फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पुनर्निर्माणबाट फेरि उठ्ने छौं

(GMT+08:00) 2016-04-21 18:25:12

    एक खाली ठाँउमा चिनियाँ भाषामा लेखिएका मानवीय, माया र समर्पण भन्ने शब्द छापिएका पालहरु ठडाएका छन्। पालबाहिर पातलो लुगा लगाएका बुढाबुढी बसिरहेका छन्। दुई/तीन जना बाल-बालिका बाहिर खेलिरहेका छन्। फाटफुट रुपमा एक/दुई वटा कुखुरा हिँडिरहेको देखिन्छ। यो सन् 2015को अप्रिल पच्चीस तारिख नेपालमा गएको विनाशकारी भूकम्पबाट प्रभावित भक्तपुरको बस्तिहरुमध्येको एक हो। चिनियाँ रेडक्रस सोसाइटीले अनुदानमा दिएका ती पालहरु एक वर्ष अघिदेखि पानी र हावामा ठडिँदै आएको र धूलोमूलोले ढाकिएको देखिन्छ।

    "एक वर्ष पुग्न लागेको छ। एघार महिना भैसक्यो।" भूकम्पबाट प्रभावित हर्क कुमार कोजुले आफ्नो हात हावामा हल्लाउँदै भने। भूकम्प आउनुअघि उनको घर भक्तपुरमा थियो। नेपालको कला तथा वास्तुकलाको उद्गम स्थल भक्तपुर जीवित भग्नावशेष र खुला सङ्ग्रहालय मानिन्छ। सन् 2015को अप्रिल पच्चीस तारिख 8.1 रिक्टर स्केलको भूकम्प आउँदा हर्क आफ्नो परिवारसँगै भोज खाँदै थिए। विनाशकारी भूकम्पले उनको घरमात्रै ध्वस्त पारेको होइन उनकी एक छोरीको ज्यान पनि लगेको थियो। आफ्नो भविष्य बारे चिन्तित हुँदै हर्ककुमार कोजुले भनेः

    "मुटु ‌दुःखिरहेकोले मलाई अप्ठ्यारो लागेको छ। अब त्यसको औषधि चाहियो होइन। औषधि किन्ने पैसा छैन। अब त्यो पाल चाँही ढल्कियो। अस्ति हुरी आयो। हामीलाई उडाउला जस्तो छ। अब के गर्नुपर्यो? जग राख्ने भनिराखेको छ। अब यो जग राख्ने काम कहिले होला हामीलाई थाहा छैन।"

     हर्ककुमार कोजु नेपालमा गएको भूकम्पबाट प्रभावित लाखौं लाख मानिसहरुमध्येको एक हुन्। नेपाल सरकारले जनाए अनुसार, लगभग नौ लाख परिवारका घरहरु विनाशकारी भूकम्पले ध्वस्त बनाइएको वा क्षति पुर्‍याइएको छ भने नौ हजार जनाले ज्यान गुमाएको थियो। आजआएर भूकम्पपीडित मानिसहरुमध्ये धेरै जना अस्थायी रुपमा खडा गरिएका पालहरु वा टहराहरुमा बसिरहेका छन्। खाद्यान्न, पानी, बिजुली, चिकित्सा, दैनिक जीवनमा चाहिने सामग्रीहरुको अभावले गर्दा ती मानिसहरुको सामु ठूलो दबाव देखा पर्दै आएको छ।

     नेपाल उद्धार चिनियाँ चिकित्सा टोली नेपालमा तैनाथ स्थायी चिनियाँ चिकित्सा टोली हो। गत वर्ष विनाशकारी भूकम्प गएको बेला यस टोलीका सत्र जनाले चितवनमा अवस्थित बी.पी.कोइराला क्यान्सर अस्पतालमा रोगीहरुको उपचारमा खटिरहेका थिए। भूकम्प गएको दिनको दिउँसो चिनियाँ चिकित्सकहरुले भूकम्पबाट प्रभावित क्षेत्र गएर उपचार गर्ने प्रस्ताव राखे। नेपालको लागि चिनियाँ राजदूतावास तथा नेपालका सम्बद्ध विभागको बन्दोबस्त वमोजिम, ती चिकित्सकहरुले अस्पतालको खाली ठाँउमा अस्थायी बिरामी कक्ष खडा गरेर उपचार गरे। जम्मा गरी उनीहरुले चितवनको तीन वटा अस्पतालमा तीन सय पचास जना घाइतेहरुको उपचार गरे र केहीको अपरेशन पनि गरेका थिए। यसका अतिरिक्त, उनीहरुले आफ्नो पैसा तथा दैनिक सामग्रीहरूसमेत स्थानीय अस्पताल तथा भूकम्पबाट ग्रस्त मानिसहरुलाई बाँडे। आठौं चिनियाँ चिकित्सक टोलीका प्रमुख कु शौयीले भूकम्पपछिको यस चरणमा मुख्य जरुरी दुईटा काम रहेको विचार व्यक्त गर्दै भनेः

     "अब भूकम्पबाट गम्भीर असर पारिएका क्षेत्रका मानिसहरुको लागि दुईटा जरुरी कुरा हुन्छन्। एउटा भनेको भूकम्पमा घाइते भएकाहरुको पुनर्वास गराउनु हो भने अर्को मुख्य कार्य भनेको प्रभावित क्षेत्रमा घरहरुको पुनर्निर्माण हो।"

     वास्तवमा गत अप्रिल पच्चीस तारिख विनाशकारी भूकम्प गएपछिको छोटो समयमा कतिपय नेपाली तथा विदेशी गैर-सरकारी संस्था एवम् व्यक्ति-व्यक्तिले समेत तीव्र रुपमा भूकम्पपछिको उद्धार तथा पुनर्निर्माण कार्यमा काम गर्दै आएका छन्। चाङ च्यु काठमाडौंको चीन तिब्बत किताब पसलका प्रमुख म्यानेजर हुन्। भूकम्पपछि छिटोभन्दा छिटो नेपाललाई छोड्नुको सट्टा उनले आफ्नो घर अगाडिको चोकमा भूकम्पपीडितहरुलाई खानपान तथा बस्नका लागि बन्दोबस्त गरे। भूकम्प गएको पाँचौं दिनमा उनले आफ्ना नेपाली साथीसँगसँगै मिलेर आफ्ना पैसा जुटाएर खतराको बावजुद पन्ध्र दिनसम्म ट्रक चलाएर गोर्खा, बारपाक, सिन्धुपाल्चोक लगायत भूकम्पबाट गम्भीर रुपमा प्रभावित पाँचवटा क्षेत्र गएर तीस केजीको आठ सय बोरा चामल, आठ सय बोरा नून, आठ सय बोरा तेल तथा दुई सय केजी दाल लगायत दैनिक जीवनमा आवश्यक पर्ने चीजबीजहरु स्थानीय बासिन्दाहरुको हातमा पुर्‍याए। भूकम्पबाट प्रभावित मानिसहरुले निकै मेहनत गरेर विविध तरिका वा उपाय खोजेर आफ्नो घरबारको पुनर्निर्माण गर्न प्रयास गरिरहेको देखेको चाङ च्युनले बताए। यति ठूलो प्रकोपबाट प्रभावित तिनीहरुले देखाएको दृढता तथा साहसको दिलैदेखि सम्मान गरेको व्यक्त गर्दै चाङ च्युनले भनेः

     "भूकम्पपछि मैले चामल आदि राहत सामग्री वितरण गर्ने क्रममा एक जना स्थानीय बासिन्दासँग कुरा गरेको थिएं। आँसु झार्दै उनले निकै दुःखी भएको बताए। किनभने भूकम्पमा परी उनकी श्रीमतीको मृत्यु भएको थियो। तर उनका तीन छोराछोरी भने सकुशल थिए र छोराछोरी हुर्काउनु नै उनको अब एउटै मात्र लक्ष्य भएको मलाई बताए। ती भूकम्प पीडित मानिसहरुको मन कति बलियो रहेछ मेरो मनलाई छोयो।"

      भूकम्प पीडितहरुलाई सहयोग गर्नुका साथै चाङ च्युनले पुनर्निर्माण क्षेत्रमा पनि योगदान दिएका छन्। चिनियाँ परोपकारी संस्थाको साथमा उनले भूकम्पबाट ध्वस्त भएको होक्से गा.वि.स.वडा नं. आठ काभ्रेमा अवस्थित सुन्दर सुर्योदय प्राथमिक स्कूलको पुनर्निर्माणमा भाग लिए। जसबाट एक सय तीन जना स्थानीय विद्यार्थीहरुलाई सुरक्षित तवरमा पढ्ने वातावरण बनाइयो।

      नेपाल अरनिको सोसाइटी भूकम्पपछिको उद्धार तथा पुनर्निर्माण क्षेत्रमा कार्यरत नेपाली गैर-सरकारी संगठनहरुमध्येको एक हो। यो चीनमा अध्ययन गरेर नेपाल फर्केकाहरूबाट गठित सोसाइटी हो। विनाशकारी भूकम्पपछि उनीहरुले उद्धार कार्य गर्नुका साथै सौशल मिडियामार्फत भूकम्पबाट ग्रस्त क्षेत्रको पछिल्लो अवस्था सार्वजनिक गरेका थिए। साथै उनीहरुले उद्धार रकम तथा राहत सामग्री पनि जुटाए। कतिपय चिनियाँ व्यवसायी तथा व्यक्तिहरुले उनीहरुमार्फत नै पाल, कम्बललगायतका राहत सामग्रीहरू गम्भीर रुपमा प्रभावित क्षेत्रका मानिसहरुको हातमा पुर्‍याए। साथै सङ्कलन भएका पैसाबाट उनीहरुले धर्मस्थलीमा ध्वस्त केही घरहरुको पुनर्निर्माण पनि गरे। विनाशकारी भूकम्पमा परी धर्मस्थलीमा 461वटा घर भत्किएको थियो र हालसम्म पनि 250 वटा परिवार जस्ताको छानो भएको टहरामै बसिरहेका छन्। अरनिको सोसाइटीका अध्यक्ष सर्वोत्तम श्रेष्ठले धर्मस्थलीको पुनर्निर्माण योजनाबारे जानकारी दिँदै भनेः

       "पुनर्निर्माण घर पाएका ती पाँच परिवार यसअघि अस्थायी साङ्घुरो जस्ताको छानोको घरमा बस्थे। यसै अप्रिल दुई तारिख हामीले ती पाँच वटा परिवारलाई नयाँ घर हस्तान्तरण गर्‍यौं। हरेक परिवारका लागि हामीले 2 लाख 75 हजार रुपियाँको खर्चमा बीस-तीस वर्गमिटर क्षेत्रफल ओगटेको दुईटा कोठा भएको घर बनाइदियौं।"

       समय कति चाँडो बित्छ। सन् 2015 अप्रिल पच्चीसमा नेपालमा विनाशकारी भूकम्प गएको थियो, लगभग एक वर्ष पुग्नलाग्यो। नेपालको पुनर्निर्माण कार्य विस्तारै अघि बढिरहेको छ। चालू वर्षको अप्रिलको शुरुमा नेपाल पुनर्निर्माण प्राधिकरणले पुनर्निमाणमा गैरसरकारी संगठनको सहभागिताको स्वागत गर्ने सार्वजनिक गर्‍‍यो। चिनियाँ नागरिक चाङ च्युन जस्तै व्यक्ति तथा संस्थाहरुले नेपालको पुनर्निर्माण क्षेत्रमा सक्रियताका साथ सहभागी भइरहेका छन्।

       "चिनियाँ संगठन वा व्यक्तिले भूकम्पबाट ग्रस्त नेपालीहरुलाई सहयोग गर्न चाहेमा गैर-सरकारी संगठन वा नेपालमा रहेका चिनियाँहरु लगायतका विविध बाटोमार्फत पुनर्निर्माणमा भाग लिन प्रस्ताव गर्दछु। जसबाट नेपालीहरुले अझ उत्साहपूर्वक जीवन बिताउने मेरो विश्वास छ र उनीहरुका लागि ठूलो आशा जगाउन सकिन्छ। यहाँनिर एउटा कुरा भन्न चाहन्छु कि भूकम्पबाट आफ्ना नातेदार गुमाएका नेपालीहरुले चाँडै नै भूकम्पको असरबाट निस्केर आफ्नो सुखमय जीवन बिताउने छ भन्ने मेरो हार्दिक शुभकामना छ।"

जानकारी तथा लेखहरु