फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

लोङमन ग्रोट्टोस-चट्टानगुफा

(GMT+08:00) 2017-07-30 19:07:36

सम्पदा संरक्षणमा चीनले लगाएको परिश्रम र गरेको लगानी अदभूत छ। यसको प्रतिफलका रूपमा पर्यटकहरूको ओइरो लागेपछि चीनले अनन्तकालसम्म यसबाट फाइदा नै फाइदा बटुलेको हुन्छ। एकीकृत रूपमा सम्पदास्थलको निर्माण गर्दै, भएभरका हरेक सम्पदालाई मूल्यवान बनाएर चीनले सम्पदास्थलमाथिको लगानीबाट शायदै घाटा व्यहोरेको हुनुपर्छ।

तिनै सम्पदाबाट चीनले कहिल्यै नसुक्ने निरन्तर आम्दानीको बाटो पहिल्याएको देखिन्छ। त्यस्तै अद्भूत संरचनामध्येको एउटा हनान प्रान्तको लोयाङ सहरमा देख्न सकिन्छ। जसलाई लोङमन चट्टाने गुफा अथवा लोङमन ग्रोट्टोस् भनेर चिनिन्छ। पूर्वपट्टी यी नदीको किनार र पश्चिमपट्टी अग्लो पहाडका काखमा रहेको यो चट्टान शिल्पी युनकाङ गुफा र मोकाओ गुफा गरी चीनका प्रसिद्ध तीन पत्थर शिलालेखमध्ये एक मानिन्छ।

गुफा भन्ने वित्तिकै भित्र भित्र छिर्नसकिने सुरूङमार्ग नभएर यो ठूलो क्षेत्रफलमा फैलिएको चट्टानको आकृति भन्दा पनि हुन्छ। चट्टान नै चट्टानको भिरमाथि अनेकन बुद्धका मूर्तिहरू कुँदिएका छन् जसबाट पर्यटकहरू अध्ययन र शान्तिको खोजीमा त्यहाँसम्म पुग्ने गर्दछन्। लामो क्षेत्रफलको पहाड र नदीको किनारै किनार हिँडेपछि विशाल पहाडका काखमा बुद्धका विशाल मूर्तिहरू देखिन्छन्, ती मूर्तिहरूसम्म पुग्नका लागि भर्याङ र खुट्किलाहरू बनाइएका छन्, जहाँ स्थानीय तथा बाह्य पर्यटकको पनि घुँइचो लाग्ने गर्दछ। पुल पारीबाट फर्किनका लागि साना साना पर्यटकीय गाडीहरू छिन छिनमा हुइँकिने भएकाले यात्रा सन्तोषजनक हुने गर्दछ। यो सम्पदालाइ सन् २००० को नोभेम्बरमा विश्व सम्पदा सूचीमा सूचिकृत गरिएको हो।

लोयाङ सहरको पश्चिमपट्टि अवस्थित लोङमन ग्रोट्टोस् स्याङ र लोङमन पहाडको बीचमा पर्दछ र यसको मोहडा यी नदीतर्फ छ। उत्तरी वै राजवंश (३८६-५३४) अवधिको ४९३ मा सम्राट स्याउ वनले लोयाङलाइ राजधानी बनाएयता झण्डै ४०० वर्षसम्म यसको निर्माण कार्य चल्दै उत्तरी सुङ राजवंश (९६०-११२७) सम्म यसको निर्माण कार्य निरन्तर रह्यो। उत्तरदेखि दक्षिणसम्म करीब एक हजार मिटरको दृश्यावशीलमा २३ सय वटा दुला र खोपीहरू, २८ सय दस्ता वा हाता, १३ सय गुफा र १ लाख मूर्तिहरू समेटिएका छन्। वै राजवंशमा बनिएका र थाङ राजवंश(618-907) मा यसको मर्मत संभार गरिएका हुन्। प्रचूर ऐतिहासिक सामग्रीहरू कला, संगीत, धर्म, लिपी, औषधी, पोशाक र वास्तुकला त्यहाँ देख्न सकिन्छ।

फङसियान मन्दिर-थाङ राजवंशकालमा बनाइएको सबैभन्दा ठूलो मन्दिर ११८ फिट चौडा र १३६ फिट लम्बाईको छ। त्यहाँ मुख्य ९ वटा फरक फरक मुद्रा र मिजासका अनुहार आकृति छन् जुन बुद्धका विभिन्न पन्थ र उनीहरूका सम्बन्धका आधारमा कलाकारहरूले निर्माण गरेका हुन्। सबैभन्दा प्रभावशाली वैरोचन बुद्धले पलेटी मारेर कमलको फूलमाथि आसीन मूर्ति हो जुन ८ वर्गाकारमा छ। १७ दशमलव १४ मिटरको कूल उचाइ छ भने टाउको मात्रै ४ मिटर लामो कार १ दशमलव ९ मिटर लामा छन्। वैरोचनको अर्थ सबै सबै कुरामा प्रकाश छर्ने भन्ने हो। बुद्धसँग सुगठित शरीर, पवित्र तथा करूण वाणी र शिष्ट मुस्कान थियो। सुक्तिअनुसार साम्राज्ञी वु च थ्यानले वैरोचन दीप्ति ग्रहण गरेकी थिइन्। वैरोचनको छेउमा कश्यप र आनन्द भिक्षुको मूर्ति पनि छ।

लोङमनमा वानफो गुफा, कुयाङ गुफा, कमल गुफा र पिनयाङ गुफा पनि रहेका छन्। ती गुफाका भित्ताहरूमा १४० वटा मार्गदर्शक सूत्रहरू पनि कुँदिएका छन्। जसमा प्राचीन चिनियाँ वैद्यशास्त्रका विषय समावेश छन्। ती मध्ये छ वटा अझै पनि चीनमा प्रचलित छन्।

जानकारी तथा लेखहरु