यांग छिंग बाजा

           यांग छिंग बाजाको अर्को नाउँ "डुल्सिमर"हो। त्यो चीनमा सधैं उपयोग हुने ठोकेर बजाउने बाजा हो। त्यसको स्वर सुस्पष्ट, ताजा र फट्किलो छ। जसको प्रर्दशन-क्षमता निकै बढी छ। त्यसलाई एक्लै र सामूहिक रुपमा पनि बजाउन सकिन्छ। साथै त्यसले ओपेरा, कथानक संगीत-प्रदरशनहरुमा साथ पनि दिनसक्छ। स्थानीय बाजाद्बारा सामूहिक रुपमा बजाइने कार्यमा वा जातीय आर्केस्ट्रामा त्यसको महत्वपूर्ण स्थान छ।

           ऐतिहासिक कृतिमा अंकित गरिएअनुसार, मध्य-युगअघि मध्य-पूर्वका या सू र फारस आदि प्राचीन अरबेली मुलुकहरुमा एक किसिमको ठोकेर बजाउने बाजा प्रचलित थियो। जसको नाउँ सा थाइ लि छिंग बाजा थियो। चीनको मिंग राज-वंशकालमा चीन र पश्चिमी अनि पूर्वी एशिया बीचको मैत्रीपूर्ण आदान-प्रदान दिनप्रति दिन घनिष्ट हुँदैआउनुका साथसाथै सा थाइ लि छिंग बाजा पनि फारसबाट समुद्री मार्गमार्फत चीनमा प्रवेश भएको थियो। शुरुमा त्यो क्वांग तोंग प्रान्तमा मात्र प्रचलित थियो। अनि त्यसपछि विस्तारै-विस्तारै चीनभरि फिंजिएको थियो। पछि चिनियाँ स्थानीय कलाकारहरुले त्यसमा सुधार गरेपछि सा थाइ लि छिंग क्रमशः चीनको जातीय बाजा— यांग छिंग बाजाका रुपमा परिवर्तित भएको हो।

           यांग छिं‍ग बाजा मुख्यतः काठबाट बनाइएको बाजा हो। यांग छिंग बाजाको मुख्य भाग भनेको त्यसको गुन्जन बाकस नै हो जसको आकार पुतलीको जस्तै छ। यसैले मानिसहरुले त्यस बाजालाई पुतली छिंग पनि भन्नेगरेका छन। त्यो बाजा बजाउँदा बाजालाई यौटा काठको दराजमा राखिन्छ अनि दायाँ र बायाँ हातले बाँसबाट बनाइएका स-साना घन आकारका गजाले तारमा ठोकेर स्वर निकालिन्छ।

          यांग छिंग बाजा बजाउने धेरै तरिका छन। यसको स्वर पनि विविध खालको छ जसको तल्लो स्वर रेन्ज गम्भीर र गहन छ। मध्यम स्वर रेन्ज चोखो र पारदर्शी अनि उच्च स्वर रेन्ज सुस्पष्ट र मनमोहक छ। छिटो-छरितो सं‍गीत बजाउनका लागि यांग छिंग बाजा अनुकुल छ र विशेष गरी हलुका, फूर्तिला स्वभाव र खुशीयाली र हर्षोल्लासपूर्ण भावनाको प्रदर्शन गर्नका लागि यांग छिंग बाजा सबैभन्दा उचित बाजा हो।

            चीनमा यांग छिंग बाजाको इतिहास चार सय वर्षभन्दा बढी पूरानो छ। यति समयमा चीनका बाजा-निर्माताहरुले अनुसन्धान गरी यांग छिंग बाजाका धेरै नयाँ ढाँचा तयार पारिसकेका छन। जस्तो स्वर-परिवर्तित यांग छिंग बाजा, धुन फेर्ने यांग छिंग बाजा, चन् यांग छिंग बाजा र इलेक्ट्रोनिक यांग छिंग बाजा आदि। यहाँनेर विशेष उल्लेखनीय बाजा इलेक्ट्रोनिक यांग छिंग बाजा हो। यस्तो यांग छिंग बाजामा बाजाको मुख्य भाग, गुन्जन बाकस, ध्वनिप्रसारक यन्त्र आदि भाग समावेश छन। त्यसलाई एक्लै पनि बजाउन सकिन्छ अनि अरु संगीत वा ओपेराका लागि साथ दिने बाजाका रुपमा पनि बजाउन सकिन्छ।

           धेरै वर्षसम्मको विकासपछि चीनमा यांग छिंग बाजाको निर्माण, बाजा बजाउने कौशल वा संगीतको रचनामा चिनियाँ परम्परागत विशेषता वा चिनियाँ जातीय शैली तयार भइसकेको छ। हाल त्यो मानिसहरु मन पराउने बाजा बनिसकेको छ।

            संगीत:《छुन् च्यांग नदीको बसन्त》