फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको ७० वर्षे विकास आश्चर्यजनकः पैचिङमा बस्ने नेपालीहरू 

(GMT+08:00) 2019-12-07 19:20:49

 

अध्ययन तथा कामको सिलसिलामा चीनको राजधानी पैचिङमा रहेका नेपालीहरूले चीनको ७० वर्षको आर्थिक तथा सामाजिक रूपान्तरणबाट नेपाल पनि प्रोत्साहित हुनसक्ने बताएका छन्। चीनले संसारलाई चकित पार्नेगरी हासिल गरेको गरिबी निवारण, यातायात पूर्वाधारमा विश्वकै नेतृत्वदायी द्रूत रेलमार्ग, डिजिटल प्रविधिबाट जनतामाझ सहज सेवा प्रवाह जस्ता उपलब्धी नेपालका लागि अनुकरणीय विषय हुनसक्ने उनीहरूको ठहर छ।

अक्टोबर १ तारिख जनगणतन्त्र चीन स्थापनाको सत्तरीऔं वार्षिकोत्सव मनाएको छ।

चीनले आन्तरिक विकास मात्रै होइन, विश्वका लागि पनि अनेकन योगदान गरेको छ। गत दशकमा विश्व अर्थतन्त्रको झण्डै एक तिहाइ हिस्सा त चिनियाँ योगदान छ। चीनले आफू मात्रै विकसित नभएर नेपालजस्ता विकासशील राष्ट्रको सहयोग राशीमा वृद्धि गरेबाट त्यस्ता मुलुकहरूको विकासमा टेवा पुगेको छ।

बेइजिङ युनिभर्सिटी अफ एरोनटिक्स एण्ड एस्ट्रोनटिक्समा अध्ययन गरेका अबिनाश बराल पनि चीनको विकास रफ्तार देखेर अचम्मित हुनुभएको छ। विशेषगरी पछिल्ला केही वर्षमै हरित विकासका साथै प्रदूषण विरूद्धको युद्धमा चीनले हासिल गरेको उपलब्धी तत्कालै प्रभाव पार्ने विषय भएको उहाँ ठान्नुहुन्छ।

सन् १९४९ यता चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वले ७ दशक पार गरेपनि चीनको औपचारिक विकासको गति सन् १९७८ मा तङ स्याउ फिङले अघि सारेको सुधार तथा खुलापनबाट भएको हो। ४० वर्षमा चीनले भौतिक पूर्वाधार, सामाजिक र आर्थिक रूपान्तरण, जनजीविकाका क्षेत्रमा हासिल गरेको उपलब्धी विश्वकै इतिहासमा उल्लेख्य घटना भएको छ। यस्तो तीव्र गतिको परिवर्तन यो संसारमा अन्यत्र कहीं कतै भएको थिएन।

विगत १६ वर्षदेखि बेइजिङमा रहेर चीन नियालिरहेका बेइजिङ ब्यानर इलेक्ट्रिक कम्पनी लिमिटेडका इलेक्ट्रिकल इन्जिनियर महेश थपलियालाई चीनको विकास गति निकै तीव्र लाग्छ। सन् २००८ मा ग्रीष्मकालीन ओलम्पिक गरेको चीनले सन् २०२२ मा हिउँदे ओलम्पिकको तयारी गर्दैछ। गरिबी निवारण, रेल, विज्ञान र अन्तरिक्षमा चीनको सफलता देखेर अचम्म लाग्ने भन्दै उहाँ थप्नुहुन्छ, '१६ वर्षअघि रेलमार्ग कम थिए तर अहिले हाइस्पीड रेल पनि बढेका छन्। एउटा सहरबाट अर्को सहरको दुरी एकाध घण्टामा सीमित भएको छ। विमान वा फास्ट ट्रेनको समय नै उस्तै हुन थालेको छ।'

केही वर्षमै चीनले सामाजिक विकासका सूचकहरू बढाएको देखिन्छ। ७० वर्षमा एउटा छिमेकी विश्व अर्थतन्त्रको केन्द्रमा पुग्दा प्रजातन्त्र उदयदेखिको ७० वर्षमा नेपालले व्यवस्था परिवर्तनमै समय खर्चिएको छ। ३ वर्षदेखि बेइजिङमा चिनियाँ भाषा अध्ययनरत रजिया महर्जनको भनाइ छ, 'चीनको विकास गति एकदमै तीव्र रहेछ। नेपालले फाइदा लिने उद्देश्यले यो उपलब्धीको अध्ययन गर्नुपर्छ।'

नेपालमा राजनीतिक स्थायित्व भैसकेकाले अबको अवधि विकासका लागि खर्चिनुपर्ने र हरेक नेपालीले आफ्नो देशप्रति चिनियाँजस्तै गर्व गर्नलायकको मुलुक बनाउनुपर्नेमा परदेशिएका नेपालीहरूको भनाइ छ। पेकिङ युनिभर्सिटीमा अर्थशास्त्रमा अध्ययनरत रौनव सिंह खत्रीले भन्नुभयो, 'नजीकको छिमेकी भएको नाताले गहिरिएर अध्ययन गरेर कुन तरीकाले फाइदा लिन सकिन्छ भनेर सिक्नसके नेपाल पनि लाभान्वित हुनसक्छ।' चिनियाँ उपलब्धी र विकासको मोडल अपनाएर कसरी नेपाली जनजीवन पनि बदल्न सकिन्छ भनेर चिन्तन गर्नुपर्ने उहाँले सुझाउनुभयो।

जानकारी तथा लेखहरु