वल्लो शान्सी प्रान्तको लिन फन क्षेत्रको कारचोपी

         उत्तरी चीनको वल्लो शान्सी प्रान्तमा पर्ने लिन फन क्षेत्रका गाउँ-घरहरुमा विभिन्न पोशाक र जुत्ता, टोपीमा कारचोपी भरेर बुट्टा भर्ने चलन छ। जस्तो कि कलरको छेउमा, बाहुलाको छेउमा, फ्रकको छेउमा, सजाउने फित्तामा, ओढ्ने कपडामा, वाल टोपीमा, जुत्ताभित्र हालिने कपडामा, कमरमा बाँध्ने कपडाको पेटीमा र गन्जीमा बुट्टा भर्ने चलन छ। यसबाहेक तन्ना, झुलको तल्लोपट्टि, ढोकाको पर्दा, सिरक, तकिया, झोला, टेबुल कभर र कुर्सिको ढाड अड्याउने भाग जस्ता दैनिक जीवनमा उपयोगी सामानहरुमा पनि बुट्टाहरु भर्ने चलन छ। ती कारचोपी भरिएका बुट्टाहरुमा प्रायजसो लच्छिन, मंगलमय, खुशी, सुख आनन्द आदि विषयवस्तुहरु छानिएका हुन्छन्। यसमा धनी, लच्छिन र सुन्दर अर्थयुक्त फिनिक्स र प्याउनी फूल, सुख र चित्त बुझ्ने जीवन प्राप्त हुने अर्थयुक्त पाँचवटा आरु समूह, बढीभन्दा बढी सन्तान पाउने अर्थयुक्त कमलको फूल र गेडा, चिरायू अर्थयुक्त सल्लाको रुख र बकुल्ला, खुशी र मंगल अर्थमा रहेको आरुबखडाको रुखमा चढेको मगपी चरा अर्थात् सगुन चरा आदि बुट्टाहरु प्रायजसो देखिन्छन्। यसका साथै ओपेराको कथा र किंबदन्तीमा आधारित कथा-वस्तुहरु पनि छन्।

          यस चित्रमा दुइवटा ड्रेगनले मोतीका दाना खेलाइरहेको देखाइएको छ। यसको रंग हार्दिक र फुर्तिलो हुनुका साथै त्यो रंग एक अर्कासित नमुछिने गरी आपस्तमा स्पष्टसँग छुट्याउन सकिने खालको देखिन्छ। दुइवटा उडिरहेका सुनौला ड्रेगन नागबेली झैं छचल्किइरहेका छन्। तिनको मुख आँ गरी खोलिएको छ र खुरहरु नाँच्ने बेलाको जस्ता आकृतिमा रहेका छन् र यो एकदमै शक्तिशाली र अजंगको देखिन्छ। यसमा सममिताकार ढंगले सल्लाको रुख कारचोपी भर्ने तरिका अपनाइएको छ। साथै बहिरहेको बादल, छचल्किरहेको पानी, चमेरो, किंबदन्तीका आठवटा पात्र आदिले सजाइएकाले यो चित्र भरिपूर्ण र सुव्यवस्थित देखिन्छ।