राजनीतिक गतिविधिमा महिलाहरुको संलग्नता
CRI

    

        चीनको संविधानमा चीनका महिलावर्गले पुरुष सरह नै समान राजनीतिक अधिकार पाउने कुरा तोकिएको छ जसअनुसार महिलावर्गले पुरुष सरह समान रुपमा निर्वाचन गर्ने र निर्वाचित हुने अधिकारको उपभोग गर्नपाउँछन, समानताका साथ राष्ट्रिय मामिलाको सञ्चालन गर्ने र सरकारी ओहदामा बस्ने जस्ता अधिकार पाउँछन। दशौं चिनियाँ राष्ट्रिय जन-कांग्रेसका प्रतिनिधिहरुमध्ये महिला प्रतिनिधिहरुको संख्या 604 थियो जसले कुल प्रतिनिधिहरुको 20.2 प्रतिशत ठाउँ लिएको थियो। तीमध्ये राष्ट्रिय जन-कांग्रेसको स्थायी समितिका 21 जना महिला सदस्यहरु थिए, जसले स्थायी समितिका कुल सदस्यहरुको संख्याको 13.2 प्रतिशत ठाउँ ओगटेको थियो। त्यसैगरी जन-राजनीतिक परामर्शदातृ सम्मेलनको दशौं राष्ट्रिय समितिमा 373 जना महिला सदस्यहरु थिए, जसले कुल सदस्यहरुको 16.7 प्रतिशत ठाउँ ओगटेको थियो। तीमध्ये स्थायी समितिका महिला सदस्यहरुको संख्या 35 जना थियो, जसले स्थायी समितिका कुल सदस्यहरुको संख्याको 11.7 प्रतिशत ठाउँ ओगटेको थियो। महिलाहरु सरकारी काम-काजमा सहभागी हुने अनुपातलाई सुनिश्चित तुल्याउन र तिनीहरुले यथेष्ट रुपमा राजनीतिक अधिकारको उपभोग गर्नपाउन भन्नका लागि चीनले महिला कार्यकर्तालाई हुर्काउने र छान्ने परिपाटीको स्थापना गरी त्यसलाई पूर्णता दिलाउने काम गरेको छ। सन् 2003 मा सातजना स्वास्नीमान्छे राज्यको नेतृत्वदायी ओहदामा बस्नुभएको छ। उहाँहरुमा उप-प्रधानमन्त्री उ यी, राष्ट्रिय जन-कांग्रेसको स्थायी समितिका उपाध्यक्षहरु ह लू ली, कु स्यू लेन र उयुनछिछिक, राज्य परिषद्‍का सदस्य छन् च् ली, जन राजनीतिक परामर्शदातृ सम्मेलनको स्थायी समितिका उपाध्यक्षव्दय लिउ येन् तोंग र हाउ चेन् स्यू हुनुहुन्छ। राज्य परिषद्‍अन्तर्गतका 28 वटा मन्त्रालयहरुमध्ये एकजना महिला मन्त्री ( यसका साथै निजले अरु पद पनि सम्हाल्नुभएको छ), 15 जना महिला उप-मन्त्रीहरु हुनुहुन्थ्यो। मुलुकका समस्त प्रान्त, प्रिफेक्चर र जिल्ला गरी यी तीन तहका पार्टी र सरकारका नेतृत्वदायी ओहदामा बस्नुभएका महिला नेतृहरुको संख्या 5056 जना पुगेको थियो। तीमध्ये प्रान्तस्तरीय महिला कार्यकर्ताहरुको संख्या 56 जना थियो भने 500 जना महिला मेयर वा उप मेयरहरु थिए। व्यापक सर्वसाधारण महिलाहरुमा राजनीतिक मामिला र सरकारी कामकाजमा हात हाल्ने विचारधारा प्रष्टतः बढेको देखिन्छ। स्थानीय जन-कांग्रेसका प्रतिनिधिको निर्वाचनमा महिलाहरुको सहभागिता दर 73.4 प्रतिशत पुगेको थियो। (चित्रमा उप-प्रधानमन्त्री उ यी बेलायतमा प्रवचन दिंदै हुनुहुन्छ।)

        हाल कार्यान्वित भइरहेको ( चिनियाँ महिला विकास कार्यक्रम) (2001-2010) मा प्रस्तुत गरिएका मुख्य लक्ष्यहरुमा निम्न कुराहरु समावेश छन: राष्ट्रिय मामिला र सामाजिक कामकाजको सञ्चालन गर्ने र नीति निर्धारणको क्षेत्रमा महिलाहरुको सहभागिताको स्तरलाई माथि उकास्ने, प्रशासनिक व्यवस्थापनमा सहभागी हुने महिलाहरुको अनुपातलाई बढाउंदै विभिन्न स्तरका सरकारको नेतृत्वदायी समूहमा एकजनाभन्दा ज्यादा महिला कार्यकर्ता हुनुपर्ने व्यवस्था मिलाउने, मन्त्रालय स्तरका राष्ट्रिय अड्डा-कार्यालय तथा प्रान्त (स्वायत्त प्रदेश、 केन्द्रशासित शहर)、प्रिफेक्चर तथा प्रिफेक्चर स्तरका शहर र अल्प संख्यक जातीय क्षेत्रका सरकारी कार्यालयका आधाभन्दा बढीका नेतृत्वदायी समूहहरुमा महिला कार्यकर्ता हुनुपर्ने व्यवस्था मिलाउने, एक नम्बरका नेता वा महत्वपूर्ण ओहदामा बस्ने महिला कार्यकर्ताहरुको संख्यालाई अपेक्षाकृत बढाउने, कुल कार्यकर्ताहरुमध्ये महिला कार्यकर्ताहरुले लिने अनुपातलाई क्रमशः बढाउने, स्त्रीहरु अलि जम्मा भएका विभाग र व्यवसायहरुका व्यवस्थापकहरुमध्ये महिला सञ्चालकहरुको संख्याले त्यहाँ भएका महिला कामदारहरुको अनुपातसित मेल खानुपर्ने, ग्रामीण समिति तथा शहरबासी समितिका सदस्यहरुमा महिला सदस्यहरुको निश्चित अनुपात हुनुपर्ने, महिलाहरुले प्रजातान्त्रिक रुपमा सामाजिक कामकाजमा हात हाल्ने परिधीलाई विस्तारित पार्ने र तिनीहरुको सहभागिताको स्तरलाई माथि उकास्ने आदि।

  यसका साथै चीन सरकारले राजनीतिक मामिलामा महिलावर्गको सहभागीका लागि सक्रियताका साथ उत्तम सामाजिक वातावरण तयार पार्ने काम गरिरहेको छ। उदाहरणका लागि, महिला कार्यकर्ताहरुलाई तालिम र शिक्षा दिने तथा पेशागत तालिम दिने कामलाई मजबुत पार्ने, उच्च तहका बहु-ज्ञानयुक्त कर्मठ र दक्ष महिला कार्यकर्ताहरु तयार पार्ने, राजनीतिक मामिलामा महिलाहरुको सहभागिता बढाउने दिशामा राय-सुझाव दिने क्षमता तथा तिनको प्रतिस्पर्धात्मक क्षमता बढाउने, महिला उद्यमी-प्राविधिज्ञ तथा व्यवस्थापकहरुका लागि तालिमको व्यवस्थालाई सबल तुल्याउने र तिनीहरुको राजनीतिक गुण-स्तर र इलमी क्षमता बढाउने आदि।