सर्पको चित्राङ्कन गर्नु र त्यसमा खुट्टा थप्नु

          च्यू राज्यका एकजना कुलीन व्यक्तले एउटा धार्मिक कार्य सम्पन्न भएपछि आफ्ना सेवकहरुलाई एक भाँडो रक्सी दिए ।

            लामो समयको छलफलपछि ती सेवकहरुले त्यो एक भाँडो रक्सी सबैका लागि पर्याप्त नभएका कारण के घोषणा गरे त भन्दा 'यो एक भाँडो रक्सी हामी सबैका लागि अपर्याप्त छ तर हामीमध्ये कुनै एकजनाका लागि भने प्रशस्त छ । त्यसैले हामीमध्ये हरेकले भुइँमा एक(एकओटा सर्पको रेखाचित्र बनाऔं, र यो रक्सीको भाँडो त्यसैलाई दिइनेछ जसले सबैभन्दा छिटो रेखाचित्र बनाएर सिध्याउँछ ।' त्यति भनेपछि सबैले चित्र बनाउन शुरु गरे ।

            सबैभन्दा पहिले चित्र बनाएर सिध्याउने चाहिंले त्यो रक्सीको भाँडो हातमा लियो पिउनै के आँटेको थियो, अरु सबैले अझै चित्र बनाइरहेको देख्यो । त्यसैले उसले त्यो रक्सीको भाँडो देब्रे हातमा लियो र गर्वसाथ 'म त मेरो सर्पका खुट्टा पनि बनाउन भ्याउँछु !' भन्दै दाहिने हातले सर्पका खुट्टा बनायो ।

            उसले सर्पका खुट्टा बनाइरहेका बेला आफ्नो चित्र सिध्याएको एकजना अर्को दासले तत्कालै पहिलो दासको देब्रे हातबाट रक्सीको भाँडो खोस्दै भन्यो: सर्पको कहिल्यै पनि खुट्टा हुँदैन । यो सबैलाई थाहा भएकै कुरा हो । यो सर्वव्यापी तथ्य हो । तिमीलाई सर्पको चित्रमा खुट्टा थप्ने अधिकार कसले दियो ? यति भनेर उसले भाँडामा भएको सबै रक्सी मज्जासँग घुट्क्यायो ।

              सर्पका खुट्टा बनाउने दासले अन्त्यमा आफ्नो हात लागिसकेको पुरस्कार गुमायो ।