फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

लक्ष्य पछ्याउँदै चीन

(GMT+08:00) 2020-01-03 15:40:56

-अजय अलौकिक

चीनले आफ्नो विकाससँगसँगै विश्वको आर्थिक विकासका लागि पनि सकारात्मक भूमिका खेल्दै आइरहेको छ। उसले विश्व अर्थव्यवस्थाको वृद्धिमा धेरै वर्षदेखि ३० प्रतिशतभन्दा बढी योगदान दिँदै आएको छ र ऊ विश्वको आर्थिक वृद्धिको मुख्य इन्जिन पनि बन्दै आएको छ। तर पछिल्लो परिस्थितिमा विश्वव्यापी अर्थतन्त्र फेरि पनि सुस्त हुँदै गएको छ। चीन-अमेरिकाबीचको व्यापार घर्षणलगायतका तत्वहरूले चीन, अमेरिकासँगै विश्व अर्थव्यवस्थालाई संकटतर्फ धकेलेको देखिन्छ।

विश्वव्यापी अर्थतन्त्र ओरालो लाग्न थाल्दा चीनले अर्थतन्त्रलाई गति दिन अनेक उपाय अपनाइरहेको छ। हाल चीनमा अर्थतन्त्रलाई के-कसरी चलायमान बनाइराख्न सकिन्छ भनेर धेरै बहससँगै उपायका खोजी पनि भइरहेका छन्। यसैबीच चिनियाँ राष्ट्रिय तथ्यांक ब्युरोका प्रवक्ता फु लिन ह्वैले वर्तमान जटिल र गम्भीर अन्तर्राष्ट्रिय आर्थिक परिस्थितिमा पनि चिनियाँ अर्थव्यवस्थामा ठूलो निश्चित शक्ति र क्षमता रहेको औंल्याएका छन्। ब्युरोले डिसेम्बर १६ मा सार्वजनिक गरेको एक प्रतिवेदनअनुसार सन् २०१९ को अघिल्ला ११ महिनामा चीनको अर्थतन्त्र स्थिर रूपमा विकास हुँदै आएको छ। चीनको कूल ग्राहस्थ उत्पादन जीडीपी सन् २०१९ को तीन त्रैमासिकमा ६९.७ ट्रिलियन युआन (९.८ ट्रिलियन डलर) पुगेको छ, जुन सन् २०१८ को यसै अवधिभन्दा ६.२ प्रतिशतले वृद्धि भएको छ।

वर्तमान जटिल र गम्भीर आर्थिक परिस्थितिमा पनि चिनियाँ अर्थव्यवस्था सकारात्मक देखिन्छ। चीनको आर्थिक वृद्धिमा घरेलु मागले महत्वपूर्ण भूमिका खेलेको छ। सन् २०१९ को अघिल्ला तीन त्रैमासिक अवधिमा चीनको उपभोग खर्चले आर्थिक वृद्धिका लागि दिएको योगदान दर ६०.५ प्रतिशत छ। चीनको आर्थिक वृद्धिको मुख्य स्रोत उपभोग बनेको छ। करिब एक अर्ब ४० करोड जनसंख्याको ठूलो बजार र ४० करोड मध्यमस्तरीय आय समूहको क्रयशक्ति चीनसँग छ। यसैबीच विश्व बैंकले चीनको आर्थिक वृद्धि दर सन् २०२० र सन् २०२१ मा क्रमशः ५.९ र ५.८ प्रतिशत हुने जनाएको छ। विश्व बैंकको पछिल्लो अनुमान हालै चीनको रेन्मिन विश्वविद्यालयको आर्थिक अनुसन्धान संस्थानले प्रस्तुत गरेको प्रतिवेदनअनुरूप देखिन्छ, जसले सन् २०२० मा आर्थिक वृद्धि दर ५.५ देखि ६ प्रतिशत भित्र रहने भविष्यवाणी गरेको छ।

सन् २०२० मा चीनले नवसिर्जन क्षमता र खुलापन तथा सुधार नीतिका आधारमा आर्थिक शक्तिलाई पूर्ण रूपमा बलियो बनाउने उद्देश्य बनाएको छ।

वर्ष २०२० मा चीनको विकाससामु देखा पर्न सक्ने जटिल र गम्भीर चुनौतीप्रति आर्थिक बहस तथा छलफल धेरै भएका छन्। गत डिसेम्बरमा अन्तर्राष्ट्रिय आर्थिक आदानप्रदान केन्द्रको तत्वावधानमा चीनको आर्थिक वार्षिक सम्मलेन सन् २०१९-२०२० को आयोजनामा भएको थियो। वित्तीय, आर्थिक र बैंकिङ क्षेत्रका पदाधिकारी तथा विज्ञहरूले चीनको वैदेशिक खुलापन प्रवद्र्धन गर्ने विषयबारे विचार-विमर्श गरेका थिए। केन्द्रीय आर्थिक समितिका उपप्रमुख हान वन स्यौले पूर्णरूपमा सम्पन्न समाज निर्माण गर्ने विभिन्न कार्यमा टड्कारो उपलब्धि प्राप्त गर्नुका साथै उपभोग, सुख र सुरक्षा सम्बन्धमा पनि जनताको अनुभव निरन्तर रूपमा उकासिँदै आएको बताए।

चीनले छोटो समयमै पश्चिमी विकसित मुलुकहरूले सयभन्दा धेरै वर्षमा हासिल गरेको विकासलाई भेट्टाएको मात्रै छैन, उछिनेको समेत छ। वर्ष २०१९ नयाँ चीन स्थापनाको ७०औं वार्षिकोत्सव हो र सोही वर्षमा चीनले आर्थिक समाजको स्वस्थ विकास गर्दै गरिबी निवारण कार्यमा ठूलो प्रगति गरेको छ। गत वर्ष चीनले एक करोड गरिब जनताको उत्थान गरेको छ। चीनले हालसम्ममा नवइतिहासमा ठूलो चमत्कार गर्दै ८५ करोड चिनियाँलाई गरिबीबाट मुक्त गरेको छ।

नयाँ वर्ष सन् २०२० चीनका लागि एकदमै महत्वपूर्ण छ। किनकि यस वर्ष चीनले समग्र रूपमा गरिबी निवारणसँगै सम्पन्न समाजको निर्माण गर्ने लक्ष्य लिएको छ। साथै चीनको 'ससानवु'अर्थात् १३औं पञ्चवर्षीय योजनाको अन्तिम वर्ष पनि हो। नवप्रविधिको विकास, हरित विकास, समन्वय, खुलापन, लक्ष्य पूरा गर्न साझेदारीसँगै नयाँ रोजगारको सिर्जना र गरिबी निवारणबाट मध्यम-उच्च वृद्धिलाई कायम राख्ने उक्त योजनाका लक्ष्य हन्। साथै गत डिसम्बरमा चीनको आउने नयाँ वर्षको सबैभन्दा आधिकारिक समष्टिगत आर्थिक रणनीति मानिने केन्द्रीय आर्थिक कार्य सम्मेलन पनि आयोजना भएको छ। यस सम्मेलनलाई लामो समयदेखि बाह्य जगत्ले आउँदो वर्षका लागि चीनको समष्टिगत आर्थिक नीतिको तर्जुमा गरिने एक महत्वपूर्ण झ्याल मान्दै आएको छ। सम्मेलनले सन् २०१९ को आर्थिक कार्यको निचोड निकाल्नुका साथै वर्तमान आर्थिक परिस्थितिको विश्लेषण गरेर आगामी वर्षको आर्थिक कार्यका लागि सशक्त निर्देशन दिएको छ।

चीनको केन्द्रीय आर्थिक सम्मेलनअनुसार, पहिले बनाइएका योजनाको लक्ष्यबमोजिम सन् २०२० सम्ममा चीनको गरिबी निवारण कार्यको लक्ष्य पूर्णरूपमा सम्पन्न हुने निश्चित छ। सम्मेलनले देशभित्र र बाहिरको अवस्थाबमोजिम कूल आर्थिक अवस्थाको विस्तृत, समष्टिगत र गहन रूपमा विश्लेषण र अनुसन्धान गरेको छ। यसका अतिरिक्त वैदेशिक खुलापन निरन्तर रूपमा अझ ठूलो परिधि, फराकिलो र गहन रूपमा विस्तार गर्दै लैजाने पक्षमा जोड दिएको छ। सन् २०१९ मा चीनले चालेको वित्तीय र मौद्रिक नीतिले समष्टिगत अर्थतन्त्रलाई स्थिरताका साथ सञ्चालन गर्न सही दिशा उपलब्ध गराएकोमा अन्तर्राष्ट्रिय समाजले यसको प्रशंसासमेत गरेको छ।

सन् २०१९ को अघिल्ला ११ महिनामा चीनको वैदेशिक व्यापार पनि स्थिर रहँदै चीनको आयात र निर्यातको कूल रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा २.४ प्रतिशतले वृद्धि भएको छ। तीमध्ये आसियान मुलुकहरूबीचको आयातनिर्यातको कूल रकम १२.७ प्रतिशतले वृद्धि भएको छ। बीआरआईमा आबद्ध मुलुकबीचको आयात-निर्यातको कूल रकम ९.९ प्रतिशतले वृद्धि भएको छ। यसै वर्ष २०२० को जनवरी १ देखि चीनले आयात कर तथा महसुल दर घटाउने उपाय कार्यान्वयन गरेको छ। चीनले व्यापार वातावरण सुधार गर्ने र व्यापार सुविधाहरू बढाउनेतर्फ ध्यान दिएको छ। यसबाहेक चीन र अमेरिका दुवै मुलुकका आर्थिक तथा व्यापारिक टोलीको संयुक्त प्रयासमा पहिलो चरणको वार्तामा सहमति पनि भएको छ।

सन् २०२० मा चीनले नवसिर्जन क्षमता र खुलापन तथा सुधार नीतिका आधारमा आर्थिक शक्तिलाई पूर्ण रूपमा बलियो बनाउने उद्देश्य बनाएको छ। साथै चीनले आर्थिक तथा औद्योगिक संरचनामा पनि सुधार गरिरहेको छ। चीनमा रोजगारको अवस्था पनि स्थिर छ। चालु वर्षको ११ महिनामा चीनभरि एक करोड २७ लाख ९० हजार नयाँ रोजगार सिर्जना भएका छन्। साथै सन् २०२० को अनुमानित आर्थिक वृद्धि दरको दायरामा पनि रोजगार सुनिश्चित गर्न पर्याप्त रहने विश्लेषकको भनाइ छ।

चीनले यस वर्ष १३औं पञ्चवर्षीय योजनाका लक्ष्यहरूसँगसँगै गरिबी निवारण र सम्पन्न समाज निर्माण गर्ने लक्ष्य पूरा गर्नेमा कुनै शंका छैन। यद्यपि चीनले वर्तमान आर्थिक विकासको नयाँ परिस्थितिलाई बुझेर क्षेत्रीय समन्वय तथा विकास सम्बन्धमा नयाँ विचारका साथ अघि बढ्नु भने पर्नेछ।

यता नेपालमा चालु आर्थिक वर्ष १५औं पञ्चवर्षीय (२०७६/७७-२०८०/८१) योजना जारी छ। गरिबी, बेरोजगारको दर झार्ने तथा विद्युत् उत्पादनलाई पाँच हजार मेगावाट पुर्‍याउने जस्ता लक्ष्य निर्धारण गरिएको छ। साथै १५औं पञ्चवर्षीयलाई समृद्धि र सुखको आधार वर्षका रूपमा व्याख्या पनि गरिएको छ। नेपाल योजना तथा आयोजनाको खोजी र निर्माणमा छ तर कछुवा गतिमा प्रगति देखिन्छ। लक्ष्यलाई पछ्याइरहेको छैन भन्न मिल्दैन। योजना, शिलान्यास र उद्घाटन भइरहेका छन्। विकासोन्मुख तर दोस्रो ठूलो आर्थिक राष्ट्र चीनले केही वर्षयता तीव्र गतिले विकास गरेको छ। चीनसँग तुलना गर्ने हो भने एक हात पनि पर सरेको छैन भन्न सकिन्छ। हाल नेपाल केही गेमचेन्जर आयोजनाको छनोटमा देखिन्छ। आशा गरौं- छिमेकीको आर्थिक रापले पनि छुने छ। साथै आमनेपालीले समृद्ध नेपाल, सुखी नेपाली चाँडै अनुभूत गर्न पाउनेछन्।


(वि.स. २०७६ पुष १८ गते, सन् २०२० जनवरी ३को अन्नपूर्णपोस्ट राष्ट्रिय दैनिकमा प्रकाशित)

जानकारी तथा लेखहरु