फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

मकाउ समृद्धिको शिक्षा

(GMT+08:00) 2020-01-08 11:02:42

कोरिया, जापान, अमेरिकाजस्तै धेरै नेपालीको सपना मकाउमा गएर पैसा कमाउने हुन्छ। कतिपय मानव तस्करले मकाउ लगिदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेका गुनासा पनि बारम्बार सुनिन्छन्। वैदेशिक रोजगारीमा विशेष गरी क्यासिनोमा सुरक्षाकर्मीका रूपमा नेपालीलाई रुचाइएको मकाउले आकर्षक पारिश्रमिक दिने गरेकै कारण मकाउ सपना बढेको हो। मकाउमा ठूलो संख्यामा नेपाली क्यासिनोमा सुरक्षागार्ड छन्।

चीनको दक्षिण रहेको सानो र सुन्दर टापु नै मकाउ हो। यसको क्षेत्रफल पहिले ३२.९ वर्गकिलोमिटर थियो। तर चीनले सन् २०१५ मा यसको क्षेत्र विस्तार गरेर ८५ वर्ग किलोमिटर बनाएको छ। जहाँको जनसंख्या ६ लाख ६७ हजार ४ सय छ। यो विश्वकै अत्यधिक जनघनत्व भएको क्षेत्र पनि हो। प्रतिवर्ग किलोमिटर क्षेत्रमा २१ हजार ३ सय ४० मानिस बसोबास गर्ने मकाउमा ८८ प्रतिशतभन्दा बढी हान जातिका चिनियाँ छन्।

एक देशः दुई व्यवस्थाअनुसार मकाउ चीनको विशेष प्रशासनिक क्षेत्र हो। चीनभरि कम्युनिस्ट पार्टीको शासन भए पनि हङकङ र मकाउमा पुँजीवादी व्यवस्था छ। यसो हुनाको मुख्य कारण सन् १५५७ देखि मकाउ पोर्चुगलको उपनिवेश रहेकाले हो। सन् १५५७ मा व्यापार युद्ध समाप्त भएपछि पोर्चुगलले चीनलाई वार्षिक २५ किलोग्राम चाँदी दिने गरी मकाउ भाडामा लिएको थियो। केही वर्षसम्म त पोर्चुगलले सम्झौताअनुसार चीनलाई शुल्क बुझायो। तर केही वर्षपछि तिर्न आनाकानी गर्‍यो र फेरि अर्को सम्झौता भएपछि मकाउ पोर्चुगलको उपनिवेश बन्यो।

धार र खुलापनका चिनियाँ अभियन्ता तङ स्याओफङले प्रतिपादन गरेका 'एक देशः दुई व्यवस्था'अन्तर्गत बेलायतको नियन्त्रणमा रहेको हङकङ चीनलाई फिर्ता हुने सम्झौता भएपछि सन् १९८७ मा चीन र पोर्चुगलबीच मकाउ पनि चीनलाई हस्तान्तरण गर्ने सम्झौता भयो। नयाँ सम्झौताअनुसार मकाउ ४ सय ४२ वर्षको औपनिवेशिक शासनपछि सन् १९९९ डिसेम्बर २० तारिख मातृभूमि चीनमा समाहित भयो। त्यस सम्झौतामा मकाउको सार्वभौमिकता चीनमा फर्किएपछि राजनीतिक व्यवस्थामा कुनै फेरबदल नहुने उल्लेख थियो। हङकङजस्तै एक देशः दुई व्यवस्थाको नीतिअनुसार मकाउ चीनमा फर्किएको हो। हङकङमा एक देशः दुई व्यवस्था धरापमा पर्न लागेको अवस्थामा पनि मकाउमा भने यो नीति अत्यन्त सफल रूपमा कार्यान्वयन भइरहेको छ।

भोलि डिसेम्बर २० तारिख मकाउ चीनमा फर्किएको ठ्याक्कै २० वर्ष पूरा हुँदै छ। यस अवधिमा मकाउले व्यापक आर्थिक प्रगति गरेको छ। उसको मुख्य आयस्रोत पर्यटन र क्यासिनो खेल हो। यसलाई पूर्वको भेगास पनि भनिन्छ। मकाउको क्यासिनो लस भेगासको भन्दा ७ गुणा ठूलो छ। विश्व बैंकले सन् २०१४ मा जारी गरेको तथ्यांकअनुसार क्रय शक्तिका आधारमा मकाउको कूल गार्हस्थ्य उत्पादन विश्वकै उच्च छ। अन्तर्राष्ट्रिय मुद्रा कोषको प्रक्षेपणअनुसार सन् २०२० मा मकाउ कतारलाई पछि पार्दै विश्वकै उच्च प्रतिव्यक्ति आय भएको क्षेत्र हुनेछ।

मकाउको राजस्व संकलनमा कुनै समय क्यासिनोले मात्र ७९ प्रतिशत ओगटेको थियो। हाल ४९ प्रतिशत हाराहारी राजस्व क्यासिनोबाट उठ्ने गर्छ। मकाउमा रोजगारी दिने कुरामा पनि क्यासिनोको २४ प्रतिशत योगदान छ। मातृभूमिमा फर्केको २० वर्षमा मकाउको आर्थिक विकास इतिहासमै द्रुत गतिमा बढेको देखिन्छ। मातृभूमिमा फर्किएको १० वर्षमा गम्भीर आर्थिक संकटबाट माथि उठेर मकाउले कंगारु उफ्रिएजस्तै गरी आर्थिक छलाङ मारेको छ।

सन् १९९९ मा चीनमा फिर्ता हुनुअगाडि मकाउ पुग्ने पर्यटकको संख्या वार्षिक ७० लाख थियो भने गत वर्ष सन् २०१८ मा यो संख्या ३ करोड ५० लाख पुगेको छ। मकाउको पर्यटन विभागका प्रमुख वन छी ह्वाका अनुसार मकाउ मातृभूमिमा फिर्ता भएपछि त्यहाँ पुग्ने पर्यटकमा मुख्य भूमि चीनका ७० प्रतिशत छन्। सन् १९९९ मा मकाउको कूल गार्हस्थ्य उत्पादन ५१ अर्ब ९० करोड मकानिज पटाका थियो भने सन् २०१८ मा ८ गुणा बढेर ४ खर्ब ४४ अर्ब ७० करोड मकानिज पटाका पुगेको छ। उपनिवेशको समयमा मकाउमा बेरोजगारी दर ६.३ थियो भने सन् २०१८ मा यो १.८ मा झरेको छ।

चीनका वर्तमान राष्ट्रपति सी चिनफिङ पहिलोपटक सन् २००० मा मकाउ भ्रमणमा गएका थिए। जतिबेला उनी फुच्यान प्रान्तका प्रमुख थिए। उनले फुच्यान र मकाउबीच आर्थिक–व्यापारिक सहयोग मजबुत पार्नेबारे कुराकानी गरे र अर्को वर्ष फेरि मकाउ पुगेर अर्थतन्त्र र व्यापार, पर्यटन, शिक्षा र संस्कृति आदानप्रदान र सहयोग अघि बढाउन मकाउसँग फुच्यान प्रान्तका तर्फबाट सम्झौतामा हस्ताक्षर गरे। मकाउको अहिलेको प्रगति मुख्य भूमि चीनसँगको व्यापार साझेदार र विदेशी लगानीलाई मकाउमा बिनारोकटोक स्वागत गर्ने चीनको नीतिले सम्भव भएको हो।

सन् २००८ मा युरोप तथा अमेरिकामा भएको मौद्रिक संकट मकाउलाई पनि परेको थियो। गम्भीर मौद्रिक संकट भोगिरहेका बेला सन् २००९ जनवरी १० तारिख चीनका तत्कालीन उपराष्ट्रपति सी चिनफिङले मकाउ भ्रमण गरेका थिए। उनले मकाउको मौद्रिक संकट टार्न नौ किसिमका नीति अपनाएर सहयोग गरेका थिए। त्यतिबेला चीनले चालेका नौ नीतिमध्ये चु हाई र मकाउ औद्योगिक क्षेत्र स्थापना र चिनियाँ केन्द्रीय सरकारद्वारा मकाउ औद्योगिक विकासलाई समर्थन महत्वपूर्ण कदम थियो। बुद्धिमतापूर्वक उचित कदम चालेर चीन मकाउमा भइरहेको आर्थिक मन्दी रोक्न सफल भयो। यसको मुख्य नेतृत्व तत्कालीन उपराष्ट्रपति सीले गरेका थिए।

समुद्री टापु मकाउ कुनै बेला युरोपेली मुलुकका लागि महत्वपूर्ण व्यापारिक बन्दरगाह थियो। पछि व्यापारिक केन्द्र र बन्दरगाह सुविधा हङकङतिर सरेपछि मकाउलाई आर्थिक प्रगति गर्न निकै सकस भएको थियो। उस्तै टापुका रूपमा रहेको हङकङले आफूलाई बन्दरगाहका रूपमा सम्पन्न तुल्यायो भने मकाउले पर्यटन तथा क्यासिनोबाट आफूलाई समृद्ध बनायो। विदेशी लगानी र पर्यटक भित्र्याएर समृद्ध बनेको मकाउका लागि मुख्य ढुकुटी नै क्यासिनो हो। त्यो ढुकुटीको रक्षकचाहिँ नेपाली छन्।

वरिपरि समुद्र भएकाले मकाउमा पुग्न पहिले हवाईजहाज अथवा पानीजहाज प्रयोग गर्नुपर्ने बाध्यता थियो। अहिले त्यो बाध्यता पनि हटेको छ। सन् २०१८ मा हङकङ, मकाउ र चीनको क्वाङतोङ प्रान्तको चुहाई सहर जोड्ने पुल बनेपछि स्थलमार्गले मकाउलाई मुख्य भूमि चीन र हङकङसँग जोडेको छ। जसका कारण अहिले मकाउ घुम्ने पर्यटकको संख्या पनि उल्लेख्य मात्रामा बढ्न थालेको छ।

पर्यटनको खानी रहेको नेपालले मकाउबाट थुप्रै शिक्षा लिन सक्छ। पर्यटन सेवा विस्तार गरेर विदेशी लगानी आकर्षण गरेमा बेरोजगारी समस्या समाधान हुन्छ। जसबाट युवा विदेश पलायन पनि रोकिन्छ। थोरै जनसंख्या र सानो क्षेत्रफल भएको मकाउले क्यासिनोबाट त्यति विकास गर्न सक्छ भने नेपालले र्‍याफ्टिङ, बन्जी जम्पिङ, कायाकिङ, ट्रेकिङ, हिमाल आरोहण, प्याराग्ल्याइडिङ, अल्ट्राफ्लाइड, माउन्टेन फ्लाइटजस्ता साहसिक पर्यटनबाट अथाह आर्थिक लाभ लिन सक्छ।

साभारः नागरिक दैनिक २०७६ पुस ३ गते (२०१९ डिसेम्बर १९) बिहीबार।

जानकारी तथा लेखहरु