फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

हाङ्चौमा केन्द्रित विश्व नजर

(GMT+08:00) 2016-08-31 15:27:02

यतिबेला चीनको चच्याङ प्रान्तको हाङचौ सहर बेहुलीजस्तै सिँगारिएको छ। धपक्कै बलेको हाङचाउले भदौ 19 र 20 मा विश्वअर्थजगतलाई आफूभित्र कैद गरेको छ। विश्वका महत्वपूर्ण आर्थिक शक्ति राष्ट्रका कार्यकारी प्रमुख,अर्थमन्त्री र केन्द्रीय बैंकका गभर्नरहरु टुपी कसेर हाङचौमा'जी 20 को एघारौँ शिखर सम्मेलन'का नाममा आर्थिक वहस सुरु गरेका छन्।

चीनको चच्याङ प्रान्त विश्वकै सुन्दर ठाउँमध्ये एकमा पर्छ। चिया बगानले सजिएको चच्याङमा सेप्टेम्बर महिना वर्षभरिको उत्कृष्ट मौसम पनि हो। यो प्रान्त नै चीनको आदिम कालदेखिको प्रवेशद्वार हो। यही प्रान्तमा पर्ने सांघाइ सहर अहिले चीनको केन्द्रशासित सहरका रुपमा अलग्गै पहिचान बनाएको छ। पर्यटकीय स्थल,प्रविधिको विकास,कृषि,व्यापार,उद्योग,शिक्षा,स्वास्थ्य,मानवश्रोत सबै पक्षबाट अगाडि रहँदै आएको हाङचौले पछिल्लो समयमा सूचना प्रविधिमा पनि आश्चर्य चकित पार्दै प्रगति हासिल गरेको छ। सूचना प्रविधिमा हाङचौले कसरी प्रगति गरेको छ भन्ने कुराको सानो उदाहरण यस प्रकार रहेको छ।

सन् 2001 मा चीनको सांघाईमा एशिया-प्रशान्त आर्थिक सहयोग संगठन एपेकको शिखर सम्मेलनमा एशिया प्रशान्त क्षेत्रका औद्योगिक तथा वाणिज्य क्षेत्रका शीर्ष व्यक्तिहरु एक्काईसौँ शताब्दीको आरम्भसँगै व्यापार व्यवसायलाई डिजिटल प्रविधिमा रुपान्तरण गर्नका लागि इन्टरनेट अपरिहार्य रहेको भन्दै गम्भीर वहस गरिरहेका थिए। शांघहाईमा एपेक शिखर सम्मेलन चलिरहेको हलदेखि करीब दुई सय किलोमिटरको दुरीमा रहेको हाङ्गचौमा मा युन नामका एक जना चिनियाँ युवा एक विद्युत्तीय वाणिज्य वेभसाइटको संचालन गर्न निकै व्यस्त देखिन्थे। तिनै मा युनले विकास गरेको अलीबाबा नामको वेभसाइटले अहिले न्युयोर्क स्टक एक्सचेन्जमा सफलताका साथ स्टक बिक्री गरिरहेको छ। ती चिनियाँ युवा मा युनलाई पश्चिमा देशहरुले ज्याक मा भनेर चिन्छन्। ज्याक माले 13 वर्ष मिहिनेत गरेर बनाएको अलिबाबाले सन् 2014 सेप्टेम्बर 19 तारिख विहान साढे नौ बजे न्युयोर्क स्टक एक्सचेन्जमा पहिलो पटक स्टक बिक्री गर्न थालेको हो। सोही दिन न्युयोर्क स्टक एक्सचेन्जको अन्तिम कारोबार बन्द हुँदा अलीबाबाको कुल मूल्य करीब दुई खर्ब चालीस अर्ब अमेरिकी डलर पुगेको थियो। अहिले अलीबाबा गुगलपछि विश्वको दोस्रो ठूलो इन्टरनेट कम्पनी बन्न सफल भएको छ। हाङचौको सर्वपक्षीय विकासलाई विश्वमा देखाउनकै लागि चीनले जी 20 को एघारौँ शिखर सम्मेलनका लागि यो ठाउँ रोजेको हो।

ज्याक माले अलिबाबाको प्रारुप तयार गर्नुभन्दा दुई वर्ष अगाडि बीस मुलुक समूह अर्थात् जी 20 को स्थापना भएको हो। जी 20 को स्थापना सन् 1999 मा भएको हो। यो विश्वकै सबैभन्दा शक्तिशाली र सबैभन्दा ठूलो आर्थिक क्षेत्र समेट्ने समूह हो तर संस्था होइन। किनभने यसको अहिलेसम्म स्थायी सचिवालय स्थापना भइसकेको छैन। जी 20 ले समेट्ने व्यापारिक रकम विश्वको कूल मात्राको 80 प्रतिशत पुगेको छ भने आर्थिक परिमाण विश्वको 85 प्रतिशत पुगेको छ। त्यसैगरी यसले विश्वको दुइ तिहाइ जनसंख्यालाई समेटेको छ। यसको सम्मेलनमा राष्ट्रका कार्यकारी प्रमुखहरु सहभागी भएर शिखर सम्मेलन हुन थालेको चाहिँ सन् 2008 देखि हो। जी 20 को शिखरसम्मेलन हुन थालेपछि नै युरोप र अमेरिका लगायत विश्वलाई आर्थिक मन्दीले गाँज्न थालेको अहिलेसम्म राम्ररी तङ्ग्रिन सकेको छैन। विश्वमा सन् 2007 देखि 2010 सम्म आर्थिक मन्दीले अर्थतन्त्रलाई तहसनहस बनाएको थियो। अहिले पनि यसको प्रभाव युरोप र अमेरिकाले भोगिरहेका छन्। त्यसपछिका जी 20का हरेक शिखर सम्मेलन र अन्य बैठकको मुख्य विषय नै आर्थिक मन्दीबाट कसरी पार पाउने भन्ने रहेको छ।

जी 20 मा बीस आर्थिक समूह सदस्य छन्। बीस मुलुक सदस्य मुलुक नभएर आर्थिक समूह भनिएको हो किनभने यूरोपेली संघ एक आर्थिक समूहको रुपमा यसमा संलग्न भएको छ। जी 20 ले सातवटा अन्तर्राष्ट्रिय संगठनहरु संयुक्त राष्ट्र संघ, विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व व्यापार संगठन, अन्तर्राष्ट्रिय श्रम संगठन, आर्थिक सहयोग तथा विकास संगठन र स्थिर वित्तीय परिषद पनि शिखर सम्मेलनमा सहभागी गराउने गर्छ।

आशियान, अफ्रिकी संघ, अफ्रिकी विकास नयाँ साझेदार योजना संगठन गरी तीनवटा संगठन पनि जी 20 का स्थायी अतिथि हुन्। जी 20 को एघारौँ शिखर सम्मेलनमा लाओस, चाड, सेनेगललाई पनि चीनले आमन्त्रण गरेको छ। त्यसैगरी चीनले कजाकिस्तान र इजिप्टलाई विकासोन्मुख मुलुकको कोटामा निमन्त्रणा गरेको छ। हांग चौ शिखर सम्मेलन जी 20 को इतिहासमा सबैभन्दा बढी विकासोन्मुख मुलुकहरु सहभागी हुने शिखर सम्मेलन हो।

चालु वर्षमा चीनका बीस वटा शहरमा साठीवटा विविध सम्मेलनको आयोजना भइसकेका छन्। ती सम्मेलनहरुमा सहभागी भएकाहरुको संख्या हजारौं पुगेको छ।

जी 20 को हाङचौ शिखर सम्मेलनले पहिलो पटक विकास समस्यालाई विश्वव्यापी समष्टिगत नीतिको प्रारुपको टड्कारो स्थानमा राखेको छ। यो शिखर सम्मेलनले पहिलो पटक सन् 2030 दिगो विकास विषयसूचिको तर्जुमाको कारवाही योजनाबारे छलफल गर्दैछ। चीनले पनि जी 20 का सदस्यहरुलाई सहयोग अगाडि बढाउने, अफ्रिका र अति कम विकसित मुलुकलाई औद्योगिक विकासलाई गति प्रदान गर्ने र गरिबी न्यूनीकरण तथा दिगो विकास लक्ष्य साकार तुल्याउन मद्दत दिने छ।

चीनले हाङचौ शिखर सम्मेलनमा हरित बित्त, पूर्वाधारमा लगानी, नवीकरणयोग्य ऊर्जा स्रोत, खाद्यन्नको सुरक्षा जस्ता महत्वपूर्ण क्षेत्रका कारवाही योजना र सहयोगात्मक प्रस्तावको तर्जुमा अगाडि बढाउने घोषणा गरिसकेको छ। यसका अतिरिक्त, भ्रष्टाचार विरोधी कारवाहीलाई पनि जी 20 को शिखर सम्मेलनमार्फत चीनले अन्तर्राष्ट्रियकरण गर्दैछ।

विश्व व्यापार संगठनका उप महानिर्देशक यी स्याउ चुनले विश्व आर्थिक मन्दी भैरहेको परिप्रेक्षमा विभिन्न मुलुकले हाङचौ शिखर सम्मेलनमा "व्यापार र लगानी" बारे सकारात्मक तथा रचनात्मक छलफल गरी जी 20 व्यापार मन्त्री स्तरीय सम्मेलनमा हासिल भएको सहमतिलाई कार्यान्वयन गरेमा जी 20 द्बारा विश्व व्यापारको वृद्धिलाई दीर्घ जीवन दिनसक्ने बताएका छन्। सन् 2008 मा विश्व मौद्रिक संकट सुरुभएदेखि विश्व आर्थिक तथा व्यापार स्पष्ट रुपमा पुनरुत्थान भइ नसकेको बताउँदै उनले आर्थिक बृद्धि गर्नका लागि विभिन्न मुलुकले सकेसम्म धेरै अर्थ तथा वित्तीय उपाय प्रयोग गरेतापनि धेरै सफलता हासिल नभएको बताए। विश्व आर्थिक मन्दीबाट कुँजिएका बेला चीनले भने आर्थिक वृद्धि र उन्नतिमा महत्वपूर्ण सफलता हात पारेको थियो।

विश्व बैकिङ्ग व्यवस्थालाई अझै प्रभावकारी रुपमा संचालन तथा व्यवस्थापन गर्नु हाङ चौ शिखर सम्मेलको मुख्य विषयवस्तुहरुमध्येको एक रहेको छ। हाङचौ शिखर सम्मेलनको पूर्वसन्ध्यामा ब्रसेल्सस्थित प्रसिद्ध थिङ्क ट्यांक ब्रुइगेल अर्थतन्त्र अनुसन्धान विभागले एउटा लेख प्रकाशित गर्दै विश्वमा चीनको प्रभाव तिव्र गतिले विकास भएको र अन्तर्राष्ट्रिय बैकिङ्ग प्रणालीमा चीनको भूमिका अझै महत्वपूर्ण भएको उल्लेख गरेको छ। ब्रुइगेल अर्थतन्त्र अनुसन्धान विभागका प्रमुख गुन्ट्रम वोल्फले जी 20 को शिखर सम्मेलनमा बैकिंङ संचालन तथा व्यवस्थापन विषय यूरोपका लागि निकै महत्वपूर्ण रहेको बताएका छन्।

युरोपेली विज्ञले सन् 2008 मा विश्वमा आर्थिक मन्दी र संकट देखापरेदेखि जी 20 ले विश्व अर्थतन्त्र तथा बैकिङ्ग संचालन तथा व्यवस्थापन प्रणालीलाई सुधार गर्ने प्रयास गरिरहेको बताएका छन् र यसमा चीनको सहयोग सबैभन्दा महत्वपूर्ण हुने पनि उल्लेख गरेका छन्। किनभने आर्थिक मन्दीले चीनलाई कुनै प्रभाव पारेको थिएन।

चीनमा पहिलोपटक आयोजना हुँदै गरेको जी 20 को शिखर सम्मेलनमा चीनले हरित बैकिङ्गको प्रस्ताव गरेको छ। विश्वमा आर्थिक स्थिर र स्वस्थ विकासमा चीनले सक्रिय प्रभाव पार्ने बताउँदै यूरोपेली संघले चीनको प्रस्तावलाई स्वागत गरेको यूरोपेली संघअन्तर्गत अर्थतन्त्र तथा बेकिङ्ग परिषदका सदस्य पियरे मोस्कोभिसीले उल्लेख गरेका छ।

चालु वर्ष सन् 2016 मा चीनले साठीभन्दा बढी जी 20 का विभिन्न बैठकहरु र सम्मेलनहरुको आयोजना गरिसकेको छ। जनवरी 13 देखि सुरु भएका शृङ्खलावद्ध बैठक सम्मेलनहरुमा एउटा मात्र अमेरिकाको वाशिङ्टनमा बस्यो बाँकी सबै चीनमा सम्पन्न भएका छन्।

विश्वको पहिलो आर्थिक शक्ति बन्न तम्सिरहेको चीनले जी 20 को एघारौँ शिखर सम्मेलनलाई पनि आर्थिक कुटनीतिलाई प्राथमिकतामा राखेको छ। सन् 2008 मा 29 औँ गृष्मकालीन ओलम्पिक आयोजना गरेर अन्तर्राष्ट्रिय जगतमा आतिथ्य सत्कारमा खरो उत्रिएका चीनले त्यसपछि एपेक शिखर सम्मेलन लगायतका ठूला अन्तर्राष्ट्रिय कार्यक्रमको आतिथ्य गरिसकेको छ। चीनको प्रस्तावमा एसियाली पूर्वाधार लगानी बैंक स्थापना भएर संचालनमा आइसकेको छ। चीनले अगाडि सारेको बेल्ट एन्ड रोड इनिसिएटिभ आर्थिक कार्यक्रमभित्र अहिलेसम्म ‌65 वटा मुलुक प्रत्यक्ष रुपमा समेटिएका छन् भने यसको तटवर्ती क्षेत्रमा अर्बौँ डलर लगानी हुँदैछ।

जी 20 को एघारौँ शिखर सम्मेलनमा भाग लिने आएका अमेरिकी राष्ट्रपति बाराक ओबामाको राष्ट्रपति पदमा रहँदाको संभवतः यो अन्तिम भ्रमण हुनेछ। साथै चीनले यही शिखर सम्मेलनमार्फत बिग्रिएको जापानसँगको सम्बन्धलाई सुधार्ने प्रयासको थालनी गरिसकेको छ। अघिल्लो महिना चीनका परराष्ट्रमन्त्री वाङ यीले जापानको भ्रमण गर्दा दुवै मुलुकले सम्बन्ध सुधार्ने प्रतिवद्धता व्यक्त गरिसकेका छन्। जापान र अमेरिकाजस्तो आर्थिक शक्तिलाई आफ्ना एजेन्डामा ल्याउन सक्नु चीनको महत्वपूर्ण आर्थिक कुटनीति हो। यही मानेमा अहिले युरोप र अमेरिकाका थिङ्कट्याङ्कहरु चिनियाँ आर्थिक विकासका आधारहरु केलाउन र अनुभवबाट शिक्षा लिन तल्लिन रहेका छन्।

जी 20 भन्दा दुई वर्ष पछि एउटा व्यक्तिले स्थापना गरेको अलिबाबाले गरेको विकासका तुलनामा विश्वको सरदर 75 प्रतिशतभन्दा बढी जनसंख्या, आर्थिक क्षेत्र र भूगोल समेटेको जी 20 को विकास फुच्चे देखिएको छ। तसर्थ पनि विश्वको आर्थिक काँचुली फेर्ने र आर्थिक मन्दीबाट मुक्ति खोज्न कति सफल बन्ला हाङचौ शिखर सम्मेलन हेर्न बाँकी छ।


साभारः कान्तिपुर दैनिक। 2073 भदौ 15 गते (2016 अगष्ट 31) बुधबार

जानकारी तथा लेखहरु