![]() |
चाङले हरेक पल्टको भूकम्प आउँदा सम्बन्धित दृश्यको ध्यान दिएरै अवलोकन गरे र त्यसका साथै राम्ररी टिपोट पनि गरे। उनले वैज्ञानिक तरिकाबाट भूकम्प हुनुको कारण बारे विश्लेषण गरेका थिए। धेरै वर्षसम्म बारम्बार परीक्षण गरेपछि इस्वी सम्बत 132 मा चाङ हनले चीन र सारा संसारका लागि पनि भूकम्प सम्बन्धी सूचना दिनसक्ने पहिलो यन्त्र बनाए र "भूकम्प सूचक यन्त्र" भनेर यसको नामाकरण गरे।
काँसद्बारा बनाइएको सो यन्त्र गोलो आकारको पीपा जस्तो देखिन्थ्यो। त्यसको व्यास झण्डै एक मीटर थियो। त्यसको ठ्याक्कै बीचमा धातुको मोटो डन्डा थियो भने त्यसका वरिपरि आठवटा धातुका मसिना डन्डी थिए। पूर्व, दक्षिण, पश्चिम, उत्तर, उत्तर-पूर्व, दक्षिण-पूर्व, उत्तर-पश्चिम र दक्षिण-पश्चिम यी आठ दिशामा आठवटा ड्राइगन बनाइएका थिए। आठैवटा ड्रागनको शिर छुट्टाछुट्टै गरी ती मसिना डन्डीसित जोडिएका थिए। अलि-अलि माथि उठ्ने गरेका ती शिरको मुखमा एकेकवटा धातुको सानो गोली हालिएको थियो। आठवटा ड्राइगनका टाउकोको ठीक तलपट्टि आठवटा भ्यागुता माथिबाट गोली झरेमा स्वाट्टै निलिहाल्नका लागि हरहमेशा मुख आँ गरेर टुक्रुक्क बसिराखेका छन्। ती भ्यागुता र ड्राइगन बीच कुनै खेल भइरहेको जस्तो दृश्य निकै रोचक लाग्दछ। त्यसैले सो भूकम्पसूचक यन्त्रको रुप-आकृति बारे वर्णन गर्दा भ्यागुताले ड्राइगनसित खेल खेल्ने यन्त्र भन्नेबित्तिकै सबैले सहजै बुझिहाल्छन्। चाङ हनद्बारा गरिएको डिजाइन अनुसार, कुनै दिशातिर भूकम्प भएमा सो भूकम्पसूचक यन्त्रमा धातुको डन्डी त्यतैतिर ढल्केर जान्छ र सँगै जोडिएको त्यतैतिरको ड्राइगनको मुख आफैं खोलेर त्यो गोली तल बसेको भ्यागुतोको मुखमा ट्याक्क खस्छ जसबाट फलानो दिशातिर भूकम्प भएको भनेर जानकारी पाउना साथ छिटै उद्धार कार्यका लागि चाँजोपाँजो मिलाउन सघाउ पुग्छ।
इस्वी सम्वत 133मा मध्य चीनको लो याङमा भूकम्प भएको थियो, चाङ हनको "भूकम्पसूचक यन्त्र"ले ठिकसँग त्यसबारे जानकारी दिएको थियो। त्यसपछिका चार वर्षभित्र लो याङ क्षेत्रमा फेरि अघि-पछि गरी तीन पटक भूकम्प भएको थियो, ती सबैको जानकारी पनि सो यन्त्रबाट बेलैमा प्राप्त भएको थियो र कुनै पनि भूलचूक भएको थिएन। यति हुँदाहुँदै पनि इस्वी सम्बत 138 को फेब्रुअरीको एक दिन पश्चिम दिशातिर पर्ने ड्राइगनको मुखबाट गोली खसेर तलको भ्यागुतोको मुखमा पर्न गएको देखियो। तर भुईंमा कम्पन भएको अलिकति पनि महशूश हुनसकेन। यस अवस्थामा अघिदेखि नै "भूकम्पसूचक यन्त्र"का विषयमा शंका लिइरहेका केही विद्बानले यो यन्त्र ठिक रहेनछ, खालि लो याङ नजिकको भूकम्प मात्र ठम्याउन सकिन्छ भनेर औंला उठाएका थिए। 3/4 दिन पछि लो याङदेखि पश्चिममा अवस्थित कान्सु प्रान्तबाट आएका दूतले त्यहीं नै भूकम्प गएको जानकारी ल्याए। त्यसबखत पो मानिसहरुले चाङ हनको "भूकम्पसूचक यन्त्र" भनेको "भ्यागुताले ड्राइगनसित खेल्ने" रुप-आकारको नमूना मात्र नभई त्यो साँच्चै नै काम लाग्ने वैज्ञानिक उपकरण हो भन्ने विश्वास लिए। त्यस बेलादेखि चीनमा उपकरणमार्फत टाढैबाट भूकम्प सम्बन्धी जानकारी संकलन र टिपोट गर्ने कामको इतिहास शुरु भएको मानिन्छ।
|