फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सीआरआईको पूर्व विशेषज्ञ: दयाराम दाहाल

(GMT+08:00) 2015-05-26 18:32:46

            नेपालको उत्तरपूर्वी शंखुवासभा जिल्ला कोशी अञ्चलको हिमाली जिल्ला हो । मकालु हिमालको काखमा यो जिल्ला अवस्थित छ । यसको उत्तरी भागले चीनको तिब्बतसँगको किमाथाङ्का नाका भेट्‍छ । यही सुन्दर हिमाली जिल्लामा जन्मीहुर्की गर्ने क्रममा कहिलेकाहीँ रेडियोले चीनबाट पस्किएका केही नेपाली शब्द भनौँ कि 'यो रेडियो पेकिङ हो' भन्ने आवाजका साथमा मीठा चिनियाँ परम्परागत धुन सुनेर म निक्कै आनन्द मान्थेँ । समयको अन्तरालसँगै प्रवेशिका परीक्षा गरेर उच्च शिक्षाका लागि काठमाडौँ आइयो । त्यस बेलाको जीवनमा चीन भनेपछि हामी उही तिब्बतलाई बुझ्ने गर्दथ्यौँ । यदाकदा नेपालका पूर्व राजारानीको चीन भ्रमणका बेलामा टेलिभिजनमा केही दृश्य हेर्दा चीन त निकै विकसित रहेछ भन्ने लाग्थ्यो । तर त्यो देशमा पाइला टेकेर एउटा सम्मानित जागिर खाइएला भन्ने कुरा आशातीत नै थियो । तर कुनैकुनै बेलामा भाग्य भन्ने विषयले पनि निकै ठूलो भूमिका खेल्दोरहेछ । यही भाग्यको डोरीमा अल्झँदै म सन् 2008 को जुलाई 4 तारिख बेलुकी चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको विशेषज्ञ बनेर पैचिङमा सफलताका पाइला टेक्न सफल भएँ । ठूलो ठाउँ,विकसित समाज अनि उन्नत अर्थन्त्रको जालो फिँजिएको अनि एक समुन्नत र शान्त स्थलमा पुगेपछि मैले मौकाहरु समात्दै अगाडि बढ्‍ने र चिनियाँ समाजसँग भिज्ने परिकल्पना गर्न थालेँ । समाजसेवा गर्न जात,धर्म र सिमाना हुँदैन भन्ने कुरालाई आत्मसात गरेर मेरो नियमित काम बाहेकको अवधिमा मैले मेरो समय चिनियाँ समाजसँगै एकाकार गर्दै स्वयमसेवक बनेर काम गरेँ । म अझ परिपक्व अनि जिम्मेवार बनेँ । त्यो बेलामा सिआरआईका प्रमुख,उपप्रमुख तथा अन्य सहकर्मीहरुबाट धन्यवाद र बधाइ पाएँ । सहकर्मीहरुले पनि आफ्‍ना कार्यक्रममा म बारेको विषय उठान गर्नभयो । त्यो बेलामा मैले चीनमा बसेको अवधिमा राम्रै काम गरेको रहेछु भन्ने लाग्यो । नयाँ चीन स्थापनाको 60औँ वाषिकोत्सवका अवशरमा म विदेशी स्वयमसेवक बनेबाट चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरुसँग पनि परिचयको अवसर मिलेको थियो । प्रहरी तथा प्रशासन् अनि सर्वसाधारण सबैले मलाई चिनेको अवस्था र उहाँहरुले देखाएको हार्दिक माया मेरो जीवन पर्यन्त रहनेछ । आफ्नो शक्तिले भ्याएसम्मको क्षमता प्रयोग गरेर चिनियाँ भाषा र संस्कृतिको अध्ययन गरेँ । चिनियाँ भाषा र संस्कृतिको मुहान अत्यन्त गहिराइमा रहेछ भन्ने कुराको महशुस मैले गरेँ । अब उमेरले पनि चालीस काटिसकेको थियो । केही वर्षपछि नेपाल फर्कनु नै थियो । त्यही बेला सोचेँ कि चिनियाँ भाषालाई आफ्नो साथी बनाउन सफल भएँ भने नेपाल फकर्नेपछिको जीवन पहिलेको भन्दा सरल र सरस होला कि । त्यसैले जहाँ गए पनि जता लागे पनि मेरो मन केवल चिनियाँ भाषा र संस्कृतिको खोज र अनुसन्धानमा नै व्यस्त भयो । खोज र अनुसन्धानका क्रममा म चीनका विभिन्न भागमा घुमेँ । मूल रुपमा म युनान प्रान्तको खुनमिङ,क्वांतुङ प्रान्तको क्वाङ चौ,फोसान,सन्चन,हु पै प्रान्तको सदरमुकाम उ हान तथा इछाङ हुँदै सिङसान भएर सन् नोङ च्यासम्म गएर अध्ययन अवलोकन गरेँ । नेपालबाट नजिकमा पर्ने ल्हासादेखि छंतुसम्म अनि दक्षिणपूर्वी प्रान्त च्याङ सुको उ सीदेखि ह्‍वा सी छुनसम्म घुमेर त्यहाँका जनताको बसोबास,खाना,चालचलन,संस्कृति अनि सामाजिक मूल्य मान्यताको सूक्ष्म रुपबाट अध्ययन अवलोकन गर्न अवसर जुटाएँ । त्यतिमात्र होइन,नेपाली भाषा विभागका प्रमुखसँगको परामर्शमा चीनमा नेपाली विर्यार्थीहरुको अवस्था के कस्तो रहेको छ भन्ने बारेमा बुझ्नका लागि इ छाङस्थित सान स्या विश्वविद्यालयमा गएर उनीहरुको पढाइ,लक्ष्य,चीन सरकारले उनीहरुलाई दिएको सुविधा आदिका बारेमा अन्तरक्रियासमेत गरेको थिएँ । मूल रुपमा मेडिकल विषयमा अध्ययनरत नेपाली विद्यार्थीहरु जसले महिनावारी रुपमा पढाइ शुल्क बुझाएर नै त्यहाँ अध्ययन गर्न पाएका रहेछन्‍ । त्यतिमात्र होइन धेरैभन्दा धेरै नेपाली विद्यार्थीहरु मेडिकल विषय पढ्‍न सक्षम बनून्‍ भन्ने लक्ष्य राखेर चीन सरकारले उक्त सान्‍ स्या विश्वविद्यालयमा नेपाली प्राध्यापकहरुको व्यवस्था गरिदिएको रहेछ चीनको पढाइ अनि नेपाली वातावरणमा । कतिपयले भन्ने गरेको सुनिएकै हो नि चीनको डाक्टर भनेको खासा कम्पनी भनेर तर त्यो कुरा त सरासर गलत नै रहेको पाइयो । मैले उबेलामा भेटेका अन्तिम वर्ष पढिरहेका डाक्टर साथीहरु अहिले नेपालका प्रतिष्ठित्‍ अस्पतालमा डाक्टरी गरिरहेको पनि मैले देखेँ । त्यसैले त्यस्ता भ्रम र बिनाप्रमाणका मनगणन्ते कुराको पछि लाग्नु हुँदैन भन्ने मेरो भनाइ हो ।

          मैले शहरी भेगका धेरै स्थानहरु त देखेकै थिएँ । तर विकट पहाडी गाउँघरको वास्तविक जनजीवन के छ त अनि पश्चिमाहरुले भनेजस्तै गाउँका मानिसको जनजीवन गएगुज्रेको नै छ त भन्ने जिज्ञासाले मलाई घरिघरि सताउने गर्दथ्यो । यस विषयलाई केलाउनका लागि मैले चिनियाँ साथीहरुमाझ समस्या राख्दै चीनको कुन गाउँ चाहिँ सबैभन्दा अविकसित र समस्याग्रस्त अनि विकट अवस्थामा छ त भनेर सोधेँ । साथीहरुले मलाई हु पै प्रान्तको सान याङ भन्ने क्षेत्रमा जान र त्यहाँका जनताको दु:खसुख निहाल्न सल्लाह दिनुभयो । मैले पैचिङबाट सामान्य रेल चढेर त्यो स्थान वा सान याङसम्म जाने निधो गरेँ । करिब 12 दिनको समयका लागि विभागका प्रमुख वष्राज्यूबाट स्वीकृति गराएँ । यो कुरा सन्‍ 2012 को अक्टोबरको हो । पैचिङबाट रेल चढेर गएको तीन दिनमा म त्यस पहाडी भागमा पुगेँ । अनि देखेँ कि शहरी क्षेत्रको तुलनामा पहाडी भागमा सुविधा त कम नै हुने रहेछ तथापि मैले के कुरा पत्ता लगाएँ भने नेपाल र चीनको गरिबीको परिभाषामा धेरै अन्तर रहेछ । ती पहाडी क्षेत्रमा पनि यातायातको भरपूर सुविधा भएको मैले देखेँ । उकालो बाटो भए पनि अनि अग्ला पहाडहरुले आकाश छोलान्‍ जस्तै देखिए पनि खानेपानी,विजुली तथा यातायात अनि आधुनिक कृषि प्रणालीको कारणले उक्त स्थानमा पनि मानिसहरु निकै खुसी र सन्तुष्ट भएको मैले महसुस गरेँ । साथीहरु मिलनसार थिए अनि ग्रामीण भेगमा पनि विदेशी आएको देखेर उनीहरु धेरै खुसी भए । मैले पनि आफ्नो देशबाट ल्याएका केही कलात्मक कोसेलीहरु साथीभाइलाई उपहार दिएँ । उक्त स्थानलाई मुकाम बनाएर मैले अन्य धेरै स्थानहरु घुमेँ ।

          सन् 2013 को जुलाईमा म नेपाल फर्कनु थियो । मेरा हजारौँ चिनियाँ मित्रहरुले मेरो सम्झनामा आँखा रसाउँदै विदाइका हात हल्लाउनुभयो, अनि नेपालमा मेरो जीवन अझ सुखमय होस् भनी शुभकामना दिनुभयो । म पनि अलिकति भावविभोरता र अलिकति आँशुमा भिज्दै अनि परिवारसँगको भेटको खुसीको आशामा प्यारो खुनमिङमा करिब 10 दिनको निजी घुमघाम सकेर मातृभूमि फर्किएँ ।

          चीनबाट मातृभूमि फर्केको पनि अब पूरा दुई वर्ष भइसकेको छ । फर्केको केही अवधिपछि नै मैले नेपालमा पहिलोपटक जलविद्युतमा लगानी गर्न आएको सिनोहाइड्रो सगरमाथा जलविद्युत कम्पनीको सम्पर्कमा आएँ । करिब दश मिनेटको अन्तर्वार्ताबाट म चिनियाँ भाषा र संस्कृति बुझेको मानिस ठहरिएँ । चिनियाँ भाषाको स्तर देखेर सिनोहाइड्रो कम्पनीले मलाई तुरुन्तै नियुक्त गरिदियो । हाल मैले सिनोहाइड्रो सगरमाथा पावर कम्पनीले चलाएको अपर मस्र्यांदी ए जलविद्युत आयोजनाको साइट अफिसका लागि मुख्य दोभाषेको भूमिकाको साथसाथै विभागीय चिठीपत्र तथा डकुमेन्ट प्रोसेसिङको जिम्मेवारी पनि पाएको छु ।

जानकारी तथा लेखहरु
सुझाउ