|
|
|
|||||||||
|
||

चीनले सन् २०२० भित्र सारा चीनलाई औसत समृद्ध मुलुकमा रूपान्तरण गर्दैछ। चिनियाँ बजारको निहित शक्तिले विदेशी व्यवसाय र सामानलाई अझ संभावनाका ढोका खोल्दै गएको छ। सँगैको छिमेकी भएकाले नेपालले पनि आफ्नो विकासको मौका लिनसक्ने धेरै संभावनाहरू छन्। कृषि प्रधान मुलुक भएकाले नेपालले पनि कुनै एउटा चीज मात्रै चीनका लागि विशेष रूपमा उत्पादन गर्न सक्यो भने काफी हुनेछ। त्यसो त नेपालले बजार खोज्नका लागि टाढा भौतारिनै पर्दैन।
सन् २०१३ मा चिनियाँ राष्ट्रपति सी चिनफिङले बेल्ट एण्ड रोड इनिसियटिभको अवधारणा प्रस्तुत गरेपछि सन् २०१७ मा बेइजिङमा भएको प्रथम बीआरआई सम्मेलनका क्रममा नेपालले हस्ताक्षर गर्यो। बीआरआई साझेदार भैसकेपछि नेपालले चिनियाँ विकासबाट तुरून्त एकपछि अर्को फाइदा लिनसक्नुपर्ने हो। कम्युनिष्ट मुलुकका लागि नेपालको कम्युनिष्ट सरकार भनेजस्तै सहज हुनुपर्ने हो। तर चिनियाँ प्रविधि र विकासको सूत्र सापटी लिन ढिला भैरहेको छ भन्ने हेक्का नीति निर्माताहरूमा हुँदै होला। कुनै बेला विकासका लागि राजनीतिक स्थायित्वको वहाना खोजिन्थ्यो तर अब त्यो पूरा भएको छ। वातावरण विकासमा फड्को मार्नका लागि उपयुक्त पनि छ।

विकास र जनजीविकाका क्षेत्रमा अजङ्गका पूर्वाधार बनाएका ठूला छिमेकी चीन र भारतको बीचमा नेपाल निरीह जस्तै बन्नुहुँदैन। विकासको प्रथम सर्त विश्वास हो। विश्वासिलो वातावरण बनाएर चिनियाँ लगानी भित्र्याउन नेपालका लागि अवसरको सिर्जना गर्नु नै हो।
नेपालले 'सुखी नेपाली समृद्ध नेपाल'को नारा घन्काइरहेको छ। जनजीविकामा तात्विक भिन्नता ल्याउन प्रयास गर्नुपर्छ। साँच्चै इच्छाशक्ति छ भने इतिहासकै यति शक्तिशाली सरकारले जे पनि गर्नसक्छ।
चीनको विकास मोडलले कसरी उन्नत विकासको पाटो समात्यो भन्ने सिक्न उपयोगी हुन्छ। सन् १९७८ देखि लागू भएको सुधार तथा खुलापनले चीन आज ७० करोड नागरिकलाई गरिबीमुक्त गरेर अर्को वर्षमा देशबाटै गरिबी उन्मुलनको अभियान चालिरहेको छ। यो प्रेरक अभियानबाट नेपालले सिक्न खोज्ने हो भने धेरै ठूलो पाठ्यक्रम तयार हुनसक्छ।
| © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |
|||||||||