पल्लो शेन्सी प्रान्तका कारचोपी खेलौना

          उत्तर-पश्चिमी चीनको पल्लो शेन्सी प्रान्तका लोक कारचोपी खेलौनाहरुको दीर्घकालीन परम्परा रहिआएको छ र लोक दुनियाँमा तिनको व्यापक आधार बसालिएको छ। ती विचित्र र प्रशस्त विषय-वस्तुहरुमा आधारित छन्। तीमध्ये मोटा केटाकेटी, उडिरहेको चरा, पानीमा तैरिरहेको माछा, भ्यागुतो, सुँगुरको टाउको, कीरा, फूल, फलफुल, भाले सिंह, झम्टने बाघ तथा राशी अनुसारका बाह्रवटा जनावर जस्ता कुराहरु भएका पर्दा र सजावट, सानू खल्ती, थैली तथा कपडाका खेलौनाहरु बनाउन प्रयोग हुने मूलभूत विषय-वस्तुहरु नै हुन जसमा गाउँले महिलाहरुले सुमधुर जीवनका बारेमा साँचेको अपेक्षा अभिव्यक्त भएको छ।

          कारचोपी खेलौनाहरु देखाउने तरीका भिन्नाभिन्नै छन। कारचोपी भर्ने तरीका पनि बनाउनेहरुको खुशीअनुसार हुन्छ। कित निकै सूक्ष्म र व्यवस्थित रुपले भरिएको हुन्छ, कि त आफूखुशी उत्ताउलो तरिकाले भरिएको हुन्छ। निकै धेरै परम्परागत कारचोपीहरुले हुनुसम्मको कल्पना, पोटिलो रुप-आकार, ताजा र गाढा रंग र उड्ने र बग्ने जस्तो वातावरणमार्फत सर्वसाधारणहरुको आकांक्षा तथा मनोभिलाषा अभिव्यक्त गरेका छन्।

          यस चित्रमा देखाइएको चरा आकारको झुण्ड्याइने सजावटमा जंगली र उत्ताउलो शैली देखाइएको छ। त्यसको सतहमा कारचोपी भर्ने र काटेर टाँस्ने दुबै तरीका अपनाएर निर्भिक रुपमा सियोले बुट्टा भरिएको छ। त्यसको रुप-आकार निकै सरल र छरितो छ। साथै रंग पनि सादा तर ताजा हुनुका साथै एक रंगदेखि अर्को रंगसित निकै राम्ररी छुट्याइएको देखिन्छ। गाढा रातो र नीलो रंगको फरक पृष्ठभूमिमा गुलाफी रंग, फिक्का पहें‍लो र फिक्का हरियो रंग पनि मिसाइएकाले तमाम कारचोपी हेर्दा आनन्ददायी र लोकप्रिय देखिन्छ।