खेलौना "बाँदर ऊ खोंग र सुँगुर पा चे"

           चीनको लोक कलामा बाँदर ऊ खोंग र सुँगुर पा चेलाई विषयवस्तु बनाएर तयार पारिएका रचनाहरु जीउ‍ँदा-जाग्दा र पोटिला देखिन्छन। तिनको प्रतिनिधित्वयुक्त रचना काल्पनिक कथा "पश्चिमको यात्रा" नामक किताबमा उल्लेखित जादुगर लट्ठी नचाउने बाँदर ऊ खोंग र काँधमा एउटा ठूलो काँडे दठ्ठी बोकेको सुँगुर पा चेलाई मानिएको छ। लोक दुनियाँमा बाँदर ऊ खोंग खेलौना बनाउने क्रममा सामान्यतया हेर्दा साँच्चिकै जस्तो हुने हो कि भनेर त्यतिको ध्यान दिइएको हुँदैन। बरु बाँदरको मानवसित मिल्ने विशेषतालाई समेटेर बाँदरमा देखिने चकचकेपना, फूर्तिलोपना र हाँसो उठ्दो स्वभावमा बढी ध्यान दिएर बनाइएको हुन्छ। उता सुँगुर पा चेको खेलौनामा प्रायजसो त्यसको मूर्ख र सोझो छबी देखाइएको छ।

           यस चित्रमा देखाइएको बाँदर ऊ खोंग र सुँगुर पा चे माथि उल्लेखित गरिए जस्तो देखिन्छ। बाहिरी रुप र हाउ-भाउबाट होस् वा भित्री साहस र स्वभावबाट बाँदर ऊ खोंगमा चकचके र फूर्तिलो शैली प्रदर्शित भएको छ भने सुँगुर पा चे हेर्दा लाटो, सोझो, मूर्ख तर वास्तवमा चलाक रहेको अनि हेर्दा कुरुप तर यसमा सुन्दरता चम्किरहेको देखिन्छ। यस रचनाले अशान्त र फूर्तिलो बाँदर ऊ खोंग र शान्त र सोझो सुँगुर पा चेको स्वभाव सफलताका साथ प्रदर्शित गरिदिएको छ।

           रंगको प्रयोग गर्दा मसिनो र धर्को कोरिएको बुट्टा नभए पनि ठूलो खण्डमा रंग लगाइएको वा यसमा सजाउनका लागि केही रंगीन रेखा कोरिएका छन। रातो र हरियो रंगको प्रयोग गरिएकाले हेर्दा सरल तर सघन देखिन्छ। पींधमा जडिएको बाँसको नलीमा हालिएको मसिनो धागो तन्किंदा बाँदर र सुँगुरका चारवटा खुट्टा हल्लिन सक्छन जसले गर्दा ती दुबै बाँदर ऊ खोंग र सुँगुर पा चे साँच्चिकै जस्तो देखिनुका साथै निकै हाँसोउठ्दा देखिन्छन।