फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ नेतामाथि अनुशासनको लगाम

(GMT+08:00) 2016-11-29 10:26:12

चिनियाँ कम्युनिष्ट पार्टी अठारौँ केन्द्रीय समितिको छैटौँ पूर्ण बैठक अक्टोबर 24 देखि 27 सम्म बेइजिङमा सम्पन्न भएको छ। चिनियाँ कम्युनिष्ट पार्टीको इतिहासमा पहिलो, दोस्रो र तेस्रो पूर्ण बैठकलाई निकै महत्त्वपूर्ण मानिन्छ। पहिलोले पार्टीको सचिवालय चयन, दोस्रोले चीन सरकारको नेतृत्व चयन र तेस्रोले नीति तथा कार्यक्रम प्रस्तुत गर्छ। बाँकी पूर्ण बैठकहरू पहिला तीनवटा जति महत्त्वपूर्ण मानिँदैनन्। तर गत महिना सम्पन्न छैटौँ पूर्ण बैठकलाई चिनियाँ सञ्चार माध्यम र अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले ऐतिहासिक र महत्त्वपूर्ण भनेर समीक्षा गरेका छन्। यसको मुख्य कारण चिनियाँ कम्युनिष्ट पार्टीभित्र खुकुलिँदै गएको अनुशासनलाई यो बैठकले कसेको छ र सांस्कृतिक क्रान्तिको झल्को दिनेगरी आठबुँदे नीति पारित गरेको छ। चिनियाँ समाजसँगै पछिल्लो समय भड्किलो हुँदै गएको चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरूको जीवनशैलीमाथि यसले दरिलो अंकुश लगाउने नीति अगाडि ल्याएको छ। चीनमा व्याप्त मदिरा संस्कृति, स्वागत भोज, विलासी जीवनशैली, अतिव्यय बानी, बढ्दो भ्रष्टाचार, आलिशान बसोबास र महङ्गा सवारी साधन प्रयोगमा पनि अब नेताहरूलाई कडाइ गरिएको छ।

चिनियाँ नेताहरूले पार्टीको अनुमति नलिइकन भोजभतेर र स्वागत—समारोहमा भाग लिन नपाउने भएका छन्। उनीहरू बस्ने घर र चढ्ने गाडी सामान्य हुनुपर्ने तथा तल्लो तहका कमिटी र कार्यकर्तासँग राम्रो सम्बन्ध बनाउनुपर्ने कुरालाई जोड दिँदै नीति पारित गरिएको छ। यसले चिनियाँ नेताहरूले विभिन्न क्षेत्रबाट पाउने उपहार, घुस, सौजन्य, प्रायोजन र नातागोताका नाममा सम्पत्ति कमाउने कुरालाई पूर्णरूपले नियन्त्रण गर्ने भएको छ। सन् 1980 पछि खुला र सुधारको बाटो लिएपछि विस्तारै परिवर्तन हुँदै आएका चिनियाँ नेताहरू एक्काइसौँ शताब्दीमा प्रवेशसँगै सौखिन जीवन र महङ्गो जीवनशैली अपनाउन थालेबाट कार्यकर्ता र जनताले गुनासो गर्न थालेका थिए।

चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरूको जीवनशैलीमा भड्काव आउनाको मुख्य कारण व्याप्त भ्रष्टाचार हो भन्ने पार्टीले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ। पहिले—पहिले नेताहरू चीनमा भ्रष्टाचार छ भनी खुल्ला रूपमा भन्दैन थिए। तर चिनियाँ कम्युनिष्ट पार्टीको सत्रौँ कार्यसमितिले चीनमा भ्रष्टाचार व्याप्त छ भनी प्रतिवेदन नै सार्वजनिक गरेपछि जनस्तरबाट पनि मौलाएको भ्रष्ट प्रवृत्तिको व्यापक आलोचना हुनथाल्यो। 2012 मा चिनियाँ कम्युनिष्ट पार्टीको महासचिव हुनासाथ सी जिनपिङले भ्रष्टाचारलाई उन्मूलन गर्ने नीति लिए र राष्ट्रपति हुनासाथ उनले कारबाही बढाए। भ्रष्टाचारसँगै पार्टी शुद्धीकरणलाई अगाडि बढाउने र सबै नेता तथा कार्यकर्तामाथि अनुसन्धान बढाउन थालेपछि राष्ट्रपति सीलाई अत्यन्त कडा मिजासको कम्युनिष्ट भन्ने उपमा दिन थालिएको छ। त्यसमाथि छैटौँ पूर्ण बैठकले पारित गरेको आठ बुँदाले त हरेक तहका नेतालाई सांस्कृतिक क्रान्तिताकाकै अवस्थामा निगरानी गर्न थालिएको आभाष भएको छ।

ती आठबुँदे नियममा नेताहरू मितव्ययी हुनुपर्ने र अतिथि सत्कारका नाममा स्वागत समारोह, रातो कार्पेट बिछ्याउने, फूलको साजसज्जा र भोजभतेर नगर्ने र सहभागी नहुने पहिलो बुँदामा उल्लेख छ। दोस्रो बुँदामा पोलिट ब्युरो सदस्यहरूलाई केन्द्रीय कमिटीको अनुमतिबिना कुनै उद्घाटन र उत्सव तथा सेमिनारमा भाग लिन नपाउने उल्लेख छ। तेस्रो बुँदामा सरकारी डकुमेन्टको संख्यालाई घटाउने र चौथो बुँदामा विदेश भ्रमणको कार्यक्रम वैदेशिक सम्बन्धले गर्ने र विदेश जाँदा तथा फर्कंदाको खर्च कटौती गर्ने कुरा उल्लेख छ। पारित पाँचौँ बुँदामा उच्च नेताहरूको सवारी हुँदा सकेसम्म कम ट्राफिक कन्ट्रोल गर्ने र सर्वसाधारणलाई दु:ख नपुर्‍याउने प्रस्ट्याइएको छ। छैटौँ बुँदामा सञ्चार माध्यमहरूले पोलिट ब्युरो सदस्यहरूको कार्यक्रम र गतिविधिबारे समाचार सम्प्रेषण गर्दा आवश्यकता, समाचारको मूल्य र सामाजिक प्रभावबारे विचार गर्नुपर्ने र यस्ता समाचार सम्प्रेषण गर्दा समयको बचत र समाचारलाई छोटो बनाउनुपर्ने उल्लेख छ। सातौँ बुँदामा केन्द्रीय कमिटीको अनुमतिबाहेक कुनै पनि नेताले आफूखुसी बधाई तथा शुभकामना प्रकाशन गर्न नपाउने उल्लेख गर्दै आठौँ बुँदामा सबै नेताले मितव्ययीतामा ध्यान दिनुपर्ने र सम्बन्धित नियम आफ्नो बसोबास र सवारी साधनमा पनि पूर्णरूपमा लागु गर्नुपर्ने उल्लेख छ।

चिनियाँ कम्युनिष्ट पार्टीले अनुशासनलाई प्राथमिकतामा राख्नुको प्रमुख कारण भ्रष्टाचार हो। सी सत्तामा आएपछि हालसम्म 1 लाख 87 हजार 4 सय 9 जनामाथि अनुसन्धान भएको छ भने 91 हजार 9 सय 13 लाई कारबाही गरिएको छ। 2013 मा 7 हजार 6 सय 92 लाई कारबाही गरिएको थियो भने 2014 मा 23 हजार 6 सय 46 जनालाई कारबाही गरियो। 2015 मा 33 हजार 9 सय 66 लाई कारबाही गरियो भने 2016 को सेप्टेम्बरसम्म 26 हजार 6 सय 9 जनालाई कारबाही गरिएको छ। कारबाहीमा पर्नेहरूमा 15 जना चिनियाँ कम्युनिष्ट पार्टी प्रान्तीय प्रमुखहरू रहेका छन्। प्रान्तीय प्रमुखहरू स्वत: केन्द्रीय कमिटीको माथिल्लो ओहदामा रहने गर्छन्। अन्य 1 सय 9 जना उच्च अधिकारीलाई कारबाही गरिएको छ। यी चार वर्षमा कारबाही भोग्नेमा 9 सय 27 जना ब्युरो लेभल अर्थात् नगरपालिकाका मेयर तहका छन्।

भ्रष्टाचारको अनुसन्धान र कारबाहीको आँकडा हेर्ने हो भने यी चार वर्षमा चीनमा कायापलट भएको छ। 2013 मा 1 लाख 72, 2014 मा 2 लाख 26 हजार, 2015 मा 3 लाख 30 हजार र 2016 मा 2 लाख 90 मुद्दा दर्ता गरिएका छन्। अनुशासनको कारबाहीमा 2013 मा 1 लाख 82 हजार, 2014 मा 2 लाख 32 हजार, 2015 मा 3 लाख 36 हजार र 2016 मा 2 लाख 60 हजार व्यक्ति कारबाहीमा परेका छन्। हालसम्म दस लाखवटा मुद्दा दायर भएका र 10 लाख एक हजारभन्दा बढी पार्टीका विभिन्न तहका सदस्यमाथि छानबिन भएको छ।

चीनमा देखिएका ठूला समस्यामध्ये भ्रष्टाचार निर्मलीकरण सबैभन्दा जटिल रहेको छ। सी सत्तामा आएपछि भ्रष्टाचार विरुद्धको अभियानलाई उच्च प्राथमिकतामा राखेर व्यापक रूपमा कारबाही बढाए पनि चीनमा भ्रष्टाचार गरेर विदेश पलायन भएकाहरूलाई कारबाही गर्ने कुरामा सोचेजति सजिलो छैन। धेरैजसो चिनियाँहरू चीनबाट भागेर अमेरिका, क्यानाडा र सिंगापुर जाने गर्छन्। त्यसपछि अष्ट्रेलिया, बेलायत, न्युजिल्यान्ड, थाइल्यान्ड लगायतका राष्ट्रहरू भ्रष्ट चिनियाँका लागि सुरक्षित रूपमा लुकेर बस्ने स्थान बनेका छन्। पछिल्लो समय चीन र अमेरिकाबीच अमेरिकामा बसेका चिनियाँ अपराधीलाई चीन फर्काउने विषयमा समझदारी बनेको छ। यद्यपि उनीहरू बीचमा सुपुर्दगी सन्धि भइसकेको छैन। चीनले अन्य देशसँग पनि चिनियाँ अपराधीलाई फर्काउन विभिन्न कूटनीतिक पहल गरिरहेको छ। फलस्वरुप त्यसरी विदेशमा लुकेर बसेका धेरैचिनियाँ अपराधी मातृभूमि फर्किएर प्रहरीसामु आत्मसमर्पण गरेका छन्। उदाहरणका लागि याङ चिनचुन र हुआङ युरोङलाई लिन सकिन्छ। चच्याङ प्रान्तमा रहेको मिङ्ह ग्रुप कम्पनीका महाप्रबन्धक याङ चिनचुन 25 करोड चिनियाँ युआन भ्रष्टाचार गरी 14 वर्षदेखि अमेरिकामा लुकेर बसेका थिए। अमेरिकामा रहेका एक सयजना उच्च भ्रष्ट व्यक्तिमा उनी एकजना थिए। चीनको अनुरोधमा इन्टरपोलले रेड कर्नर नोटिस जारी गरेपछि 2015 सेप्टेम्बरमा उनलाई अमेरिकाले चीन फिर्ता पठायो। त्यसैगरी हनान प्रान्तको राजमार्ग परियोजनाकी उच्च अधिकारी हुआङ युरोङ भ्रष्टाचार गरी 13 वर्षदेखि अमेरिकामा बस्दै आएकी थिइन्। उनलाई पनि 2015 डिसेम्बरमा अमेरिकाले चीन फर्काइदियो। चीनमा भ्रष्टाचार गरेर विभिन्न देशमा लुकेर बसेकाहरू विविध कारणले चीन फर्केर आत्मसमर्पण गरिरहेका छन्। केही दिनअघिमात्र पनि दुईजना उच्चस्तरीय चिनियाँ नेतालाई फ्रान्सले चीनसमक्ष बुझाएको छ।

विभिन्न चिनियाँ सञ्चार माध्यमले जनाए अनुसार 2014 मा 5 सय 11 जना त्यस्ता अपराधी चीन फर्केका थिए, जसमा 31 जना चिनियाँ कम्युनिष्ट पार्टीका अधिकारी थिए भने 2015 मा 1 हजार 23 जना फर्केका छन्, जसमध्ये 2 सय 44 जना चिनियाँ कम्युनिष्ट पार्टीका अधिकारी रहेका छन्। 2016 जुलाईसम्ममा 4 सय 86 जना चीन फर्केका छन्, जसमा 67 जना चिनियाँ कम्युनिष्ट पार्टीका अधिकारीहरू छन्। फर्केकाहरूबाट 2014 मा 3 अर्ब 19 करोड चिनियाँ युआन, 2015 मा 3 अर्ब 4 करोड र 2016 मा 1 अर्ब 39 करोड युआन जफत गरिएको छ। यसरी भ्रष्टाचार विरुद्धको अभियानलाई सी जिनपिङले चीनको भूभागबाट बाहिर पनि विस्तार गरेका छन्।

चीनले एपेक, ब्रिक्स, आसियान, जी बीसजस्ता अन्तर्राष्ट्रिय मञ्चहरूमा भ्रष्टाचार विरुद्धको अभियानलाई उठाउँदै सहकार्य आवश्यक रहेको बताउँदै आएको छ। यस्ता भ्रष्टाचारको पछाडि चिनियाँ नेतामा क्षीण हुँदै गएको अनुशासन भएको निक्र्योलसँगै अनुशासनलाई चुस्त बनाउनुपर्ने निर्णय चिनियाँ कम्युनिष्ट पार्टीले गरेको हो। त्यसकारण पार्टी सुदृढीकरणका लागि चिनियाँ कम्युनिष्ट पार्टीको छैटौँ पूर्ण बैठकले अनुशासनको लगाम लगाउने नीति लिएको हो।

साभारः कान्तिपुर दैनिक। 2073 मंसिर 10 गते (2016 नोभेम्बर 25) शुक्रबार

जानकारी तथा लेखहरु