फट्याङग्रो राखिने तुम्बा

        फट्याङग्रो राखिने तुम्बा सामान्यतया थ्याप्चो गोलाकारको हुन्छ। पाकिसकेको तुम्बा लहराबाट टिपेर सुकाइएपछि तुम्बाको आकार अनुसार फरक-फरक शीप-कौशलको प्रयोग गरी त्यसको सतहमा बुट्टा कुँदेर बनाइन्छ। कुँद्ने तरीका दुइ किसिमका हुन्छन। त्यस्तो तुम्बामध्ये एउटालाई मसिनो धर्कोसहितको तुम्बा र अर्कोलाई बुट्टेदार तुम्बा भनिन्छ।

         मसिनो धर्कोसहितको तुम्बामा बुट्टा कुँद्‍दा हेर्दा चिटिक्क परेको साथै राम्रो गुणस्तर भएको तुम्बा छान्नुपर्दछ। त्यसमा मुख्यतया सूक्ष्मताका साथ मसिनो धर्को कुँदिएको हुन्छ। यसमा खासगरी ओपेराका कथा, किंबदन्ती, लच्छिन र मंगलमय पशु-पंक्षी, फूल, घाँस, कीरा र माछा जस्ता कुराहरुलाई विषय-वस्तु बनाएर कुँद्‍ने गरिन्छ। कुँदिएको धर्को निकै मसिनो र बाक्लो हुन्छ र हेर्दा पानी बगे जस्तो निर्विघ्न देखिन्छ। धर्को कुँदिएपछि सामान्यतया तुम्बामा कालो मसी वा फलामे भाँडाको पिंधमा लाग्ने कालो खरानी लगाइन्छ। अनि मसी सुक्नुभन्दा अघि नै रुमालले छिटछिटो पुछिन्छ। मसी वा कालो खरानी कुँदिएको धर्कोभित्र पस्छ र अरु नकुँदिएको ठाउँमा भने तुम्बाकै रंग रहन्छ।

         बुट्टेदार तुम्बा बनाउँदा सर्वप्रथम कुँद्‍नलागेको तुम्बाभरी रातो रंग लगाइन्छ अनि त्यसपछि चक्कुले नरोकिइकन एकै चुड्कीमा विभिन्न प्रकारका बुट्टा कुँदिन्छ। हेर्दा बुट्टा भएको ठाउँमा चौकोस आकारको वा फूल, घाँस आदि विभिन्न बुट्टाहरु सेतो रंगको देखिन्छन्। यसको शैली निकै फुर्तिलो र उच्च हुन्छ।

         तुम्बाको सतहमा कुँदिएपछि त्यसको माथिल्लो भागको बीचमा चक्कुले टेढो किसिमले आरुबखडाको फूलको जस्तो आकारको एउटा बिर्को काटिन्छ। जाडो याममा कुँदिएको तुम्बामा फट्याङग्रो राम्ररी पालिने गरिन्छ। कहिलेकाहीं त छातीमा बोकेको तुम्बाबाट फट्याङग्राको आवाज सुन्दा निकै रमाइलो लाग्छ।

          यस चित्रमा देखाइएको फट्याङग्रो राखिने तुम्बामा धर्कोसहितको तुम्बा र बुट्टेदार तुम्बा छन। धर्कोसहितको तुम्बामा कुँदिएका ओपेराका पात्रहरुको धर्को मसिनो तर गाढा छ अनि हेर्दा निकै भावपूर्ण र जीवन्त देखिन्छ भने बुट्टेदार तुम्बामा कुँदिएको गोदावरी फूल एकदमै शानदार र मनमोहक देखिन्छ।