फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनलाई ढाल्ने क्षमता कुनै मुलुकसँग छैन

(GMT+08:00) 2018-10-12 19:13:22

-अजय अलौकिक

चीनलाई कसैले पनि ढाल्न वा झुकाउन नसक्ने र अमेरिकी व्यापारिक दबावले दुई मुलुकबीचको द्विपक्षिय सम्बन्ध मात्रै बिग्रने नभइ यसले अमेरिकी अर्थतन्त्र र बृहत विश्वव्यापी बजारलाई पनि असर पार्ने चिनियाँबाहेक केहि अमेरिकीका साथै विश्वका अरू विज्ञहरूको भनाइ छ। त्यसैमाथि हालै अमेरिकी उपराष्ट्रपति माइक पेन्सले निराधार रुपमा चीनको आन्तरिक तथा वैदेशिक नीतिमाथि आलोचना गरी गरिएको सम्बोधनले दुई देशको सम्बन्धमा नकारात्मक प्रभाव पारेको छ।

त्यति मात्रै होइन, उनले विगत २० वर्षमा चीनसँगको व्यापारमा प्रशस्त घाटा भएको र यसबाट चीनले धेरै नै सम्पत्ति आर्जन गरेको जनाउँदै अमेरिकाले चीनको पुनःनिर्माण गरेको धारणा समेत राखे। यस्तो विचारलगत्तै चीनले त्यसको कडा विरोध गरेको छ। यसरी दुई ठूला अर्थतन्त्रबीच व्यापारिक तनाव रहिरहेकै अवस्थामा यस्तो भनाइ सार्वजनिक हुँदा झनै स्थिति तनावमय बनेको छ।

चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता लु खाङ्गले नियमित पत्रकार सम्मेलनमा उक्त भनाइको खण्डन गरेका छन्। उनले चीनको विकास अरुको संगत र उपहारको भरमा नभएको मात्रै भनेनन् कुनै मुलुकसँग चीनको पुनःनिर्माण गर्ने क्षमता समेत नभएको औंल्याए। चीन आफैमा एक विशाल देश हो र यसको लामो इतिहासलाई हेर्दा पनि हरेक कालखण्डमा उसको वर्चस्व रहेको बुझ्न कठिन छैन। मात्र यो देश भनिएजस्तै सुतिरहेको ड्र्यागन हो। यस देशले अरू देश र देशको सार्वभौमिकतामाथि हस्तक्षेप गरेको छैन या यसलाई चासो छैन।

यी सबै आरोप-प्रत्यरोपको बिउ भनेको दुई देशबीचको व्यापार युद्ध नै हो। करिब दुई महिनअघिबाट शुरू भएको व्यापार घर्षणले दुई देशलाई पानी बाराबारको स्थितिमा पुर्याएको हो।

अमेरिकाले २०० अर्ब डलरका चिनियाँ सामग्रीमा १० प्रतिशतको कर वृद्धि गरेको छ। यो कर यसै वर्षको अन्त्यदेखि बढाएर २५ प्रतिशत पुर्याउने योजना अमेरिकाले लिएको छ। यसको जवाफमा चीनले पनि ५ हजार २०७ अमेरिकी आयातमा कर लगाएर बदला लिएको छ। यी सामग्रीको मूल्य ६० अर्ब डलर पर्छ। यसअघि अमेरिका र चीनले एक अर्काको ५० अर्ब डलरको सामग्रीमा भन्सार लगाइसकेको थियो।

यसरी अमेरिकी चीन व्यापार कदमले सामान्य अवस्थाको चीन–अमेरिका व्यापारिक गतिविधिलाई मात्रै क्षति पुर्याएको छैन, यसले विश्वव्यापी आर्थिक वृद्धिलाई पनि हानी पुर्याएको छ र यो असर पछिसम्म रहने छ।

यसै बीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सम्बोधनले विश्वलाई कहिले अत्याएको छ त कहिले उनी हाँसोको पात्र पनि भएका छन्। हालसालै राष्ट्रसंघीय महासभाको सम्बोधनमा पनि त्यस्तै भयो। उनको ईरानसम्बन्धित टिप्पणी सुनेर र अमेरिका ग्रेट एगेनको नारामा त्यहाँ उपस्थित अतिथिहरू गलल हाँसे। हाल अमेरिकी उपराष्ट्रपति पेन्सको सम्बोधनले चिनियाँ जनतालाई हँसाएको छ।

प्रशान्त महासागरको एकापट्टि रहेको चीन र चिनियाँ सर्वसाधारणले नयाँ चीन स्थापनाको अवसरमा ६९औं राष्ट्रिय दिवस मनाइरहेको बेला अर्को कुनामा अमेरिकी उपराष्ट्रपति पेन्सले आफ्नो सम्बोधनमा चीनसम्बन्ध र चीनको तथाकथित लक्ष्यबारे आफ्नो धारणा राखेका थिए। सम्बोधनमा पेन्सले इतिहासदेखि आजसम्म, सैन्य मामिलादेखि मानव अधिकारको विषयसम्म, व्यापारिक युद्धसँगै मध्यकालीन निर्वाचनमाथिको हस्तक्षेपसम्मको चर्चा गरेर चौतर्फी रुपमा चीनको आलोचना गरेका थिए। तर उनको यो भाषण सुनेर चिनियाँहरूले खिल्ली उडाएका छन्। जसरी ट्रम्प आलोचित छन् र उनका भनाइलाई उडाइन्छ हाल त्यसरी नै बिना तुकको कुरा गरेर पेन्सको चीनमा खिल्ली उडाइएको छ।

उनको विगत २५ वर्षमा अमेरिकीले चीनको पुनर्निर्माण गरेको भनाइ नै हाँस्यास्पद छ र मुख्यत यसै प्रसङ्गलाई चिनियाँले उडाएका छन्। आजभन्दा २५ वर्षअघि अर्थात् सन् १९९२/१९९३ को त्यस समयमा अमेरिका र केही पश्चिमी मुलुकले सोभियत संघको विघटनमा खुशीयाली मनाउँदै थिए र "चीन धम्की सिद्धान्त"को तर्जुमा गरेका थिए।

साथै चीनको जीडिपि सन् १९९२ को २७ खर्ब २० अर्ब चिनियाँ युआन थियो र हाल सन् २०१७ मा ८२७ खर्ब १० अर्ब चिनियाँ युआन पुगेको छ। चिनियाँ जनताको अथक प्रयासमा आज आएर लगभग चालीस गुणाको वृद्धि भएको छ र यो निसन्देह चिनियाँ जनताको मेहनतको फल नै हो।

त्यसमाथि चीनको हजारौं वर्षको लामो इतिहास छ र चीनले प्राकृतिक प्रकोप, भोकमरी, अनिकाल, जापानी बर्बरता, पश्चिमाको संयुक्त बलको युद्ध पीडाबाहेक आन्तरिक कलह पनि धेरै धेरै भोगेका छन् र यति हुँदाहुँदै पनि चीन कसैको सहाराबिना सधैँ आफ्नो बलबुताले खडा भएको छ। धेरै पटक आफ्नो पुनःनिर्माण गरेको छ तर आजका दिनसम्म बाह्य शक्तिको भरमा पुनःनिर्माण गरेको छैन।

पेन्सको भनाइमा कुनै सत्यता छैन नै त्यसबाहेक चिनियाँ जनले उल्टै प्रश्न राखेका छन् उनलाई - यदि अमेरिकाले यति छोटो समयमा चीनको पुनःनिर्माण गर्न सफल भएको हो भने इराक, अफ्गानिस्तान, सिरिया लगायतका देशको पुनःनिर्माण गर्न के कठिनाइ आइपर्यो?

व्यवसाय चोरी तथा मानव अधिकारको बढ्दो उल्लङ्घनका बारेमा मात्रै होइन, सैन्य आक्रामकताको तीव्र आलोचना मात्र गरेनन्, उनले आगामी नोभेम्बरमा हुने अमेरिकी मध्यावधि राष्ट्रपति चुनावमा समेत चिनियाँ हस्तक्षेप रहने आशंकासमेत व्यक्त गरे। अमेरिकी उपराष्ट्रपतिले चीनमाथि आन्तरिक मामिलामाथि हस्तक्षेपको समेत आरोप लगाइएको यस प्रसङ्गलाई व्यापार तनावपछिको साइड इफेक्टको रूपमा लिन सकिन्छ।

तर त्यसको विपरित पूर्व अमेरिकी विदेशमन्त्रीहरुले चीन अमेरिकाको शत्रु नभएको धारणा स्पष्ट रुपमा राखेका छन्। अर्का पूर्व विदेशमन्त्री हेन्री किसिङ्गरले वर्तमान विश्वको शान्ति र समृद्धि चीन र अमेरिकाले साझा प्रयासबाट गर्नुपर्ने धारणा राख्दै दुई पक्षको विचार एउटै नभए तापनि कम्तिमा आपसी मतभेदलाई नियन्त्रण गर्नुपर्ने र चीन र अमेरिकाबीचको समस्यालाई हार-जितको नभई वार्ताद्वारा अन्तर्राष्ट्रिय प्रणाली र न्यायलाई कायम राख्नु उचित हुने बताएका छन्।

यसै बीच अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले पैचिङमा आफ्ना समकक्षीलगायत अरू नेतागणसँग भेट-वार्ता गरेका छन्। यस्ता भेट र वार्ताबाट निष्कर्शहरू आउने नै छन् र सकारात्मक नतिजाको प्रतिक्षा रहने छ।

त्यसबाहेक अमेरिकासँग बढ्दै गएको व्यापार विवादका कारण आउनसक्ने तरलतालाई ध्यानमा राख्दै चीनले 'दूरदर्शी तथा सन्तुलित' मौद्रिक नीति लागु गर्ने चिनियाँ केन्द्रीय बैंकले जनाइसकेको छ। त्यसै गरी विश्व कै सबैभन्दा ठूलो जनसंख्या भएको चीनले आफूलाई अव्वल ठहराउन र कसैले पनि ढाल्न वा झुकाउन नसक्ने पक्षहरू तथा नीतिहरू अङ्गाल्ने र अवलम्बन गर्ने नै छन्। र यसरी चीनले अमेरिकी व्यापारिक दवावविरूद्ध आफ्नो शक्ति प्रदर्शन गर्दै जाने नै छ।

त्यसै गरी उता अमेरिकाले पनि आफ्नो हितअनुकुलको व्यवस्था लाद्ने नै छ। तापनि यी दुई पहिलो र दोस्रो पङ्क्तिमा रहेका आर्थिक शक्तिले व्यापार युद्धबाट धेरै गुमाउने छन् र सारा विश्वले पनि गुमाउने मात्रै होइन यसको मुल्य चुकाउनु समेत पर्ने छ। त्यसकारण अरू देशको विषयमा नानाथरी आरोप नलगाइ यी दुई देश वार्ता टेबुलमा संयमतापूर्वक संवार्ता गरी मतभेद पन्छाउनु फलदायी हुने छ र सारा विश्वको आशा पनि यही नै हो।

जानकारी तथा लेखहरु