फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

श्वेत चैत्यको शान

(GMT+08:00) 2016-11-23 15:05:57

चीनको राजधानी बेइजिङको केन्द्रभागमा एउटा ऐतिहासिक तथा सांस्कृतिक सम्पदा छ जहाँ नेपाली बाहेक सबैले बीस चिनियाँ युआन युआन अर्थात् तीन सय रुपैयाँभन्दा बढीको टिकट काटेर प्रवेश गर्नुपर्छ तर नेपालीलाई निशुल्क प्रवेशको व्यवस्था छ। त्यस क्षेत्रमा पुग्ने हरेक नेपालीको छाती गर्वले चौडा हुन्छ र शिर गौरवले उच्च हुन्छ। नेपाली पुर्खाको कौशल र नेपाल चीन मैत्रीको ऐतिहासिक धरोहरका रुपमा बेइजिङको केन्द्रमा विगत साढे सात सय वर्षदेखि श्वेत चैत्य उभिरहेको छ।

एकजना नेपाली शिल्पीको सिर्जना भएकै कारणले चीन सरकारले नेपालीलाई मात्र त्यति महत्व दिँदै उच्च सम्मान गरेको हो। किनभने श्वेत चैत्यको निर्माता प्रख्यात नेपाली कलाकार अरनिको थिए। अरनिकोको नेपाली नाम बलबाहू हो। किशोरावस्थामै चीनमा आएका उनलाई महिलाजस्तै देखेर चिनियाँहरुले आनिक भनेर बोलाउँदा बोलाउँदै उनको नाम अरनिको भएको हो। अहिले पनि चिनियाँहरु आनिक नै भन्छन्।

श्वेत चैत्यको अगाडि नेपाली संस्था अरनिको समाजले दुई दसक अगाडि अरनिकोको सालिक स्थापना गरेको छ। अरनिको समाज चीनमा अध्ययन गरेर फर्केका नेपालीहरुको संस्था हो। समाजले यो सालिक नेपालमा बनाएर चीनमा ल्याएको हो। सन् 2010 देखि चीन सरकारले यो चैत्यको पाँच वर्ष लगाएर मर्मत संभार गरेको छ।

चैत्यमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले अवलोकन भ्रमण गरी हस्ताक्षर पुस्तिकामा छोटो सन्देश पनि लेखेका छन्। उनले आफ्नो सन्देशमा श्वेत चैत्य नेपाल र चीनबीचमा अविच्छिन्न रहेको मित्रताको प्रतीक भनेर उल्लेख गरेका छन्।

सन् 1244 मा जन्मिएका अरनिकोले सन् 1279 मा श्वेत चैत्य अर्थात् ह्वाइट प्यागोडा बनाएका हुन्। यसलाई चिनियाँ भाषामा पाइथा स भनिन्छ जसको अर्थ सेतो चैत्य हुन्। अरनिकोले यो चैत्य निर्माण गर्दा चीनमा युआन बंशको शासन रहेको थियो। पछि यसलाई मिङ वंशमा पुननिर्माण गरियो र मिआवोयिङ मन्दिर नामकरण गरियो। मिआवोयिङको अर्थ अद्भूत फल प्राप्त गर्नु हुन्छ। त्यसकारण चिनियाँहरु यो मन्दिरमा आएर वर माग्दा अद्भूत फल प्राप्त हुन्छ भन्ने विश्वास गर्छन्। चैत्यको अगाडि दुईवटा बौद्ध मन्दिरहरु रहेका छन् जसमा विभिन्न मुद्रामा शाक्यमुनि बुद्धका मूर्तिहरु राखिएका छन्। चिनियाँ बौद्धधर्मावलम्बीहरुका लागि यो बेइजिङको एउटा ख्यातिप्राप्त मन्दिर हो।

सन् 1961 मा तत्कालीन चिनियाँ प्रधानमन्त्री चौ एनलाईले एउटा घोषणा पत्रमा हस्ताक्षर गर्दै यो चैत्यलाई राष्ट्रिय सम्पत्तिका रुपमा संरक्षण गरिने अङ्गमा राखेका थिए। फलस्वरुप 1966 देखि सुरु भएको दस वर्षे सांस्कृतिक क्रान्तिका समयमा पनि यो सुरक्षित रहन सफल रह्यो। सन् 1976 मा थाङसान भूकम्पले यसलाई गम्भीर क्षति पुर्‍यायो। दुई वर्षपछि नै यसको पुननिर्माण गरियो।

नेपालको बौद्ध तथा स्वयंभूसँग मिल्दोजुल्दो यो श्वेत चैत्य चीनमा सबैभन्दा अग्लो तथा ठूलो मानिन्छ। अरनिकोले बनाएका कयौँ सम्पदाहरु भूकम्प लगायतका प्राकृतिक प्रकोपबाट नासिए पनि केही चैत्यहरु चीनले संरक्षण गरेर राखेको छ। बेइजिङ बाहेक वल्लो शान्षी प्रान्तको वु थाइसानमा पनि अरनिकोले बनाएको श्वेत चैत्य संरक्षित छ।

 

किशोरावस्थामै सिपालु कलाकार भएका अरनिको चीनबाट नेपाल फर्किएनन्। उनको 62 वर्षको उमेरमा सन् 1306 को मार्चमा निधन भयो। मरेर गए पनि उनले चीनमा नेपाल र सम्पूर्ण नेपालीलाई चिनाउने काम गरे। नेपालीहरुको गौरव बनेको श्वेत चैत्य साँच्चै नै नेपाल र चीनबीचको मित्रताको अजम्बर नमूना बनेको छ।


साभारः कान्तिपुर कोसेली 2073 मंसिर 4 गते (2016 नोभेम्बर 19) शनिबार

जानकारी तथा लेखहरु