फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

कठिन घडीमा चीन

(GMT+08:00) 2019-04-03 14:56:54

यतिबेला चीनमा १३ औँ जनकंग्रेसको दोस्रो अधिवेशन र चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलन १३ औँ राष्ट्रिय समितिको दोस्रो अधिवेशन चालु रहेका छन्। यी दुई अधिवेशनलाई चीनमा मात्र नभई विश्वमै महत्वका साथ हेरिन्छ। विशेष गरी चीनका नीति र वर्षभरिका कार्यक्रम तय गर्ने यी दुई अधिवेशनको कार्यभार हो। हरेक वर्ष उही दिन सुरु भएर लगभग दस दिन चल्ने यी अधिवेशनले चीनको अघिल्लो वर्षको समीक्षा र आगामी दिनको कार्यक्रम तर्जुमा हुने गर्छ।

चीनले लिने नीतिले छिमेकी मुलुक लगायत विश्वलाई प्रभाव पार्ने भएकाले विश्वको ध्यान चीनतिर तानिएको हो। चीनको अर्थतन्त्र खुम्चियो भने स्वाभाविक रुपमा उसको लगानी रहेको अफ्रिकी मुलुकहरुमा पर्ने गर्छ। नेपालजस्तो चीनको छिमेकी मुलुकमा त त्यसको सोझो असर परिहाल्छ। त्यसैगरी चीनले विदेशमा गर्ने लगानी र सहयोगका नीतिले पनि अन्य देशलाई प्रत्यक्ष असर पार्छ। बेल्ट एण्ड रोड इनिसएटिभ 'बीआरआई' कार्यक्रमले नेपाल, पाकिस्तान, माल्दिभ्स, श्रीलंका, मलेसिया, बंगलादेश लगायतका देशलाई तुरुन्तै र गहिरो प्रभाव पार्छ। अनि सबैभन्दा ठूलो कुरा चीनको अमेरिकासँगको आर्थिक तथा राजनीतिक सम्बन्धमा पनि पर्दछ। तसर्थ चिनियाँ राष्ट्रिय जनकंग्रेसले बनाउने कानुन, नीति, विधेयक र निर्देशनले चीनभन्दा निकै टाढासम्म पखेटा फिँजाउँछ।

मार्च ५ तारिख बिहान बेइजिङस्थित जनवृहत सभाभवनमा चिनियाँ प्रधानमन्त्री ली खछ्याङले सरकारी कार्यपत्र प्रस्तुत गर्दै सन् २०१८ चीनका लागि अत्यन्त कठिन वर्ष रहेको र चालु वर्ष सन् २०१९ पनि उत्तिकै कठिन हुने कुरा औँल्याए। सन् २०१२ अगाडिसम्म चीनका सरकारी कार्य प्रतिवेदनमा कठिन अवस्था अथवा नकारात्मक अर्थ आउने कुरा लुकाइन्थ्यो। त्यसैगरी चीनमा भ्रष्टाचार व्याप्त छ भन्ने कुरालाई पनि सार्वजनिक गरिँदैन थियो। सन् २०१२ मा सम्पन्न चिनियाँ कम्युनिष्ट पार्टीको १८ औँ महाधिवेशनबाट महासचिवमा निर्वाचित भएपछि सी चिनफिङले सत्यकुरालाई बाहिर ल्याउने नीति अँगाले। फलस्वरुप उनले चीनमा भ्रष्टाचार व्याप्त रहेको भन्दै यसलाई नियन्त्रण गर्नका लागि निकै कठोर नीति लिए।

राष्ट्रिय जनकंग्रेसमा प्रस्तुत हुने सरकारी प्रतिवेदन प्रधानमन्त्रीले पेश गर्ने प्रचलन भए पनि यो प्रत्यक्ष रुपमा चिनियाँ राष्ट्रपतिको निर्देशनमा हुने गर्दछ। सी चिनफिङ सत्तामा आएपछि सन् २०१३ मा प्रस्तुत भएको पहिलो प्रतिवेदनमै चीनमा गरिबी र प्रदूषण सबैभन्दा ठूला सत्रु रहेको स्पष्ट किटान गरिएको थियो। त्यसपछिका ६ वर्षमा चीनले गरिबी निवारण र प्रदूषण नियन्त्रणमा ठूला चुनौति पार गर्दै महत्वपूर्ण उपलब्धि पनि हासिल गरेको छ। चिनियाँ राज्य परिषदका सदस्य तथा गरिबी निवारण मुख्य कार्यालयका प्रमुख लिउ योङ फूका अनुसार सन् २०१२ मा चीनमा गरिबहरुको संख्या ९ करोड ८९ लाख ९० हजार थियो। सन् २०१८ मा यो संख्या २ करोड १ लाख ८० हजारमा झरेको छ। सी चिनफिङ सत्तामा आएपछिका ६ वर्षमा चीनबाट झण्डै ८ करोड गरिब मानिसको जीवनस्तरमा सुधार ल्याइएको छ। चालु वर्ष सन् २०१९ मा चीनले १ करोड १० लाख गरिबी उन्मुलन गरी सन् २०२० सम्ममा पूर्णरुपले गरिबी उन्मुलन गर्ने घोषणा गरेको छ।

सन् २०२१ चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको पहिलो सतवार्षिकी हो। सो अवसरभन्दा अगाडि नै चीनबाट गरिबी उन्मुलन गर्ने महत्वाकांक्षाका साथ घोषणा गरिएको समयसीमा अब २० महिनामात्र बाँकी छ। समय सीमित हुँदै गएको छ भने गरिबी निवारणको जिम्मेवारी निकै गहन छ। सन् २०१८ मा चीनको आर्थिक वृद्धिदर ६.६ प्रतिशत रह्यो। यो आर्थिक वृद्धिदर तीन दसक यताकै सबैभन्दा कम हो। सन् २०१८ चीन र अमेरिकाबीचको व्यापारिक द्वन्द्वले पनि चिनियाँ अर्थतन्त्रलाई खुम्चन बाध्य बनायो। अमेरिकासँगको व्यापारिक द्वन्द्व अझै कायम छ। अघिल्ला समयको तुलनामा सन् २०१८ मा चीनमा कम प्राकृतिक विपत्ति भए पनि ठूलो उर्जा र स्रोत व्यापारिक द्वन्द्वमा खर्च हुन गयो। चिनियाँ ह्वावे कम्पनीलाई अमेरिका र युरोपबाट निशेध गर्ने नीतिले पनि चीनलाई अप्ठ्यारो पर्‍यो। यी नै परिवेशका कारण चीन कठिन घडीबाट गुज्रिरहेको भनाइ प्रधानमन्त्री लीले व्यक्त गरेका हुन सक्छन्। त्यसैगरी सन् २०२० सम्ममा चीनबाट गरिबी निमिट्यान्न बनाउने काममा मुख्य नतिजा २०१९ ले दिनुपर्ने भएकाले आउने समय चुनौतिपूर्ण भएको उनले बताएका हुन्।

गरिबी निवारण गर्दा चीनले पूर्वाधार विकास, पर्यावरणीय संरक्षण, सार्वजनिक सेवा र कृषि व्यवसायलाई प्राथमिकतामा राख्दै आएको छ। पछिल्लो ६ वर्षमा चीनले गरिबी निवारणमा पाएको उल्लेख्य उपलब्धि चीनका लागि मात्र हैन विश्वकै लागि लाभदायक प्रमाणित भएको छ। यो अवधिमा विश्वमा गरिबी निवारणमा चीनको मात्र ३० प्रतिशत योगदान रहँदै आएको छ। सी सत्तामा आएपछिको ६ वर्षको छोटो समयमै ८ करोड जनसंख्यालाई गरिबीबाट मुक्त गर्नु विश्वका लागि आश्चर्यको विषय बन्यो किनभने यो जर्मनीको पूरै जनसंख्या बराबर हो। सन् १९७८ मा तङ स्यावोफिङले सुरु गरेको सुधार र खुलापनलाई सबैभन्दा जोडदार रुपमा सी चिनफिङले वकालत गदै आएका छन्। चीनको आन्तरिक सुधारमा भ्रष्टाचार निवारण र बाह्य खुला हुने नीतिमा विदेशी लगानी भित्र्याउने नीति हो। चीनमा विदेशी लगानी भित्र्याउने मात्र नभई चिनियाँ लगानीलाई विदेशमा लानका लागि पनि प्रोत्साहन गर्ने नीति चीनले लिँदै आएको छ। बाहिरी देशमा चिनियाँ लगानी जाँदा चिनियाँ प्रविधि र जनशक्तिको पनि प्रयोग हुने हुनाले त्यसले पनि चिनियाँ अर्थतन्त्रमा टेवा पुर्‍याउने निश्चित छ। तसर्थ आगामी दिनमा चीनले चीनभित्र र बाहिर स्वतन्त्र व्यापार क्षेत्र स्थापना गरी अर्थतन्त्रलाई थप चलायमान बनाउने नीतिलाई अझै तीब्र बनाउने घोषणा गरेको छ।

कठिन वर्ष हुँदाहुँदै पनि सन् २०१८ मा चीनले केही महत्वपूर्ण उपलब्धि हासिल गरेको छ। गत वर्ष चीनमा ४ हजार १ सय किलोमिटर नयाँ उच्च गतिको रेलमार्ग संचालनमा आयो। त्यसैगरी यही वर्ष चीनले ६ हजार किलोमिटर एक्स्प्रेस हाइवे संचालनमा ल्यायो भने ३ लाख किलोमिटर ग्रामिण सडक निर्माण सम्पन्न गर्‍यो।

गत वर्ष चीनमा १ करोड ३६ लाख १० हजारलाई नयाँ रोजगारी सिर्जना गरिएको थियो भने १ करोड ३८ लाख ६० हजार व्यक्तिलाई गरिबीबाट मुक्त गरियो। गरिबी निवारण गर्ने क्रममा २८ लाख मानिसलाई एक ठाउँबाट अर्को ठाउँमा सारियो। गरिबी निवारणकै क्रममा ग्रामिण क्षेत्रमा गत वर्ष मात्र ६२ लाख घरहरु निर्माण गरिए।

सन् २०१८ को समीक्षा गर्दै सन् २०१९ का आर्थिक उपलब्धिका केही प्रक्षेपण पनि गरिएका छन्। सन् २०१९ मा कूल गार्हस्थ उत्पादनको ४ प्रतिशत शिक्षामा खर्च गर्ने र आर्थिक वृद्धिदर ६ देखि साढे ६ प्रतिशत रहने घोषणा गरिएको छ। यो आर्थिक वृद्धिदर सन् २०१८ कोभन्दा पनि कम हो। चीनले गुणस्तरीय तथा स्थिर आर्थिक वृद्धिदरमा जोड दिँदै आएको छ। चालु वर्ष शहरी क्षेत्रमा एक करोड १० लाख नयाँ रोजगारी सिर्जना गरिने र १ करोड १० लाख जनसंख्यालाई गरिबीबाट मुक्त गर्ने घोषणा पनि गरिएको छ।

चीनले ग्रामीण क्षेत्र र सहरी क्षेत्रको सन्तुलित बिकास गर्दै यातायात विकास नै अन्य विकासको मेरुदण्ड मान्दै आएको छ। यही मेसोमा चालु वर्ष चीनले रेलवे निर्माणमा ८ खर्ब चिनियाँ युआन बजेट छुट्याएको छ भने सडक तथा जलमार्ग निर्माणमा १८ खर्ब युआन बजेट बिनियोजन गरेको छ। पछिल्लो समय चीनले पश्चिमी क्षेत्रको विकासमा बढी ध्यान केन्द्रित गरेको छ। चीनको पश्चिमी क्षेत्र तुलनात्मक कम विकसित मानिन्छ। तसर्थ चीनले तिब्बतमा बिकासलाई केन्द्रित गर्दा त्यसका बाछिटाहरु नेपालमा पनि स्वाभाविक रुपमा पर्ने गर्दछन्। नेपालसँगको केनेक्टिभिटीले विकासलाई नै अँगाल्ने निश्चित छ।

सात दशकदेखिको राजनीतिक स्थायित्व, कम्युनिष्ट अधिनायक सरकार, प्रविधि र पूँजीको छेलोखेलो हुँदा पनि चीनसँग थुप्रै चुनौति रहेछन्। कसैको मूल्यान कठिन समयमा नै हुने गर्दछ। आगामी २० महिना चीनको सबैभन्दा कठिन समय सावित हुने कुरा समयले पुष्टि गर्ने प्रधानमन्त्री ली खछ्याङले त्यसै भनेका पक्कै होइनन्।

चिनियाँ राष्ट्रिय जनकंग्रेस:

३५ क्षेत्रबाट जम्मा प्रतिनिधि २९७५

पुरुष २२३३

महिला ७४२ (२४.९४ प्रतिशत)

चिनियाँ कम्युनिष्ट पार्टी २१७२

दलसँग असम्बन्धित ४२३

गैर चिनियाँ कम्युनिष्ट पार्टी ३८०

हान जाति २५३८ (८५ प्रतिशत)

विद्यावारिधी ५८४

स्नातकोत्तर ८३६

स्नातक ५२६

सबैभन्दा धेरै सदस्य भएको क्षेत्र जनमुक्ति सेना २६९

साभारः नागरिक राष्ट्रिय दैनिक। २०७५ फागुन ३० (२०१९ मार्च १४) बिहीबार।

जानकारी तथा लेखहरु