![]() |
|
|
![]() |
|
![]() |
||
![]() |
||
![]() |
||
|
||
![]() |
||
![]() |
यसै त कम्यनिष्ट मुलुक त्यसमाथि परम्परादेखि नै रातो रङ मन पराउने चिनियाँहरु। ड्रागन रातो, सजावट रातो, आतिथ्य सत्कारको ब्यानर रातो, उपहारको र्यापिङ रातो अनि झन्डा रातो। चीनमा रातो रङलाई शक्ति, खुशी, अशल भाग्य र शुभसंकेतका रुपमा लिइन्छ।
चिनियाँ परम्परागत नयाँ वर्षलाई वसन्त चाड भनिन्छ। चीनमा जनवरी 28 अर्थात् माघ 15 देखि बाँदर वर्षलाई बिदा गरेर कुखुरा वर्ष भित्रिदैछ। अनि सोही दिनदेखि वसन्त ऋतु सुरु हुने भएकाले यसलाई वसन्त चाड पनि भनिएको हो। चीनमा कुखुरा वर्षमा जन्मिएका सबै व्यक्तिले यो दिन रातो रङको बिकनी लगाउने गर्छन्। बेच्न राखिएका रातो रङका भित्री पोशाक र विभिन्न सजावटले बजार नै राताम्मे बनेको छ। वसन्त चाडका अवसरमा चीनमा उपहारका रुपमा आदानप्रदान गरिने पैसा पनि रातो खाममा टक्र्याइन्छ।
चीनमा रातो खाम निकै प्रचलित छ। विशेष गरी जन्मदिन, बिबाह र नयाँ वर्षमा उपहार दिनका लागि रातो खामको प्रयोग गरिन्छ। यस्तो रातो खामभित्र नगद राखिएको हुन्छ र चिनियाँ भाषामा होङपावो भनिन्छ। चिनियाँ भाषामा होङ भनेको रातो हो भने पावो भनेको खाम हो।
वसन्त चाडमा रातो खाममा राखेर पैसा दिने बारेमा चीनमा एउटा कथा प्रचलित छ। परापूर्वकालमा कुनै गाउँमा राक्षसले बालबालिकाहरु सुतिरहेको बेला उनीहरुको टाउकोमा छुने गर्दथ्यो। राक्षसले छोएपछि बालिबालिकाहरु सिकिस्त बिरामी हुने अथवा मर्ने गर्दथ्ये। यसरी दुःख पाएपछि त्यहाँका मानिसले भगवानको आराधना गरे। भगवानले आठवटी परीलाई बालबालिकाको रक्षा गर्नका लागि पठाए। ती आठवटी परीहरु आफ्नो रुप बदलेर सिक्काको रुप लिइ बालबालिकाको सिरानी मुनी पसे। जब राति राक्षस आयो सिक्काको रुपमा रहेका ती परीले चम्किलो प्रकाश छरेर राक्षसलाई भगाए। यसपछि बसन्त चाडमा बालिबालिकालाई पैसा दिने चलन चलेको हो। यो प्रचलन बालबालिकाबाट अरु सबैमा छरिन थाल्यो।
हिजोआजको डिजिटल युगमा मोबाइलबाटै रातो खाममा पैसा आदानप्रदान गर्ने प्रचलन बढेको छ। वसन्त चाडका अवसरमा मोबाइल फोनको विच्याट र एलिपे एप प्रयोग गरेर रातो खाम मार्फत हुने पैसाको कारोबार चिताइ नसक्नुको हुन्छ। कतिपयले यसलाई विच्याट र अलिपेको रातो खामको युद्ध पनि भन्छन्।
रातो खामभित्र जोडा नम्बरको पैसा राखिन्छ। मरिसकेको मान्छेका नाममा दिइने पैसा भने बिजोडी नम्बरमा राखिन्छ। चिनियाँ विश्वास अनुसार सकेसम्म चारबाट सुरु भएको मात्रा 4, 40, 44 को संख्यामा पैसा राखिन्न। चीनमा चारलाई अपसकुनका रुपमा लिइन्छ। पहिले असीमित रुपमा रातो खाममार्फत उपहारमा पैसा पठाउन सकिन्थ्यो तर अहिले आएर चीनमा भ्रष्टाचार बढेकाले विच्याटले 200 युआनभन्दा बढी पठाउन नसकिने व्यवस्था गरेको छ। विशेष गरी पाँच दसमलव 20 चिनियाँ युआन पठाउनु राम्रो हुन्छ किनभने 520 लाई चिनियाँ उच्चारणमा आइलभ यु भनेजस्तै सुनिन्छ।
विच्याटले सन् 2013 को जुनदेखि किनमेल गर्न सकिने व्यवस्था सुरु गरेको हो। सन् 2014 जनवरी 17 देखि रातो खाममा पैसा उपहार दिन सकिने सुबिधा थपिएपछि बसन्त चाडमा भर्चुअल खाम प्रयोगमा आउन थालेको हो। पहिले अलिबाबाले पनि आफ्नो मोभमेन्ट विच्याटमै सेयर गर्ने गर्दथ्यो। तर पछि प्रतिस्पर्धा बढेपछि विच्याटले अलिबाबाको अलिपे मार्फत पैसा प्रदान गर्ने गतिविधिलाई निस्कृय बनाएपछि अलिपेले छुट्टै सफ्टवेयर बनाएर काम गर्न थाल्यो।
बसन्त चाडका अवसरमा सीसीटीभीको आयोजना गर्ने सांगितिक कार्यक्रम हेर्ने दर्शकहरुलाई विच्याटबाट भाग्यशाली पैसा तितरण गर्न थालेपछि यसले अझै लोकप्रियता पायो। गत वर्ष सन् 2016 को वसन्त चाडमा 3 अर्ब 20 करोड चिनियाँ युआन विच्याटमार्फत आदानप्रदान भएको थियो। अहिले वसन्त चाडका अवसरमा टिन्सेन्ट कम्पनीको विच्याट र अलिबाबाको अलिपेबीचमा रातोखामको युद्ध हुने गरेको छ।
सन् 2014 को बसन्त चाडको सीसीटीभी सांगितिक कार्यक्रम हेर्ने दर्शकहरुलाई मोबाइल हल्लाएर भाग्यशाली पैसा लिन भनिएको थियो। सो अवसरमा विच्याटले एक अर्ब 20 करोड राता खाममा 50 अर्ब चिनियाँ युआन राखेर वितरण गरेको थियो। सो अवधिमा पटक पटक गरेर 11 अर्ब व्यक्तिले मोबाइल हल्लाएका थिए। मोबाइल हल्लाएको पिक समय रातको 10 बजेर 34 मिनेट जाँदा प्रति मिनेट 81 करोड व्यक्तिले मोबाइल हल्लाएका थिए। कतिपय व्यक्तिले बढी भाग्यशाली पैसा जित्नका लागि एकै समयमा एकभन्दा बढी स्मार्ट फोन हल्लाएका थिए।
सन् 2015 को बसन्त चाडको पूर्वसन्ध्या पारेर फेब्रुअरी 10 मा अलिबाबाले मोबाइलको एप अलिपे मार्फत 60 करोड चिनियाँ युआन भाग्यशाली पैसा दिने घोषणा गर्यो। जसमा 15 करोड 60 लाख चिनियाँ युआन नगद र 43 करोड 40 लाख चिनियाँ युआन बराबरका किनमेलको कुपनहरु राखिएका थिए। अलिबाबाको घोषणाको आधा दिन नबित्दै विच्याटले 50 करोड नगद र 3 अर्ब चिनियाँ युआन बराबरको किनमेल कुपन दिने घोषणा गर्यो। अनि यहीँबाट सुरु भयो अलिपे र विच्याटबीचमा रातो खामको युद्ध।
चीनमा विच्याट सर्वाधिक लोकप्रिय छ। ट्याक्सी अर्डर गर्न ट्याक्सीको बिल तिर्न रेष्टुरेन्टको बिल तिर्न र बजारमा किनमेल गर्न व्यापक रुपमा विच्याट प्रयोग हुन थालेको छ। विच्याटका अहिले 65 करोडभन्दा बढी सक्रिय प्रयोग कर्ता छन् र विच्याटबाट हरेक दिन 6 करोड चिनियाँ युआनको ट्रानजेक्सन हुने गर्दछ। विच्याटबाट पैसा पठाउनलाई आफ्नो बैंक खातालाई विच्याटमा लिङ्क गराउनुपर्छ। एक व्यक्तिबाट अर्को व्यक्तिलाई असीमित रुपमा पैसा पठाउन सकिने भए पनि रातो खाममार्फत एक पटकमा 200 युआन मात्र पठाउन सकिन्छ। किनभने पैसा ट्रान्सफरको ट्रान्जिक्सन पारदर्शी हुने भए पनि रातो खामको विस्तृत विवरण नपाइने भएकाले चीनमा भ्रष्टाचार रोक्न हालसालै विच्याटले 200 युआनको सीमा तोकेको हो। अहिले 20 करोड प्रयोगकर्ताले आफ्नो बैंक खातालाई विच्याटमा लिङ्क गराएका छन्। यही तुलनामा अलिपेका किनमेल गर्न सक्ने ग्राहकहरु 30 करोड जति रहेका छन्।
सन् 2014 को चिनियाँ नयाँ वर्ष सुरु हुने अघिल्लो साँझ एक करोड 60 लाख रातो खाम आदानप्रदान भएको थियो। सन् 2015 मा एक अर्ब चिनियाँ युआन आदानप्रदान भएको थियो।
सन् 2015 को चिनियाँ नयाँ वर्षमा अलिपेमार्फत 88 करोड रातो खाम प्रति मिनेट आदानप्रदान भएका थिए भने विच्याटमार्फत 81 करोड प्रतिमिनेट आदानप्रदान भएका थिए। सोही अवधिमा विच्याटमार्फत जम्मा एक अर्ब रातो खाम आदानप्रदान भएका थिए भने अलिपे मार्फत 68 करोड 30 लाख व्यक्तिहरुले पैसा लिने भाग्यशाली खेलमा सहभागी भएका थिए। उनीहरुमध्ये 24 करोड राता खाममार्फत 4 अर्ब चिनियाँ युआन आदानप्रदान भएको थियो।
सन् 2016 को वसन्त चाडमा विच्याटले 8 अर्ब व्यक्तिहरु भाग्यशाली पैसा लिने कार्यमा सहभागी भएका थिए जसमध्ये 3 अर्ब 20 करोड पटक रातो खाम मार्फत पैसा आदानप्रदान भएको थियो। अलिपेले चाहिँ सन् 2016 को बसन्त चाडमा भाग्यशाली पैसा लिने व्यक्तिहरुको संख्या खुलाएको छैन।
साभारः कान्तिपुर कोसेली 2073 माघ 15 गते (2017 जनवरी 28)शनिबार।
|
|||||||||
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |