![]() |
थांङ वंशमा ख च्वी परीक्षालाई श्यु छाइ, च्वी रन र चिन श् तीन स्तरमा विभाजित गरिएको थियो। तेश्रो चरणमा राजाले उनीहरुको अन्तर्वार्ता गरेर पदाधिकारीमा नियुक्त गर्ने चलन थियो। सर्वसाधारणको सबैभन्दा ठूलो इच्छा चिन श् बन्नु हुन्थ्यो। चिन श् भएपछि ठूलो पदाधिकारी बन्नसकिन्थ्यो। त्यसकारण ती तीन किसिमका परीक्षामध्ये चिन श् परीक्षा सबैभन्दा गाह्रो मानिन्थ्यो। समान्य रुपमा एक सयजनामध्ये दश-बीसजना मात्रैलाई भर्ना गरिन्थ्यो।
थाङ वंशको चिन श् परीक्षा राजधानी छांग आनमा आयोजित गरिएको थियो। छांग आन अहिलेको सि आन हो। हरेक जनवरी महिनामा त्यस परीक्षाको आयोजना गरिन्थ्यो। फेब्रुअरी महिनामा विभिन्न विषयका परीक्षामा उत्तिर्ण भएका विद्यार्थीहरुको नामावली र स्थान सार्वजनिक गरिन्थ्यो। वसन्त ऋतुमा फलफूलका विरुवामा फूल निस्कँदा सम्राटले छुइ च्यांग बगैंचामा भव्य समारोहको आयोजना गरी ती नयाँ चिन शलाई पुरस्कार वितरण गर्ने चलन थियो।
छुइ च्यांग बगैंचा छांग आन शहरको दक्षिण-पूर्वी किनारामा पर्दथ्यो। त्यहाँ एउटा ठूलो पोखरी थियो। पोखरीको वरिपरी सुन्दर बगैचा तथा प्रख्यात छ अन मन्दिर, ता येन स्तूप, श्याउ येन स्तूप आदि थिए। सम्राट, मन्त्री र अन्य सरकारी पदाधिकारीहरु सधैं त्यहाँ घुम्ने गर्दथे। धेरै विद्वानहरुले पनि त्यहाँ यसैगरी लोकप्रिय कविता रच्नुभएको थियो।
सम्राटद्वारा आयोजित छुइ च्यांग भव्य समारोहमा चिन शहरुले मदिरा राखिएका कप छुइ च्यांग नदीमा बगाउँथे। अनि त्यो पानीमा बगिरहेको कप जसका सामू रोकिन्थ्यो उसले त्यस कपमा भएको मदिरा सेवन गरेर त्यसपछि कविता रच्नुपर्थ्यो। यसका साथै अरु सबै चिन शहरुले छानेका दुइजना सबैभन्दा सुन्दर चिन शले बगैंचामा भएका महंगा फूल टिपेर अरु चिन शहरुलाई लगाइदिन्थे। त्यस कार्यक्रमलाई "फूल टिप्ने कार्यक्रम भनिन्थ्यो भने फूल टिप्ने चिन शलाई "पुष्प दूत" भनिन्थ्यो।
एक वर्षमा छुइ च्यांग समारोह सम्पन्न भएपछि चिन शहरु छ अन मन्दिर जान्थे। उनीहरु ता येन स्तूप नजिकैबाट हिंड्दा एकजना चिन शले आफ्ना नाम ता येन स्तूपको भित्तामा लेखेका थिए। त्यसपछि त्यो एउटा चलन बन्नपुगेको थियो। छुइ च्यांग समारोहपछि छ अन मन्दिरको ता येन स्तूपमा गई अक्षर राम्रो भएको एकजना चिन शले सम्पूर्ण चिन शका नाम भित्तामा लेख्दथे।
थाङ वंशका बुद्धिजीबीहरु छुइ च्यांग समारोहमा सहभागी बन्नु र ता येन स्तूपमा नाम लेखाउनुलाई निकै गौरवको रुपमा लिनेगर्दथे। अहिले पनि सि आनको ता येन स्तूपको भितामा ती चिन शहरुको नाम देख्नसकिन्छ।
थाङ वंशको ख च्वी व्यवस्थाद्वारा बुद्धिजीबीहरुले राज्य-शासनमा सहभागी हुने मौका प्रस्तुत गरिएको थियो। तर त्यसपछि ख च्वी व्यवस्थामा भ्रष्टाचारको संकेत देखापरेको थियो। विशेष गरी, उन्नाइसौं शताव्दीका मिंग वंश र छिंग वंशमा ख च्वी परीक्षामा धेरै भ्रष्टाचार गरिएको थियो।
|