फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

मोदीको नेपाल भ्रमणमा चिनियाँ दृष्टि

(GMT+08:00) 2018-06-13 15:56:05

बैशाख २८ र २९ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको भ्रमण गरे। प्रधानमन्त्री भएपछि मोदीको यो तेस्रो नेपाल भ्रमण थियो। जनकपुरमा उनले मिथिला पोशाक लगाए भने मुस्ताङ पुगेर त्यहीँको स्थानीय टोपी लगाए। त्यसो त मोदी स्थानीय परिवेश अनुसार आफूलार्इ उपस्थित गएर सद्भाव बटुल्न खप्पिस मानिन्छन्। यस प्रकारको चरित्र दक्षिण एसियाका नेताहरुको राजनीतिक स्टन्ट हो। यो चरित्र निर्वाह गर्नमा मोदी अन्यभन्दा निकै अगाडि हुन्छन्।

बैशाख १५ मा चीनको उहानमा चिनियाँ राष्ट्रपति सी चिनफिङसँग अनौपचारिक भेटवार्ता गरेका मोदीले चिनियाँ संस्कृति र खानाको सक्तो गुणगान गाएर सीको मन जित्ने प्रयास गरे। भारत र चीनको सम्बन्ध गंगा नदी र याङ्से नदी जस्तै भनेर दुर्इ सभ्यताको विम्ब पनि प्रयोग गरेका थिए।

अढाइ वर्षअगाडि नेपालमाथि नाकाबन्दी लगाएर अन्तराष्ट्रिय समाजमा ठूलै बदनामी कमाएका मोदीको नेपाल भ्रमणलार्इ 'पाप पखाल्ने' प्रयत्न भनेर सामाजिक संजालमा उल्लेख गरिएको छ। जानकी मन्दिर, पशुपतिनाथ र मुक्तिनाथ मन्दिरमा मोदीको गरेको पूजाआजालार्इ लिएर यसरी व्यङ्ग्य गरिएको हुनसक्छ।

भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणलार्इ अर्को छिमेकी मुलुक चीनले कसरी हेरेको छ त ? यस सम्बन्धमा केही चिनियाँ थिङ्कट्याङ्कले सन्तुलित ढङ्गले प्रतिक्रिया व्यक्त गरेका छन्। चिनियाँ समसामयिक अन्तर्राष्ट्रिय सम्बन्ध अध्ययन संस्था 'सीआर्इसीआर्इआर'का एसिया तथा ओसियानिक विभागका निर्देशक प्रोफेसर हु सिसेङ भन्छन् 'मोदीले तीनतीनपटक नेपाल भ्रमण गर्नुको मुख्य उद्देश्य नेपालसँग सम्बन्ध सुधार गर्नु नै हो। सत्तामा आएपछि नेपालसँगको सम्बन्ध विगारेको आरोप मोदीमाथि विपक्षी दलले लगाउँदै आएका छन्। त्यसमाथि उनले नेपालमाथि नाकाबन्दी लगाएपछि उनको चर्को आलोचना भारतमा भयो। अर्को वर्ष हुने निर्वाचनमा विपक्षी दलको आरोप र जनताको आलोचनाबाट बच्नका लागि उनी नेपालसँग सम्बन्ध सुधार गर्न चाहन्छन्।'

सीआर्इसीआर्इआर चिनियाँ राज्य परिषद अन्तर्गत रहेको प्रख्यात् थिङ्कट्याङ्क हो। यसले चिनियाँ परराष्ट्र नीति बनाउने काम गर्दछ। प्रोफेसर हु सिसेङ चीनमा नेपाल र भारतसँगै दक्षिण एसिया विज्ञका रुपमा चिनिन्छन्। उनले सन् १९९० मा नयाँ दिल्लीमा दुर्इ वर्ष हिन्दी भाषा अध्ययन गरेका थिए। यसर्थ उनी भारतीय पत्रपत्रिकामा आएका समाचारहरुलार्इ पनि नियमित विश्लेषण गर्दछन्।

प्रोफेसर हु भन्छन् 'यदि नयाँ दिल्लीले नेपालको बारेमा साँच्चै नै अशल छिमेकीपनको नीतिलार्इ अँगाल्ने अभ्यास गरेको हो र नेपालको विकासमा रचनात्मक सहयोगी भाव राख्नुपर्ने सोचाइ ल्याएको हो भने यसले ढिलोचाँडो नेपालमा फैलिएको भारतीय नकारात्मक इमेजमा सुधार ल्याउनेछ।'

भूराजनीतिक अवस्थामा नेपाल दुर्इ ठूला आर्थिक शक्तिका बीचमा रहेको उल्लेख गर्दै दुवै मुलुकसँगको सफ्टवेयर र हार्डवेयर कनेक्टिभिटीबाट नेपालले यथेष्ट फाइदा लिन सक्ने उनको विचार छ। विशेष गरी नेपालसँगको आपसी संजालबाट चीन र भारतले पनि फाइदा लिनसक्ने उनी औँल्याउँछन्।

अर्को छिमेकी मुलुकबाट उच्चस्तरीय भ्रमण भइरहँदा नेपाली जनताले उच्चस्तरीय चिनियाँ भ्रमणको पनि अपेक्षा गरेको कुरा चीनलार्इ जानकारी भएको प्रोफेसर हु बताउँछन्। उनी भन्छन् 'विशेष गरी चिनियाँ उच्चस्तरीय नेताले अन्य छिमेकी मुलुकको भ्रमण गरिसकेको र सीपीसीको १९ औँ महाधिवेशनपछि चीन नयाँ युगमा प्रवेश गरेको अवस्थामा चिनियाँ उच्चस्तरीय नेताले नेपालको भ्रमण गर्न अपरिहार्य बनेको छ।' यसका लागि काठमाडौँले राजनीतिक तयारी गर्नुपर्ने बताउँदै उनी भन्छन् 'उच्चस्तरीय चिनियाँ नेतृत्वको नेपाल भ्रमणले चीन र नेपालबीचको सहकार्यमा मात्र नभएर क्षेत्रीय स्तरमै बहुआयामिक सहकार्यका लागि वातावरण सिर्जना गर्नेछ। विशेष गरी चीन, नेपाल र भारतबीचको त्रिदेशीय सहकार्यको वातावरण पनि बन्नेछ भन्ने मलार्इ लाग्छ।'

दुर्इवर्ष अगाडि प्रधानमन्त्री केपी ओलीले चीन भ्रमणको बेला चीनले चीन, नेपाल र भारत त्रिदेशीय आर्थिक कोरिडरको कुरा उठाएको थियो। नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गत बैशाखमा चीन भ्रमण गर्दा चिनियाँ परराष्ट्रमन्त्री वाङ यीले पनि चीन नेपाल भारत त्रिदेशीय आर्थिक कोरिडरको कुरा गरेका थिए। चीनले प्रस्ताव गरेको यो नयाँ अवधारणा हो। चीनको प्रस्तावमा नेपालले समर्थन जनाइसकेको छ भने भारत मौन छ। त्रिपक्षीय भने पनि अहिलेसम्म यो विषयमा चीन र नेपालबीचमा मात्र कुराकानी भएको देखिन्छ। औपचारिक रुपमा भारतसँग न त चीनले यो विषय उठाएको छ न नेपालले।

मोदी र सीबीच उहानमा भएको अनौपचारिक भेटवार्तामा पनि चीन, नेपाल र भारत त्रिदेशीय सहकार्यको कुरा उठेको पाइएन। सो भेटमा नेपाल प्रसङ्गमा कुराकानी भए नभएको कुनै पनि कुरा चिनियाँ संचार माध्यममा आएको छैन। त्रिदेशीय सहकार्य भएकाले यो आर्थिक कोरिडर कार्यान्वयन तीनवटै मुलुकको समन्वयमा मात्र संभव हुनेछ। यसका लागि तीनै मुलुक उपस्थित साँझ मन्चमा वहस हुन जरुरी छ।

त्रिपक्षीय आर्थिक विकासलार्इ अगाडि बढाउनका लागि चीन, नेपाल र भारतका नेताहरु एकै ठाउँ उभिएर सांकेतिक रुपमा ट्रान्स हिमालय क्षेत्रको कुनै परियोजना उद्घाटन गरेमा त्रिदेशीय आर्थिक कोरिडर अगाडि बढेको मानिने प्रोफेसर हु बताउँछन्।

मोदी भ्रमणको समयमा प्रतिवद्धता व्यक्त गरिएका क्षेत्रहरुमध्ये नेपालको पूर्वाधार विकास तथा नेपाल भारत भौतिक कनेक्टिभिटीमा भारतको संलग्नता र नेपालको उर्जा क्षेत्रमा भारतीय लगानी वृद्धिले नेपालको सामाजिक आर्थिक विकासमा टेवा पुग्ने र यसले चीन र भारतबीचमा पनि सहकार्य गराउने उनी स्पष्ट पार्छन्।

चीन र भारतजस्तो उदीयमान वृहत अर्थतन्त्रको बीचमा रहनु नेपालका लागि अद्वीत्तीय अवसर रहेको चिनियाँ विज्ञहरु ठान्छन्। अन्य राष्ट्रलार्इ यस्तो अवसर नभएको भन्दै प्रोफेसर हु भन्छन् 'नेपालले मात्र चीन र भारतबाट फाइदा लिने होइन ट्रान्स हिमालय कनेक्टिभिटीबाट चीन र भारतले पनि प्रशस्त लाभ लिनेछन्।' यदि नेपालको विकासमा चीन र भारत सहयोगी बन्न सकेनन् अथवा एकअर्काका लागि अवरोध बने भने नेपालको विकास नै त्यागिने उनको विचार छ। नयाँ युगमा विकास भनेकै प्रतिस्पर्धा नभएर सहकार्य हो भन्ने कुरालार्इ सबैले बुझ्नुपर्ने बताउँदै भूराजनीतिक अवस्थाले नेपाललार्इ फाइदैफाइदा भएको उनको निचोढ छ। उहानमा भएको सी र मोदीको भेटले पनि छिमेकी विकासमा सहकार्य गर्ने कुरामा सहमति भएको उनले बताए। नेपालमा चिनियाँ लगानीलार्इ भारतले अवरोध पुर्‍याइरहेको चिनियाँ बुझाइ रहेको छ। दुर्इ वर्ष अगाडि प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणपछि प्रोफेसर हुले कान्तिपुरलार्इ अन्तर्वार्ता दिँदै नेपालका ठूला नदीहरु भारतले ओगटेको र नेपालमा चिनियाँ लगानीलार्इ भारतले अवरोध पुर्‍याइरहेको बताएका थिए। अहिले मोदीको भ्रमणमा अरुण तेस्रोको समुद्घाटनलार्इ भने उनले सकारात्मक भनेका छन्। उनले भने 'जलविद्युत तथा अन्य पूर्वाधारका क्षेत्रमा नेपालमा चिनियाँ र भारतीय लगानी भित्रिनु सकारात्मक हो र यसले नेपालको आर्थिक तथा समाजिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दछ।'

भूराजनीतिक अवस्था र मोदीको नेपाल भ्रमणका विषयमा चीनको हपेइ प्रान्त स्थित हपेइ विश्वविद्यालयमा स्थापित नेपाल अध्ययन केन्द्रका निर्देशक चाङ सुपिन निकै कडा प्रतिक्रिया व्यक्त गर्दछन्। हाल अमेरिकामा भिजिटिङ प्रोफेसरका रुपमा रहेका चाङले भने 'नेपालले भारत विरुद्धमा चाइना कार्ड र चीन विरुद्धमा भारतीय कार्ड खेल्नु हुँदैन। दुवैदेशबाट सकेसम्म फाइदा लिनु नेपालको बुद्धमता हुनेछ।' नेपालका विगतका सरकार प्रमुखहरुले निर्वाह गरेको भूमिकालार्इ उनले संकेत गर्दै यस्तो टिप्पणी गरेका हुन्।

चीन र भारतबीचको अद्वित्तीय भूराजनीतिको फाइदा उठाउनका लागि नेपाले भूकम्पपछिको पुननिर्माण, रेलवे, सडकसंजाल, विमानस्थल निर्माण लगायतका कुरामा काठमाडौँ दक्षिण एसियाकै ब्रसेल्स बन्ने धारणा चाङ व्यक्त गर्दछन्। बेल्जियमको राजधानी ब्रसेललार्इ युरोपियन युनियनको राजधानी मानिन्छ।

साभारः कान्तिपुर दैनिक। २०७५ जेठ १ (२०१८ मे १५) मंगलबार।

जानकारी तथा लेखहरु