फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

कोरोनासँग चीनको लडाइँ

(GMT+08:00) 2020-01-31 19:41:44

चीनमा लगभग सात हजार नेपाली विद्यार्थीहरु अध्ययनरत छन्। ती मध्ये हुपेई प्रान्तमा मात्र १७७ जना छन् भने कोरोना भाइरसको इपिसेन्टर उहानमा पुगनपुग सय जना छन्। उहान हुपेई प्रान्तको सदरमुकाम हो। उहानमा रहेका नेपाली विद्यार्थीमध्ये केही जाडो विदामा नेपाल गएका छन्। नेपाल गएमा एकजनामा कोरोना भाइरस संक्रमण देखिएको छ। त्यसबाहेक चीनमा रहेका अथवा नेपाल गएका अन्य नेपालीमा कोरोना भाइरस संक्रमण देखिएको छैन। विशेष गरी उहानमा रहेका नेपाली विद्यार्थीहरु कोरोना भाइरसको संक्रमणबाट सुरक्षित रहे पनि मानसिक रुपमा निकै आतङ्कित बनेका छन्। बजारमा तरकारी नपाउने र पाइहाले पनि महंगो भएको उनीहरुले बताउँदै आएका छन्। चिनियाँ प्रधानमन्त्री ली खछ्याङको अध्यक्षतामा बसेको कोरोना भाइरस नियन्त्रण विशेष टोलीको बैठकले आपूर्ति सहज बनाउने र अत्यावश्यक उपभोग्य वस्तुको बजारमूल्य नियन्त्रण गर्ने निर्णय गरेबाट उहानमा रहेका नेपालीलाई थोरै राहत दिएको छ। डिसेम्बरको तेस्रो साता चीनको हुपेइ प्रान्तको सदरमुकाम उहानबाट फैलिएको कोरोना भाइरसले यतिबेला चीनलाई आक्रान्त बनाएको छ। पछिल्लो समय तिब्बतमा समेत कोरोना भाइरसको संक्रमण फैलिइसकेको छ। बिहीबार अपरान्हसम्मको तथ्याङ्क अनुसार चीनमा कोरोना भाइरस संक्रमणबाट १७० जनाको मृत्यु भइसकेको छ। मृत्यु हुनेहरुमा हुपेइ प्रान्तमा मात्र ८० प्रतिशत रहेका छन्। चीनमा ७ हजार ७ सय ३६ जनामा कोरोना भाइरस संक्रमण भएको निश्चित भएको छ। चीन बाहेक थाइल्याण्डमा १४, अमेरिकामा ५, अष्ट्रेलियामा ५, जापानमा ७, सिंगापुरमा ७, मलेसियामा ७, दक्षिण कोरियामा ४, फ्रान्समा ४, भियतनाममा २, क्यानाडामा ३, कम्बोडियामा १, श्रीलंकामा १, जर्मनीमा ४ र नेपालमा एक संक्रमित फेला परेका छन्। चीनमा लगभग १० हजार व्यक्तिमा कोरोना भाइरस संक्रमण भएको आशंकामा उनीहरुलाई चिकित्सकीय निगरानीमा राखिएको छ। अहिलेसम्म १२४ जनाको सफल उपचार भएको छ।

चिनियाँ परम्परागत पात्रो अनुसार जनवरी २५ तारिख मुसा वर्ष सुरु हुँदै थियो। नयाँ वर्ष सुरु हुनुभन्दा तीन दिन अगाडि जनवरी २२ तारिखदेखि नै उहानमा निकै धेरैमा कोरोना भाइरस फैलिएको समाचार सार्वजनिक भइसकेकाले चिनियाँ प्रशासनले उच्च सतर्कता अपनाएको थियो। चिनियाँ कम्युनिष्ट पार्टी हुपेई प्रान्तीय कमिटीले जनवरी २४ तारिख शुक्रबारदेखि उहान सहर तथा हुपेइ प्रान्तलाई सिल्ड गर्ने निर्णय गर्‍यो। निर्णय अनुसार उहानमा रेलवे सेवा, विमानसेवा तथा निजी तथा सार्वजनिक सवारी साधनको आवागमन अनिश्चित समयका लागि बन्द गरिएको छ। शुक्रबारदेखि चिनियाँ नयाँ वर्षको सार्वजनिक विदा सुरु हुँदै थियो। तर, शुक्रबारभन्दा अगाडि नै हुपेइ प्रान्तबाट लगभग ५० लाख मानिस बाहिर निस्किएको आँकडा चिनियाँ संचारमाध्यमले उल्लेख गरेका छन्। निर्णय कार्यान्वयनमा आउनुभन्दा अगाडि नै सूचना चुहिएर ठूलो संख्यामा त्यहाँका वासिन्दा बाहिर गएपछि उनीहरुसँगै कोरोना भाइरस चीनभरि फैलिएको अनुमान गरिएको छ।

पछिल्लो अवस्था हेर्दा कोरोना भाइरसबाट संक्रमण हुने र मृत्यदर अनुमान गरेजस्तो भयाभह देखिँदैन। बिहीबार अपरान्हसम्ममा १७० जनाको मृत्यु भएको छ। यदि लाखौँ संक्रमितहरुबाट मृत्यु भएको मान्ने हो भने १७० ठूलो संख्या होइन। तर, संक्रमितको संख्या लाखौँ नभएर केही हजार मात्र भएमा यो मृत्युदर निकै उच्च हो। दैनिक रुपमा मर्नेहरुको संख्या बढिरहेकाले पनि चिन्ता बढेको छ। कोरोना भाइरस पूर्ण रुपमा नियन्त्रण गर्नका लागि मौसम पनि परिवर्तन हुन आवश्यक छ। विज्ञहरुका अनुसार यो भाइरस जाडोमा फैलन्छ र गर्मीमा मर्छ। चीनमा आगामी दुई महिनासम्म चिसो हुने भएकाले कोरोनालाई पूर्णरुपमा नियन्त्रण गर्न पनि कम्तिमा दुई महिना लाग्ने अनुमान गर्न सकिन्छ।

चीनसँग यथेष्ट पूँजी, प्रविधि र जनशक्ति रहेको छ। अफ्रिकामा फैलिएको इवोला भाइरस चीनकै सक्रियतामा नियन्त्रण संभव भएको हो। चीनसँग सन् २००३ मा सार्सको सामना गरेको अनुभव पनि छ। त्यतिबेला बेइजिङमा स्याउ थाङ शान अस्पताल निर्माण गरिएको थियो। छोटो समयमा निर्मित उक्त अस्पतालको रेकर्डलाई चीनले नै भत्काएको छ। दुई साताको समयमा उहानमा दुईवटा अस्पताल निर्माण गरेर चीनले विश्वलाई नै आश्चर्य बनाउँदै छ। जनवरी २३ तारिख सुरु भएको एक हजार शैयाको होशनशान अस्पताल फेब्रुअरी २ तारिखमा तयार हुँदैछ भने जनवरी २५ तारिख निर्माण सुरु भएको एक हजार ६ सय शैयाको लेइशनशान अस्पताल फेब्रुअरी ५ तारिख तयार हुँदैछ। यी दुवै अस्पताल कोरोना भाइरस संक्रमितका लागि मात्र उपचार गर्नका लागि उहानमा निर्माण भइरहेका हुन्। चिनियाँ राष्ट्रिय विकास तथा सुधार समितिले उल्लिखित दुई अस्पतालको निर्माण तथा महत्वपूर्ण चिकित्सा उपकरण खरिदका लागि केन्द्रीय बजेटबाट तीस करोड चिनियाँ युआन प्रदान गरेको छ। अस्पतालको निर्माण कार्य भइरहेको स्थानबाट चाइना मिडिया ग्रुपले आफ्नो भिडियो एपबाट चिनियाँ समय अनुसार बुधबार बिहान तीन बजे प्रत्यक्ष प्रसारण गरेको थियो। कुनै उद्घोष र संगीत तथा आवाज नराखिकन गरिएको सो प्रत्यक्ष प्रसारणलाई चार करोडभन्दा बढी व्यक्तिले हेरेका छन्।

मंगलबार मध्यरातसम्म चीनका २९ प्रान्त, शहर तथा प्रदेशबाट लगभग ६ हजार चिकित्सकहरु कोरोना भाइरसका संक्रमितको उपचारमा उहान पुगेका छन्। कोरोना भाइरसको इपिसेन्टर उहान बाहेक चीनका तीसवटा प्रान्तले आपतकालीन सार्वजनिक स्वास्थ्य कार्य सुरु गरिसकेका छन्। चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगको पत्रकार सम्मेलनमा चिकित्सा प्रशासन ब्युरोका उपप्रमुख स्याउ याह्वीले दिएको जानकारी अनुसार खटिएका चिकित्सकसँग प्रशस्त अनुभव छ। तीमध्ये धेरै जनाले सार्स र अफ्रिकामा इबोला महामारीको नियन्त्रण कार्यमा भाग लिएका थिए। उहान युनियन अस्पतालले नयाँ कोरोना भाइरसको न्युक्लिक एसिड परीक्षण प्रयोगशालाको स्थापना गरिसकेको छ। यो प्रयोगशालाले ६ घण्टामै नयाँ कोरोना भाइरसको संक्रमण भए नभएको निश्चित गर्न सक्छ। चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव तथा चीनका राष्ट्रपति सी चिनफिङको अध्यक्षतमा बसेको पोलेटब्युरो बैठकले कोरोना भाइरस नियन्त्रण गर्नका लागि गम्भीर कदम चाल्ने निर्णय गरी प्रधानमन्त्री ली खछ्याङको नेतृत्वमा कोरोना भाइरस नियन्त्रण टोली गठन गरेको छ। गत सोमबार प्रधानमन्त्री लीले उहानको भ्रमण गरी वस्तुस्थितिको जानकारी लिँदै विशेष निर्देशन जारी गरेका छन्।

सन् २०२० मा चीनले समूल रुपमा गरिबी निवारण गर्ने लक्ष्य राखेको छ। वर्षको सुरुमै कोरोना भाइरसका कारण चीनलाई अर्बौँको क्षति पुगेको छ। चिनियाँहरुले आफ्नो वार्षिक खर्चको एकतिहाई खर्च गर्दै वसन्त चाडको अवधिमा तीन अर्ब चिनियाँले यात्रा गर्ने चलन छ। तर कोरोना भाइरसका कारण अधिकांशको यात्रा स्थगित भएको छ। फलत: चालु वर्ष चीनको आर्थिक वृद्धिदरमा पनि प्रभाव पर्ने ठानिएको छ। संकटसँग चीन पौँठेजोरी खेलिरहेका बेला अन्तर्राष्ट्रिय समुदायले चीनलाई समर्थन गरेका छन्। विश्व स्वास्थ्य संगठनका महाप्रवन्धक टेड्रोस अधानोम घेब्रेयेसुसले कोरोना भाइरसका बारेमा जानकारी लिन चीनको भ्रमण गरेर बुधबार साँझ फर्किएका छन्। चीनले कोरोना भाइरस नियन्त्रणमा देखाएको सक्रियता र पारदर्शी कार्यप्रति टेड्रोसले उच्च प्रशंसा गरेका छन्। केही देशले चीनबाट आफ्ना नागरिकलाई उद्दार गरेर लाने व्यक्त गरेको कुरालाई विश्व स्वास्थ्य संगठनले समर्थन नगर्ने बताउँदै चीन सरकारको क्षमताप्रति पूर्ण विश्वास गरेको उनले बताए।

यसपटक चीनले खुला र पारदर्शी नीतिको आधारमा समयमै कोरोना भाइरस संक्रमणसम्बन्धी सूचना दिइरहेको छ। समय समयमा संक्रमितको संख्या अत्यावधिक गर्ने तथा मृतकको संख्या उल्लेख गर्दै चीनले विश्व स्वास्थ्य संगठनलाई महामारी अवस्थाको समयमै जानकारी पनि दिएको छ। चीनभित्र मात्र नभएर बाहिर हुने महामारीमा पनि चीनले महत्वपूर्ण योगदान दिएकाले विश्व स्वास्थ्य संगठनले चीनको प्रशंसा गरेको हो।

संयुक्त राष्ट्र संघका महासचिव अन्टोनियो गुटेरेसले यस्तो महत्वपूर्ण अवस्थामा संयुक्त राष्ट्र संघले चीन सरकार र जनतालाई दृढ समर्थन दिने बताएका छन्। संयुक्त राष्ट्र संघले चीनले गरेको प्रयासप्रति प्रशंसा गरेको भन्दै कोरोना भाइरस महामारी रोकथाम तथा नियन्त्रण गर्ने चीनको क्षमतामाथि सम्पूर्ण विश्वास लिएको र चीनलाई सक्तो समर्थन र सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गरेका छन्। कोरोना भाइरसकै कारण चिनियाँ नयाँ वर्ष वसन्त चाडको विदालाई दुई दिन थप गरिएको छ। चिनियाँ नयाँ वर्षका बेइजिङ बाहिर गएका सबैलाई बेइजिङ फर्किएपछि १४ दिनसम्म घरबाट बाहिर हिँड्न बन्देज गरिएको छ। कोरोना भाइरसको संक्रमण भए १४ दिनमा त्यसका संकेतहरु देखिने भएकाले यस्तो विधि अपनाइएको हो। सबै व्यक्तिको बाँच्न पाउने अधिकारलाई प्राथमिकतमा राखेर चीनले कोरोना भाइरसका विरुद्धमा युद्ध लडिरहेको छ।

साभारः नागरिक दैनिक २०७६ माघ १७ गते (२०२० जनवरी ३१) शुक्रबार।

जानकारी तथा लेखहरु