प्राचीन कालमा मानिसहरुले शहरबासीहरुको रक्षाका लागि शहरलाई घेर्ने गरी खोला खन्नेगर्दथे। यसका साथै यसमा देवतासँग शहरबासीहरुका लागि आशिर्वाद माग्न प्रार्थना गर्नका लागि पनि उनीहरु शहरभित्र "छंग व्हाँग मन्दिर अर्थात् शहर-रक्षक देवताको मन्दिर" बनाउने गर्दथे। यो खासगरी शहरका स-साना खोल्साहरुको रक्षक देवताबाट विकसित भएर प्रचलित भएको थियो। ऐतिहासिक पुस्तकमा सबैभन्दा पहिले टिपोट गरिएको "शहर रक्षक देवता मन्दिर"को निर्माण सन् 239 मा पूर्वी चीनको ऊ हू शहरमा गरिएको थियो।
सन् 1368-1644 मा शासन गर्ने मिंग वंशका संस्थापक सम्राट चु युआन चाङ्गले छंग व्हाँग मन्दिर अर्थात् शहर-रक्षक देवता मन्दिरलाई उच्च तहको स्थान दिएर जोडतोडसँग शहर रक्षक देवताको प्रचार-प्रसार गर्नुभएको थियो। शहर रक्षक देवता रसातलका नायक हुन्। त्यसैले शहर रक्षक देवता मन्दिरमा अवस्थित शहर रक्षक देवताका दुबैपट्टि रसातल संसारका न्यायाधीश, गोरु टाउके भूत, घोडा अनुहारे भूत र मानिसको आत्मा तानेर लाने सेतो अनुहारे भूत र कालो अनुहारे भूत लस्करै उभिएका छन्। मन्दिरमा शहर रक्षक देवताको एउटा मूर्ति सधैंका लागि आसिन गरिएको छ भने हातले उचालेर बाहिर घुमाउन प्रयोगमा ल्याइने शहर रक्षक देवताको अर्को एउटा मूर्ति पनि सुरक्षित राखिएको छ। वसन्त ऋतु, शरद् ऋतु र हिउँद ऋतुमा एकेक पटक देवतालाई घुमाउने गरिन्थ्यो। त्यो दृश्य एकदमै भव्य र रमाइलो हुन्थ्यो। यसका साथै त्यस बेला स्थानीय रितिस्थितियुक्त अन्य गतिविधिहरुको पनि आयोजना गरिन्थ्यो।
यस चित्रमा शहर रक्षक देवताको पाँच धर्को लामा-लामा दारी प्रदर्शित गरिएको छ। रंग लगाउँदा सानो ठाउँलाई रंगाएर विस्तारै-विस्तारै सम्पूर्ण चित्रमा बढाउने-फिंजाउने तरिका अपनाइएको छ जुन हेर्दा फुर्तिलो, गहन, पोटिलो र शानदार देखिन्छ।
|