लौ लान् प्राचीन शहर
CRI

      सिन् च्यांगको दक्षिणी क्षेत्रको लो पु पोको उत्तर-पश्चिमी कुनामा प्राचीन शहर लौ लान् अवस्थित छ। त्यस प्राचीन शहर त्यतिबेला सिल्क रोडमा घाँटी मानिन्थ्यो। तर आज आएर मरुभूमि र साह्रो नूने ढिस्कोले त्यस प्राचीन शहर घेरिएको छ र त्यहाँको जमीन बञ्जर र जोखिमले भरिपूर्ण भएकाले त्यहाँ मानिसको छाँया समेत देखिन्दैन।

       ऐतिहासिक सामग्री अनुसार, ईसा पूर्व दोस्रो शताब्दीमा लौ लान् पश्चिमी क्षेत्रको एक समृद्धिशाली क्षेत्र थियो। प्रसिद्ध लौ लान् अधिराज्य पाँच छ सय वर्षसम्म समृद्धिशाली भएपछि अचानक लोप भयो । यो प्राचीन शहर कसरी लोप भयोहोला? चिनियाँ र विदेशी पूरातत्वविद् तथा वैज्ञानिकहरुले धेरै अघिदेखि यसको रहस्योद्घाटन गर्ने निकै प्रयास गरेका छन् । लौ लान् पनि चिनियाँ र विदेशी खोजयात्रीहरुका लागि एक रहस्यपूर्ण स्थान बनेको छ।

      पूरातत्व विदहरुले हालसम्म के मात्र पत्ता लगाएका छन् भने प्राकृतिक र अरु धेरै जटिल कारणले खोलाको मार्ग परिवर्तन हुनुका साथै हुरी-वतास र बालुवाको प्रकोपले गर्दा प्राचीन शहर लौ लान् मरुभूमिमा परिणत भयो। प्राचीन लौ लान् शहरले एक लाख बीस हजार वर्गमिटरको जमीन ओगटेको थियो। नर्कट र रुखका हाँगा-बिंगाहरुव्दारा शहरको पर्खाल बनाइएको थियो। उत्तरदेखि पूर्वसम्म र पूर्वदेखि दक्षिणतिर बगेर गएको एक प्राचीन खोला तेर्सो भएर शहरको बीचै बाट बगेको थियो। त्यहाँ अहिले पनि बौद्ध स्तूप तथा परिसरका निर्माण वस्तुहरु तथा शहरका वरिपरि शत्रु आएको संकेत दिने बुर्जा, अन्न भण्डार, समाधि र चिहानका अवशेष देख्नपाइन्छ। लौ लान्को प्राचीन चिहानमा 3800 वर्ष अघिको एक लाश पनि उत्खनन् गरिएको छ र त्यस लाशलाई लौ लान् सुन्दरी लाश भनिएको छ। लौ लान् प्राचीन शहरमा माटाका सामानका टुक्रा, गलैचाका अवशेष, सिका, अस्त्र, रेशमका टुक्रा आदि धेरै पूरातात्विक सामानहरुको अवशेष त्यहाँ पाइन्छन्।

 

लौ लान् प्राचीन शहर