिङ्ग सफ्टवेयर भ्याली अर्थात् चीनको सिलीकोन भ्यालीको नामले प्रख्यात भइसकेको छ। त्यहाँको सफ्टवेयर उद्योग तथा पार्कमा अवस्थित केही उद्योग, प्रदर्शनी हल, हलिवुड चलचित्रमा भिज्वल इफेक्टको काम गर्ने तथा स्मार्ट फोन अनि भिडियो तथा अनलाइन गेमका लागि एप्लिकेसन निर्माण गर्ने लगायतका विभिन्न उद्योगको भ्रमण गर्ने अवसर जुटेको थियो। सन् 2012को तथ्याङ्क अनुसार विश्वका उत्कृष्ट पाँच सय सफ्टवेयर उद्योगमा नानचिङ्गका 28 वटा परेका रहेछन्। त्यहाँ तीन लाख पचपन्न हजार भन्दा बढी मानिसहरू सफ्टवेयर उद्योगमा आबद्ध रहेछन्। यहाँका 50 भन्दा बढी कलेज तथा विश्वविद्यालयहरूमा सफ्टवेयर या यससम्बन्धी पढाइ हुनेगरेको छ भने वार्षिक रुपमा करिब पचास हजार विद्यार्थी स्नातक उत्तीर्ण गर्ने रहेछन्। त्यसै गरी राष्ट्रिय स्तरका दुई, प्रान्तीय स्तरका नौ र नगरपालिकास्तरीय चौंतीस वटा सफ्टवेयर तालीम केन्द्र रहेका छन् जसबाट प्रति वर्ष असी हजार मानिसलाई तालीम दिनसक्ने रहेछ। यी तथ्याङ्क सन् 2012का हुन्। हाल त झनै तीव्र गतिमा बढे होलान्। यसै सिलीकोन भ्यालीमा हामीले हिजोआज सुन्दैआएको स्मार्ट होमको हल्का अनुभव गर्ने मेसो मिलेको थियो। यो चीन लगायत अमेरिका, यूरोप र अष्ट्रेलियामा परिक्षण भइरहेको पनि त्यहाँ जानकारी गराइएको थियो।

होम स्वीट होम अर्थात् घर प्यारो घर या घर एउटा महल हो, घरजस्तो ठाउँ कतै हुन्न, घर भनेको त्यही हो जहाँ माया हुन्छ यस्ता-यस्ता घरको बारेमा मानवीय भावनात्मक व्याख्याहरू पाइन्छ। सही अर्थमा घर आराम गर्ने ठाउँ हो। आफ्नो परिवारसँग सुरक्षित रुपमा बस्ने ठाउँ हो। आफ्नो दिनभरिको थकान बिसाउने ठाउँ हो। घर वर्षात्‌मा ओत लाग्ने ठाउँ हो र चर्को घाममा छहारी लिने ठाउँ हो। घरभित्र बाहिरी दुनियाको प्रवेश सहज नहुने भएबाट आफूले चाहेजस्तो गर्नपाइने थलो हो। घर आफ्नो सशरीर रक्षार्थ, निजी भौतिक सरसामाग्रीको सङ्ग्रह तथा मानसिक या भावनात्मक रुपमा तृप्त हुने ठाउँ हो। तर भौतिक रुपमा सबै थोक भएर पनि मानवीय संवेग छैन भने त्यसलाई घर भन्न सकिँदैन अनि सुविधाजनक छैन भने त्यो घर स्वर्ग नभइ नरक झैं पनि त हुनेछ। यसै अवस्था र समयको माँगसँगै विज्ञानले हामीलाई घरलाई पनि प्रविधीजडित बनाइदिएको छ। प्राचीन मानवको छाप्रोबाट अत्याधुनिक भवनको निर्माण भइसकेको यस अवस्थामा स्मार्ट होम अर्को एउटा ठूलो फड्को हो।

हिजोआज जताततै स्मार्ट-स्मार्ट कै चर्चा हुन्छन्। अनि आजको दिनमा स्मार्ट फोन त सबैको हातहातमा नै होला। तर स्मार्ट होम के हो यो धेरैलाई थाहा नहुनसक्छ र केहिले सुनेकासम्म होलान्।

घर अनि घरका सरसामान, ढोका, झ्याल, पर्दा, टिभीलगायत विद्युतीय उपकरण, भान्छा कोठाका उपकरणलाई रिमोट कन्ट्रोल या स्मार्ट फोनबाट नियन्त्रण गर्नेलाई स्मार्ट होम भनिन्छ। घरका सबै उपकरणको प्रयोगदेखि झ्याल, ढोका खोल्न तथा बन्द गर्न समेत आफ्नो स्मार्ट फोनको एक क्लिकबाट गर्नसकिने छ। अहिले तपाईँ टिभी या म्यूजिक सिस्टमलाई रिमोट कन्ट्रोलको माध्यमबाट चलाउँदै हुनुहुन्छ अनि फोनमा पनि ‌औंलाको माध्यमबाट धेरै कुरा गर्दै आउनुभएको छ। तपाईँ कल्पना गर्नुस् त। तपाईँले ओछ्यानमा नै बसेर चिया पकाउन सक्नुहुन्छ अनि राति सुत्न भित्तामा भएको स्वीच अफ गरेर अँध्यारोमा आफ्नो पलङ्गसम्म आउनु पनि पर्दैन, या यस्तै-यस्तै। आफ्नो हात या औंलाको भरमा तपाईँले चाहेको गर्नसक्नु हुन्छ। कति रमाइलो। त्यसमाथि समय पनि बच्ने र साथै ऊर्जाको पनि किफायत हुने छ। बाहिर कतै गएको बेला घरमा बत्ती ननिभाइकनै या कुनै विद्युतीय उपकरण बन्द गर्न बिर्सियो भन्ने तपाईँलाई भएकै होला। त्यस्ता खट्कने अवस्था अबको दिनमा नआउनसक्छ। अब स्मार्ट होम भएपछि त्यो समस्या हट्ने छ।

स्मार्ट होम एउटा नेटवर्कमा आधारित नियन्त्रण प्रणाली हो जसमा स्वचालन नियन्त्रण प्रणाली, कम्प्यूटर नेटवर्क प्रणाली र नेटवर्क सञ्चार प्रविधीको संयोजन हुन्छ। सन् 1980को दशकमा यस्तो अवधारणाको शुरुवात भएको हो र यसको विकासक्रम जारी नै छ। हाल यो प्रविधी सर्वसाधारणको पहुँचबाट टाढा नै छ र एकै रिमोट या स्मार्ट फोनबाट घरभरिका सबै उपकरण सञ्चालन गर्न पनि सकिएको छैन।

होला, ती सबै उपकरणहरू एकै एप्लिकेसनबाट चलाउन नमिल्ला हाललाई तर यस्को विस्तार हुँदै गयो भने त्यो असम्भव भने छैन। टेक कम्पनिहरू जस्तै एप्पल, स्यामसङ्ग, गूगलहरू तनावरहित एप्लिकेसन बनाउँदै छन्। सन् 2007मा एप्पलले आइफोन सार्वजनिक गरेदेखि नै प्रविधी उद्योगमा नयाँ तरङ्ग पैदा भएको हो। अहिले सबैको बोलिबचन नै स्मार्ट बनिसकेको छ। तर भनेजस्तो सजिलो या तुरुन्तै पनि नहोला अनि हामी सर्वसाधारणले उपभोग गर्न पनि मुश्किल होला। तर मात्र ढिलोचाँडोको कुरा हो, भविष्य अवश्य पनि यस्तै प्रविधीको हातमा हुने छन्। साथै हामीले यसो भए हुन्थ्यो नि भन्ने गरेका कतिपय कल्पना कुनै कुनामा वास्तविकता पनि भइसकेका होलान् र नभएका अवश्य हुँदै जाने छ। जीवन र प्रविधी परस्पर हुँदै गएको यस युगका हामीले अझै धेरै कुरा देख्नेछौं। र यो पुस्तापुस्तामा हस्तान्तरण हुँदैजाने छ।

तर आममानिस सबैले उपयोग गर्न पाउला त यस्ता सबै सुविधाहरू। त्यो भने सोचनीय छ। किनभने यस विश्वमा सम्पूर्ण मानिसले आफ्नो रात आफ्नै घरमा सुखद रुपमा बिताउन पाएका छैनन्‌। सँयुक्त राष्ट्र संघले सन 2005मा गरेको एक सर्भेक्षण अनुसार, विश्वमा 10 करोड व्यक्ति बेघर थिए। ह्याविटाट फर ह्यूमानिटीले सन् 2015मा गरेको एक अनुमान अनुसार विश्वभर 1.6 अर्ब मानिस योग्य आश्रयको अभावमा छन् अर्थात् घरबारबिहीन छन्।

जानकारी तथा लेखहरु