वल्लो शान सीको फिंग याऊ प्राचीन शहर

         वल्लो शान सीको फिंग याऊ प्राचीन शहरलाई सन् 1997 मा "विश्व सम्पदा सूची"मा समावेश गरिएको छ। यस शहरका सम्बन्धमा गरेको मूल्याङ्कनमा विश्व सम्पदा परिषद्ले भनेको छ: वल्लो शान सीको फिंग याऊ प्राचीन शहर चीनमा संरक्षित गरिएको सबैभन्दा सम्पूर्ण प्राचीन शहर हो। त्यस शहरले त्यहाँको विशेषतायुक्त साँस्कृतिक, सामाजिक, आर्थिक तथा धार्मिक विकास सम्बन्धी सम्पूर्ण परिदृश्य जनता समक्ष प्रस्तुत गर्दैआएको छ।

(चित्र:फिंग याऊ प्राचीन शहरको पर्खाल)

  वल्लो शान सीको फिंग याऊ प्राचीन शहरको स्थापना इशा पूर्व नवौं शताव्दीमा भएको थियो। सो शहरको क्षेत्रफल 2.25 वर्गकिलोमिटर मात्र छ। अहिले हामीले देख्नपाउने त्यस शहरका मुख्य भवनहरु करिब छ सय वर्षअघि बनाइएका भवन हुन। सो शहरमा पर्खाल, सडक, शहरका बासिन्दाहरुका भवन, साना पसल र मन्दिरहरु राम्रोसँग संरक्षित गरिएका छन। सो शहरमा हजारौं वर्षदेखि यता चीनको हान जातिको परम्परागत सँस्कृति र विचार प्रतिबिम्बित भएको छ। यस शहर चीनको मिंग र छिंग वंशमा वास्तु-शैलीको ऐतिहासिक संग्रहालय हो।

          वल्लो शान सीको फिंग याऊ प्राचीन शहर सबैभन्दा पहिले 2800 वर्षभन्दा अघि निर्माण गरिएको थियो। त्यस बेला सो शहरमा माटोको पर्खाल मात्र थियो। सन् 1370 मा त्यस माटोको पर्खाललाई भत्काई इँटा र ढुङ्गाद्बारा निर्माण गरिएको थियो। हालसम्म सो शहरले पहिलेको शैलीलाई कायम राख्दैआएको छ।

            फिंग याऊ प्राचीन शहरको पर्खालको कूल लम्बानइ 6000 मिटरभन्दा लामो र बाह्र मिटर अग्लो छ। पर्खालको आकार कछुवा जस्तै छ। शहरका छवटा मुख्य द्बार छन्। दक्षिणी द्बार कछुवाको टाउको र द्बार बाहिरको इनार कछुवाका दुइवटा आँखा जस्तै छन। उत्तरी द्बार कछुवाको पुच्छर हो, र त्यो समस्त शहरको सबैभन्दा होचो ठाउँ हो। शहरको सबै पानी त्यहींबाट निस्किन्छ। चीनको परम्परागत सँस्कृतिमा कछुवा लामो आयुको द्योतक हो। पर्खाल कछुवा जस्तै हुनुको अर्थ फिंग याऊ प्राचीन शहर सशक्त र अमर रहोस् भन्ने प्राचीन चीनका मानिसहरुहरुको शुभेच्छा हो।

 

(चित्र:मिंग छिंग वंशमा प्राचीन शहरका वाणिज्य सडक)

    शहरभित्र दक्षिणदेखि उत्तरतिर जाने एउटा सोझो सडक छ। त्यसबाहेक त्यहाँ अरु धेरै साना-साना सडक र गल्लीहरु पनि छन। फिंग याऊ प्राचीन शहरका बासिन्दाहरुको आवास-भवन मोटामोटी रुपमा चार-कुने छन। ती भवनको दायाँ र बायाँको भाग बराबर छन। हरेक आँगन बाहिरको पर्खाल सात/आठ मिटर अग्लो छ। यी भवनहरुको झ्यालमा राम्रोसँग कुँदिएका चित्रहरु, इँटाबाट बनाइएका साना मूर्तिहरु र मानिसहरु आफैले बनाएका कर्तनहरुबाट गाउँ-बस्तीको गहिरो भावना स्पष्ट झल्किन्छ। हाल फिंग याऊमा संरक्षित चार हजारभन्दा बढी सामान्य भवनहरुमध्ये प्राय सबैजसो मिंग र छिंग वंशकालमा निर्माण गरिएका हुन। तीमध्ये चार सयभन्दा बढी भवनहरुलाई पूर्णरुपमा संरक्षित गरिएको छ। ती भवनहरु हालसम्म हान जातिको बसोबास क्षेत्रमा पूर्ण रुपमा संरक्षित गरिएका प्राचीन कालका निवास भवन हुन।

          फिंग याऊ प्राचीन शहरमा संरक्षित छवटा मन्दिर र सडक छेउका साना पसलहरु सबै हालसम्म पनि पहिलेका जस्तै छन। तीनमा कुनै परिवर्तन भएको छैन। ती पूराना वास्तुहरुबाट मिंग र छिंग वंशको समृद्धि रमणीयता दर्शाइएको छ।

            फिंग याऊ प्राचीन शहरमा धेरै पूरातात्त्विक र प्राचीन स्थलहरु छन्। जस्तै शहरको उत्तर-पूर्वी भागमा रहेको चन को मन्दिरमा पर्ने "वान फो तेन" दरबार हाल चीनमा रहेको तेस्रो नम्बरको काठद्बारा बनाइएको वास्तु हो। त्यसको इतिहास एक हजार वर्षभन्दा बढी छ। दरबारभित्र रहेका दशौं शताव्दीमा बनाइएका रंगीन मूर्तिहरु प्राचीन चीनको रंगीन मूर्तिकलाको ज्वलन्त उदाहरण हुन। यसका अतिरिक्त, छठौं शताव्दीमा स्थापना गरिएको "श्वांग लीन स"मन्दिरमा दशवटाभन्दा बढी ठूला दरबारहरु छन। यी दरबारहरुमा तेह्रौं-सत्रौं शताव्दीमा बनाइएका माटाका रंगीन मूर्तिहरुको संख्या दुइ हजारभन्दा बढी छ। त्यसलाई "प्राचीन चीनको रंगीन मूर्ति-कलाको भण्डार" भनिएको छ। यस बाहेक, फिंग याऊ प्राचीन शहरमा प्राचीन कालका लिपीहरु पनि धेरै छन जसको संख्या एक हजारभन्दा बढी छ।

 

(चित्र:फिंग याऊ प्राचीन शहरमा रहेको "र शंग छांग" नामक हुण्डी व्यवस्था शुरु गर्ने चीनको पहिलो बैंक)

    चीनको बैकिंग कारोबारको इतिहासमा फिंग याऊ प्राचीन शहरको विशेष स्थान छ। सन् 1824 "र शंग छांग" नामक हुण्डी व्यवस्था शुरु गर्ने चीनको पहिलो बैंक फिंग याऊ प्राचीन शहरमा स्थापना भएको थियो। सो बैंकले परम्परागत रुपमा पैसा दिने तरिकामा परिवर्तन गरी हुण्डीको व्यवस्था शुरु गरेको थियो। त्यसपछि सो बैंकको कार्य चीनमा मात्र नभएर जापान, सिंगापुर र रुस आदि मुलुकसम्म फैलिएको थियो। त्यसलाई "विश्वको प्रथम हुण्डी बैंक" मानिएको छ। सो बैंकको प्रोत्साहनमा फिंग याऊ प्राचीन शहरमा रहेका अन्य बैंकहरु पनि तीव्र गतिले विकसित हुँदैआएको कुरा तथ्यबाट प्रमाणित भएको छ। त्यस शहरको सबैभन्दा समृद्ध समयमा त्यहाँ यस किसिमका बैंकहरुको संख्या 22 पुगेको थियो। यो संख्या त्यस बेला चीनमा यस किसिमका बैंकहरुको कूल संख्याको आधा थियो। त्यस बेला फिंग याऊ प्राचीन शहर चीनको बैकिंग व्यवसायको केन्द्र बनिसकेको थियो।

         हाल फिंग याऊ प्राचीन शहरमा पर्ने पश्चिमी सडक एक सय वर्षभन्दा अघिको "बैकिंग सडक" नै थियो। त्यस सडकमा हाल पनि धेरै साना-साना पसलहरु छन्। त्यहाँको वातावरण निकै रमाइलो छ। ती पसलहरुको लाममा माथि चर्चा गरिएको "र शंग छांग" नामक हुण्डी व्यवस्था शुरु गर्ने चीनको पहिलो बैंक पनि रहेको छ। ती पसलहरु होचा र साधारण भए तापनि पहिले त्यो निकै ठूलो, देशभित्र र बाहिर समेत फैलिएको बैकिंग व्यवसायको केन्द्र थियो।

             पहिलेको फिंग याऊ शहर रमाइलो र सुनौलो शहर थियो। यो शहर अझैसम्म पनि जीवन्त देखिन्छ। एउटा प्राचीन पर्खालले हालको फिंग याऊ शहरलाई दुइ भागमा विभाजित गरेको छ। यी दुइ भाग बीच ज्यादै फरक देखिन्छ। पर्खालभित्रका सडक, पसल र भवनहरुले छसय वर्षअघिको आकारलाई कायम राखेका छन भने पर्खाल बाहिरको भागलाई "नयाँ शहर" भनिन्छ। हालआएर फिंग याऊ शहर प्राचीन र आधुनिक वास्तुहरुको संगमस्थल बनेको छ। त्यो एउटा निकै रमणीय र सुन्दर ठाउँ बनेको छ।