वसन्त चाड सम्बन्धी चीनका अल्पसंख्यक जातिहरुको चलन
        वसन्त चाड चीनका छपन्नैवटा जातिहरुको साझा चाड हो। हान जातिका अतिरिक्त धेरैजसो अल्पसंख्यक जातिहरु आ-आफ्नो जातीय विशेषतायुक्त तरिकाले यस परम्परागत रमाइलो चाड मनाउँदैआएका छन।

        ली जु जातिका मानिसहरु (मुख्य रुपमा दक्षिणी चीनको हाइनान प्रान्तमा बसोबास गर्दछन): चिनियाँ पात्रो अनुसार, वर्षको बाह्रौं महिनाको अन्तिम दिनको रात अर्थात् नयाँ वर्षको अघिल्लो दिनको राति ली जु जातिका आ-आफ्नो परीवारका सबै सदस्यहरु एउटै ठाउँमा बसेर मीठा-मीठा खाने कुरा खानेगर्छन। भोजका अवसरमा उनीहरु नयाँ वर्षको गुणगान गाइने गीत पनि गाउँछन। नयाँ वर्षको पहिलो दिन वा दोस्रो दिन त्यहाँका बासिन्दाहरु सामूहिक रुपमा शिकार गर्छन। शिकारमा प्राप्त सम्पूर्ण हिस्साको आधा भाग निशाना लगाउन सफल पहिलो मान्छेलाई दिइन्छ भने बाँकी अरु भाग सहभागीहरुका बीच बाँड-फाँट गर्ने चलन छ। त्यसबाहेक दुइ जीउ भएका महिलाहरुले दुइ भाग प्राप्त गर्नसक्ने चलन पनि छ।

        यी जु जाति (मुख्य रुपमा दक्षिण-पश्चिमी चीनमा पर्ने स्ठूआन प्रान्तमा बसोबास गर्दछन): वसन्त चाडका बेला यी जु जातिका मानिसहरु सामूहिक रुपमा "आसिथ्योयुए"नामक एक किसिमको नाच नाच्दै हर्ष-बढाइँ गर्छन। कुनै-कुनै गाउँ-घरमा नयाँ वर्षको पहिलो दिन घर-परीवारका लोग्ने मान्छेहरुलाई घरको काम-काज गराउने र महिलाहरुलाई आराम गराउने चलन छ। यसबाट महिलाहरुको अघिल्लो वर्षको थकाइ केही मेटिन्छ भन्ने विश्वास गरिएको छ।

        म्याऊ जु जाति (मुख्य रुपमा चीनका हुनान र क्वैचाउ आदि प्रान्तहरुमा बसोबास छ):म्याऊ जातिका मानिसहरु वसन्त चाडलाई "ख च्या न्यान"भन्दछन। चाडको अवसरमा घर-घर र परीवार-परीवारले नयाँ वर्षमा मौसम राम्रो होस् र राम्रो अन्नपात प्राप्त होस भन्नाका लागि बंगूर र खसी काट्ने चलन छ। त्यसका अतिरिक्त, म्याऊ जातिका मानिसहरु वसन्त चाडको गुणगान गाइएको एक किसिमको गीत गाउँछन। गीतको बोल मोटामोटी यस प्रकार छः वसन्तबारे विचार, वसन्तको प्रतीक्षामा, वसन्तलाई माया र वसन्तको सामिप्यता।

        मान जु जाति(मुख्य रुपमा उत्तर-पूर्वी चीनको हैलुङ्ग च्यान, चिलिन,ल्याओ निङ्ग प्रान्तहरु तथा पैचिङ्ग नगर र ह पै प्रान्तमा बसोबास गर्दछन):यस जातिका मानिसहरु पूरानो वर्षको अन्तिम दिनको राति र नयाँ वर्षको पहिलो दिन गरी दुइ पटक वसन्त चाड मनाउने गर्दछन। वसन्त चाडको अवसरमा घोडे-जात्रा र ऊट-जात्रा आदि प्रतियोगिताहरुको आयोजना गर्ने चलन पनि छ।

         तुङ्ग जु जाति(मुख्यतया दक्षिण-पश्चिमी चीनमा पर्ने क्वै चाउ प्रान्तमा बसोबास):वसन्त चाडको पहिलो दिन विहान तुङ्ग जु जातिका मानिसहरुमा पोखरीबाट केही जिउँदा माछा ल्याई भोजको टेबुलमा राख्ने चलन छ। यसको अर्थ नयाँ वर्षमा सम्पन्न जीवन बिताउन सकियोस भन्ने हो।(किनिक चिनियाँ भाषामा माछा र सम्पन्नताको अर्थ एउटै खालको उच्चाउण भएका शब्दले दिन्छन।)

         जुङ्ग जु जाति(यस जातिका मानिसहरु मुख्य रुपमा दक्षिण-पश्चिमी चीनमा पर्ने क्वाङ्ग सी जुङ्ग जातीय स्वायत्त प्रदेशमा बसोबास गर्दछन):जुङ्ग जातिका मानिसहरु वर्षको अन्तिम दिनको राति नयाँ वर्षको पहिलो दिनभरिका लागि आवश्यक खाना राम्रोसित तयार पार्न मन पराउँछन। उनीहरु त्यस खानालाई नयाँ वर्षको "स्वागत गर्ने खाना"भन्छन्। त्यस खानाले आगामी वर्षमा राम्रो अनाज भित्र्याउन सकिने र सम्पन्न जीवन बिताउन सकिने कुराको प्रतिनिधित्व गर्दछ।

         छ्याङ्ग जु जाति(यस जातिका मानिसहरु मुख्य रुपमा दक्षिण-पश्चिमी चीनमा पर्ने स्ठूआन प्रान्तमा बसोबास गर्दछन):वसन्त चाडको अवसरमा छ्याङ्ग जु जातिका हरेक घर-परीवारमा स्वर्गीय आफन्तहरुको सम्मानमा, उनीहरुको सम्झनामा नाम लेखिएको पाटीको अगाडि दान-दक्षिणा स्वरुप गोरु र खसीको मासु वा तिनबाट बनाइएका खाद्य-पदार्थहरु अर्पण गर्छन। त्यस बाहेक वर्षको अन्तिम दिनको राति परीवारका सबै सदस्यहरु रक्सीको भाँडाका वरिपरि बसेर घरका मालिकको निर्देशनमा रक्सीको भाँडामा जोडिएको एक मिटर जति लामो नलीबाट क्रमैसँग चुसेर रक्सी खाने चलन छ। यसो गर्दा देब्रेबाट दायाँतिरको पालो आउने गर्दछ।

         शुई जु जाति(यस जातिका मानिसहरु मुख्य रुपमा दक्षिण-पश्चिमी चीनमा पर्ने क्वै चाउ प्रान्तमा बसोबास गर्दछन):वसन्त चाडको अवधिमा त्यस जातिका केटा-केटीहरुले घर-घरमा गई त्यहाँका ठूला मान्छेहरुसँग मिठाइ मागेर खाने चलन छ। जसले सबैभन्दा धेरै मिठाइ पाएको छ त्यसको भाग्य सबैभन्दा राम्रो भएको मानिन्छ र भविष्यमा उ बुद्धिमान र स्वस्थ हुने विश्वास पनि गरिन्छ।

         पाई जु जाति (यस जातिका मानिसहरु मुख्य रुपमा दक्षिण-पश्चिमी चीनमा पर्ने युन नान प्रान्तमा बसोबास गर्दछन):वसन्त चाडको पहिलो दिन विहानको पहिलो खानामा उक्त जातिका हरेक परीवारका सबै सदस्यहरु, बुढा-बुढी होस् वा केटा-केटी सबैले खट्टे राखिएको चिनी-पानी खानुपर्छ। त्यसो गरेमा यस नयाँ वर्षमा पराग जस्तै मीठो जीवन बिताउन सकिन्छ भन्ने विश्वास गरिएको छ।

        कोरिया जु जाति(यस जातिका मानिसहरु मुख्य रुपमा उत्तर-पूर्वी चीनमा पर्ने चिलिन प्रान्तमा बसोबास गर्दछन):वसन्त चाडसँग सम्बन्धित यस जातिका चालचलन यस प्रकार छन: कोरिया जु जातिका मानिसहरु हरेक घरका ढोकाका खापामा वसन्त सम्बन्धी शुभकामना लेखिएका लेखौटहरु टाँस्ने गर्दछन। विविध खाना तयार पार्छन् र"बा पो"नामक एक किसिमको खाद्य-पदार्थ खान्छन,जुन आठवटा अन्नबाट बनाइएको हुन्छ। त्यसका साथै नयाँ वर्षको पहिलो दिन विहान सबेरै त्यहाँका बासिन्दाहरु नयाँ लुगा लगाएर आफूभन्दा ठूला मान्छेहरुलाई शिष्टतापूर्वक भेटी शुभकामना व्यक्त गर्दछन।

         मंगोलिया जु जाति(यस जातिका मानिसहरु मुख्य रुपमा उत्तर-पश्चिमी चीनमा पर्ने भित्री मंगोलिया जातीय स्वायत्त प्रदेशमा बसोबास गर्दछन):नयाँ वर्षको पहिलो दिन विहान रंगीबिरंगी पोशाक लगाएका युवा-युवतीहरु घोडा चढेर त्यहाँका वरिपरि रहेका मंगोलियाली शैलीका पाल (मंगोलियालीहरुको बस्ने आफ्नो विशेषतायुक्त शैलीको घर) हरुमा गई आफूभन्दा ठूला मान्छेहरुलाई शिष्टतापूर्वक भेटी शुभकामना व्यक्त गर्दछन र भलाकुसारी गर्दछन्। त्यसबाहेक मंगोलियाली जातिका मानिसहरु भव्य रुपमा देव-देवी नामक मेलाको आयोजना गर्छन्। त्यस बेला मानिसहरु मकुन्डो लगाएर नाच-गान गर्दछन जसबाट पूरानोलाई विदा गरी नयाँलाई स्वागत गर्ने आफ्नो इच्छा रहेको कुरा व्यक्त गर्न सकियोस।

         हा नी जु जाति(यस जातिका मानिसहरु मुख्य रुपमा दक्षिण-पश्चिमी चीनमा पर्ने युन नान प्रान्तमा बसोबास गर्दछन):वसन्त चाडमा हा नी जु जातिका युवा-युवतीहरु एउटै ठाउँमा भेला भई रक्सी खाने र नाच-गान गर्ने गर्नुका साथै आ-आफ्ना प्रेमी-प्रेमिकालाई छान्ने गर्दछन।

          ना सी जु जाति(यस जातिका मानिसहरु मुख्य रुपमा दक्षिण-पश्चिमी चीनमा पर्ने युन नान प्रान्तमा बसोबास गर्दछन):नयाँ वर्षको पहिलो दिनमा सो जातिले तेह्र वर्ष पुगिसकेका किशोर-किशोरीहरुका लागि भव्य समारोहको आयोजना गर्ने चलन छ। प्राप्त जानकारी अनुसार, यसलाई किशोरीहरुका लागि "जामा लगाउने समारोह"र किशोरहरुका लागि "पेन्ट लगाउने समारोह"भनिन्छ। यस समारोहपछि उनीहरु ठूला मान्छेको पंक्तिमा प्रवेश गरेको मानिन्छ।

          फु मि जु जाति(यस जातिका मानिसहरु मुख्य रुपमा दक्षिण-पश्चिमी चीनमा पर्ने युन नान, स्ठूआन प्रान्तमा बसोबास गर्दछन):नयाँ वर्षको पहिलो दिनको विहान सबेरै त्यस जातिका मानिसहरु यस चाडलाई मनाउने क्रममा तोपको सलामी दिने र शंख फुक्ने गर्दछन।

          बु यी जु जाति(यस जातिका मानिसहरु मुख्य रुपमा दक्षिण-पश्चिमी चीनमा पर्ने क्वै चाउ प्रान्तमा बसोबास गर्दछन):वसन्त चाडका अवसरमा बु यी जु जातिका युवा-युवतीहरु राम्रा-राम्रा नयाँ लुगा लगाएर एक-अर्कासँग शिष्टाचार भेट गर्ने वा सँगसँगै मिलेर नाच-गान गर्ने र वन-भोज खाने गर्दछन। तीनीहरु ज्यादै रमाउँछन र अन्त्यमा आ-आफ्ना घर फर्कन्छन।

         अ लुङ्ग ठुन जु जाति(यस जातिका मानिसहरु मुख्य रुपमा उत्तर-पूर्वी चीनमा पर्ने है लुङ्ग च्यान प्रान्तमा बसोबास गर्दछन):नयाँ वर्षको पहिलो दिन विहान सो जातिका युवा-युवतीहरुले सबैभन्दा पहिले आ-आफ्नो घर-परीवारका ठूला मान्छेहरुलाई विनम्रता साथ रक्सी भरिएको कप चढाएर अभिवादन गर्नुका साथै कुशलताको कामना गर्दछन र शुभकामना व्यक्त गर्दछन्। अनि त्यसपछि समान पुस्ताका मानिसहरु एक-अर्कालाई रक्सी खुवाउने र शुभकामना व्यक्त गर्नेगर्छन्। विहानको खाजा खाएपछि युवा-युवतीहरु एउटै ठाउँमा भेला भई घोडे-जात्राको आयोजना गर्ने र बाण हान्ने आदि प्रतियोगिताको आयोजना गर्दछन्।

         ता व अर जु जाति(यस जातिका मानिसहरु मुख्य रुपमा उत्तर-पूर्वी चीनमा पर्ने है लुङ्ग च्यान प्रान्तमा बसोबास गर्दछन):नयाँ वर्षको पहिलो दिन विहान सबेरै सो जातिका युवा-युवतीहरुले दुबै हातले एक-अर्काको अनुहारमा खरानी दलिदिने चलन छ। त्यस बेला धेरैजसो सुन्दरीहरु "खरानी केटी"बनिसकेका देखिन्छन। भनाइ अनुसार, यसै तरिकाबाट यस नयाँ वर्षमा राम्रो अनाज भित्र्याउन सकियोस र सुखमय जीवन विताउन सकियोस् भन्ने शुभकामना व्यक्त गरिन्छ।