फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ अन्तर्राष्ट्रिय रेडियो नेपाली सेवाका विशेषज्ञ: चेतनाथ आचार्य

(GMT+08:00) 2015-05-26 18:30:25

           विश्वकै सबैभन्दा ठूलो चोक चीनको राजधानी पैचिङमा रहेको थिएनानमन स्क्वाएर हो । यो चोकको उत्तरपट्टि विश्वकै सबैभन्दा ठूलो दरबार अर्थात् फोर्बिडन सिटी रहेको छभने पश्चिमतिर विश्वकै सबैभन्दा ठूलो संसद अर्थात् जनबृहत् सभाभवन रहेको छ । चोकको दक्षिणपट्टि अध्यक्ष माओत्सेतुङको शवलाई संरक्षण गरिएको गृह छ भने पूर्वपट्टि विश्वकै सबैभन्दा ठूलो चीनको राष्टि्रय संग्रहालय रहेको छ । सन् 1912 जुलाई 9 तारिखमा चिनियाँ इतिहास संग्रहालयका नाममा यसको स्थापना भएको थियो । सन् 1949 अक्टोबर 1 तारिख नयाँ चीन स्थापना भएपछि यसको नाम पैचिङ इतिहास संग्रहालय राखियो । अनि सन् 1959 मा यसलाई पुन: न्वारान गर्दै चिनियाँ इतिहासको राष्टि्रय संग्रहालय राखियो । सन् 2003 मा चिनियाँ क्रान्तिको संग्रहालय र चिनियाँ इतिहास राष्टि्रय संग्रहालयलाई जोडेर यसको नाम चीनको राष्टि्रय संग्रहालय राखियो । सन्2007 को मार्चदेखि 2011 को डिसेम्बरसम्म विस्तार गरी बनाइएको चीनको राष्टि्रय संग्रहालयले एक लाख 92 हजार वर्गमिटर क्षेत्रफल ओगटेको छ । क्षेत्रफल र यसमा संकलित सामग्रीका आधारमा यो विश्वको सबैभन्दा ठूलो संग्रहालय पनि हो । चीनको पाँच हजार वर्षको इतिहास र सभ्यतासँगै विश्वका विभिन्न ऐतिहासिक महत्वका सामग्री राखिएको यो संग्रहालयमा 40 भन्दा बढी ठूला हलहरू रहेका छन् । पूरा अवलोकन गर्नका लागि एक दिन पूरै समय लाग्ने गर्छ । यो संग्रहालयमा अफ्रिकन कलादेखि पश्चिमा सभ्यताका पूरातात्विक वस्तुहरू पनि राखिएको छ । अवलोकनकर्ताले नि:शुल्क प्रवेश पाउने र संग्रहालयमा समसामयिक आधुनिक चित्रकलाका अस्थायी प्रदर्शनी पनि भइरहने हुनाले दैनिक हजारौँ अवलोकनकर्ताहरू यहाँ जाने गर्छन्। विशेषगरी चीनमा बिदा पर्ने शनिबार र आइतबार तथा अन्य सार्वजनिक बिदाका दिन यो संग्रहालयमा निकै भीड लाग्ने गर्छ । यो संग्रहालयमा अवलोकन गर्दा म त्यतिखेर पुलकित भएँ जतिबेला नेपाली नेताहरूले चिनियाँ नेतालाई दिनुभएको उपहार सजाएर राखिएको देखेँ । संसारकै सबैभन्दा ठूलो संग्रहालयमा नेपाली हस्तकलाका सामग्रीको प्रदर्शनीसँगै दुई देशबीचको सम्बन्धलाई झल्काएको पाउँदा म एक प्रकारले उत्तेजित पनि भएको थिएँ । नेपाल र चीनबीचको कुटनीतिक सम्बन्धले 60 वर्ष पार गर्दा यस प्रकारका मैत्रीपूर्ण सम्बन्ध दर्शाउने थुप्रै कामहरू भएका छन् जसले नयाँ पुस्तालाई पनि प्रेरित गर्नेछ र दुई देशबीचको सम्बन्धलाई सधैँ ताजा र जीवन्त बनाउनेछ । यो संग्रहालयमा मूलत: चारजना नेपाली नेताले विभिन्न समयमा चिनियाँ नेतालाई उपहार प्रदान गर्नुभएको नेपाली हस्तकलाका सामग्री राखिएको छ । सन् 1972 मा नेपालका तत्कालीन प्रधानमन्त्री कीर्तिनिधि बिष्टले अध्यक्ष माओत्सेतुङलाई उपहार दिनुभएको तामाको महाबुद्ध मन्दिरले दुई देशबीचको सांस्कृतिक सम्बन्धलाई अझ प्रगाढ बनाएको अनुभूति लिन सकिन्छ । चीनमा ताओ धर्मपछि सबैभन्दा धेरै व्यक्तिले बौद्ध धर्म मान्छन् । चिनियाँ पर्यटकका लागि नेपाल भ्रमणसँगै भगवान बुद्धको जन्मस्थल लुम्बिनीप्रतिको आकर्षण पनि थपिदै गएको छ । चीनले 17 वर्षअगाडि लुम्बिनीमा चिनियाँ मन्दिर निर्माण गरेको छ । आजभन्दा 43 वर्षपहिले नेपालका तत्कालीन प्रधानमन्त्री कीर्तिनिधि बिष्टले चीनका नेता माओलाई उपहारमा दिनुभएको महाबुद्ध मन्दिरले नेपाली कला र संस्कृतिलाई चीनसम्म ल्याइदिएको छ । अब त्यो संग्रहालयमा अमर बनेर युगौँयुग जीवित बनेको छ र नयाँ पुस्तालाई दुई देशबीचको सांस्कृतिक सम्बन्धको सन्देश बाँडिरहेको छ । संग्रहालयको सोही कक्षमा सन् 1979 मा नेपालका तत्कालीन राजा वीरेन्द्रले आधुनिक चीनका महान्‍ नेता तथा खुला र सुधारका प्रवर्द्धक तङ स्याओ फिङलाई उपहार प्रदान गर्नुभएको काठको मयुर झ्‍याल राखिएको छ । मयुर झ्‍याल काठमाडौँ उपत्यकामा रहेको परम्परागत नेवारी शैलीको झ्‍याल हो । अहिले पनि पाटनका हस्तकला पसलमा सर्वाधिक बिक्री हुनेमा यही झ्‍याल दरिएको छ । नेपाली कालीगढले हजारौँ वर्षदेखि बचाएर राखेको र नेवार समुदायका परम्परागत घरमा कुँदिने यस्ता मयुर झ्‍याल अब नेपालमा पनि व्यावहारिक रुपमा प्रयोग नभए पनि हस्तकलाका रुपमा लोकप्रिय नै बनेको छ । विश्वकै चर्चित संग्रहालयमा राखिएको नेपाली उपहार मयुरको झ्‍यालले चिनियाँ पुस्तौँ पुस्तालाई नेपाली कला र शैलीका बारेमा ज्ञान छर्न सफल भएको छ । यो मयुरको झ्‍याल नियाल्दा मैले नेपालका संस्कृतिविद्‍ सत्यमोहन जोशीलाई सम्झिएँ । उहाँले मलाई भन्नुभएको थियो-'नेपालमा नपाइने पुरातत्व महत्व भएका नेपाली वस्तु चीनमा संरक्षित छन् ।' संग्रहालयको अवलोकन गर्दागर्दै मलाई अर्को नेपाली उपहारले तान्यो । सन् 1992 मा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले चीनका तत्कालीन राष्ट्राध्यक्ष याङ शाङखुनलाई उपहार दिनुभएको अर्को आकर्षक काठको मयुर झ्‍याल संग्रहालयमा राखिएको छ । 13 वर्षअगाडि तत्कालीन राजा वीरेन्द्रले चिनियाँ नेता तङ स्याओ फिङलाई दिएको उपहारभन्दा यो नयाँ र चम्किलो देखिन्छ । चिनियाँ नेता याङ शाङखुन सन् 1988 देखि 1993 सम्म चीनका राष्ट्राध्यक्ष हुनुहुन्थ्यो । चीनको राष्टि्रय संग्रहालयमा सजाइएको चौथो नेपाली उपहार पनि मयुर झ्‍याल नै रहेको छ । सन् 1993 मा नेपालका तत्कालीन राजा वीरेन्द्रले चिनियाँ जन राजनीतिक परामर्शदात्री सम्मेलनका तत्कालीन अध्यक्ष ली रुइहुआनलाई उपहार दिनुभएको काठको मयुरको झ्‍याल अघिल्ला दुईवटा झ्‍यालको तुलनामा बढी उचाइको रहेको छ । अघिल्ला दुईवटा मयुर झ्‍यालहरू बढी चौडा आकारका छन् भने यो झ्‍याल चाहिँ कम चौडा र बढी उचाइ भएको छ । चिनियाँ नेता ली सन्1993 देखि 2003 सम्म चिनियाँ जन राजनीतिक परामर्शदात्री सम्मेलनको अध्यक्ष हुनुहुन्थ्यो । यो संस्थाको संस्थापक अध्यक्ष माओत्सेतुङ हुनुहुन्थ्यो भने पछि चाउ एनलाई र तङ स्याओफिङ पनि अध्यक्ष हुनुभयो । ली चीनका विद्बान र समझदार नेताका रुपमा चिनिनुहुन्छ । अर्को नेपाली उपहार सन् 2009 मा नेपालका तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले चीनका तत्कालीन राष्ट्राध्यक्ष हु चिन थावोलाई दिनुभएको तामाको आकर्षक बुद्धमूर्ति रहेको छ । बुद्धको मूर्तिलाई चीनमा निकै सम्मान गरिन्छ । त्यही संग्रहालयमा एउटा ठूलो कक्षलाई भगवान बुद्धको प्रदर्शनी कक्षका रुपमा छुट्‍याइएको छ । जहाँ बुद्धका विभिन्न आकृतिका मूर्तिहरू र बुद्धसम्बन्धी अनेकौँ वस्तुहरू राखिएका छन् । प्रदर्शनी अवलोकनकर्ताले नेपालका प्रधानमन्त्रीले चीनका राष्ट्राध्यक्षलाई उपहार दिएको बुद्धको मूर्तिले नेपाल बुद्धको जन्मभूमि हो भन्ने कुरालाई बुझाउन थप सहयोग गरेको छ । अहिले चिनियाँ बजारमा नेपाली हस्तकलाका सामग्रीमा था र बुद्धमूर्ति अत्यन्त लोकप्रिय मानिन्छन्‍ । संग्रहालयमा यो उपहार राखिनाले नेपाली हस्तकलाको बजारलाई चीनमा थप उजागर गरेको छ । नेपालको पञ्चायती व्यवस्था, बहुदलीय प्रजातान्त्रिक व्यवस्था र गणतन्त्रात्मक प्रजातान्त्रिक व्यवस्थाका नेताहरूले चिनियाँ नेतालाई प्रदान गर्नुभएको उपहार यस संग्रहालयमा राखिनु आफैँमा ऐतिहासिक छ । नेपालका तीनवटा राजनीतिक व्यवस्थाका नेतृत्वले प्रदान गरेको उपहारलाई सम्मानपूर्वक राखेर चीनले असल छिमेकी मित्रराष्ट्रको पहिचानलाई सार्थक बनाएको छ । विश्वकै सर्वाधिक ठूलो मानिएको संग्रहालयमा नेपालका पाँचजना नेताले प्रदान गरेको उपहार राखिनुले चीनले नेपालसँगको मैत्रीपूर्णसम्बन्धलाई महत्व दिएको प्रष्ट हुन्छ । किनभने यो संग्रहालयले चीनको हजारौँ वर्षको इतिहास बोकेको छ । यो एक अर्ब 37 करोड चिनियाँको गौरवको प्रतीक पनि हो । अनि यो गौरवभित्र नेपाल सम्मानपूर्वक समेटिनुलाई एउटा नेपालीका नाताले मैले पनि गौरव मानेको छु ।

जानकारी तथा लेखहरु
सुझाउ