चीनमा प्रजातान्त्रिक दलहरु

          चीनमा चिनियाँ कम्युनिष्ट पार्टी बाहेक समष्टिगत रुपमा प्रजातान्त्रिक दलहरु भनेर चिनिएका 8 वटा राजनीतिक पार्टीहरु पनि छन् । तिनीहरु हुन्: चीन कोमिन्ताङ क्रान्तिकारी समिति, चीन प्रजातान्त्रिक दल, चीन प्रजातान्त्रिक राष्ट्र-निर्माण संघ, प्रजातन्त्र प्रवर्द्धन हेतु चीन संघ, चिनियाँ किसान-मजदूर प्रजातान्त्रिक पार्टी, चीन च-कुङ ताङ, चिउ-सान समाज तथा थाइवान प्रजातान्त्रिक स्वशासन लीग। यिनीहरु धेरैजसो जापानी आक्रमण विरोधी युद्ध र राष्ट्रिय मुक्ति युद्धताका क्रमशः निर्मित र विकसित भएरआएका हुन्। यी प्रजातान्त्रिक दलहरु राजनीतिक क्षेत्रमा चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वको समर्थन गर्दछन् र यो कम्युनिष्ट पार्टीसित दीर्घकालीन सहयोग र साझा संघर्षको प्रक्रियामा तिनले गरेको ऐतिहासिक विकल्प हो। ती सबै प्रजातान्त्रिक दलहरु संविधानको निर्धारित हदभित्र राजनीतिक स्वतन्त्रता, संगठनात्मक स्वाधीनता एवम् वैधानिक स्थानको समानताको उपभोग गर्न पाउँछन्। चिनियाँ कम्युनिष्ट पार्टी तथा विभिन्न प्रजातान्त्रिक दलहरु बीच सहयोग गर्नका लागि मौलिक नीति हो— लामो समयदेखिको सह-अस्तित्व, एक-अर्काको अनुगमन, खुला व्यवहार र मान-अपमानको सहभोग"।

          यी सबै प्रजातान्त्रिक दलहरु न त सत्ताहीन पार्टी हुन्, न त विरोधी पार्टी नै। तिनीहरु राज-कार्यका सहभागी पार्टी हुन्। अहिले चीनका जन-कांग्रेसको स्थायी समिति, राजनीतिक परामर्शदात्री सम्मेलनको समिति, सरकारी संस्था र अर्थतन्त्र, संस्कृति, शिक्षा तथा विज्ञान-प्रविधि जस्ता क्षेत्रका विभिन्न तहका कार्यालयहरुमा ती प्रजातान्त्रिक दलका निकै सदस्यहरुले नेतृत्वदायी जिम्मेवारी वहन गरिरहनुभएको पाइन्छ। उदाहरणका लागि भनौं सम्बन्धित आठवटा प्रजातान्त्रिक दलका वर्तमान केन्द्रीय समिति अध्यक्षहरुले राष्ट्रिय जन-कांग्रेसको स्थायी समितिका उपाध्यक्ष अथवा चीन जन-राजनीतिक परामर्शदात्री सम्मेलनको राष्ट्रिय समितिका उपाध्यक्षको पद सम्भालिरहनुभएको छ। यसका साथै विभिन्न प्रजातान्त्रिक दलहरुमा सदस्यहरुको संख्यामा ठूलो वृद्धि भएको छ अनि विभिन्न प्रान्त, स्वायत्त प्रदेश एवम् केन्द्रशासित शहर तथा विभिन्न ठूला र मझौला शहरहरुमा समेत प्रजातान्त्रिक दलहरुका स्थानीय अंग र आधारभूत अंग स्थापना गरिएका छन्। सन् 2011सम्म विभिन्न प्रजातान्त्रिक दलका सदस्यहरुको संख्या आठ लाखभन्दा बढी छ।

चीन कोमिन्ताङ क्रान्तिकारी समिति

चीन कोमिन्ताङ क्रान्तिकारी समिति, चिनियाँ भाषामा "मिन-क" भन्ने संक्षिप्त नामले चिनिन्छ। यसको स्थापना सन् 1948 को जनवरी 1 तारिखका दिन भएको थियो। चिनियाँ कोमिन्ताङ पार्टी अन्तर्गतको प्रजातान्त्रिक पक्ष तथा अन्य देशभक्त प्रजातान्त्रिक व्यक्तिहरुद्वारा राजनीतिक गठबन्धनका आधारमा बनाइएको यो क्रान्तिकारी समिति, चिनियाँ विशेषतायुक्त समाजवादको निर्माण र मातृभूमिको एकीकरण सम्बन्धी महाकार्यमा प्रयासरत् छ। यसका सदस्यहरुको संख्या 82 हजार जति छ। 

चीन प्रजातान्त्रिक दल

         चीन प्रजातान्त्रिक दलको छोटकरी चिनियाँ नाम "मिन-मङ" हो। यो दल सन् 1941को मार्चतिर "चीन प्रजातान्त्रिक राजनीतिक दलहरुको गठबन्धन" को नाममा स्थापित भएपश्चात् सन् 1944मा पुनर्गठन भएको थियो । साथै हालको नाम पनि लिने गरिएको थियो। संस्कृति तथा शिक्षण सम्बन्धी कामकाजमा लागेका बुद्धिजीवीहरुको प्रधानतामा आधारित समाजवादी-श्रमजीवीहरु तथा समाजवाद-समर्थक देशभक्तहरुको यो राजनीतिक गठबन्धन, समाजवादको सेवामा अर्पित राजनीतिक दल हो। यसका सदस्यहरुको संख्या 1 लाख 84 हजार4सय छ । 

चीन प्रजातान्त्रिक राष्ट्र-निर्माण संघ

          चीन प्रजातान्त्रिक राष्ट्र-निर्माण संघ, यसलाई छोटकरीमा "मिन-चेन" भनिन्छ। सन् 1945को डिसेम्बरमा स्थापित यस संघका 1 लाख 9 हजार सदस्यहरु छन् । तिनीहरु, खासगरी राष्ट्रिय उद्योग-वाणिज्य क्षेत्रका देशभक्त व्यवसायीहरु तथा उहाँहरुसित सम्बन्धित बुद्धिजीवीहरु आदि हुन्। 

प्रजातन्त्र प्रवर्द्धन हेतु चीन संघ

          प्रजातन्त्र प्रवर्द्धन हेतु चीन संघको संक्षिप्त चिनियाँ नाउँ "मिन-चिङ" हो। यसको स्थापना सन् 1945को डिसेम्बरमा भएको थियो। यस संघका 1लाखभन्दा बढी सदस्यहरुमा, खासगरी शिक्षा, संस्कृति, प्रकाशन, विज्ञान तथा अन्य काममा संलग्न उच्च एवम् मध्यम स्तरका बुद्धिजीवीहरु रहेका छन्। 

चिनियाँ किसान-मजदूर प्रजातान्त्रिक पार्टी

          छोटकरीमा "किसान-मजदूर पार्टी" भनिने यस पार्टीको स्थापना सन् 1930को अगष्टमा भएको थियो। यो चिकित्सा-स्वास्थ्य, विज्ञान-प्रविधि तथा संस्कृति-शिक्षा क्षेत्रमा कार्यरत् मध्यम एवम् उच्च स्तरका बुद्धिजीवीहरु आफ्ना मुख्य सदस्य रहेको, समाजवादी श्रमजीवीहरु तथा समाजवादको समर्थन गर्ने देशभक्तहरुको राजनीतिक गठबन्धन हो। यसका सदस्यहरु 1 लाख 2 हजारभन्दा बढी छन् । 

चीन च-कुङ ताङ

          चीन च-कुङ ताङको संक्षिप्त नाउँ "च-कुङ ताङ" हो। सन् 1925को अक्टोबरमा स्थापित यस प्रजातान्त्रिक दलका सदस्यहरु खास गरी स्वदेश फर्केका चिनियाँ प्रवासी तथा तिनका नाता-कुटुम्ब हुन्। यसका सदस्यहरु 30 हजारभन्दा बढी छन्।

चिउ-सान समाज

          सन् 1946को मेमा स्थापित यस समाजका मुख्य सदस्यहरु विज्ञान-प्रविधि, संस्कृति-शिक्षा तथा औषधोपचार-स्वास्थ्य क्षेत्रका उच्च एवम् मध्यम स्तरका बुद्धिजीवीहरु हुन्। यसमा 1लाखभन्दा बढी सदस्यहरु छन् ।

थाइवान प्रजातान्त्रिक स्वशासन लीग

          छोटकरी चिनियाँ नाउँ "थाइ-मङ" भनेर चिनिने यस लीगको स्थापना सन् 1947को नभेम्बरमा भएको थियो। यो चीनको मुख्य भूभागमा बसोबास गर्ने थाइवानेलीहरुबाट गठित, समाजवादी श्रमजीवीहरु तथा समाजवादको समर्थन गर्ने देशभक्तहरुको राजनीतिक गठबन्धन हो। यसका सदस्यहरु 2 हजार 1 सय छन्।