फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ नजरमा नेपाल

(GMT+08:00) 2020-01-13 19:30:54

नेपालको उत्तरतर्फ १ हजार ४१४ किलोमिटर सीमा चीनको स्वायत्त प्रदेश तिब्बतसँग जोडिन्छ। छिमेकी मुलुकमध्ये चीनसँग नेपालको सम्बन्ध अत्यन्त सुमधुर र घनिष्ठ छ। अर्को छिमेकी भारतसँग जस्तो चीनसँग नेपालको कहिल्यै सम्बन्धमा उतारचढाव आएको छैन। मञ्जुश्री, फासियान, हुएनसान, बुद्धभद्र, पद्मसम्भव, भृकुटी, अरनिको जस्ता व्यक्तिले सुरु गरेका दुई देशबीचको सम्बन्ध एक्साइसौं शताब्दीको दुई दशक बित्दा नयाँ उचाइमा पुगेको छ। चिनियाँ नेताले औपचारिक रूपमा क्रै बोल्दा नेपाल–चीन सम्बन्ध नदीनाला र हिमालले जोडेको भन्न कहिल्यै छुटाउँदैनन्।

नेपाल भ्रमण वर्ष २०२० मा ५ लाख चिनियाँ पर्यटक भिœयाउने लक्ष्य राखिएको छ। १ अर्ब ४० करोड जनसंख्या भएको मुलुकबाट वार्षिक ५ लाख पर्यटक भित्र्याउनु त्यति गाह्रो त होइन तर अहिले पनि धेरै चिनियाँलाई नेपाल भन्ने देशबारे कुनै जानकारी छैन। तर जति चिनियाँ नेपाल भ्रमणमा गएका छन् तिनलाई नेपालले मोहनी लगाएको छ। यो कुरा मंगलबार साँझ बेइजिङमा नेपाली दूतावासले आयोजना गरेको नेपाल भ्रमण वर्ष शुभारम्भ समारोहमा चिनियाँले व्यक्त गरेका विचारले पुष्टि गर्छन्।

नेपाल भ्रमण वर्ष २०२० की सद्भावना दूत चिनियाँ नायिका स्वी छिङले गहकिलो मन्तव्य राखिन्। सेलिब्रिटी कलाकारहरू हत्तपत्त मञ्चमा उक्लिएर बोल्न रुचाउँदैनन्, तर स्वीले नेपाल भ्रमण गर्दाका आफ्ना अनुभव आकर्षक ढंगले प्रस्तुत गरिन्। उनले चीन र नेपाल दुवै पुरानो सभ्यता र समृद्ध संस्कृति बोकेका मुलुक भएको उल्लेख गर्दै अघिल्लो पुस्तादेखि नयाँ पुस्तासम्मका नेपालीले आफूलाई गहिरो प्रेम गरेको बताइन्। ५१ वर्ष पूरा भएकी स्वी ३० वर्षअगाडि चिनियाँ चलचित्र क्षेत्रमा तहल्का मच्चाएकी नायिका हुन्। उनले पहिलोपटक नेपाल जाँदाको अनुभव सुनाउँदै भनिन्, 'पहिलोपटक नेपाल देख्नासाथ म उत्सुक भएकी थिएँ।

नेपाल भ्रमण वर्ष २०२० को सद्भावना दूत हुन पाउँदा आफूलाई भाग्यमानी ठानेकी छु। नेपालमा विविध खालका भौगोलिक संरचना र आपसी सद्भावले भरिपूर्ण नेपाली रीतिरिवाजले मलाई पहिलोपटक नै गहिरो छाप पार्न सफल भए। छोटो बसाइमै मैले अन्नपूर्ण, लुम्बिनी, बौद्ध, बर्दिया राष्ट्रिय निकुञ्जलगायत म जहाँ–जहाँ गएँ, त्यहाँ वृद्धवृद्धादेखि बालबालिकासम्मले मलाई धेरै माया दिए। उनीहरूले मलाई रेशमी पछ्यौरी र फूलको माला लगाएर स्वागत गरे।' अन्य चिनियाँले जस्तै उनले पनि नेपालीको मुस्कान त्यसमा पनि बालबालिकाको हँसिलो अनुहार आफूले सधैं सम्झिरहने बताइन्। उनले अन्तिममा भनिन्, 'म आफ्ना फ्यानलाई इमान्दारीका साथ नेपाल घुम्न जानुहोस् भनेर सिफारिस गर्छु। तपाईं नेपाल जानुहोस् र आफैं अनुभव गर्नुहोस्। साहसिक मनोरञ्जनात्मक खेल चाहनेका लागि नेपाल स्वर्ग नै हो।' उनले नेपाली खाना मीठो भएको र आफ्नो तौल घटाउन चाहनेले दोहो-याएर नेपाल जानुपर्ने सुझाव दिइन्।

'लामो समयदेखि मलाई नेपालको अद्वितीय सांस्कृतिक तथा नदीनाला र हिमाल हेर्ने मन थियो,' सी चिनफिङले नेपाल भ्रमण गर्दा भनेको कुरा उद्धृत गर्दै विदेशी राष्ट्रका लागि बेइजिङ जनमैत्री संघका कार्यकारी उपाध्यक्ष चाङ छिआनले भनिन्, 'यसले समग्र चिनियाँमा गहिरो प्रभाव पारेको छ। नेपाल र चीनबीचको मैत्री सम्बन्धमा पर्यटन उद्योगको उज्यालो भविष्य छ।' सन् २०१९ मा दुवै देशका राष्ट्रनायकले एकअर्काको देश भ्रमण गरेर दुवै पक्षले आपसी समृद्धि र विकासका लागि रणनीतिक साझेदारीको संयुक्त घोषणा गरेको उल्लेख गर्दै चालु वर्ष सन् २०२० दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापनाको ६५औं वार्षिकोत्सव भएकाले सरकारी, सामाजिक तथा संघ/संस्थाबीच बहुआयामिक हिमालयपार सम्बन्ध विकासले तीव्रता पाउने बताइन्। उनले भनिन्, 'सबैलाई थाहा भएकै कुरा हो– पर्यटन उद्योग नेपाली अर्थतन्त्रको मेरुदण्ड हो। यसलाई दरिलो बनाउने काम चिनियाँ पर्यटकले गर्नेछन्।'

नयाँ चीन स्थापना भएकै वर्ष सन् १९४९ मा चीनको छोङछिङमा जन्मिएका सिया पोयुको ठूलो सपना सगरमाथा आरोहण गर्ने थियो। २६ वर्षको भरभराउँदै उमेरमा सन् १९७५ मा सगरमाथा आरोहणमा जाँदा हिउँले खाएर उनका दुवै खुट्टा गुमे। तर पनि सियाले हरेस खाएनन्। उनी सन् २०१४ मा सगरमाथा आरोहणका लागि गए तर ठूलो हिमपहिरोका कारण त्यसै फर्किन बाध्य भए। अर्को वर्ष सन् २०१५ मा सगरमाथा आधारशिविरमा पुगेका बेला भूकम्प आयो र फेरि फर्किए। अन्ततः चौथो प्रयासमा सन् २०१८ मे १४ मा उनले सगरमाथाको सफल आरोहण गरेरै छाडे। जतिबेला उनी ७० वर्षका थिए। सिआ भन्छन्, 'नेपाली शेर्पाहरूको सहयोगले मेरो सपना पूरा भयो।' आफूले पोखरा र लुम्बिनी पनि भ्रमण गरेको बताउँदै उनले नेपालबारे आफ्नो अनुभव सुनाए, 'म स्थानीय संस्कृति र मानवीय सहयोग तथा सत्कारले प्रभावित भएँ।' उनी यही वर्ष चिनियाँहरूको एउटा समूह बनाएर नेपाल भ्रमण गर्ने र ट्रेकिङमा जाने सोचाइमा छन्।

सन् २०१३ मे १९ मा पहिलोपटक सगरमाथा शिखरमा पुगेका सुन यिछ्वान दक्षिणी मोहोडाबाट आरोहण गर्ने सबैभन्दा कम उमेरका चिनियाँ नागरिक हुन्। उनले तीनपटक सगरमाथा आरोहण गरिसकेका छन्। उनी चित्रकार पनि हुन्। उनले थुप्रैपटक नेपाल भ्रमणका साथै कलाकृति सिर्जना पनि गरेका छन्। ८ हजार मिटरभन्दा बढी उचाइका ८ वटा हिमालको धनी देश नेपालले प्रकृतिका अनुपम उपहार पाएको उनले बताए। नेपालका हिमाल हेरेर जीवनकै उच्चतम आनन्द लिन उनले चिनियाँ नागरिकलाई अनुरोध पनि गरे।

सन् २०१३ मा 'तङ फङलाई' चलचित्र बन्यो। यसको ठ्याक्कै नेपाली अनुवाद 'पर्ख हावा आउन देऊ' भए पनि अंग्रेजीमा यसको नाम 'अप इन्ड द विन्ड' अर्थात् 'हावाभन्दा माथि' राखियो। यो चलचित्रको ८० प्रतिशतभन्दा बढी भाग नेपालमा छायांकन गरिएको हो। काठमाडौं, नगरकोट, चितवन, पोखरालगायत ठाउँमा छायांकन गरिएको चलचित्रले चीनमा नेपालको पर्यटन प्रवद्र्धनमा राम्रो काम गरेको मानिन्छ। चलचित्र निर्माण समूहका सदस्य स्याङ फङले अनुभव सुनाए, 'चितवन, पोखरा र काठमाडौंलगायत सुन्दर ठाउँ, शान्त वनजंगल र चराचुरुंगी र वन्यजन्तु देख्ता मेरा साथी आफू टिममा सहभागी हुन नपाएकामा थकथकाएका थिए।' चलचित्र हेरेर धेरै चिनियाँले नेपालबारे जानकारी पाएको र घुम्न गएको उनले सुनाए। सोही चलचित्रको निर्देशन टोलीमा रहेका उस्याओ ऊले पनि नेपालको सौन्दर्य जति हेरे पनि आँखा नथाक्ने उल्लेख गर्दै भने, 'नेपालीहरू चिनियाँका असल साथी हुन्।'

फरक पेसा र क्षेत्रका उल्लिखित चिनियाँ नागरिकको नेपालप्रतिको धारणाले चिनियाँमा नेपाल बुझाइको प्रतिनिधित्व गर्छन्। नेपालले यस्ता व्यक्तिलाई पर्यटन प्रवद्र्धनमा उपयोग गर्न सके साँच्चै नेपाली पर्यटन उद्योगले काँचुली फेर्न सक्छ।

साभारः नागरिक दैनिक २०७६ पुस २४ गते (२०२० जनवरी ९) बिहीबार।

जानकारी तथा लेखहरु