फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

वैदेशिक लगानीः चीन विकासको माध्यम

(GMT+08:00) 2019-03-26 14:51:43

----------अजय अलौकिक

हाल विश्वमा वैदेशिक लगानीको तीव्रता निकै बढेको देखिन्छ। के धनी के गरिब मुलुक सबैले लगानी भित्र्याउने गरेका छन् र सँगै अरू देशमा लगानी पनि लगाउने गरेका छन्। पहिलो आर्थिक शक्ति राष्ट्र अमेरिका नै सबैभन्दा वैदेशिक लगानी भित्र्याउने राष्ट्रको रूपमा अगाडि छ भने चीनले अमेरिकालाई पछ्याइरहेको छ। साथै विश्व अर्थतन्त्रलाई समेत वैदेशिक लगानीले चलायमान बनाएको छ।

विशेषत वैदेशिक प्रत्यक्ष लगानीसँगै लगानी अर्थात् पैसा भित्रिने मात्रै होइन, यसले नयाँ प्रविधि पनि भित्र्याउँछ, दक्ष जनशक्तिको उत्पादन गर्छ र अर्थव्यवस्थासँगै देशको समग्र विकासमा फाइदा पुर्याउँछ। साथै विश्व बजारमा समेत पुग्न सहयोग गर्छ। यो वैदेशिक प्रत्यक्ष लगानी (एफडिआई) भौतिक संरचनाको विकास, सुविधा र दक्ष श्रमशक्ति भएका देशमा पनि भित्र्याइन्छ भने विकासोन्मुख देशमा रहेका स्रोतको उत्खनन् र उत्पादन तथा सस्तो कामदार हेरेर पनि भित्रिने गर्छ।

आजको परिवेशमा नेपालले सर्वोपरी हितलाई विशेष उच्च महत्व दिई आर्थिक तथा पूर्वाधार विकासका लागि लगानीका लागि आवश्यक वातावरण सिर्जना गर्नुपर्ने देखिन्छ। छिमेकी देश चीनले आजभन्दा चालिस वर्ष अघि भित्र्याएको लगानीबाट आज चिनियाँ सरसामान विश्वभरि फैलिएका छन्। अद्भुत प्रगति गरेको चीन संसारकै दोस्रो ठूलो अर्थतन्त्र बनिसकेको छ। यस एफडिआई सम्बन्धमा चीनको नजिर लिनसकिन्छ।

सन् २०१८ मा विश्वमा नै अन्तर्राष्ट्रिय लगानी १९ प्रतिशतले घटे तापनि चीनले भित्र्याएको वैदेशिक लगानी ७ प्रतिशतले बढेको थियो। चिनियाँ वाणिज्य मन्त्रालयद्वारा प्रकाशित पछिल्लो तथ्याङ्क अनुसार, गत जनवरीमा चीनबाट वास्तविक प्रयोग गरिएको विदेशी पुँजी गत वर्षको सोही अवधिको तुलनामा ४.५ प्रतिशतले वृद्धि भएको छ। चीनमा अमेरिकाको लगानी १२४.४ प्रतिशतले बढेको छ। विश्व बैंकले सार्वजनिक गरेको २०१९ डुइङ्ग बिजनेस रिपोर्टमा चीन १९० वटा मुलुकमा पहिलेको ७८ औं स्थानबाट ४६ औं स्थानमा उक्लेको छ र चीनको सम्बद्ध क्षेत्रको सुधार आश्चर्यजनक रूपमा तीव्र र प्रभावकारी भएको जनाएको छ। (यसै रिपोर्ट अनुसार, नेपाल ११० औं स्थानमा रहेको छ।)

व्यापार र विकासमा संयुक्त राष्ट्र सम्मेलन (यूएनसिटिएडी) का अनुसार, सन् २०१८ मा चीनले १४२ बिलियन अमेरिकी डलर बराबरको वैदेशिक लगानी भित्र्याएको थियो, जुन गत वर्षको तुलनामा ३ प्रतिशतले वृद्धि भएको छ। यो सँगै चीन अमेरिकापछि सर्वाधिक वैदेशिक लगानी भित्र्याउने देशमा दोस्रो मुख्य गन्तव्य बनेको छ। यता अमेरिकाको १८ प्रतिशतले घटेपनि २२६ बिलियन डलरसहित प्रथम स्थानमा छ। चीनमा एफडिआईको वृद्धि हुनुमा उदारीकरण योजनाहरु, उच्च प्रविधी क्षेत्रको तीव्र विकास र स्वतन्त्र व्यापार क्षेत्रहरुको स्थापनालाई मानिएको छ। त्यसै गरी सन् २०१८ को प्रारम्भमा चिनियाँ वाणिज्य मन्त्रालयले जारी गरेको एक रिपोर्ट अनुसार, सन् २०१६ बाट २७.८ प्रतिशत वैदेशिक लगानी कम्पनी बढेको र सन् २०१७ मा ११ वटा स्वतन्त्र व्यापार क्षेत्रहरूमा १६ बिलियन एफडिआई भित्रेको छ।

चीनले सन् २०१३ मा पहिलो स्वतन्त्र व्यापार क्षेत्र साङहाई पाईलट जोन खोलेको थियो भने २०१५ मा तीन ठाउँमा र २०१६ सम्ममा ११ वटा र पछिल्लो समय हाइनानमा खोलेर १२ वटा पुर्याइसकेको छ। यी विभिन्न प्रान्त र शहरमा स्थापित स्वतन्त्र व्यापार क्षेत्रहरूको आ-आफ्नै विशेषता छन्। साङहाई वित्तीय क्षेत्रको रूपमा त्यसै गरी २०१८ मा स्थापित हाइनानलाई पर्यटन, सिर्जनात्मक संस्कृति, र प्रविधि क्षेत्रको रूपमा तोकिएको छ। त्यसै गरी औद्योगिक पार्क र क्षेत्र तथा समूहको पनि स्थापना गरिएको छ। यसरी क्षेत्र र विशेषता अनुरूपको क्षेत्रमा त्यही अनुसारको लगानी लगाउँदा लगानीकर्ताले धेरैभन्दा धेरै फाइदा उठाउन सक्ने छन्।

करिब चालिस वर्षमा विदेशी व्यवसायीहरूले चीनमा कूल ९ लाख ५० हजार व्यवसाय सञ्चालन गर्नुका साथै वास्तविक लगानी २० खर्ब अमेरिकी डलरभन्दा बढी पुगेको तथ्याङ्कले देखाउँछ।

आजको यस शानदार स्थितिमा पुग्न चीनले झण्डै चालिस वर्ष लगाएको छ। चिनियाँ नेता तङ स्याओ फिङ (देङ स्याओ पिङ)ले सन् १९७९ मा चालेको खुलापन तथा सुधारको नीतिपछि चीनमा एफडिआई भित्रिएको हो। चीनले चिनियाँ तथा विदेशी पुँजीबाट संयुक्त सञ्चालित व्यवसाय कानूनलगायत प्रत्यक्ष तथा अप्रत्यक्ष लगानीसम्बन्धमा कानून लागू गरेको थियो। सन् १९८० को दशकमा लगानी भित्र्याउन थालेको चीनले सन् १९९० को दशकमा फड्को मारिसकेको थियो। साथै चिनियाँ लगानीकर्ता र व्यापारीलाई विदेशी भूमिमा लगानी लगाउन प्रोत्साहन गर्दै सन् १९९९ मा गो ग्लोबल नीति पनि लागू गरेको थियो।

सन् २००१ मा विश्व व्यापार संगठनमा आबद्ध भएपछि चीनमा लगानी भित्रिने र साथै विश्वमा चिनियाँ लगानी पनि बढ्दै गएको छ। तथ्याङ्क अनुसार, सन् २००० मा पहिलो पल्ट चीनले विश्वमा सबैभन्दा बढि विदेशी पुँजी भित्र्याउने देशको रूपमा अमेरिकालाई उछिनेको थियो। त्यसै गरी सन् २०१० मा एफडिआईले १०० बिलियन अमेरिकी डलरको आँकडालाई पार गरेको थियो। सन् २०१३ मा एफडिआई भित्र्याउन पहिलो स्वतन्त्र व्यापार क्षेत्र साङहाई पाईलट जोन खोलिएको थियो भने सन् २०१३ मा नै चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङको नवीन रेशममार्ग परियोजना बेल्ट एण्ड रोड ईनिसिएटिभ्सको स्थापनासँगै विश्वभर चिनियाँ लगानी पनि फैलाउँदै लगेको छ। त्यसै गरी सन् २०१६ मा १८३ बिलियन डलरको एफडिआई भित्र्याएर अघिल्लो वर्षको तुलनामा ४४ प्रतिशतको वृद्धिसहित चीन पाँचौँ स्थानबाट दोस्रो स्थानमा उक्लेको थियो, जुन यथावत् छ।

खुलापन तथा सुधार नीतिको सुरूआतमा चीनले चिनियाँ तथा विदेशी पुँजीबाट संयुक्त सञ्चालित व्यवसाय कानून, विदेशी पुँजीबाट संचालित व्यवसाय कानून र चीन तथा विदेशको सहयोगमा संचालित व्यवसाय कानून पारित गरेको थियो। ती तीनवटा कानूनले चीनमा विदेशी व्यवसायीको लगानी तथा सञ्चालनलाई कानूनी नियम र प्रत्याभूति दिएका छन्।

चीनका प्रधानमन्त्री ली ख छ्याङले सन् २०१९ मा चीनले थप विदेशी लगानी भित्र्याउने, बजार प्रवेशलाई खुकुलो पार्ने, बैंकिङ लगायत क्षेत्रमा सुधार तथा खुलापनको नीतिलाई व्यवहारमा उतार्ने, चिनियाँ तथा विदेशी पुँजीद्वारा सञ्चालित व्यवसायको समान स्थान तथा न्यायोचित प्रतिस्पर्धाको वातावरण तयार गर्ने र विदेशी व्यापारीको वैधानिक हक-हितको सँरक्षणलाई सबल पार्ने जानकारी भर्खरै मार्चमा सम्पन्न राष्ट्रिय काँग्रेसको वार्षिक अधिवेशनमा दिएका छन्। यसै अधिवेशनमा नयाँ वैदेशिक लगानी कानून पनि पारित भएको छ जुन सन् २०२० जनवरी १ बाट लागू हुनेछ।

चीनले आउने दिनमा वैदेशिक लगानीका क्षेत्रमा नयाँ आधारभूत कानूनमार्फत वैदेशिक लगानीको प्रबर्द्धन, उचित अधिकार तथा हितको संरक्षण, वैधानिकीकरण, अन्तर्राष्ट्रिय तथा सुविधाजनक व्यापारिक वातावरणको निर्माण गर्नका लागि र नयाँ चरणको उच्च गुणस्तरीय खुलापनको प्रत्याभूति दिने अपेक्षा गरिएको छ। साथै चालु वर्ष चीनमा विदेशी लगानी प्रवेश गराउन 'विदेशी लगानी आकर्षित उद्योग सूचि' सार्वजनिक गर्ने भएको छ। यसबाट हेर्दा लगानीका लागि चीन अझै आकर्षक गन्तव्य बन्दै जाने निश्चित छ।

चीनको आधिकारिक दस्तावेजमा व्यापार वातावरणलाई यसरी चार खण्डमा व्याख्या गरिएको छः न्यायोचित प्रतिस्पर्धा भएको बजार, उच्च कार्यकुशलता र भ्रष्टाचाररहित सरकारी कार्य प्रक्रिया, खुला तथा पारदर्शी कानून तथा नीति र खुला एवम् समावेशी मानव संस्कृति।

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले विश्वको सबैभन्दा ठूलो विकासोन्मुख मुलुक चीनको व्यापार वातावरण र अन्तर्राष्ट्रिय स्तरको व्यापार वातावरण बीच रहेको ठूलो अन्तरलाई साँघुरो पार्न चीनले सुधारलाई गहन पार्दै खुलापनलाई विस्तार गर्दै जाने बताएका छन्।

आफ्नो देश भित्र लगानी भित्र्याउन अनेक सुविधा र सुलभता थप्दैआएको चीनले विश्वमा लगानी पनि बढाइरहेको छ। चीनले नेपालमा हालसम्म करिब ५ खर्ब ५० करोड रुपैयाँ बराबरका लगानी प्रतिबद्धता जनाइसकेको सरकारी तथ्याङ्कले देखाउँछ। नेपालमा सहयोगबाट सुरु गरेको चीनले पछिल्ला वर्षहरूमा लगानी बढाउँदै गएको छ र नवीन रेशममार्ग परियोजनापछि झनै तीव्रता लिएको छ। यस पटकको लगानी सम्मेलनमा पनि चिनियाँ लगानी सबैभन्दा धेरै भित्रिने पक्कापक्की छ।

यही चैत १५ र १६ गते लगानी सम्मेलन गरी स्वदेशी तथा विदेशी लगानी बढाएर समृद्ध राष्ट्र बनाउन कम्मर कसेर लागेको छ, नेपाल। हाल वैदेशिक लगानी सम्बन्धमा सकारात्मक तथा नकारात्मक धारणाका साथै केही क्षेत्रमा लगानी भित्र्याउन नपाइने त्यसै गरी देशको चौतर्फि विकासलाई वैदेशिक लगानी अत्यावश्यक भएको र लगानीकर्ताको हितलाई मध्यनजर राखी सुविधा दिनुपर्ने खालका विचार पनि उठेका छन्।

त्यसै गरी स्वदेशी लगानीलाई प्रोत्साहन गर्ने तथा हाल सञ्चालित उद्योगको अपग्रेडतिर ध्यान दिनका लागि पनि आवाज उठेका छन्। तथापि देशलाई आर्थिक रूपमा समृद्ध बनाउन साथै युवाशक्ति विदेशीनेबाट रोक्न लगानी भित्र्याउन आवश्यक देखिन्छ। यस क्रममा कालो धन भित्र्याएर लगानी गर्नेतर्फ पनि सतर्क बन्नुपर्छ। साथै नेपालमा फेरि पनि द्वन्द्वको त्रास देखिएको छ, यस्तो वातावरण बने लगानीको सम्भावना न्यून रहने छ।

आमनेपालीले विगतका वर्षहरूमा धेरै पीडा भोगिसकेका छन्, अझै कति आलै छन् र अब विप्लव होइन, शान्ति र समृद्धि चाहन्छन्। समृद्ध देश र सुखी नेपाल बनाउनका लागि आजको दिनमा स्वदेशी तथा विदेशी लगानी अपरिहार्य देखिन्छ।


(यो लेख चैत ११ गतेको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ।)

जानकारी तथा लेखहरु