फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेकपा-माओवादीका उपाध्यक्ष: सीपी गजुरेल

(GMT+08:00) 2015-05-21 17:09:09
नेपाल-चीन सम्बन्धका 6 दशक सीपी गजुरेलआधुनिक नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको 6 दशक पूरा भएको छ । दुई देशबीच औपचारिक कूटनीतिक सम्बन्धको स्थापना अगस्ट 1, 1955 मा भएको थियो । त्यसपछिका विगत 60 वर्षमा नेपाल र चीनबीचमा खास कुनै उल्लेखनीय समस्या देखा परेका छैनन् । विगत 6 दशकमा विश्व परिस्थितिमा विभिन्न छिमेकी देशका आपसी सम्बन्धमा पनि निकै ठूला उतारचढाव देखा परेका छन् । कतिपय छिमेकी मित्रराष्ट्रका बीचमा युद्ध समेत भएका छन् । त्यसका निमित्त धेरै टाढा जानु पर्दैन, दक्षिण एशियाको मात्र उदाहरण लिनु पर्याप्त हुनेछ । तर, यो साँच्चै नै सुखद्‍ र अनुकरणीय विषय हो कि नेपाल र चीनका बीचमा सानोभन्दा सानो समस्या उत्पन्न भएको पनि कसैलाई जानकारी छैन । यो सम्बन्धलाई वास्तवमा एउटा नमुनाका रुपमा विश्वका अन्य भागमा प्रयोग गर्दा राम्रो हुने देखिन्छ ।नेपाल र चीनका बीचमा धेरै विषयमा ठूला असमान अवस्थाहरू छन् । उदाहरणका लागि दुई देश क्षेत्रफलका हिसाबले विलकूल फरक छन् । चीन संसारका सबैभन्दा ठूला देशमध्येमा पर्दछ भने नेपालको गणना साना देशमा पर्दछ । जनसंख्याको हिसाबले चीन संसारको सबैभन्दा बढी जनसंख्या भएको देश हो भने नेपाल तुलनात्मक हिसाबले कमै जनसंख्या भएको देशमा पर्दछ । दुई देशको सामाजिक-राजनीतिक व्यवस्था विलकूल फरक छन् । अर्धसामन्ती र अर्धऔपनिवेशिक अवस्थाको चीनमा सन्1949 मै नयाँ जनवादी क्रान्ति पूरा गरेर चीन सन् 1956 देखि नै एउटा समाजवादी देश बनेको छ । आर्थिक दृष्टिले चीन यतिखेर युगौंदेखि विश्वको सबैभन्दा ठूलो अर्थतन्त्रको हैसियतमा रहेको अमेरिकालाई पछि पार्दै सबैभन्दा अग्रस्थानमा पुगेको छ । अन्य धेरै विषयमा नेपाल र चीनका भिन्नता स्पष्ट देख्न सकिन्छ । यी सबै कुराहरूको व्याख्या यो सानो लेखमा संभव छैन । तथापि के कुरा स्पष्टसँग भन्न सकिन्छ भने यी सबैका बाबजुद नेपाल र चीनबीचको मैत्री सम्बन्ध यति धेरै वर्षहरूमा सधैँ सुमधुर नै भइरहनु साँच्चै विश्व इतिहासको एउटा महत्वपूर्ण घटना हो, जसलाई कसैले इन्कार गर्न सक्दैन ।के यो अवस्था स्वत:स्फुर्त रुपमा भएको हो त ? यदि त्यस्तै हुँदो हो त यो कुरा किन हाम्रो अर्को ठूलो छिमेकी राष्ट्रसँग हुन सकेन त ? यस विषयमा विस्तृत रुपमा स्पष्ट पार्नका लागि पनि यो सानो रचनामा संभव छैन । तथापि, यसका लागि केही महत्वपूर्ण कारणले काम गरेको कुरामा हामी स्पष्ट हुनु आवश्यक छ ।दुई देशको सम्वन्धको आधार-सही परराष्ट्र नीति दुई देशबीचको सम्वन्धको मुख्य नीतिगत आधार ती देशका संविधानले परिभाषित गरेको परराष्ट्र वा विदेश नीति नै हो । चीनको विदेश नीतिबारे चीनको संविधानले यसप्रकार परिभाषित गरेको छ : 'अन्तर्राष्टि्रय मामिलाहरूमा हामीले सर्वहारा अन्तर्राष्ट्रवादमा कायम रहनु पर्दछ । चीन कुनै पनि हालतमा महाशक्ति बन्ने छैन । हामीले समाजवादी देशहरूसँग र सम्पूर्ण उत्पीडित जनता र उत्पीडित राष्ट्रहरूसँग आफ्‍नो एकतालाई बलियो बनाउनु पर्दछ तथा आपसमा एकअर्काको समर्थन गर्नु पर्दछ, अलग अलग समाज व्यवस्था भएका देशहरूसँग, एक अर्काको सार्वभौमिकता र प्रादेशिक अखण्डताप्रति सम्मान, आपसमा अनाक्रमण, एकअर्काका आन्तरिक मामिलामा हस्तक्षेत नगर्ने, समानता र आपसी फाइदा र शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तका आधारमा शान्तिपूर्ण सहजीवनका लागि प्रयत्न गर्नु पर्दछ तथा साम्राज्यवाद र सामाजिक साम्राज्यवादको आक्रमण र युद्धका नीतिको विरोध गर्नु पर्दछ र महाशक्तिहरूको हस्तक्षेपको विरोध गर्नु पर्दछ ।' -हेर्नुहोस् 'जन गणतन्त्रको राष्टि्रय जनप्रतिनिधि सभाको पहिलो अधिवेशनको दस्तावेज' विदेशी भाषा प्रकाशन गृह, पेकिङ सन् 1975) ।माथि जुन उद्धरण प्रस्तुत गरियो, यो चीन कम्युनिष्ट पार्टीको विदेश नीति सम्बन्धी आधारभूत निर्णय हो र यसबाट चीन अहिलेसम्म पनि पछि हटेको छैन । यो नीति विगत 6 दशकदेखि कायम भएको कारणले नै नेपाल र चीनको बीचको मित्रता यति लामो समयदेखि सुमधुर रहन सकेको हो । पञ्चशीलको सिद्धान्तप्रतिको इमानदार प्रतिबद्धतानेपाल र चीनबीचको विगत 6 दशक लामो सम्बन्ध शान्तिपूर्ण सहअस्तित्वका पञ्चशीलका सिद्धान्तमा आधारित रहेका छन् । दौत्य सम्बन्धको स्थापना भएकै समयमा पञ्चशीलका सिद्धान्तमाथिको प्रतिबद्धता दुवै राष्ट्रबाट जारी गरिएको थियो । त्यसबाट चीनले दायाँ बायाँ गरेन । औपचारिक कूटनीतिक सम्बन्धको स्थापना पश्चात्‍ जुन संयुत्तm विज्ञप्ति जारी गरिएको थियो, त्यसले यो कुराको पुष्टि गर्दछ । उत्तm विज्ञप्तिमा भनिएको छ : 'दुई देशका बीचमा मैत्री सम्बन्ध स्थापना आपसी आकांक्षाका कारणले गर्दा, -दुवै-अनु) सरकारहरूले पनि पञ्चशीलका पाँच सिद्धान्तलाई आपसी सम्बन्धलाई निर्देशित गर्ने आधारभुत सिद्धान्तका रुपमा स्वीकार गरेका छन् -क) एक अर्काको सार्वभौमिकता र भौगोलिक अखण्डतालाई सम्मान गर्ने, -ख) अनतिक्रमण, -ग) एक अर्काका आन्तरिक मामिलामा आर्थिक, राजनीतिक र वैचारिक कुनै पनि किसिमले हस्तक्षेप नगर्ने -घ) समानता र पारस्परिक लाभ र -ङ) शान्तिपूर्ण सह अस्तित्व । दुवै सरकारहरू के विश्वास गर्दछन् भने यो कूटनीतिक सम्बन्धको स्थापनाको सँगसँगै आर्थिक-साँस्क ृतिक सहयोगको अभिवृद्धि हुने छ ।'यसप्रकार दुई देशका बीचमा दौत्य सम्वन्ध स्थापना गर्ने समयमा जुन प्रतिबद्धता जाहेर गरिएको थियो, दुवै देश त्यो प्रतिबद्धतामा कायमै रहेका कारणले नै यस प्रकारको सम्बन्ध निरन्तर कायम रहन सक्यो । केही साम्राज्यवादी देश र तिनका पिछलग्गु केही देशबाहेक संसारका सबैजसो देशले पञ्चशीलको सिद्धान्तलाई नै दुई देश र बहुदेशीय सम्बन्धको मुख्य आधार मान्ने गरेका छन् । तर केही सम्पन्न र शक्तिशाली देशले व्यवहारमा त्यसलाई लागु गर्दैनन्‍ । तिनीहरूले पञ्चशीलको सिद्धान्तको विपरीत हस्तक्षेप र उत्पीडनका नीतिहरू कार्यान्वयन गर्ने गर्दछन् । त्यसपछि दुई देशबीचको सम्बन्ध असमान किसिमको बन्न जान्छ र त्यहाँ मित्रताको सट्‍टा शत्रुतापूर्ण बन्न जान्छ । अन्तमा, हामी कामना गरौँ नेपाल र चीनबीचको उदाहरणीय मैत्री सम्बन्ध युगौँ युगसम्म कायम रहोस्‍ र अभm यसले सकारात्मक रुपमा विकास गर्दै जाओस्।
जानकारी तथा लेखहरु
सुझाउ