फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनअमेरिका व्यापारयुद्धको चुरो

(GMT+08:00) 2019-06-26 09:59:33

गत आइतबार चिनियाँ राज्य परिषद्को प्रेस कार्यालयले 'चीनअमेरिका व्यापार सम्झौता वार्तामा चीनको अडान' विषयमा श्वेतपत्र सार्वजनिक गरेको छ। अमेरिकासँग व्यापार युद्ध सुरु भएको एक वर्षमा चीनले प्रयास गरेको सहमतिका आधारहरु र वास्तविकता देखाउने उद्देश्यले श्वेतपत्र जारी गरिएको चीनले दाबी गरेको छ।

चीन र अमेरिकाबीचमा जुन प्रकारको व्यापार युद्ध भइरहेको छ त्यसमा बिजेता कुनै पनि पक्ष छैन बरु हार्ने चाहिँ दुवै पक्ष हुन्। यो कुरा चीन र अमेरिका दुवै पक्षले स्वीकार गरेको कुरा हो। यद्यपि ११ चरणमा वार्ता हुँदा पनि दुवै पक्ष सहमतिमा पुग्न सकेका छैनन्। तसर्थ एक वर्षमा दुवै मुलुकले निकै धेरै गुमाइसकेका छन्।

गत मार्च ५ तारिख १३ औँ चिनियाँ राष्ट्रिय जनकंग्रेसको दोस्रो अधिवेशनको उद्घाटन सत्रमा सरकारी प्रतिवेदन पेश गर्दै चिनियाँ प्रधानमन्त्री ली खछ्याङले सन् २०१८ चीनका लागि निकै कठिन वर्ष भएको बताएका थिए। उनले कठिन भनेर विशेष रुपमा इङ्गित गर्न खोजेको विषय अमेरिकासँगको व्यापार युद्ध नै थियो। अनि यो व्यापार युद्धका नायक अथवा खलनायक एकल व्यक्ति हुन् अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प। राष्ट्रपति निर्वाचनको अभियानमै डोनाल्ड ट्रम्पले 'अमेरिका पहिलो' नामक कथित राष्ट्रवादी नारा अगाडि सारेका थिए। सन् २०१७ मा चीनबाट अमेरिका निर्यात भएको व्यापारको परिमाण पाँच खर्ब पाँच अर्ब ५९ करोड अमिरिकी डलर थियो भने अमेरिकाले चीनमा निर्यात गरेको व्यापारको परिमाण एक खर्ब ३० अर्ब ३९ करोड डलर थियो। एक वर्षमै अमेरिकाले चीनसँग मात्र चार खर्ब डलरभन्दा बढीको व्यापार घाटा बेहोरेको देखिन्छ।

सन् २००८ मा अमेरिकामा आर्थिक संकट चुलिँदा चीन एक्लैले दस खर्ब डलरको ट्रेजरी बिल किनेर अमेरिकी अर्थतन्त्रलाई ध्वस्त हुनबाट जोगाएको थियो। विश्व शक्तिको रुपमा रहेको अमेरिकालाई चीनको आर्थिक विकासको डाह त्यतिबेलादेखि नै लागेको थियो। तसर्थ ट्रम्पको मुख्य उद्देश्य चिनियाँ आर्थिक वृद्धिदरलाई रोकेर अमेरिकालाई सधैँ विश्वको नम्बर एक अर्थतन्त्रमा उभ्याइराख्नु हो। सन् २००८ मा आएको आर्थिक मन्दीबाट अमेरिका चीनको अर्थतन्त्रमाथि नजानिदो पाराले आश्रित बन्न थालेको कुरा व्यापारिक पृष्ठभूमिका डोनाल्ड ट्रम्पलाई थाहा नहुने कुरै थिएन।

व्यापार युद्ध सुरु भएपछि चीन र अमेरिकाबीच ११ चरणमा उच्चस्तरीय वार्ता आयोजना भइसकेका छन्। वार्तामा केही वस्तुगत प्रगति हासिल भए पनि ठोस उपलब्धि हुन सकेको छैन। चीनले श्वेतपत्र प्रकाशन गरेर विश्वसामु चीनअमेरिका वार्ताको वास्तविक अवस्थालाई जानकारी दिएको छ। आठ हजार तीन सय चिनियाँ अक्षरमा लेखिएको उक्त श्वेतपत्रमा चीनअमेरिका व्यापार वार्ताका ३ वटा वास्तविकतालाई उजागर गरिएको छ। चीनअमेरिका व्यापार वार्ता असफल हुनुको मुख्य कारण अमेरिकाले ३ पटक आफ्नो वचन फेरेको र विरोधाभाष देखाएको कुरा श्वेतपत्रको पहिलो वास्तविकता हो। चीनले विज्ञान प्रविधिमा गरेको प्रगतिलाई अमेरिकाले स्वीकार नगरेको विषय श्वेतपत्रको दोस्रो वास्तविकता हो। अमेरिकाले चिनियाँ आविष्कारलाई सधैँ चोरेको अथवा लुटेको आरोप लगाउँदै आएको छ। अमेरिकाले भन्सार कर असुलेर अरुलाई क्षति पुर्‍याउने लक्ष्य राखेको छ तर यसले अमेरिकालाई महान नबनाएर उसैलाई थप क्षति पुर्‍याउँछ भन्ने जानकारी दिनु श्वेतपत्रको तेस्रो वास्तविकता हो। यी तीनवटा वास्तविकताको समग्र रुप के हो भने बाहिर जेसुकै भने पनि अमेरिका चीनको प्रगतिलाई रोक्न चाहन्छ। व्यापार युद्धको चुरो कुरा नै यही हो।

सन् २०१९ को अप्रिसम्ममा चीनले अमेरिका निर्यात गरेको परिमाण लगातार ५ महिनासम्म घट्दै आएको छ भने अमेरिकाले चीन निर्यात गरेको परिमाण लगातार ८ महिनादेखि घटिरहेको छ। यसले दुवै मुलुकलाई क्षति पुगेको स्पष्ट छ। चीन र अमेरिकाबीचमा सन् २०१८ फेब्रुअरीबाट व्यापार युद्ध सुरु भएको हो। सन् २०१८ को मे महिनामा अमेरिकाले चीनसँग छलफल सुरु गरेको एक महिनामा व्यापार ऐन १९७४ को दफा ३०१ प्रयोग गर्दै पचास अर्ब अमेरिकी डलरका चिनियाँ सामानमाथि थप भन्सार कर असुल्ने घोषणा गर्‍यो। सन् २०१८ को मे महिनामै दुबै मुलुकबीचमा व्यापार युद्ध नगर्ने सहमति सार्वजनिक भएको दस दिनपछि नै अमेरिकाले चीनसँगको सहमति तोड्दै चिनियाँ उत्पादनमाथि भन्सार कर थप गर्ने घोषणा गर्‍यो। सन् २०१९ को मे महिनामा अमेरिकाले दुई खर्ब डलरका चिनियाँ सामानमा भन्सार कर १० प्रतिशतबाट बढाएर २५ प्रतिशत पुर्‍याइसकेको छ। अमेरिकाले भन्सार कर बढाएपछि चीनको भन्सार कर समितिले सन् २०१९ को तेस्रो घोषणा गर्दै जुन एक तारिखदेखि केही अमेरिकी उत्पादित सामानमाथि भन्सार कर थपेको छ। जस अनुसार अमेरिकामा उत्पादित लगभग ६० अर्ब अमेरिकी डलरका आयातित सामान सूचीमध्ये केही सामानका लागि २५ प्रतिशतसम्म कर असुलेको छ। सुरुमा पाँच प्रतिशत भन्सार करलार्इ चीनले बढाउँदै २५ प्रतिशतसम्म पुर्याएको हो। चीन अमेरिका व्यापार युद्धले अमेरिकी उद्यमहरुको उत्पादन खर्चमा वृद्धि भएको छ भने अमेरिकाको बजारभाउ बढ्नुका साथै अमेरिकी आर्थिक वृद्धि तथा जनजीवनमा प्रत्यक्ष प्रभाव परिसकेको छ। त्यसैगरी अमेरिकाले चीनमा गर्ने निर्यात पनि घटेको छ।

अमेरिकी वाणिज्य संघ लगायतका संस्थाहरुले सार्वजनिक गरेको संयुक्त प्रतिवेदन अनुसार चीनबाट अमेरिका निर्यात हुने सबै उत्पादित वस्तुमाथि २५ प्रतिशत भन्सार कर असुलेमा आगामी १० वर्षमा अमेरिकाको कूल गार्हस्थ उत्पादनमा १० खर्ब अमेरिकी डलरभन्दा बढी र्‍हास आउनेछ।

व्यापार युद्धले दुवै देशमा भएको आपसी लगानीलाई पनि असर पारेको छ। चीनले अमेरिकामा गरेको लगानी निरन्तर घटिरहेको छ। त्यसैगरी अमेरिकाले चीनमा गरेको लगानीको वृद्धिदर पनि घट्दै गएको छ। यसैको प्रत्यक्ष प्रभाव विश्व व्यापार संगठनको विश्व व्यापार वृद्धिदरमा पनि परेको छ। विश्वव्यापार संगठनले सार्वजनिक गरेको प्रतिवेदन अनुसार सन् २०१९ को विश्वको व्यापार वृद्धिदर पहिले प्रक्षेपण गरिएको ३.७ बाट घटेर २.६ प्रतिशत मात्र हुनेछ। अहिले अमेरिकाले चीनमाथि लगाएका आरोप बौद्धिक सम्पत्ति चोरी, मुद्रा हेरफेर, राज्यप्रायोजित औद्योगिक नीति अपनाएको जस्तै आरोप आरोप सन् १९८० को दसकमा जापानमाथि पनि लगाएको थियो। त्यतिबेला जापानलाई अमेरिकाले सबैभन्दा ठूलो आर्थिक शत्रुका रुपमा मानेको थियो।

सन् १९८१ जनवरीमा रोनाल्ड रिगनले अमेरिकाको राष्ट्रपति बनिसक्दा कर कटौति गरेर अमेरिकी अर्थतन्त्रलाई बलियो बनाउने लोकप्रिय नीति अगाडि सारे। त्यतिबेला अमेरिकाको राष्ट्रिय आयको घरेलु बचतदर ७.८ प्रतिशत थियो। तर अढाइ वर्षभित्रै अमेरिकाको घरेलु बचतदर घटेर ३.७ मा पुग्यो। अमेरिकाले यसको दोष चाहिँ जापानमाथि लगायो। सन् १९८५ सम्म अमेरिकाले बेहोर्दै आएको व्यापार घाटाको ४२ प्रतिशत जापानसँग मात्रै थियो। तसर्थ जापानको आलोचना गरी जापानी सामानमाथि अन्धाधुन्द भन्सार कर बढाउने काम भयो र यसको अगुवाइ युवा अमेरिकी व्यापार प्रतिनिधि रोबर्ट लाइटहाइजरले गरेका थिए। अहिले चीन विरुद्धको व्यापार युद्धमा तिनै रोबर्ट लाइटहाइजरले काम गरिरहेका छन्। रिगनले 'अमेरिकाको नयाँ बिहानी' नीति ल्याएका थिए भने ट्रम्पले 'अमेरिकालाई फेरि महान बनाऔँ' नीति ल्याए। दुवै नीतिको समानता कर कटौती गर्ने र अर्को देशको प्रगति छेक्ने थियो।

सन् २०१८ को अन्त्यसम्ममा अमेरिकी घरेलु बचतदर २.८ प्रतिशतमा सीमित भएको छ। यो अमेरिकाको आन्तरिक सन्तुलनको सबैभन्दा खराब पक्ष हो। यतिबेला अमेरिकी व्यापार घाटाको ४८ प्रतिशत चीनसँग मात्र छ। विश्व व्यापार संगठनको तथ्यांक अनुसार अमेरिकाले चीनसँग बेहोर्दै आएको व्यापार घाटाको ४० प्रतिशतसम्मको हिस्सा ओगट्ने सामान चीनमा निर्मित नभएर अन्यत्र बनी चीनमा एसेम्बल हुने गरेका छन्। यथार्थमा अमेरिकाको व्यापार घाटामध्ये चीनमा निर्मित सामानको हिस्सा निकै थोरै छ।

चीन र अमेरिकाबीचको व्यापार युद्धका बाछिटाहरु अन्यन्त्र पनि देखिन थालेका छन्। चालु वर्ष सन् २०१९ चीन र अमेरिकाबीचमा दौत्य सम्बन्ध स्थापन भएको चालीसौँ वार्षिकोत्सव हो। यसलाई धुमधामका साथ मनाउने सहमति चिनियाँ राष्ट्रपति सी चिनफिङ र अमेरिकी राष्ट्रपति ट्रम्सले नयाँ वर्षको शुभकामना आदानप्रदानका क्रममा व्यक्त गरेका थिए। त्यो राजनीतिक औपचारिकतालाई व्यापार युद्धले घचेट्दै अन्य क्षेत्रलाई पनि लतार्न थालेको छ। यसका केही उदाहरण ह्वा वै कम्पनी र चिनियाँ विद्यार्थीलाई अमेरिकी भिसा प्रणालीमा प्रत्यक्ष देखिएको छ।

अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले मे २९ तारिख फक्स बिजनेस टेलिभिजनसँगको अन्तर्वार्तामा चिनियाँ ह्वा वै कम्पनी अमेरिकी अर्थतन्त्र तथा राष्ट्रिय सुरक्षाको सबैभन्दा ठूलो खतरा भएको औँल्याए। पोम्पेओले चिनियाँ ह्वा वै कम्पनीमाथि यस्तो आरोप लगाएपछि पोम्पेओको भनाइप्रति असन्तुष्ट हुँदै अमेरिकी व्यवसायीले सेतो सूचीबाट हटाइ सकेको चिनियाँ कम्पनीहरुलाई फेरि सेतो सूचिमै राखेका छन्। एउटा निजी चिनियाँ कम्पनी विश्वमै आफूलाई सर्वशक्तिमान ठान्ने अमेरिकाका लागि कसरी ठूलो खतरा बन्यो भन्ने कुराको कुनै आधार पोम्पेओले खुलाएनन्। अमेरिकाले चिनियाँ विद्यार्थीलाई दिने भिसाका प्रावधानहरु कडा बनाएको छ भने भिसा परीक्षण अवधिलाई लामो बनाएको छ। त्यसैगरी सुरुमा दिइने अन्तरिम भिसाको समयावधि छोटो बनाउँदै सकेसम्म कम चिनियाँलाई भिसा दिने नीति अमेरिकाले बनाएको छ। अमेरिकी सिनेट अन्तर्गत सैनिक परिषदको वार्षिक राष्ट्रिय प्रतिरक्षा कानुनको मस्यौदामा चिनियाँ विद्यार्थी र अनुसन्धानकर्तालाई दिइने भिसालाई कडाइ गर्ने कुरा उल्लेख गरिएको छ। अमेरिकी सिनेटका केही सांसदहरुले हाल अमेरिकी सुरक्षाका चुनौतिलाई न्युनीकरण गर्नका लागि चिनियाँ सैनिक अनुसन्धान संस्थानमा कार्यरत व्यक्तिलाई अमेरिकाको भिसा नदिने प्रस्ताव संसद समक्ष पेश गरेका छन्।

चीनअमेरिका व्यापार युद्धका बाइप्रोडक्टहरु क्रमश: बढ्दै गएका देखिन्छन्। व्यापार युद्धले जति चीनलाई असर गरेको छ त्योभन्दा बढी अमेरिकालाई असर गरेको छ। चीनको प्रगतिको आरिस गर्दा अमेरिका आफ्नै भड्खालोमा फस्दै गएको छ।

साभारः नागरिक दैनिक २०७६ जेठ २३ (२०१९ जुन ६) बिहीबार।

जानकारी तथा लेखहरु