लो याङमा कागज महंगो भएको सम्बन्धी कथा
   छापाखानाको त्यति विकास भैनसकेको प्राचीनकालीन समाजमा हातैले कविता र निबन्ध लेखेर एक-अर्कालाई हस्तान्तरण गर्ने चलन थियो। चीनको इतिहासमा चो स नामका एकजना साहित्यकार थिए। उनले एउटा निकै राम्रो विषयमा कविता रचेका कारण खानदानी परीवारका मानिस र धनी मानिसहरुले तँछाड-मछाड गर्दै यस रचनालाई आफूसँग राख्न चाहेकाले धेरै कागजको आवश्यकता भै बजारमा कागज महंगो भएको थियो।

          त्यस कथाको मुख्य पात्रको नाम चो स थियो। सन् 250 मा उनको जन्म भएको थियो र उनी चिन् वंशका प्रसिद्ध साहित्यकार थिए। कुरुप अनुहारका चो स सानो उमेरमा त्यति बुद्धिमान थिएनन। उनले चिनियाँ लिपी लेख्न र बाजा बजाउन सिकेका थिए। तैपनि यसमा खासै सफलता हासिल गर्नसकेका थिएनन् । पछि गएर उनका पिताको प्रेरणमा उनले मेहनत साथ लेखपढ गर्नथाले र उनको क्षमतामा राम्रो विकास भयो।

          बीस वर्षको उमेरमा चो सकी बहिनीलाई राजदरबारमा पुर्‍याइएको थियो। त्यसैले चो सको परीवार पनि त्यस बेलाको राजधानी लो याङमा सरेको थियो। त्यस बेला चो स समाजको उच्च तहका साहित्यकार र विद्बानहरुको सम्पर्कमा आए। परिणामस्वरुप उनको लेख, निबन्ध क्षेत्रको क्षमता निकै बढेको थियो । अन्तमा चो सले"सान तु फु"शिर्षकको रचना तयार पारेका थिए।

          तीस वर्षमा चो सले"सान तु फु"शिर्षकको प्रसिद्ध रचना तयार पारेकाले त्यस बेलाका प्रसिद्ध साहित्यकार व्हाङ फु मिले त्यस रचनाका लागि प्राक्कथन लेख्नुभयो भने चाङ चोले त्यस रचनाका लागि व्याख्यान लेख्नुभयो। त्यो रचना शुरुमा साहित्त्यिक क्षेत्रमा प्रचलित हुनथाल्यो र पछिगएर कुलिन परीवार र धनी परीवारका मानिसहरुले पनि एकपछि अर्को गरी टिपोट गर्नथालेका थिए। त्यसैकारण त्यस बेलाको राजधानी लो याङ शहरका कागज पसलमा कागज पाउन गाह्रो भएको थियो। यसका साथसाथै कागजको भाउ पनि बढ्यो। यो नै"लो याङमा कागज महंगो"भएको भन्ने कथा हो।

          "सान् तु फु" भनेको के हो? "फु" भनेको त्यस बेला प्रचलित एक किसिमको लेखाइको शैली हो। यस किसिमको लेख लेख्दा छन्दोबद्ध तरिकाले लेख्नुका साथै ऐतिहासिक कथा वा उदाहरण पनि प्रयोग गर्नुपर्थ्यो। रचनाका शब्द र वाक्य पनि श्रृंगार रसका हुनैपर्थ्यो।"सान् तु"को अर्थ तीनवटा राजधानी हो जसमा चिन राज्यअघिका शु, उ र वै तीनवटा स-साना राज्यका राजधानी पर्दथे। "सान तु फु"मा "शु तु फु अर्थात शु राज्यको राजधानीको बयान गर्ने शैली, त्यसै गरी "उ तु फु " र "वै तु फु" पनि थिए। हरेक लेखाइमा काल्पनिक व्यक्तिको मुखबाट स्थानीय परिस्थिति, उत्पादित वस्तु र व्यवस्था बारे वयान र मूल्यांकन गरिन्थ्यो। ती लेखको सफलता शैलीमा मात्र नभई विषयमा पनि देखिएको थियो। यो रचना तयार पार्न चो सलाई धेरै समय लागेको थियो। उनले ऐतिहासिक कुरा र सम्बन्धित कथाहरु बारे अध्ययन र जाँच गरी उदृद्ध गर्ने कथा र कुराहरुको सत्यता प्रमाणित गरेपछि मात्र प्रयोग गरेका थिए। सम्पूर्ण सामग्रीहरु तयार पारेपछि चो सले आफ्नो घरमा, आँगनमा र शौचालयमा पनि जताततै कागज र कलमहरु राखेका थिए जसबाट उनले आफ्नो मनमा कुनै पनि भावना आएमा त्यसै बेला लेख्न सकियोस। यसो गर्दागर्दै दश वर्षपछि मात्र चो सले बल्लतल्ल यो रचना तयार गरेका थिए।

          "सान तु फु" भन्ने रचनामा चीनका तीन राज्यकालको सामाजिक जीवनलाई व्यापक रुपमा प्रतिबिम्बित गर्नुका साथै मुलुकको एकीकरण जस्ता शासक र साधारण जनताका समेत चासोका विषय पनि समावेश गरिएकाले त्यस बेला र पछिसम्म पनि त्यस रचनाको उच्च मूल्यांकन गरिएको थियो।

          वास्तवमा एकजना साकित्यकारको नाताले चो सले एउटा मात्र रचना तयार पारेर आजसम्म चर्चित हुनसकेका भन्न मिल्दैन। "सान तु फु" बाहेक उनले धेरै कविता र निबन्धहरु पनि लेखेका थिए। तीमध्ये "इतिहासको बयान" शिर्षकको कविता संग्रह निकै प्रसिद्ध छ। ती कविताहरुमा चो सले सरल वाक्यद्बारा मुलुक र जनताप्रतिको चिन्ता व्यक्त गरेका छन। त्यसपछिका कविहरुले पनि उनलाई आदर्शका रुपमा लिनेगरेका थिए।