फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विश्वको ध्यान तान्दैछन् चीनका दुई ठूला अधिवेशन

(GMT+08:00) 2017-03-02 16:23:48

----लक्ष्मी लम्साल

चीनमा हरेक वर्षको मार्च तीन तारिखदेखि दुई ठूला भव्य अधिवेशन चल्छन्, जसले विश्वकै ध्यानाकर्षण गर्छन्। मार्च तीन तारिखदेखि चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलन(सीपीपीसीसी)र मार्च पाँच तारिखदेखि नेसनल पिपुल्स काङ्ग्रेस (एनपीसी)अर्थात् चिनियाँ जनकाङ्ग्रेसका यी अधिवेशन अवधिभरि विश्वका आँखा चीनपट्टि सोझिएका हुन्छन्।

सन् १९४९ मा स्थापित चिनियाँ जन-राजनैतिक परामर्शदात्री सम्मेलन चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा रहेको बहुपार्टी सहयोग तथा राजनैतिक परामर्शको एउटा वृहत् अङ्ग हो। यसले चीनका बहुपार्टीबीचको सहयोग तथा राजनीतिक परामर्श संयन्त्रमा सहजीकरण गर्दछ। राष्ट्रिय समिति तथा स्थायी समिति रहने चिनियाँ जन-राजनैतिक परामर्शदात्री सम्मेलनको राष्ट्रिय समितिको कार्यावधि पाँच वर्षको हुन्छ। हरेक वर्ष हुने वार्षिक सम्मेलन एघार दिनसम्म चल्छ। सीपीपीसीसीका सदस्यहरुले राखेका प्रस्ताव तथा सुझावहरु बाध्यकारी त हुँदैनन् तर उनीहरुले राजनीतिक, आर्थिक र सामाजिक मुद्धाहरुमाथि छलफल गरेर प्रतिवेदन दिने काम गर्दछन्।

चिनियाँ राष्ट्रिय जन-काङ्ग्रेस

चिनियाँ राष्ट्रिय जन-काङ्ग्रेस (एनपीसी)चीनको सर्वोच्च राष्ट्रिय आधिकारिक विधानसभा हो। यसमा देशभरिबाट छानिएका ३ हजार प्रतिनिधि हुन्छन्। यसले सरकार तथा न्यायिक प्रणाली र राज्यका मुख्य मुद्धाहरु संचालन गर्दछ। यसले चिनियाँ राष्ट्रपति, मुख्य न्यायाधीश लगायतलाई निर्वाचित गर्ने र नियन्त्रण गर्ने काम गर्दछ। एनपीसीका प्रतिनिधिहरुले राखेका प्रस्तावहरु पारित भएपछि कानुन बन्छन्।

चीनका दुई ठूला अधिवेशनमा कूल ५ हजार भन्दा बढी सहभागीहरु हुन्छन्। तीमध्ये एनपीसीका प्रतिनिधिहरु र सीपीपीसीसी राष्ट्रिय समितिका सदस्यहरुले यी अधिवेशनमा भाग लिन्छन्। गन्यमान्य नेताहरुका अलावा समाजका विभिन्न प्रतिनिधिहरु जस्तै प्रतिष्ठित उद्योगपतिहरु, नामी कलाकारहरु, खेलाडी लगायतले यसमा भाग लिन्छन्।

चीनका दुई ठूला अधिवेशनमध्ये एनपीसीमा चीनको केन्द्रिय सरकारको वार्षिक कार्यप्रतिवेदनमाथि समीक्षा गरिन्छ जसमा चीनको आधिकारिक कुल गार्हस्थ उत्पादन, एनपीसी स्थायी समितिको प्रतिवेदनमाथि सुनुवाई, केन्द्रिय जनअदालत, सामाजिक तथा आर्थिक विकासको वार्षिक योजनामाथि समीक्षा तथा केन्द्रिय र स्थानीय तहमा बजेट विनियोजन लगायतका गतिविधि गरिन्छन्। यस वर्षको थप एउटा नयाँ काममध्ये एकीकृत नागरिक ऐन सम्बन्धी मस्यौदा प्रतिवेदन जारी गरिनेछ। बाह्रौं चिनियाँ राष्ट्रिय जन कांग्रेसको पाँचौं अधिवेशन र चिनियाँ जन राजनीतिक परामर्शदात्री सम्मेलन बाह्रौं राष्ट्रिय समितिको पाँचौं अधिवेशन अवधिमा मुख्यतया छलफल हुने मुद्धाहरु यसप्रकार छन्।

जारी १३औं पञ्चवर्षीय योजना

चिनियाँ तेह्रौं पञ्चवर्षीय योजना सन् २०१६-२०२० ले सुदृढ चिनियाँ समाजको स्थापना गर्ने मार्गचित्र गत वर्षदेखि नै सुरु गरेको हो। यसपटक रणनीतिक योजनाले नीतिको फ्रेमवर्क तथा प्राथमिकता रेखाङ्कन गर्नेछ। नवीन आविष्कार रणनीति, गरिबी निवारण तथा वातावरण संरक्षण, भ्रष्ट्राचार निवारणका मुद्धालाई थप प्रवर्द्धन गर्नेछ।

विश्वको दोश्रो ठूलो आर्थिक शक्ति चीनको कूल गार्हस्थ उत्पादन हरेक वर्षका ठूला अधिवेशनमा सदैव चासोको घेरामा रहने गर्दछ। सन् २०१६ मा चीनको आर्थिक वृद्धि दर तीन दशक यताकै सबैभन्दा कम अर्थात् ६ दशमलव ७ प्रतिशत थियो। चीनले तेह्रौं पञ्चवर्षीय योजना अवधिमा देशको कूल गार्हस्थ उत्पादन दरलाई औसतमा ६ दशमलव ५ प्रतिशतमाथि स्थिर राख्ने योजना बनाएको छ।

चीनले आर्थिक संरचनामा ल्याएको सुधारले राम्रो गति लिएको छ। आपूर्ति पक्षको गहन सुधारमार्फत् यस वर्ष कृषिलाई केन्द्रविन्दुमा राख्ने चीनको योजना छ। उत्पादकत्व बमोजिम आपूर्ति पक्ष चुस्त बनाउने दिशामा ठोस प्रगति गर्ने चीनको महत्वाकांक्षा छ।

चिनियाँ कम्युनिष्ट पार्टीको १९औं महाधिवेशन

यस वर्षको अन्त्यतिर चिनियाँ कम्युनिस्ट पार्टीको १९औं महाधिवेशन हुनेछ जसले नयाँ पार्टी नेतृत्व चयन गर्नेछ। महाधिवेशनले आगामी सामाजिक संरचनाको खाका तयार पार्नेछ जसबाट सन् २०२० सम्म समृद्ध चिनियाँ समाज निर्माणको मार्गचित्र पहिल्याइनेछ। यस अधिवेशनका दौरान यसमा पनि आँखा लगाइनेछ।

चिनियाँ जनकाङ्ग्रेसले चीनको गैरसैनिक सामान्य प्रावधानमाथि समीक्षा चलाउनेछ। जनरल प्रावधानले नागरिक कानुन र नागरिक अधिकारलाई बढाउनका लागि निर्देशक सिद्धान्त प्रस्तुत गर्नेछ। पश्चिमा आर्थिक समूहबाट संरक्षणवादको वकालत भैरहेका बेला चीनले विश्वव्यापीकरणलाई बढाएर आफ्नो खुलापन र समावेशी अवधारणालाई थप मजबुत बनाउनेछ।

चीनले सन् २०१३ देखि अघि सारेको बेल्ट एण्ड रोड इनिसियटिभले विभिन्न देश तथा क्षेत्रमा सकारात्मक प्रभाव ल्याएको छ। यस परियोजनालाई सुदृढ पार्ने दिशामा चीनले आगामी मे महिनामा बेल्ट एण्ड रोड इनिसियटिभ मञ्चको आयोजना गर्दैछ।

एक देशः दुई व्यवस्था

चीनले हरेक वार्षिक सम्मेलनका दौरान हङ्कङ्, मकाउ र ताइवान मामिलामा छलफल गर्दै आएको छ। केही ताइवानी नेताहरुले सन् १९९२ को सम्झौतालाई बेला बेलामा अस्वीकार वा आलोचना गर्ने गरेकाले ताइवान जलडमरुको सुरक्षामा खलल पुग्ने गरेकोले यसमाथि पनि चासो रहनेछ। साथै सन् २०१७ मा हङ्कङ् मातृभूमिमा फर्किएको २०औं वार्षिकोत्सवका सन्दर्भमा पनि यी अधिवेशनमा ध्यानाकर्षण हुनेछ।

गत वर्ष जी-२० सम्मेलन भव्यताका सम्पन्न गरेको चीनका लागि प्रथम अन्तर्राष्ट्रिय सहकार्यका लागि बेल्ट एण्ड रोड मञ्चको आयोजना गर्नुछ। साथै यही वर्ष विकासोन्मुख मुलुकहरुको संगठन ब्रिक्स सम्मेलन आयोजना गर्ने योजना छ। यस वर्ष चीनले नव निर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको पनि सामना गर्नुछ भने कसरी समान विजय र आपसी हितको उपाय अवलम्बन गर्न सकिन्छ भनेर धेरै खाले परीक्षाहरु पनि पार गर्नुपर्नेछ।

यस वर्ष चिनियाँ आर्मी अर्थात् पिपुल्स लिवरेसन आर्मी पीएलएको ९०औं वार्षिकोत्सव परेको छ। दुई ठूला अधिवेशनका दौरान चिनियाँ रक्षा बजेटको सूचना पनि प्रकाशमा आउनेछ जुन संसारका लागि निकै ध्यानाकर्षक विषय बन्नेछ।

राष्ट्रपति सी जिनपिङ्को नेतृत्व

चिनियाँ कम्युनिष्ट पार्टी तथा चीन सरकारको नेतृत्व सम्हालेको हैसियतले चीनका दुई ठूला अधिवेशनमा जनकाङ्ग्रेस प्रतिनिधिहरु र राजनीतिक परामर्शदाताहरुको सम्मेलनले उनले अंगालेको नीति, चिनियाँ सपनाको लक्ष्य र राज्य संचालनको कार्यविधिबारे प्रश्न गर्नेछन्।

बाह्रौं चिनियाँ राष्ट्रिय जन कांग्रेसको पाँचौं अधिवेशन र चिनियाँ जन राजनीतिक परामर्शदात्री सम्मेलन बाह्रौं राष्ट्रिय समितिको पाँचौं अधिवेशन बेइजिङ्गमा हुँदै गर्दा अधिवेशनमा प्रस्तुत हुने महत्वपूर्ण बिषयबारे व्यापक चासो यसपटक पनि उभारिएको छ। विशेष गरी तेह्रौं पञ्च वार्षिय योजना, वार्षिक आर्थिक वृद्धि, बेरोजगारी समस्या, छिमेकी मुलुकसितको सम्बन्ध, वातावरण संरक्षण, कानुन कार्यान्वयनको निष्पक्षता,खाद्य तथा औषधी सुरक्षा, सामाजिक सुनिश्चितता, गरिब तथा धनीबीचको अन्तर, कार्यप्रणालीमा संशोधन, राजनीतिक व्यवस्थाको सुधार, सामाजिक नैतिकता तथा त्यसको व्यवस्थापन, कूटनीतिक सम्बन्ध जस्ता विषयहरुमा अझै गहिरो नजर राखिनेमा दुईमत छैन।

त्यस्तै विभिन्न क्षेत्रको गहन सुधार, चिनियाँ सपना, भ्रष्टाचार विरोधी कदम प्रति पनि सम्मेलनका सहभागीहरु र विश्वमा पनि उत्तिकै चासो देखिनेछ।

जानकारी तथा लेखहरु