एकेडेमीका प्रसिद्ध सदस्यहरु
CRI
 

 लिन् छिआओ च
        फु चेन प्रान्तको स्या मन निबासी, चिकित्साविद लिन् छिआओ चले सन् 1929मा शे ह मेडिकल कलेजबाट स्नातक गरी विद्यावारिधिको उपाधि पनि हासिल गर्नुभयो। उहाँ शे ह अस्पतालको प्रसूति विभागका प्राध्यापक र प्रमुख हुनुका साथै पैचिंग प्रसूति अस्पतालका मानार्थ प्रमुख र चीन मेडिकल प्रज्ञा प्रतिष्ठानका उप-प्रमुख पनि हुनुहुन्थ्यो। आफ्नो कार्यको शुरुमा उहाँ पाठेघरमा भ्रुणको स्वास-प्रसास सम्बन्धी अनुसन्धानमा संलग्न हुनुहुन्थ्यो। त्यसपछि ट्युमर उत्पन्न हुने जीव-कोष तथा विकासको क्रम, महिलाहरुको पेल्भिक काभिटीमा क्षय रोग उत्पन्न हुने तथा उपचार सम्बन्धी विषय बारे गहन रुपमा अनुसन्धान गर्नुका साथै वैज्ञानिक सामान्य ज्ञानको प्रचार-प्रसार तथा मातृ तथा शिशु स्वास्थ्य कल्याण सम्बन्धी प्रशस्त कार्य गर्नुभयो, चिकित्सा विद्यामा उहाँको निपुर्णता छ। सन् 1955मा उहाँलाई चीन विज्ञान एकेडेमीका सदस्य चुनिएको थियो।

शे सि त
       शे सि त फु चेन् प्रान्तको छ्युआन्-चौ शहरका बासिन्दा हुनुहुन्थ्यो।
सन् 1946मा उहाँले स्याआ मन् विश्वविद्यालयबाट स्नातक गर्नुभयो। उहाँ भौतिक शास्त्रका विज्ञ हुनुहुन्छ। उहाँले सन्1951 मा अमेरिकाको
मास्साचुसेट्स टेक्नोलजी इन्स्टीट्यूटबाट भौतिक विषयमा विद्यावारिधिको उपाधि पाउनुभई त्यसै विश्वविद्यालयमा अनुसन्धान कार्यमा संलग्न हुनुभयो। उहाँले अमेरिका, बेलायत, क्यानाडा, जापान र हंगकंग विशेष प्रशासनिक क्षेत्रका बाह्रवटा विद्यालयबाट विज्ञान क्षेत्रको मानार्थ विद्यावारिधिको उपाधि तथा जापानको टोक्यो विश्वविद्यालयबाट इन्जिनियरिंग सम्बन्धी क्षेत्रको मानार्थ विद्यावारिधीको उपाधि प्राप्त गर्नुभएको छ। सन् 1988 मा उहाँलाई तेस्रो जगतको विज्ञान एकेडेमीका सदस्य पनि छानिएको थियो। उहाँ अमेरिकी आर्टस एण्ड साइन्सेज एकेडेमीका विदेशी नागरिकतायुक्त सदस्य पनि छानिनुभएको थियो। उहाँ शान्हाईको फु-तान विश्वविद्यालयका प्राध्यापक पनि हुनुहुन्छ। उहाँले उच्च विज्ञानका अनेक सम्बन्धित विषयमा अध्यापन र अनुसन्धान गरी धेरै महत्वपूर्ण उपलब्धि हासिल गर्नुभएको छ। सन् 1980मा उहाँलाई चीन विज्ञान एकेडेमीका सदस्य छानिएको थियो।

ह च व्है
     ह च व्हैको पुर्ख्यौली थलो शान्-सी प्रान्तको लिंग शमा भए तापनि उहाँको जन्म च्याँग सु प्रान्तको सु चौ शहरमा भएको थियो। उहाँ एकजना अणु-भौतिकविद् हुनुहुन्छ। उहाँ सन् 1936मा छिंग-व्हा विश्वविद्यालयबाट स्नातक हुनुभयो । सन् 1940मा उहाँले जर्मनीको बर्लिन उच्च औद्योगिक विश्वविद्यालयबाट इन्जिनियरिङ विषयमा विद्याविरिधीको उपाधि पाउनुभयो। उहाँ चीन विज्ञान एकेडेमीको उच्च ऊर्जा भौतिक शास्त्र अनुसन्धानशालाका शोधकर्ता हुनुहुन्छ। उहाँले जर्मनीको के. डब्लू .आई. को अणु-भौतिकशास्त्र अनुसन्धानशालामा रहँदा धनात्मक-ऋणात्मक विद्युत्कणका प्रायजसो सम्पूर्ण साटफेर ऊर्जा-शक्तिको एलास्टिक कोलिशन सम्बन्धी क्रिया सबैभन्दा पहिले पत्तो लगाएर यस बारे अन्वेषण गर्नुभयो। उहाँले फ्रान्सको पेरिसस्थित फ्रान्सी इन्स्टिट्यूटको अणु-रसायन प्रयोगशालामा काम गर्दा अरु सहकर्मीहरुका साथमा मिली युरेनियमको 3-फेसन र 4-फेसन सम्बन्धी क्रिया सर्वप्रथम पत्ता लगाएर अनुसन्धान पनि गर्नुभयो। नयाँ चीनको स्थापनाकालमा उहाँले आत्म-निर्भरताका साथ आफ्ना सहकर्मीहरुसँग मिलेर कणप्रति संवेदनशील हुने न्यूक्लियर एमुल्शन सर्भे-यन्त्र अनुसन्धान र तयार गर्नुभयो। उहाँले प्रयोगशाला, उच्च पहाडमा अन्तरिक्ष किरण सम्बन्धी वेधशाला, आकाशमा उड्ने बेलून र उच्च उर्जामूलक ग्रह सम्बन्धी भौतिकशास्त्र आदि धेरै क्षेत्रको अनुसन्धान गर्ने पक्षमा महत्वपूर्ण योगदान गर्नुभएको छ। सन् 1980मा उहाँलाई चीन विज्ञान एकेडेमीका सदस्य छानिएको थियो।

च्यांग लि चिङ
      पैचिंगमा जन्मनुभएकी च्यांग लि चिङ एकजना रसायन शास्त्री हुनुहुन्छ। अहिले उहाँ चीन विज्ञान एकेडेमीको रासायनिक अनुसन्धानशालाका शोधकर्ता हुनुहुन्छ। उहाँले सन् 1944मा फु रन् विश्वविद्यालयको रासायनिक विभागबाट स्नातकको उपाधि पाउनुभयो। सन् 1955मा अमेरिकाको मिननेसोटा विश्वविद्यालयबाट विद्यावारिधीको उपाधि पाउनुभएका उहाँले अमेरिकाको कान्सास विश्वविद्यालय र मास्साचुसेट्स टेक्नोलजी इन्स्टिट्यूटमा विद्यावारिधी-उत्तरको अनुसन्धान कार्य गर्नुभयो। 1950को दशकताका उहाँले अमेरिकामा कोर्टिसोनेका उत्पत्ति-पदार्थको मिश्रित उत्पादन तथा भिटामिन डीका आंशिक मिश्रित उत्पादन सम्बन्धी क्षेत्रमा काम गर्नुभयो। 1955मा स्वदेश फर्कनुभएपछि उहाँ चीनमा पाइने काँचो लाहाको पैन्ट-फनोल भन्ने तत्वको अन्वेषण कार्यका साथै बोरिक-नाइट्रोजन सिक्स-रिन रसायन-पदार्थको शोधन र हाई-रिस्पोन्स फिल्म बनाउन चाहिने सहायक पदार्थको विश्लेषण सम्बन्धी कामकाजमा संलग्न हुनुभयो। 1978 पछि उहाँले प्रकाश-रसायन सम्बन्धी अध्ययन-कार्य थाल्नुभयो। त्यसमा दुइवटा मुख्य काम के रहेछन् भने एक त "चु-होङ-च्यून" नामको जरि-बुटीबाट रंगद्रव्य निकाल्ने एवम् त्यसबाट उत्पन्न अन्य पदार्थको संयोग गर्ने र प्रकाश-चिकित्सा संयन्त्र बनाउने काम, अनि अर्को लेउ जस्ता वनस्नतिको बनोट र प्रकाश-संश्लेषणमा ऊर्जा-शक्तिको संप्रेषण सम्बन्धी अध्ययन-कार्य। ती दुइवटा काममा उहाँलाई चीन विज्ञान एकेडेमीबाट क्रमशः 1990 र 1993को प्राकृतिक विज्ञान सम्बन्धी दोस्रो श्रेणीको पुरस्कार प्राप्त भयो। सन् 1980मा उहाँलाई चीन विज्ञान एकेडेमीका सदस्य छानिएको थियो।

इन वन ईन
      कीटशास्त्री इन वन ईन ह-पै प्रान्तको फिन-स्याङका बासिन्दा हुनुहुन्छ। उहाँले सन् 1947मा केन्द्रीय विश्वविद्यालयबाट जैविक विषयमा स्नातक गर्नुभयो। उहाँ चीन विज्ञान एकेडेमी अन्तर्गत शाङहाई कीट अनुसन्धानशालाका शोधकर्ता हुनुहुन्छ। उहाँ शुरुमा त माछामा लाग्ने परजीवी कीट तथा माछामा लाग्ने रोगको निवारण सम्बन्धी शोध-कार्यमा लाग्नुभयो तर पछि, सन् 1960 पछि क्रमबद्ध रुपमा प्रोटुरान भन्ने कीराको वर्गीकरण, रुप-आकार, पर्यावरण, भ्रूणपछिको हुर्काइ, जीव-भौगिलिक स्थिति, सापेक्षिक वीज-शास्त्र तथा उप-सूश्मदर्शन बनौट जस्ता विषयको अन्वेषणमा लाग्नुभयो। उहाँले 141 नयाँ जात, 18 नयाँ समूह एवम् 4 नयाँ वर्ग समावेश हुने चीनमा पाइने 164 जातका प्रोटुरान बारे लिखित शोधपत्र तयार पार्नुका साथै प्रोटुरान प्रणालीको उत्पत्ति सम्बन्धी नयाँ प्रावधान प्रस्तुत गर्नुभयो र यसका आधारमा प्रोटुरान सम्बन्धी समूहको नयाँ वर्गीकरण-व्यवस्था स्थापित गर्नुभयो। त्यसको फलस्वरुप सन् 1999मा "चिनियाँ जीव-जन्तु सम्बन्धी विवरणः प्रोटुरान समूह" भन्ने रचना प्रकाशनमा ल्याउनुभयो। सन् 1985 पछि, उहाँले मृत्तिका-जीवजन्तु-शास्त्रको क्रमबद्ध अध्ययन कार्यको तत्वावधान गर्नुभयो र त्यसमा गतिशीलता ल्याउनुभयो। उहाँ तथा अरु साठीभन्दा बढी विव्दानहरुको प्रयासमार्फत छवटा मौसम-कटिबन्धमा मृत्तिका-जीवजन्तुहरुको गठन(3 हजारभन्दा बढी जात), फेर-बदलको नियम एवम् मृत्तिका-द्रव्यको चक्र-संक्रमण-क्रियामा तिनको भूमिका तथा वातावरणको प्रदूषणमा तिनको प्रभाव आदि प्रयोगात्मक र अनुसन्धानात्मक काम पूरा भएको थियो जसको परिणामस्वरुप उहाँले प्रधान सम्पादक भएर "चीनका उप-उष्ण कटिबन्ध सम्बन्धी मृत्तिका-जीवजन्तु", "चिनियाँ मृत्तिका-जीवजन्तु सम्बन्धी चित्रसहितको निर्देशिका" र "चिनियाँ मृत्तिका-जीवजन्तु" जस्ता विशेष ग्रन्थ तयार पार्नुभयो। सन् 1991मा उहाँलाई चीन विज्ञान एकेडेमीका सदस्य छानिएको थियो।