
नेपालमा एउटा भनाइ छ, बिहावारी २० वर्ष पारी। विवाह गर्नका लागि उमेर पुग्नुपर्छ। तर यो उखानलाई यतिखेर 'बिहावारी, लकडाउन पारी' भनेर परिमार्जन गर्नुपर्ने अवस्था छ। वैशाखदेखि विहेका साइत पर्खिरहेका युवायुवती लक डाउनका कारण अड्किएका छन्। नेपालमा कोभिड-१९ भाइरसको महामारी घट्नुभन्दा झन् झन् बढ्ने देखिएकाले जमघट गर्नसक्ने अवस्था छैन।
चीनमा कोरोना महामारी कम हुँदैछ। सबैभन्दा पहिला कोरोनाको चपेटामा परेको वुहानमा ७६ दिने लकडाउन हटेसँगै बिहेको चहलपहल सुरु भएको छ। स्थानीय युवायुवती धमाधम वैवाहिक बन्धनमा बाँधिदै छन्। चीनका अन्य सहरमा पनि लकडाउन र महामारीले वैवाहिक योजना स्थगित गरेकाहरू अहिले जोडी कस्दै छन्।
व्यस्त जीवनशैली हुने चीनमा बिदाको मौकामा बिहे गरिन्छ। यसपालिको नयाँ वर्ष अर्थात् वसन्त चाडको लामो बिदामा बिहे गर्ने तयारीमा बसेकाहरूको योजना चाहिं कोरोना महामारीले बिथोलिएको थियो। जनवरी अन्तिम साता चिनियाँ नयाँ वर्ष सुरु हुँदै गर्दा महामारी देखापरेपछि २३ तारिखदेखि नै हुबेई प्रान्तको वुहान सहर 'लकडाउन' गरिएको थियो। देशका अन्य सहरमा पनि सभा–समारोह र भीडभाड गर्न रोक लगाइएपछि वैवाहिक योजना रद्द हुन पुगेका थिए।