चीनको तिब्बत, भित्री मंगोलिया आदि
क्षेत्रमा प्रचलित बौद्ध धर्मलाई
तिब्बती बौद्ध धर्म भनिन्छ भने
कथ्यमा यस धर्मलाई लामा धर्म पनि
भनिन्छ। यो धर्म प्राचीन भारतवर्ष
र चीनको भित्री क्षेत्रबाट
तिब्बतमा प्रवेश भएर त्यहाँको
प्राचीन धर्मसित मिसिएर तिब्बतको
विशेषतायुक्त बौध्द धर्म बनेको
हो।
चीनको हान् जातिले मान्ने बौद्ध धर्म र
भारतको बौद्ध धर्मको प्रभावमा
परेर तिब्बतमा प्रचलित बौद्ध
धर्मका बिहार अथवा गुम्बाहरुको
निर्माण गर्दा हान् जातीय शैलीको
दरवारको आकार नक्कल गरेर केही
परिवर्तन पनि गरिएको छ। सामान्यतः
ती गुम्बाहरु शान्दार र भव्य
हुनुका साथै सूक्ष्म रुपमा छाना र
खम्बामा बुट्टाहरु बनाइएका छन्।
उदाहरणका लागि लाह्साको पोताला
दरवार, च पाङ गुम्बा र छिङ हाइ
प्रान्तको थार्स गुम्बाहरु सबै
प्राचीन निर्माण कलाका उत्तम
संरचना हुन्।
तिब्बतमा बौद्ध विहार वा गुम्बाहरुको निर्माण
गर्दा तिब्बती बौद्ध धर्मको
सहस्यपूर्ण विशेषताको चित्रण र
वयान गर्नेतर्फ निकै ध्यान दिइएको
छ। सामान्यतया गुम्बाभित्रको
महावीर देवालय निकै अग्लो र गहिरो
छ। ती गुम्बाहरुमा रंगीबिरंगी
ध्वजा-पताकाहरु झुण्ड्याइएका छन्।
देवालयका खम्बामा बुट्टेदार
कार्पेट सजाइएका छन्। ती देवालयमा
त्यति उज्यालो नभएको कारण
रहस्यपूर्ण वातावरणले छाएको जस्तो
लाग्छ। गुम्बाको बाहिरपट्टि विविध
रंगले रंगाइएको छ। गुम्बाको बाहिरी
भित्तामा रातो रंग छ अनि त्यसमा
सेता र कफी रंगका फिताहरु बनाइएका
छन्। पूजा घर र स्तूपलाई सेतो
रंगले रंगाइएको छ। सेतो भित्तामा
कालो झ्याल राखिएको छ। रंगाउने यस
किसिमको शैलीबाट निर्मांण-वस्तुको
रहस्यता प्रतिबिम्बित हुनगएको छ।