फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पूर्वप्रधानमन्त्री: झलनाथ खनाल

(GMT+08:00) 2015-05-21 16:45:29
          नेपाल-चीन नमूनाको सम्बन्धझलनाथ खनालहाम्रो देश नेपाल दक्षिण एसिया र मध्य एसियाको कडीका रुपमा रहेको हिमालय पर्वत शृंखलाको काखमा बसेको छ । यो देश एउटा अत्यन्त रणनीतिक महत्वको स्थलमा पनि अवस्थित छ । उत्तरमा जनवादी गणतन्त्र चीन र दक्षिणमा गणतन्त्र भारत हाम्रा दुर्इ छिमेकी मुलुकका रुपमा रहेका छन्। यी दुवै छिमेकी मुलुकसँगको सम्बन्ध धेरै प्राचीन कालदेखि रहँदै आएको छ । त्यसमध्ये पनि चीनसँगको सम्बन्ध अझै गहिरो रहिआएको छ । इतिहास पूर्वकालदेखि नै हाम्रा दुर्इ देशबीचका सम्बन्ध निरन्तर विकसित हुँदै आएका छन्। हाम्रा दुर्इ देशहरु विभिन्न रमणीय हिमालय पर्वत शृंखलाबाट जोडिएका छन्। अनेक नदीनाला र पर्यटकीय क्षेत्रबाट पनि यी दुर्इ मुलुक जोडिएका छन्। त्यत्तिकै महत्वपूर्ण इको सिस्टमहरुबाट पनि यी दुर्इ देश जोडिएका छन्। यी दुर्इ देश सम्बन्धमा निकट मात्र छैनन्‍, हामी छिमेकी पनि हौँ । यसरी नै हाम्रो दुर्इ देशका सम्बन्ध अत्यन्त गहिरा रहेका छन्। जति बेला इतिहास निर्माण हुँदै थियो, त्यसको पूर्वघडीदेखि पनि यो भूखण्डका जनताहरु एकअर्को देशमा आवतजावत गर्ने, सम्बन्धहरु निर्माण गर्ने कामहरु गर्दै आएका थिए । जबदेखि दुवै राज्यको निर्माण हुँदै गयो, राज्यबीचको सम्बन्ध पनि विकसित हुँदै आयो । यसरी विकास गर्ने क्रममा दुवै देशका अनेकन नेताहरुले, प्रशासकहरुले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्। दुर्इ देशको सम्बन्ध विकास गर्ने क्रममा अनेक ऐतिहासिक घटना पनि घट्‍दै आएका छन्। यी दुर्इ देशका विभिन्न राजघरानाबीच पनि यस क्रममा सम्बन्धहरु विकसित हुँदै आए । हाम्रो देशकी छोरी भृकुटीको तिब्बतमा विवाह भइसकेपछि त्यहाँ बौद्ध धर्मको प्रचार गर्ने, बौद्ध धर्मलार्इ फैलाउने काम गरिन्‍ । त्यस माफत पनि दुई देशका सांस्कृतिक सम्बन्धहरु विकसित भए र अझै गहिरिँदै गए । हाम्रो देश बुद्धको जन्मथलो पनि हो । यहाँबाट विकसित भएको बुद्ध दर्शन र धर्म संसारव्यापी हुने सिलसिलामा चीनमा फैलिएर गयो र यसबाट हाम्रा दुर्इ देशका सांस्कृतिक आधारहरु बलिया बन्दै गए । दोस्रो विश्वयुद्धपछि सिंगो विश्वको अन्तरसम्बन्ध बदलियो । शक्ति संरचना पनि बदलियो । दक्षिण एसिया र मध्य एसियाको अवस्था पनि बदलियो । सम्पूर्ण एसिया करिब करिब उपनिवेशवादको जुवामा जकडिन पुग्यो । उपनिवेशवादको जुवालार्इ एसियाले फुकालेर फ्‍याँकिदियो । हाम्रा दुई छिमेकी मुलुक चीन र भारत पनि स्वतन्त्र बने । स्वतन्त्र चीनसँग हाम्रा सम्बन्धहरु अरु नयाँ ढंगले विकसित गर्ने संभावनाहरु बढ्‍दै गए । त्यसै क्रममा 1 अगस्त 1955मा नेपाल र चीनबीच औपचारिक रूपमा दौत्य सम्बन्ध स्थापना भयो । यो दौत्य सम्बन्ध पञ्चशीलका पाँच सिद्धान्तमा आधारित रहेको छ । पञ्चशीलका पाँच सिद्धान्तहरू अन्तर्राष्टि्रय सम्बन्ध स्थापना गर्ने सिलसिलामा विकसित भएका अत्यन्त महत्वपूर्ण सिद्धान्त हुन्। दौत्य सम्बन्ध स्थापना भएपछि हाम्रा दुर्इ देशका सम्बन्धहरू नयाँ ढंगले विकसित भए । राज्यस्तरबाट विकसित भएको सम्बन्ध दुर्इ देशका विभिन्न संघसंस्था, जनस्तरमा समेत विकसित हुँदै आएका छन्। राजनीतिक क्षेत्रमा मात्र हैन आर्थिक क्षेत्र, सामाजिक क्षेत्र, सांस्कृतिक लगायत अन्य बहुआयामिक क्षेत्रमा यी सम्बन्धहरू विकास र विस्तार हुँदै आएका छन्। दौत्य सम्बन्ध स्थापनापछि दुर्इ देशबीच सरसहयोगको वातावरण पनि विस्तार हुँदै आएका छन्। चीनले नेपालमा धेरै क्षेत्रमा सहयोग गर्दै आएको छ । हाम्रा देशका महत्वपूर्ण राजमार्गहरू निर्माण गर्न, महत्वपूर्ण भवनहरू निर्माण गर्न पनि चीनले सहयोग गरेको छ । चीनले हाम्रो देशमा राष्टि्रय महत्वका उद्योगधन्दा स्थापना गर्नमा पनि अघिल्ला दशकमा महत्वपूर्ण योगदान दिएको थियो । त्यसलार्इ हामीले जुन ढंगले संरक्षण र अझै विस्तार गर्नुपर्ने थियो, त्यो गर्न सकेनौँ । यो दु:खको कुरा हो । तथापि चीनले उदात्त मनले गरेका ती सहयोगहरूलार्इ हामी कहिल्यै भुल्न सक्दैनौँ । ती सहयोगले नेपालको राष्टि्रय अर्थतन्त्र निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको तथ्यलार्इ हामीले बिर्सिन हुँदैन । हाम्रो देशमा जलविद्युत्‍ आयोजनाहरू निर्माण गर्ने काममा, सिँचाइको विकास गर्ने काममा पनि चीनले थुप्रै सहयोग गरेको छ । अहिले विश्वमा चीन र नेपाल रणनीतिक साझेदारका रूपमा विकसित हुने संभावना बढिरहेको छ । अब दुवै देशले यी सहयोगलार्इ दीर्घकालीन रूपमा अघि बढाउनुपर्ने आवश्यकता रहेको छ ।चीन निकै नै पिछडिएको विकासोन्मुख अवस्थाबाट उठेर धेरै माथि पुगेको छ । चीनको आर्थिक विकासको धरातल निकै माथि उठेको छ । चीन अहिले चिनियाँ मोडलको समाजवाद निर्माण गर्नमा सफल भएको छ । यो मोडल अपनाएपछि चीनको आर्थिक विकास तीव्र रूपमा भइरहेको छ । चीनले आर्थिक, राजनीतिक, सुरक्षा, सामाजिक, सांस्कृतिक, आर्थिक सबै क्षेत्रमा जुन किसिमको समुन्नति कायम गर्दै आएको छ, चिनियाँ जनताको जीवनस्तर त्यत्तिकै माथि उठ्‍दै आएको छ । समग्र चीन संसारको एउटा उदीयमान शक्तिका रूपमा देखापरेको छ । हामीले हेर्दाहेर्दै संसारको दशौं/एघारौं नम्बरको अर्थतन्त्र रहेको चीन विस्तारै विस्तारै एकपछि अर्कोलार्इ उछिन्दै उछिन्दै अहिले संसारको पहिलो आर्थिक शक्तिका रूपमा विकसित भएको छ । पहिलो आर्थिक शक्ति भएपछि पनि चीन संसारमा शान्ति स्थापनाको लागि लागिपरिरहेको छ । अरु केही देशहरू आर्थिक र सामरिक रूपमा शक्तिसाली भएपछि अरु देशमाथि प्रभुत्व कायम गर्ने ढंगले प्रस्तुत हुने गरेका छन्‍ । तर चीनले त्यस्तो नीति लिएको छैन, चीनले शान्तिको नीति लिएको छ । यसले गर्दा चीन विश्व शान्तिको एउटा विश्वसनीय शक्तिका रूपमा विकसित हुँदै आएको छ । यसरी आधुनिक समाजवादी चीन जति शक्तिसाली हुन्छ, विश्वशान्ति त्यति नै सुदृढ हुँदै जानेछ । यस्तो शक्तिलार्इ हामीले उत्तरतिरको छिमेकीका रूपमा पाउनु हामी नेपालीका लागि गौरवको विषय हो । यस्तो महत्वपूर्ण शक्ति छिमेकी हुनुको जुन लाभ हामीले प्राप्त गर्नुपर्ने हो, ती लाभ अझै प्राप्त गर्न सकेका छैनौं । हामीसँग सामान्यभन्दा सामान्य पूर्वाधार पनि निर्माण गर्न सकेका छैनौं । बल्तल्ल कोदारी राजमार्ग निर्माण गरेका थियौँ र अहिले स्याप्रmुबेसी सडक पनि निर्माण गरेका छौँ । अहिलेसम्म चीनसँगको जम्मा दुई वटा नाका मात्र खोल्न सकेका छौँ । हामीले पूर्वदेखि पश्चिमसम्म थुप्रै नाका खोल्न सक्छौँ । जति नाकाहरू खोल्दै जान्छौँ, त्यति नै दुई देशका आर्थिक सम्बन्धहरू विस्तृत हुँदै जान्छन्‍ । चीन एउटा विशाल बजार पनि हो । संसारको सबभन्दा ठूलो बजारमध्येमा चीन पनि पर्ने हुनाले हामी नेपालीले उत्पादन गरेका वस्तु चिनियाँ बजारमा लैजान सकेमा ठूलो लाभ लिन सकिने अवस्था रहेको छ । आर्थिक रूपले प्राप्त गर्ने फाइदा मात्रै होइन, राजनीतिक तथा सांस्कृतिक रूपले पनि विभिन्न फाइदाहरू प्राप्त गर्न सकिन्छ । ती लाभहरू दुवै देशले प्राप्त गर्न सक्ने संभावना हुँदाहुँदै पनि हामीले धेरै काम गर्न सकेका छैनौँ । । चीनबाट लाभ लिनमा विगतमा थुप्रै कमी कमजोरीहरू भएका थिए, त्यसलार्इ अब आगामी दिनमा हटाउँदै लैजानु पर्छ । हाम्रो देश अहिले संविधान निर्माण गर्ने काममा जुटेको छ । संविधान निर्माणको काम सकिएपछि पूर्ण रूपमा आर्थिक समृद्धि हासिल गर्नमा केन्दि्रत हुनुपर्छ । त्यसबेला हाम्रो अन्तर्राष्ट्रिय सम्बन्धहरूलार्इ पनि अझ उन्नत बनाउनुपर्ने आवश्यकता हुन्छ । त्यो अवस्थामा चीन र नेपालबीचका सम्बन्ध र सहयोगहरूले पनि नयाँ क्षितिज उघार्नु अत्यावश्यक हुन्छ । हाम्रो कृषि क्षेत्रलार्इ उत्पादनमुखी बनाउनका लागि चीनसँगको सम्बन्धलाई अझै विकास गर्न सक्छौँ र चीनको अनुभव लिन सक्छौँ। जलस्रोतको व्यापक उपलब्धतालाई सदुपयोग गर्दै जलविद्युत् आयोजनाहरू निर्माणका लागि पनि चीनको सहयोग लिन सक्छौँ । जलविद्युत विकासमा केही सरसहयोगका कुरा अघि बढिरहेका पनि छन्, तिनीहरूलार्इ अझ व्यापक बनाउनु आवश्यक छ । खासगरी ठूलठूला आयोजनामा चिनियाँ सहयोग भित्र्‍याउन सक्छौं । जलविद्युत्‍बाट प्राप्त उmर्जाको प्रयोगले उद्योगधन्दाहरू निर्माण गर्न सक्छौं । नेपाल अझै पूर्वाधार निर्माणको दृष्टिले पछाडि नै छ । सबै जिल्लामा हामीले बाटाघाटाहरू पुर्‍याइसकेका छैनौँ । यसलार्इ राष्ट्रव्यापी रूपमा सडक सञ्जाल विस्तार गर्नुपर्ने आवश्यकता छ । उत्तर(दक्षिण राजमार्गहरू निर्माणलार्इ हामीले अबको प्राथमिकतामा राख्नुपर्छ । त्यसमा चिनियाँ सहयोग प्राप्त गर्न सकिने संभावना प्रशस्त छ । यसै गरी पूर्वपश्चिम राजमार्ग अहिले तरार्इमा छ । यस्तै राजमार्ग मध्यपहाडी राजमार्गको रूपमा पनि विकास गर्दैछौँ । यसलार्इ पनि त्यत्तिकै तीव्रता दिनुपर्ने आवश्यकता छ । यसै गरी हवार्इ मार्ग र रेलमार्गलार्इ पनि विकसित गर्दै लैजानुपर्ने आवश्यकता छ । भर्खरै पोखरा एयरपोर्टलार्इ अन्तर्राष्टि्रय एयरपोर्टका रूपमा विकसित गर्ने सम्बन्धमा चीनसँग सम्झौता भएको छ, यसले नेपालको पर्यटन विकासमा महत्वपूर्ण योगदान दिने छ । लुम्बिनीमा अन्तर्राष्टि्रय एयरपोर्ट बनाउने सम्बन्धमा पनि हस्ताक्षर भएको छ । यी दुवै विमानस्थालको निर्माणले नेपालको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण स्थान हासिल गर्ने छन् । निजगढमा निर्माण हुने अन्तर्राष्टि्रय विमानस्थलमा पनि चीनको सहयोग हुने संभावना छ । त्यतातिर पनि हामीले पहल गर्नु आवश्यक छ । रेलमार्ग अर्को विराट संभावनाको कुरा छ । मानिसले चाहेमा गर्न नसकिने कुरा केही छैन भन्ने उदाहरण चीनले देखाएको छ । हामीले मैदानमा मात्र रेल कुँदेको देखेका थियौँ चीनले संसारको सबभन्दा उच्च स्थानमा रेल पुर्‍याएर एउटा चमत्कार गरिदिएको छ । संसारकै छानो मानिने तिब्बतको पठारमा रेल दौडिएला भनेर आजभन्दा केही दशक अगाडिसम्म पनि कल्पना गरिएको थिएन तर चीनले त्यसलार्इ साकार बनाइदिएको छ । त्यो रेल काठमाडौँसम्म ल्याउन सकिन्छ र नेपालको पूर्वपश्चिमसम्म पहाडै पहाड पनि रेल लैजान सकिन्छ । मेरो पछिल्लो चीन भ्रमणको सिलसिलामा चीनका उच्चस्तरीय नेताहरूसँग वार्ता गरेको थिएँ । चीनका उपराष्ट्रपतिसँग मैले कुराकानी गर्दा तिब्बतसम्म आएको रेल काठमाडौंसम्म पुग्न सक्ने सहज संभावना उहाँले व्यक्त गर्नुभएको थियो । यसका निमित्त नेपालीहरूले तम्तयार भएर वातावरण बनाउनु पर्छ भन्ने धारणा उहाँले राख्नुभएको थियो । नेपालको विकासका लागि पर्यटन अर्को महतवपूर्ण संभावनाको क्षत्र हो । हाम्रो प्राकृतिक सौन्दर्यलार्इ उपयोग गरेर पर्यटनको विकास गर्न सक्छौँ । पर्यटनको क्षेत्रमा पनि नेपाल र चीनबीच सरसहयोग हुँदै आएका छन्, यसलार्इ अझै फराकिलो र गहिरो बनाउँदै लैजानु आवश्यक छ । आजभोलि नेपालको विकासका सम्बन्धमा कुरा गर्दा भारतका नेताहरूसँग कुरा गर्दा तपार्इंहरूले चीनसँग पनि राम्रो सम्बन्ध बनाउनु पर्छ भन्ने गर्नुहुन्छ भने चीनका नेताहरूसँग कुरा गर्दा भारतसँग पनि सम्बन्ध राम्रो बनाउनु पर्छ भन्ने गर्नुहुन्छ । यो एकदमै राम्रो कुरा हो । यस अवस्थामा नेपाल र चीनबीचको सम्बन्ध आगामी दिनमा अझै सुमधुर र अर्थपूर्ण बन्ने संभावना रहेको छ । संविधानको घोषणाछि नेपाल एउटा ऐतिहासिक रूपमा माथि उठ्‍छ । त्यसपछि नेपाल र चीनबीचको सम्बन्ध अझै बढी घनिष्ठ र आत्मीय बन्ने विश्वास गर्न सकिन्छ ।नेपाल र चीनबीच दौत्य सम्बन्ध स्थापना भएको साठी वर्ष पुगेको छ । यी साठी वर्षमा हाम्रा दुर्इ देशबीचका सम्बन्ध बहुआयामिक रूपमा विकसित हुँदै आएका छन्। यी सम्बन्धहरू राजनीतिक, आर्थिक, सांस्कृतिक, सामाजिक यावत्‍ क्षेत्रमा विकसित हुँदै आएका छन्। नेपाल र चीन दुई घनिष्ट मित्र राष्ट्र हुन् भन्ने कुरा यस अवधिमा स्थापित भएका छन्‍ । चीन एउटा विशाल मुलुक हो भने नेपाल एउटा सानो मुलुक हो । ठूलो र सानो देशबीचको सम्बन्ध समानताका आधारमा कसरी विकसित हुनुपर्छ भन्ने नमूना हो नेपाल र चीनको सम्बन्ध । यसै गरी चीन एउटा शक्तिशाली मुलुक हो भने नेपाल कमजोर मुलुक हो । तर शक्तिसाली मुलुक र कमजोर मुलुकबीच समानताको सम्बन्ध कसरी विकास गर्ने भन्ने सम्बन्धमा पनि उदाहरण बनेको छ नेपाल र चीनको सम्बन्ध । यी दुर्इ देशका सम्बन्ध विगतका साठी वर्षमा जसरी विकसित हुँदै आए, अर्को साठी वर्षको परिकल्पना गर्ने हो भने दुर्इ देशबीचका सम्बन्धलार्इ अघि बढाउने क्रममा कुनै किसिमको बाधा व्यवधान आउला भन्ने मलाई लाग्दैन । दुवै देशमा भएका अनेकन परिवर्तनका बेला पनि दुई देशबीचको सम्बनध स्थिर रहेको छ । दुई देशबीचको हिमालय पर्वत शृंखला जस्तोसुकै हिमआँधी आउँदा पनि अटल रहेजस्तै हाम्रा सम्बन्ध पनि सगरमाथा जत्तिकै अटल र अविचल रहेर रहनेछन्। यो सम्बन्ध अझै गहिरो रूपमा विकसित हुँदै जानेछ ।
जानकारी तथा लेखहरु
सुझाउ